बैंकका सीईओभन्दा दोब्बर तलब, म्यानुफ्याक्चर कम्पनीका सीईओ कसले कति तलब खान्छन् ?

काठमाडौं । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरूले अत्यधिक तलब खान्छन् भन्ने विषय अहिले वित्तीय क्षेत्रमा सामान्य भइसकेको छ । कुनैबेला बैंकका सीईओहरूको तलब सुन्ने बित्तिकै धेरैले आलोचना पनि गर्ने गरेका थिए । वार्षिक दुई/तीन करोड रुपैयाँ तलब खाने सीईओहरूले काम चाहिं के गर्छन् भनेर बहस हुने गर्छ । अहिले पनि बेलाबखत सीईओको तलबको विषयमा बहस हुन्छ । तलबको विषयमा बहस गर्ने समाजले बढी तलब बुझ्ने व्यक्तिहरूको कार्यक्षमता, योग्यता, अनुभव, उनीहरूले कम्पनीको आर्थिक सुधारमा खेलेको भूमिका, कम्पनीको ब्राण्डिङ अर्थात् छवि सुधारमा गरेको प्रयास र टिम परिचालन तथा व्यवसाय विस्तारमा गरेको योगदानको चर्चा भने बिरलै हुन्छ । बैंक तथा वित्तीय संस्थाका कर्मचारीको तलबको विषयमा सधैंजसो चर्चा हुने गरेपनि यस सामग्रीमा भने हामीले नेपाल स्टक एक्सचेजमा सूचीकृत उत्पादन तथा प्रशोधन कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ), महाप्रबन्धक तथा कार्यकारी निर्देशकहरूले कति तलब खान्छन् भन्ने विषयको चर्चा गरेका छौं । बोटलर्स नेपालका एमडीको तलब ८ करोड बढी बोटलर्स नेपालले प्रबन्ध निर्देशक दीपक सेन्थिल नाथ गुणलनलाई आर्थिक वर्ष २०८०/८१ मा ८ करोड ८ लाख ५५ हजार रुपैयाँ पारिश्रमिक, भत्ता र सुविधा प्रदान गरेको छ । कम्पनीले पारिश्रमिकवापत २ करोड ७५ लाख १४ हजार रुपैयाँ, भत्तावापत ४ करोड ६९ लाख २ हजार रुपैयाँ र सुविधावापत ६४ लाख ३७ हजार रुपैयाँ प्रदान गरेको हो । साथै कम्पनीले प्रमुख प्रबन्धकहरूलाई १७ करोड ३२ लाख ११ हजार रुपैयाँ भुक्तानी गरेको छ । जसमा पारिश्रमिकवापत ५ करोड ८५ लाख २५ हजार रुपैयाँ, भत्तावापत १० करोड ८१ लाख २० हजार रुपैयाँ र सुविधावापत ६५ लाख ६५ हजार रुपैयाँ भुक्तानी गरेको हो । यस कम्पनीले आव २०८०/८१ मा सञ्चालकहरूलाई ९ लाख ६० हजार रुपैयाँ भत्तावापत भुक्तानी गरेको छ । आव २०७९/८० मा भने ७ लाख ६५ हजार रुपैयाँ बैठक भत्ता भुक्तानी गरेको थियो । यूनिलिभरका एमडीको तलब पौने ६ करोड पुँजी बजारको हटकेक सेयर हो यूनिलिभर नेपाल । कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४७ हजार रुपैयाँमा कारोबार भइरहेको छ । एक वर्षको अवधिमा कम्पनीको सेयर मूल्य ५६ हजार ८०५ रुपैयाँसम्म पुगेको थियो । कम्पनीको सेयर