भीआईपी व्यवसायीको हायर पर्चेज व्यापार : कसलाई नाफा, कसलाई घाटा ?

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट अनुमति पत्रप्राप्त हायर पर्चेज कर्जा दिने कम्पनीको लागि सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी निवारण सम्बन्धी व्यवस्था गरेको छ । हायर पर्चेज कम्पनीमा पनि ठूलो परिमाणको कारोबार तथा लेनदेन हुने भएकोले राष्ट्र बैंकले हायर पर्चेज कम्पनीका लागि यस्तो व्यवस्था गरेको हो । आज हामीले हायर पर्चेज कम्पनीमा आवद्ध व्यवसायी र ती कम्पनीको आम्दानी तथा नाफा केलाउने प्रयास गरेका छौं । नेपाल राष्ट्र बैंकका अनुसार १० वटा हायर पर्चेज कम्पनीले नेपाल राष्ट्र बैंकबाट अनुमति लिएका छन् । त्यसमध्ये हामीले सात वटा हायर पर्चेज कम्पनीको आम्दानी तथा व्यापार प्रस्तुत गरेका छौं । अग्नी हायर पर्चेज प्रा.लि सन् २०१४ मा स्थापित अग्नी हायर पर्चेज कम्पनीको आम्दानी ८३ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले सन् २०२३ मा ६ करोड ५० लाख रुपैयाँ आम्दानी गरेकोमा सन् २०२४ मा ११ करोड ९० लाख रुपैयाँ आम्दानी गरेको छ । सन् २०२१ मा १ करोड ५० लाख आम्दानी गरेको यस कम्पनीले सन् २०२२ मा ३ करोड १० लाख रुपैयाँ आम्दानी गरेको थियो । कम्पनीले १ अर्ब ५० करोड ऋणका लागि रेटिङ गराएको थियो । कम्पनीको नेटवर्थ पनि वृद्धि भएको छ । सन् २०२३ मा ३७ करोड ९० लाख रुपैयाँ नेटवर्थ रहेको कम्पनीको सन् २०२४ मा ४१ करोड ४० लाख रुपैयाँ रहेको पुगेको छ । क्याबिनेट श्रेष्ठ । यस कम्पनीका अध्यक्ष क्याबिनेट श्रेष्ठ हुन् । यस कम्पनीमा उनको ४५ प्रतिशत, सुसन वैद्य श्रेष्ठको ३३ प्रतिशत र अर्जुन प्रसाद शर्माको २२ प्रतिशत सेयर स्वामित्व छ । अध्यक्ष श्रेष्ठ अग्नी ग्रुपका प्रबन्ध निर्देशक पनि हुन् । भेन्चर हायर पर्चेज प्रालि भेन्चर हायर पर्चेज प्रालिको कुल सञ्चालन आम्दानी ५६.४७ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले सन् २०२३ मा १७ करोड रुपैयाँ कुल आम्दानी गरेकोमा सन् २०२४ मा २६ करोड ६० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । सन् २०२१ मा ३ करोड ६० लाख रुपैयाँ कुल आम्दानी गरेको यस कम्पनीले सन् २०२२ मा ६ करोड ९० लाख रुपैयाँ आम्दानी गरेको थियो । कुल ४३ करोड ३० लाख रुपैयाँ नेटवर्थ रहेको यस कम्पनीले १ अर्ब ५० करोड रुपैयाँ ऋणका लागि रेटिङ गराएको छ । चन्द्रप्रसाद ढकाल । सन् २०१७ मा स्थापित भेन्चर हायर पर्चेज प्राइभेट लिमिटेडले सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट सञ्चालन इजाजतपत्र प्राप्त गरेको थियो । यस कम्पनीमा आइएमई ग्रुपको लगानी छ । सो ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल हुन् । हुलास फिनसर्भ हायर पर्चेज हुलास फिनसर्भ हायर पर्चेजको सञ्चालन आम्दानी पनि सामान्य वृद्धि भएको छ । कम्पनीले सन् २०२३ मा ४८ करोड ८० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेकोमा सन् २०२४ मा ५३ करोड २० लाख रुपैयाँ आम्दानी गरेको छ । सन् २०२१ र २०२२ मा कम्पनीको सञ्चालन आम्दानी क्रमशः ६१ करोड ३० लाख र ५२ करोड १० लाख रुपैयाँ थियो । कम्पनीको नेटवर्थ पनि वृद्धि भएको छ । सन् २०२३ मा १ अर्ब १९ करोड १० लाख रुपैयाँ नेटवर्थ थियो । सन् २०२४ मा १ अर्ब २४ करोड ७० लाख र सन् २०२५ को सुरुवातमा कम्पनीको नेटवर्थ १ अर्ब २९ करोड ७० लाख रुपैयाँ पुगेको छ । हुलास फिनसर्भ हायर पर्चेजमा गोल्छा समूहको लगानी छ । जसको स्थापना सन् २०१२ मा भएको थियो । शेखर गोल्छा । सुरुमा हुलास इन्भेस्टमेन्ट प्राइभेट लिमिटेडको नाममा स्थापना भएको कम्पनी सन् २०२१ मा नाम परिवर्तन भएर हुलास फिनसर्भ हायर पर्चेज प्रालि राखेको थियो । कम्पनीमा हंसराज हुलासचन्द एण्ड कम्पनी प्राइभेट लिमिटेडको ८५ प्रतिशत सेयर रहको छ । बाँकी १५ प्रतिशत सेयर अन्य ६ वटा सेयरधनीको नाममा छ । कम्पनीको प्रबन्ध निर्देशक शेखर गोल्छा रहेका छन् । एमएडब्लू हायर पर्चेज एमएडब्लू हायर पर्चेजले सन् २०२४ मा ४३ करोड ९० लाख रुपैयाँ कुल आम्दानी गरेको छ भने सन् २०२३ मा ४४ करोड रुपैयाँ आम्दानी गरेको थियो । यो एक वर्षको अवधिमा यस कम्पनीको आम्दानी १० लाख अर्थात् ०.२२ प्रतिशतले घटेको देखिन्छ । २०२५ को पहिलो त्रैमासमा भने यस कम्पनीले १० करोड रुपैयाँ आम्दानी गरेको देखिएको हो । यस्तै, सन् २०२२ मा कम्पनीले कुल ३८ करोड ७० लाख रुपैयाँ कुल आम्दानी गरेको थियो । कम्पनीको नेटवर्थ भने बढ्दै गएको देखिएको छ । सन् २०२३ मा ४९ करोड ४० लाख रुपैयाँको खुद नेटवर्थ रहेको यस कम्पनीको नेटवथृ सन् २०२५ सम्म आइपुग्दा ५८ करोड ८० लाख रुपैयाँ पुगेको छ । कम्पनीले २ अर्ब ७९ करोड रुपैयाँ ऋणका लागि रेटिङ गराएको छ । सन् २०११ मा स्थापना भएकोको कम्पनीको मुख्य कार्यालय मोरङमा रहेको छ भने मुख्य शाखा काठमाडौंको त्रिपुरेश्वरमा छ, जहाँबाट यसको सम्पूर्ण कामहरु भइरहेका छन् । यो कम्पनीले दुई पाँग्रे सवारी साधन र व्यावसायिक सवारी साधन बिक्री गर्दै आएको छ । विष्णुकुमार अग्रवाल । यस कम्पनीमा एमएडब्लू प्राइभेट लिमिटेडको ४० प्रतिशत, एमएडब्लू अर्थमोभर्स प्राइभेटको ३० प्रतिशत, विष्णुकुमार अग्रवालको २९.