मूल्य उच्च हुनुको कारण प्रत्येक वर्ष सेयरधनीहरूलाई उच्च लाभांश वितरण गर्नु हो । कम्पनीले प्रत्येक वर्ष सेयरधनीहरूलाई उच्च लाभांश वितरण गर्दै आएको छ । सेयरधनीलाई मख्ख बनाउँदै आएको यस कम्पनीले आफ्ना सञ्चालक तथा कर्मचारीलाई पनि मख्ख बनाएको देखिन्छ । किनभने कम्पनीले गत आव २०८०/८१ मा आफ्ना कर्मचारी र सञ्चालकहरूलाई लाखौं रुपैयाँ तलबभत्तामा भुक्तानी गरेको देखिन्छ । गत वर्ष कम्पनीले सञ्चालकहरूलाई २ लाख ९७ हजार रुपैयाँ बैठक भत्ता बापत भुक्तानी गरेको छ । यस्तै, प्रमु कार्यकारी अभिकृत तथा प्रबन्ध सञ्चालक (एमडी)लाई ५ करोड ८६ लाख ९३ हजार रुपैयाँ तलब भत्तावापत भुक्तानी गरेको कम्पनीले जनाएको छ । यस कम्पनीको एमडी अम्लान मुखर्जी हुन् । अघिल्लो वर्ष कम्पनीले सञ्चालकलाई ३ लाख २४ हजार रुपैयाँ र प्रबन्ध सञ्चालकलाई ४ करोड ८१ लाख ५३ हजार रुपैयाँ भुक्तानी गरेको थियो । साथै, कम्पनीले अन्य पदाधिकारी तथा कर्मचारीलाई गत वर्ष २६ करोड ६२ लाख ९६ हजार रुपैयाँ तलबभत्ता बापत भुक्तानी गरेको छ । कम्पनीका अनुसार २२२ जना अन्य पदाधिकारी तथा कर्मचारी रहेका छन् । चालक सहितको साधन, इन्धन तथा ईन्जिन मर्मत खर्चहरु प्रबन्ध सञ्चालक, आपूर्ति प्रमुख, वित्तीय प्रमुख र बिक्री प्रमुखलाई दिएको कम्पनीको भनाइ छ । नेपाल ल्यूव आयलका महाप्रबन्धकको तलब ६६ लाख नेपाल ल्यूव आयलले आव २०८०/८१ मा अध्यक्ष एवं प्रवन्ध सञ्चालक, सञ्चालक एवं पदाधिकारी र वरिष्ठ कर्मचारी (उप-प्रबन्धक सम्मको) लाई २ करोड ९४ लाख ८४ हजार ६३४ रुपैयाँ भुक्तानी गरेको छ । कम्पनीले सञ्चालकहरूलाई २३ लाख ७६ हजार ५२९ रुपैयाँ, महाप्रबन्धकलाई ६६ लाख २७ हजार १६० रुपैयाँ र प्रमुख प्रबन्धकहरूलाई २ करोड १८ लाख ५७ हजार ४७३ रुपैयाँ भुक्तानी गरेको छ । यस कम्पनीका महाप्रबन्धक गंगाराज भट्टराई हुन् । तर, सो कम्पनीको कार्यकारी निर्देशकको काम भने करन चौधरीले गर्दै आएका छन् । आव २०७९/८० मा कम्पनीले सञ्चालकहरूलाई २० लाख ९४ हजार १७६ रुपैयाँ, महाप्रबन्धकलाई ५२ लाख ६० हजार ८२३ रुपैयाँ र प्रमुख प्रबन्धकहरूलाई १ करोड ७७ लाख ८८ हजार ७०५ रुपैयाँ भुक्तानी गरेको थियो । हिमालयन डिस्टिलरी हिमालयन डिस्टिलरीले गत वर्ष प्रमुख कार्यकारी अधिकृत (सीईओ)लाई ७२ लाख २५ हजार ७९९ रुपैयाँ पारिश्रमिक, भत्ता, तथा सुविधा बापत भुक्तानी गरेको छ । यस कम्पनीको सीईओको रूपमा निरज सुवेदीले काम गर्दै आएका छन् । कम्पनीले अन्य पदाधिकारी (प्रबन्धक तहदेखि माथि)का कर्मचारीलाई ३ करोड ३२ लाख ५५ हजार ९२७ रुपैयाँ भुक्तानी गरेको हो । कम्पनीले अध्यक्ष र सञ्चालक समिति सदस्यलाई १५ लाख १५ हजार रुपैयाँ बैठक भत्ता प्रदान गरेको छ । शिवम् सिमेन्ट शिवम् सिमेन्टले आव २०८०/८१ मा प्रबन्ध सञ्चालकलाई ६९ लाख ७ हजार ७९६ रुपैयाँ तलब, भत्ता तथा सुविधा र ९ लाख २२ हजार रुपैयाँ बैठक भत्ता प्रदान गरेको छ । यस कम्पनीको कार्यकारी निर्देशक लिउ शुगजान हुन् । आर्थिक वर्ष २०७९/८० मा कम्पनीले प्रबन्ध सञ्चालकलाई ७५ लाख ३६ हजार ७६० रुपैयाँ तलब, भत्ता तथा सुविधा र ११ लाख ६ हजार रुपैयाँ बैठक भत्ता प्रदान गरेको छ । साथै सो वर्ष कम्पनीले व्यवस्थापन समूहलाई ४ करोड ६४ लाख ९३ हजार ५८५ रुपैयाँ तलब भत्तावापत भुक्तानी गरेको थियो । घोराही सिमेन्ट घोराही सिमेन्टले आर्थिक वर्ष २०८०/८१ मा व्यवस्थापन प्रमुख देवेन्द्र सिन्हालाई ५१ लाख रुपैयाँ पारिश्रमिक भुक्तानी गरेको छ । यस्तै, वित्त तथा लेखा प्रमुख शंकर लाल अगिवाललाई ६२ लाख ८४ हजार ५० रुपैयाँ भुक्तानी गरेको छ । आव २०७९/८० मा कम्पनीले सिन्हालाई ५१ लाख रुपैयाँ र अगिवाललाई ६२ लाख ६२ हजार ४५४ रुपैयाँ भुक्तानी गरेको थियो । सोनापुर मिनिरल्स सोनापुर मिनिरल्स एण्ड आयलले आव २०८०/८१ मा कम्पनीका प्रबन्ध सञ्चालक निपेश तायललाई ७६ लाख ४७ हजार रुपैयाँ पारिश्रमिक, भत्ता तथा सुविधा बापत भुक्तानी गरेको छ । यस्तै, ३० हजार रुपैयाँ बैठक भत्ता बापत भुक्तानी गरेको छ । यस्तै, महाप्रबन्धक भीमप्रसाद पाठकलाई ४८ लाख ७२ हजार ८६५ रुपैयाँ भुक्तानी गरेको छ । अन्य सञ्चालकहरूलाई बैठक भत्ता बापत १ लाख ४४ हजार रुपैयाँ भुक्तानी गरेको कम्पनीले जनाएको छ । आव २०७९/८० मा कम्पनीले सञ्चालक, प्रबन्ध सञ्चालक तथा पदाधिकारीहरुलाई १ करोड २५ लाख १९ हजार ८६५ रुपैयाँ पारिश्रमिक, भत्ता तथा सुविधाबापत भुक्तानी गरेको थियो । सर्वाेत्तम सिमेन्ट सर्वाेत्तम सिमेन्टले सञ्चालक समूहलाई ५५ लाख ८७ हजार १८८ रुपैयाँ भुक्तानी गरेको छ । साथै व्यवस्थापन समूहलाई १ करोड ५६ लाख ७२ हजार ९७३ रुपैयाँ भुक्तानी गरेको छ । यस कम्पनीका सीईओ सन्तोष केसी हुन् । आ‍व २०७९/८० मा कम्पनीले सञ्चालक समूहलाई ५५ लाख ८७ हजार १८८ रुपैयाँ र व्यवस्थापन समूहलाई २ लाख ६८ हजार ९३ लाख ३७२ रुपैयाँ भुक्तानी गरेको थियो ।

यी १५ बैंकका कर्मचारीको तलब बढ्यो, कुन बैंकले कति बढायो ?