५ प्रतिशत र प्रणनाथ भट्टराईको ०.५ प्रतिशत सेयर स्वामित्व रहेको छ । जसको नेतृत्व अग्रवालले नै गरिरहेका छन् । ओम्नी हायर पर्चेज प्रालि ओम्नी हायर पर्चेज प्रालिको कुल आम्दानी १८ प्रतिशतले घटेको छ । सन् २०२३ मा ३० करोड ९० लाख कुल आम्दानी आर्जन गरेको कम्पनीले सन् २०२४ मा २५ करोड ४० लाख मात्र आम्दानी गरेको छ । सन् २०२१ र २०२२ मा कम्पनीले क्रमशः ३३ करोड र ३२ करोड ५० लाख आम्दानी गरेको थियो । कम्पनीको नेटवर्थ पनि घटेको छ । सन् २०२३ मा ८४ करोड ५० लाख रुपैयाँ नेटवर्थ रहेकोमा सन् २०२४ मा ८२ करोड ३० लाख रुपैयाँमा सीमित भएको छ । कम्पनीले २ अर्ब ९५ करोड ५० लाख रुपैयाँ ऋणका लागि रेटिङ गराएको छ । सन् १९९१ मा ओम्नी प्राइभेट लिमिटेडको रूपमा स्थापित यस कम्पनीले सन् २०२३ मा नाम परिवर्तन गरेर ओम्नी हायर पर्चेज प्राइभेट लिमिटेड राखेको थियो । यो कम्पनी ओम्नी ग्रुपको हो । कम्पनीमा तीन वटा सेयरधनीको लगानी छ । आत्मा राम काबरा ४५ प्रतिशत, हरी नारायण काबराको ४५ प्रतिशत र सन्दीप कुमार मोहतको१० प्रतिशत सेयर स्वामित्व यस कम्पनीमा छ । सिप्रदी हायर पर्चेज सिप्रदी हायर पर्चेज प्रालिले सन् २०२४ को ९ महिनासम्म ४० करोड ७० लाख रुपैयाँ कुल आम्दानी गरेको देखिएको छ । सन् २०२३ मा कम्पनीको यस्तो आम्दानी ५२ करोड ८० लाख रुपैयाँ थियो । सन् २०२१ र सन् २०२२ मा कम्पनीको कुल आम्दानी क्रमशः ७७ करोड १० लाख र ६७ करोड ८० लाख रुपैयाँ थियो । कम्पनीको नेटवर्थ भने वृद्धि भएको छ । सन् २०२० मा ७३ करोड, सन् २०२१ मा ७८ करोड ४० लाख, सन् २०२२ मा ९२ करोड ३० लाख, सन् २०२३ मा ९४ करोड र सन् २०२५ मा ९६ करोड आम्दानी कम्पनीले गरेको छ । सिद्धार्थ राणा । ४ अर्ब १० करोड ऋणका लागि कम्पनीले रेटिङ गराएको छ । सन् २०१४ मा स्थापित यो कम्पनी सिप्रदी ट्रेडिङ प्रालिको सहायक कम्पनी हो । सिप्रदी ट्रेडिङ टाटा मोटर्सको नेपालको लागि आधिकारित डिलर हो । कम्पनीको अध्यक्ष सिद्धार्थ राणा हुन् । स्याकर हायर पर्चेज कम्पनी ज्योति ग्रपको लगानी रहेको स्याकर हायर पर्चेजले स्याकर ट्रेडिङ कम्पनीमार्फत् काम गरिरहेको छ । स्याकर हायर पर्चेजको मात्रै आम्दानी सार्वजनिक नभए पनि स्याकर ट्रेडिङको भने आम्दानी सार्वजनिक भएको छ । रेटिङ एजेन्सी इक्रा नेपालका अनुसार स्याकर ट्रेडिङ कम्पनीले सन् २०२४ मा ४ अर्ब ९५ करोड ८० लाख रुपौयाँको सञ्चालन आम्दानी गरेको छ भने सन् २०२३ मा ९ अर्ब ७१ करोड ८० लाखर सन् २०२२ मा १५ अर्ब ३५ करोड ७० लाख रुपैयाँको सञ्चालन आम्दानी गरेको थियो । सौरभ ज्योति । तर, यो आम्दानी स्याकर हायर पर्चेजको मात्रै होइन । यो समग्र स्याकर ट्रेडिङको हो । जसले होण्डाका मोटरसाइकल बिक्री गर्दै आएको छ । यस कम्पनीको नेतृत्व सौरभ ज्योतिले गरिरहेका छन् । हायर पर्चेज कम्पनीको व्यापार विगतको तुलनामा औसतमा केही सुधार देखिएको छ । हुलास फिनसर्भ हायर पर्चेज प्रालिका महाप्रबन्धक समिर ठाकुर अटोमोबाइल्स क्षेत्रमा पछिल्लो वर्षमा केही सुधार देखिएकाले हायर पर्चेजको आम्दानी पनि वृद्धि हुन पुगेको बताउँछन् । हुलास हायर पर्चेजको हकमा कम्पनीले रेट र फोर्टफोलियो पनि वृद्धि गरेकाले आम्दानी वृद्धि हुन पुगेको उनको भनाइ छ । उनका अनुसार कम्पनीले अघिल्ला वर्षहरुको तुलनामा धेरै सवारी साधनका लागि फाइनान्सिङ गरेको छ ।

स्रोतको चापमा १९ खर्बको बजेट ल्याउने गृहकार्यमा अर्थमन्त्री, अनुदान कटौतीपछि विकल्प खोज्दै

काठमाडौं । स्रोतको चर्को चापका बीच सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट निर्माणको तयारी तिब्र पारेको छ। अर्थ मन्त्रालयकाअनुसार वैदेशिक सहायतामा पछिल्लो समय उल्लेखनीय कटौतीदेखि राजस्व समेत प्रभावकारी रुपमा उठ्न सकिरहेको छैन । राष्ट्रिय योजना आयोगले दिएको करिब १९ खर्ब हराहारीको सिलिङमा राखेर बजेट निर्माणको तयारीलाई सरकारी अधिकारीहरुले तिब्र पारेका छन् । यद्यपी यो बजेट सिलिङ चालु बजेटभन्दा ठूलो हो । सरकारले यो आर्थिक वर्षका १८ खर्ब ६० अर्ब रुपैयाँको बजेट ल्याएको थियो । यसलाई वर्तमान अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मध्यावधि समीक्षामार्फत झण्डै २ खर्ब रुपैयाँले घटाएका थिए । चालु बजेट अहिलेसम्म ७ खर्ब ९० अर्ब रुपैयाँ मात्रै खर्च भएको महालेखा नियन्त्रक कार्यालयको तथ्यांकले देखाउँछ । अहिले बजेट घाटा १ खर्ब २२ अर्ब रुपैयाँ माथि पुगेको छ । सरकारले ७ खर्ब ९० खर्च रुपैयाँ गर्दा फागुन १३ गतेसम्म जम्मा ६ खर्ब ६८ अर्ब रुपैयाँ आम्दानी गरेको छ । यसरी सरकारी खर्च र आम्दानीको अन्तर ठूलो मात्रमा बढ्दै जाँदा सरकारलाई आगामी बजेट बनाउन समेत चुनौतिपूर्ण बन्दै गएको हो । अधिकारीहरुकाअनुसार आगामी बजेट निर्माणको तयारीमा जुटेका अर्थ मन्त्रालयका अधिकारीहरुअनुसार यसपटक पनि सरकारले मनशुनजन्य प्रभावमा ठूलो बजेट छुट्याउनुपर्ने स्थिति छ । अनिवार्य दायित्व अन्तगर्त पेन्सन, वृद्ध भत्ताजस्ता सामाजिक सुरक्षाका कार्यक्रम, वैदेशिक ऋणको दायित्वमा ठूलो बजेट जाँदैछ । लामोसमयदेखि निर्माण