काठमाडौं । बैंकका कर्मचारीहरूको तलब ६ महिनामा साढे १ अर्बभन्दा बढी बढेको छ । चालु आर्थिक वर्ष २०८१/८२ को पुस मसान्त सम्ममा वाणिज्य बैंकहरूले कर्मचारीहरूको तलब ६.०६ प्रतिशत अर्थात् १ अर्ब ६२ करोड ८४ लाख रुपैयाँ बढाएर २८ अर्ब ४७ करोड ४३ लाख रुपैयाँ भुक्तानी गरेका हुन् । गत वर्षको पुसमा २० वटा वाणिज्य बैंकले कर्मचारीहरूलाई २६ अर्ब ८४ करोड ५९ लाख रुपैयाँ तलब बापत भुक्तानी गरेका थिए । समीक्षा अवधिमा अधिकांश बैंकले कर्मचारीको तलब खर्च बढाएको देखिन्छ । यस अवधिमा १५ वटा बैंकको कर्मचारी खर्च बढेको छ भने ५ वटा बैंकको कर्मचारी खर्च भने घटेको देखिन्छ । गत वर्षको तुलनामा घटेको भएपनि यस अवधिमा सबैभन्दा धेरै रकम राष्ट्रिय वाणिज्य बैंकले खर्च गरेको देखिन्छ । यस बैंकको २.४७ प्रतिशत घटेर २ अर्ब ७ करोड ५० लाख रुपैयाँ कर्मचारीहरूलाई भुक्तानी गरेको छ । जबकि गत वर्षको पुसमा बैंकले कर्मचारीहरूलाई २ अर्ब १२ करोड ७६ लाख रुपैयाँ खर्च गरेको थियो । समीक्षा अवधिमा हिमालयन बैंकको कर्मचारी खर्च सबैभन्दा धेरै बढेको देखिन्छ । हिमालयनको २७.६१ प्रतिशत बढेर १ अर्ब ५७ करोड ६७ लाख रुपैयाँ तलब भुक्तानी गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले १ अर्ब २३ करोड ५५ लाख रुपैयाँ तलब भुक्तानी गरेको थियो । यस्तै, प्राइम बैंकको २५.६६ प्रतिशत बढेर ८५ करोड ९१ लाख रुपैयाँ, एनआईसी एशिया बैंकको २४.९१ प्रतिशत बढेर १ अर्ब ७३ करोड २६ लाख रुपैयाँ, एनएमबी बैंकको २३.१६ प्रतिशत बढेर १ अर्ब ३३ करोड ६८ लाख रुपैयाँ तलब वापत भुक्तानी गरेका छन् । एभरेष्ट बैंकको १४.८७ प्रतिशत बढेर ९१ करोड ९२ लाख रुपैयाँ, लक्ष्मी सनराइज बैंकको १४.३१ प्रतिशत बढेर १ अर्ब ८७ करोड ५७ लाख रुपैयाँ, सानिमा बैंकको १३.८५ प्रतिशत बढेर ८२ करोड रुपैयाँ, कृषि विकास बैंकको ७.०५ प्रतिशत बढेर १ अर्ब ८१ करोड ४१ लाख रुपैयाँ खर्च गरेका छन् । प्रभु बैंकको ५.९७ प्रतिशत बढेर १ अर्ब ८७ करोड ५९ लाख रुपैयाँ, सिद्धार्थ बैंकको ५.५८ प्रतिशत बढेर १ अर्ब ३५ करोड ४६ लाख रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ५.२९ प्रतिशत बढेर १ अर्ब ५२ करोड ४ लाख रुपैयाँ, नबिल बैंकको ५.२३ प्रतिशत बढेर १ अर्ब ८६ करोड ५८ लाख रुपैयाँ कर्मचारीलाई तलब वितरण गरेका छन् । स्ट्याण्डर्ड चार्टर्ड बैंकको ४.९१ प्रतिशत बढेर ५४ करोड ३० लाख रुपैयाँ, सिटिजन्स बैंकको ३.८३ प्रतिशत बढेर ८३ करोड ८९ लाख रुपैयाँ, माछापुच्छ«े बैंकको १.