पूरा हुन नसकेका रुपान्तरणकारी योजनादेखि राष्ट्रिय गौरवका आयोजनामा बजेटको ठूलो अंश जाँदैछ । सामाजिक सुरक्षातर्फको मात्रै हेर्ने हो भने प्रत्येक वर्ष विकास खर्चभन्दा बढी सामाजिक सुरक्षामा खर्च हुने गरेको छ । बजेटका सामाजिक सुरक्षाको हिस्सा करिव २० प्रतिशत पुगिसकेको छ । त्यसलाई बजेटले सम्बोधन गर्नुपर्नेछ । अर्थ मन्त्रालयका प्रवक्ता श्यामप्रसाद भण्डारीले योजना आयोगबाट आएको सिलिङ मन्त्रालयगत रुपमा बाँडेर बजेटको तयारीमा लागेको बताए । ‘बजेटको तयारीमा लागेका छौं, योजना आयोगबाट आएको सिलिङ मन्त्रालयगत रुपमै बाँडफाँट भइसकेको छ । अब मन्त्रालयहरुले त्यही सिलिङमा रहेर आ-आफ्नो मन्त्रालयको योजना तथा कार्यक्रमहरु तयार गर्नुपर्ने हुन्छ,’ उनले भने । अमेरिकाले दिने अनुदान कटौती गरिरहे बजेटमा झन् ठूलो स्रोतको चाप पर्ने उनको भनाइ छ । यद्यपि, अर्थ मन्त्रालयले अमेरिकी त्यस्तो सहायताको विकल्प भने खोज्ने नै छ । आगामी वर्षका लागि योजना आयोगले दिएको १९ खर्ब सिलिङको बजेटका लागि वैदेशिक अनुदान २२ प्रतिशत र वैदेशिक ऋण ३० प्रतिशतले वृद्धि गर्ने सरकारको लक्ष्य छ । पछिल्लो समय बजेट घाटा चर्किंदै गएको र वाह्य सहायता लामोसमय कटौती भए स्रोतको पूर्ति गर्नसक्ने सामर्थ्य अहिलेको नेतृत्वले राख्न नसक्ने नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापा बताउँछन् । उनले भने,’ रिङरोड चाइनाले बनाइदियो, मलेरिया उन्मुलन पनि अमेरिकाले गरिदियो । सामाजिक क्षेत्रमा नेपालले धेरै ठूलो प्रगति गर्‍यो त्यो सबै वैदेशिक अनुदानबाट सम्भव भएको हो । अमेरिकी सहयोगले हाम्रा स्कुल, स्वास्थ्य केन्द्रहरु चलेका छन् । हाम्रा खोपहरुका कार्यक्रम सञ्चालन भइरहेका छन् । तर हामीहरुले बुझिरहेका छैनौं ।’ नेपाललमा रहेको वित्तीय स्रोत पूर्तिका लागि पर्याप्त मात्रमा सहुलियतपूर्ण ऋण लिनुपर्न‍े उनको भनाइ छ । त्यसबाट पूर्वाधार बनाउनेदेखि जलवायु परिवर्तनबाट सिर्जित प्रकोपबाट जुध्न सक्नुपर्छ । छिमेकी मुलुक चीनसँग आवश्यक छलफल गरेर थप सहायतका लागि लर्विङ गर्नुपर्ने उनको भनाइ छ ।

२ जीवन बीमाको व्यवसाय घट्दा १२ कम्पनीले बढाए, यस्तो छ १४ कम्पनीको व्यवसाय

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को माघ महिनासम्ममा जीवन बीमा कम्पनीहरूले कुल ९५ अर्ब बढीको व्यापार गरेका छन् । बीमा प्राधिकरणको तथ्यांकअनुसार सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीहरूले माघ महिनासम्ममा १ करोड ३४ लाख ७ हजार ४८ वटा बीमा लेख बिक्री गरी कुल ९५ अर्ब ३८ करोड ६६ लाख रुपैयाँको व्यवसाय गरेका हुन् । सात महिनाको अवधिमा संकलन गरेको बीमा शुल्क गत आवको माघ महिनाको तुलनामा ९.७९ प्रतिशत अर्थात् ८ अर्ब ५० करोड ७८ लाख रुपैयाँले बढी हो । गत आवको माघसम्ममा कम्पनीहरूले विभिन्न बीमा लेखबाट ८६ अर्ब ८८ करोड ८ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका थिए । यस अवधिमा सबैभन्दा धेरै बीमाशुल्क नेपाल लाइफले संकलन गरेको छ । कम्पनीले माघसम्ममा २६ अर्ब ५४ लाख रुपैयाँको व्यापार गरेको छ । प्राधिकरणको तथ्यांकअनुसार नेपाल लाइफको व्यापार १२.०६ प्रतिशत बढेको छ । गत वर्षको माघ मसान्तसम्ममा २३ अर्ब २० करोड ७४ लाख बीमा शुल्क संकलन गरेको थियो । धेरै व्यापार गर्ने दोस्रो कम्पनीमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । नेशनल लाइफले यस अवधिमा ११ अर्ब २३ करोड ६५ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । गत वर्षको तुलनामा यस वर्ष कम्पनीको व्यापार ११.७७ प्रतिशत बढेको देखिन्छ । गत आवको माघमा १० अर्ब ५ करोड २७ लाख व्यापार गरेको थियो । यस्तै, लाइफ इन्स्यारेन्स कर्पोरेशन (एलआइसी) नेपालले ११ अर्ब १७ करोड ९ रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । गत वर्षको तुलनामा कम्पनीको व्यवसाय १०.०९ प्रतिशत बढेको देखिन्छ । गत वर्षको माघमा कम्पनीले १० अर्ब १४ करोड ६९ लाख रुपैयाँ बिमाशुल्क संकलन गरेको थियो । गत वर्षको तुलनामा हिमालयन लाइफ इन्स्योरेन्सको व्यापार घटेपनि ९ अर्ब ९० करोड रुपैयाँ बराबरको व्यवसाय संकलन गरेको छ । गत वर्षको माघमा कम्पनीले ९ अर्ब ९० करोड रुपैयाँ बराबरको व्यवसाय संकलन गरेको थियो । यस्तै, सूर्याज्योति लाइफ इन्स्योरेन्सले ५ अर्ब ९५ करोड २२ लाख रुपैयाँ, एशियन लाइफ इन्स्योरेन्स ५ अर्ब ७ करोड ८७ लाख रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेका छन् । प्राधिकरणका अनुसार सिटिजन्स लाइफले ३ अर्ब ९८ करोड ४७ लाख रुपैयाँ, राष्ट्रिय जीवन बीमा कम्पनीले ३ अर्ब ९२ करोड ५८ लाख रुपैयाँ, सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले ३ अर्ब ८० करोड ९६ लाख रुपैयाँ, मेट लाइफले ३ अर्ब ३७ करोड ५२ लाख रुपैयाँ बराबरको व्यापार गरेका छन् । आइएमई लाइफले २ अर्ब ९० करोड ८२ लाख रुपैयाँ, प्रभु महालक्ष्मी इन्स्यारेन्सले २ अर्ब ८५ करोड ८९ लाख, रिलायबल नेपाल लाइफले २ अर्ब ७९ करोड २५ लाख रुपैयाँ र सन नेपाल लाइफले २ अर्ब ३८ करोड ७२ लाख रुपैयाँको व्यापार गरेको प्राधिकरणको तथ्याङ्क छ ।