६२ प्रतिशत बढेर १ अर्ब १३ करोड ६६ लाख रुपैयाँ तलब भुक्तानी गरेका छन् । समीक्षा अवधिमा ग्लोबल आइएमई बैंक, कुमारी बैंक, राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र नेपाल एसबीआई बैंकको कर्मचारी खर्च भने घटेको देखिन्छ । ग्लोबल आइएमई बैंकको ११.६९ प्रतिशत घटेर १ अर्ब ८४ करोड ४४ लाख रुपैयाँ, कुमारी बैंकको ७.७२ प्रतिशत घटेर १ अर्ब ९२ करोड ५३ लाख रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकको २.४७ प्रतिशत घटेर २ अर्ब ७ करोड ५० लाख रुपैयाँ, नेपाल बैंकको १.१३ प्रतिशत घटेर १ अर्ब ८२ करोड १८ लाख रुपैयाँ र नेपाल एसबीआई बैंकको०.१३ प्रतिशत घटेर ७३ करोड ७६ लाख रुपैयाँ कर्मचारीलाई तलब वितरण गरेका छन् ।

गुल्जार बागबजार ‘सर्टिङ-सुटिङको हब’

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. २८ का अध्यक्ष भाइराम खड्गीलाई ६० वर्षअघि बागबजारका खेतका आलीहरूमा नाच्दै-खेल्दै गरेको हिजोजस्तै लाग्छ । पातलो बस्ती, ठूल्ठूला खेतहरु, हरियाली जंगल अनि सीमित मानिसहरूको आवतजावत । यो दृश्य भाइराम खड्गीको मानसपटलमा अझै पनि ताजै छ । जति खड्गीको मुहारमा चाउरिएका रेखीहरू बढ्न थाले त्योभन्दा  व्यग्ररूप बागबजारले लिन थाल्यो । उनी अहिले पनि सम्झिन्छन्, ‘विद्युत प्राधिकरणको कार्यालय रहेकै ठाउँमा त्यतिखेर बाघको खोर थियो ।’ बागबजारभरिको मानिसको लुगा सिलाउने एउटा ‘दमाई बा’ थिए । ‘वर्षमा एक जोर लुगा लगाउँथ्यौं, त्यो एक जोर लुगा सिलाउन पनि दमाइ बाको पालो कुनुपर्थ्याे,’ उनी भन्छन्, ‘अहिलेको बागबजार र पहिलेको बागबजारबीच तुलना गर्न नै मिल्दैन, धेरै परिवर्तन भइसक्यो ।’ भाइराम खड्गी । बागबजारमा करिब ३० वर्षअघि आराधना कम्प्लेक्सले सर्टिङ-सुटिङको काम सुरु गरेको थियो । १५/२० वटा सर्टिङ-सुटिङ एक ठाउँमा जम्मा भएर व्यवसाय सञ्चालन गरिएकाे थियाे । तर, अहिले बागबजारभरि त्यसकै पसलहरू देखिन्छन् । विस्तारै बागबजारको खेतबारी र जंगल हराउँदै गयो । अहिले बागबजारमा ठूल्ठूला कंक्रिटका घरहरू छन् । विगतमा एक जोर लुगा सिलाउन १० दिन कुनुपर्ने अवस्थाबाट अहिले बागबजारमा घण्टामै लुगा तयार हुने प्रविधि भित्रिएका छन् । विगतमा केही जातिले मात्रै गर्ने सिलाइ कटाइ तथा सटिङ सुटिङ अहिले ठूलाे व्यवसायका रूपमा विस्तार भएकाे छ । अधिकांश व्यवसायीको रोजाइ बनेको छ । बीचमा फेरिएको स्वरूप एक समय छापाखाना र प्रिन्टिङको लागि बागबजार प्रख्यात बन्यो । कुनै प्रिन्टिङ तथा छापाखानाको काम गर्नुपर्‍यो भने सबैले सुरुमै सम्झिने नाम थियो बागबजार । बागबजारका गल्लीहरू प्रिटिङ पसलहरूले भरिभराउ थिए । प्रिटिङको काम गर्ने अधिकांशको जमघट गर्ने थलो थियो बागबजार । तर, अहिले बागबजारले रूप फेरेको छ । गल्ली-गल्लीमा भेटिने प्रिन्टिङका पसलहरू हराउन थालेका छन् । पुराना व्यवसायीहरू पलायन हुन थालेका छन् । नयाँ व्यवसायीले अड्डा जमाइरहेका छन् । विशेष गरेर अहिले बागबजार सर्टिङ-सुटिङको हबका रूपमा विकसित भएकाे छ । धेरैले लुगा सिलाउनु पर्‍यो भने सुरुमा सम्झिने नाम नै बनेको छ बागबजार । विवाह तथा ब्रतबन्धमा मात्रै होइन, बाह्रै महिना सुट सिलाउने र किन्नेहरूको भीड लाग्छ बागबजारमा । बागबजारका पुराना व्यवसायीहरू अहिले सर्टिङसुटिङको हब बनिरहेको धारणा राख्छन् । अर्जुन बस्नेत । बागबजार काठमाडौंमा मात्रै होइन, ७७ वटै जिल्लाका मानिसहरूंको रोजाइमा पर्छ । छिटो, छरितो र उत्कृष्ट काम, सुपथ मूल्य-सरल स्वभाव र व्यावसायिक लेनदेनले बागबजारलाई दिनप्रतिदिन सटिङ-सुटिङको हब बन्न प्रेरित गरिरहेको छ । नयाँ व्यवासयीलाई पनि बागबजारमा आएर सटिङ सुटिङको व्यवसाय थाल्न उप्रेरित गरिरहेको छ । अहिले बागबजारको मुख्य सडकमा तपाईं हिड्नुभयो भने तपाईंले अधिकांश सटरहरु सर्टिङ-सुटिङका देख्न सक्नुहुन्छ । २५ वर्षदेखि बागबजारमा सटिङ-सुटिङ व्यवसाय गर्दै आएका मेरिना इम्पेक्सका निर्देशक अर्जुन बस्नेत यो व्यवसायमा अहिले धेरैको आकर्षण बढेको बताउँछन् । उनका अनुसार पूर्वदेखि पश्चिमसम्मका मानिस सुट सिलाउनकै लागि बागबजार पुग्ने गरेका छन् । उनले ७७ वटै जिल्लाका मानिसहरुले सुट सिलाउनका लागि बागबजार रोज्ने गरेको अनुभव सुनाए । बागबजारमै रहेको सुटमालाका सञ्चालक राज कार्की पनि शिक्षक पेशाबाट पलायन भएर सर्टिङ-सुटिङको व्यवसायमा प्रवेश गरे । उनले पनि यो व्यवसायमा सम्भावना र अवसरहरु देखे । र, शिक्षक पेशा छोडेर सदाका लागि सर्टिङ-सुटिङको व्यवसायमा होमिए । उनी पनि बागबजारलाई सटिङ-सुटिङको जन्मदाता ठान्छन् । काठमाडौंको अधिकांश टेलरिङ बागबजारबाटै सुरु भएको बताउँदै उनी भन्छन्, ‘अहिले काठमाडौंका जति क्षेत्रमा सर्टिङ-सुटिङ छन्, यसको प्रभाव बागबजारबाटै परेको हो, अहिले पसलहरू बढे पनि बागबजार विगतदेखि नै सटिङ सुटिङको हब हो ।’ बागबजार सर्टिङ-सुटिङ हबभन्दा पनि प्रयोगशाला भएकाे तर्क कार्कीकाे छ। बागबजारमा सटिङ-सुटिङको व्यवसाय सफल प्रमाणित भएसँगै अन्य क्षेत्रमा यस्तै व्यवसाय जन्मिएको धारणा उनी राख्छन् । उनका अनुसार अहिले बागबजारमा विभिन्न जिल्लाबाट टेलरिङ अध्ययन गर्न आउनेहरू बढिरहेका छन् । ‘अहिले मेरो टेलरमा पनि दैनिक ७/८ जना भिजिट गर्न आउनुहुन्छ, व्यवसाय कसरी चलाइएको छ ? कपडा कुन लेभलको राखिन्छ ? कसरी बिक्री हुन्छ ? डिजाइन कसरी गरिन्छ ? भन्ने विषयमा जानकारी लिनुहुन्छ,’ उनी भन्छन्,  ‘बागबजार टेलरिङ सिक्नेहरूका लागि एउटा पाठशाला हो ।’ अहिले बागबजारमा सर्टिङ-सुटिङको व्यवसाय गरिरहेका व्यवसायीहरू खुसी छन् । व्यवसायसँगै उनीहरूले बागबजारलाई एउटा हब बनाउन भूमिका खेलिरहेका छन् । समुन्द्र तण्डुकारले बागबजारमा टेलर्स सञ्चालन गरेको ३० वर्ष भयो । ३० वर्षअघि उनको सामान्य लुगा सिलाउने पसल थियो । अहिले उनी पनि बागबजारका परिचत पात्र बनेका छन् । उनले आफैले सिलाइकटाइ सिके । व्यवसाय थाले । अहिले व्यवसाय राम्रै चलिरहेकाे छ । उनले अहिले बागबजारमा ठूलो ‘एस.टी टेलर’ (पासा) सञ्चालन गरिरहेका छन् । ‘सुरुमा आफै पसल राखेर लुगा सिलाउन थालें, विस्तारै पसल चल्दै गयो,’ उनी भन्छन्, ‘सेवाग्राहीको भीड पनि बढ्न थाल्यो, अहिले विगतको तुलनामा पसल विस्तार गरेको छु, म सन्तुष्ट छु ।’ समुन्द्र तण्डुकार । फेरिँदै ट्रेण्ड, रोजाइमा सुट ६० वर्षअघि एउटा ‘दमाइ बा’ ले कपडा सिलाउने बागबजारमा अहिले थरिभरिका व्यवसायी भित्रिएका छन् । सिलाइ कटाइको काम सीमित जातिले गर्नुपर्छ भन्ने मानसिकता अधिकांशमा मानिसमा थियाे । त्यो जातीले सिलाइकटाइबाट नै आफ्नो गुजारा चलाउँथ्यो । राज कार्की । तर, अहिले समय फेरिएको छ । विभिन्न जातजाती र धर्म संस्कृतिका मानिसहरू सर्टिङ-सुटिङमा लागेका छन् । उनीहरु विगतमा सीमित व्यक्ति र जातीले गर्ने कामलाई पेसा र व्यवसायका रूपमा विकास गरिरहेका छन् । सुटमालाका सञ्चालक कार्की कुनै पनि व्यवसाय कुनै पनि जाति केन्द्रित हुन नहुने धारणा राख्छन् । ‘सिलाइ-कटाइ आत्मनिर्भर हुने एउटा उत्कृष्ट सीप हो, यो सीप हरेक मान्छेमा हुन आवश्यक छ, विगतमा हातमुख जोड्नका लागि गरिने सिलाइकटाइ आज एउटा ठूलो सम्भावित व्यवसायका रुपमा हेरिएको छ,’ उनी गर्वका साथ भन्छन्, ‘ परिवर्तन सम्भव छ ।’ एस.टी टेलरर्सका सञ्चालक तण्डुकार पनि आजभोलि मान्छेको सोंचमा ठूलो परिवर्तन आएको महसुस गर्छन् । व्यवसाय सुरु गरेदेखि अहिलेसम्मको ३० वर्षको अवधिमा उनले धेरै उतारचढाव र आरोह अवरोहहरु अनुभव गरे । विगतको तुलनामा सर्टिङ-सुटिङ व्यवसायमा ठूलो परिवर्तन आएको उनको भनाइ छ । विगतमा केही विशेष व्यक्तिले मात्रै सुट लगाउने अभ्यास थियो । सुट लगाउनेहरूलाई आम मानिसले हेर्ने नजर पृथक थियो । सुट लगाइ हाले पनि विवाह बाहेकमा लगाउने सीमित हुन्थे । तर, अहिले समय फेरिएको छ । अहिले अधिकांशको राेजाइ सुट बनेको छ । हरेक चाडपर्व, मेला, महोत्सव तथा दैनिक कार्यमा पनि अधिकांशले सुटको प्रयोग गर्छन् । मेरिना इम्पेक्सका निर्देशक बस्नेत भन्छन्, ‘विगतमा हरेक मान्छेले सुट लगाउने अभ्यास थिएन । तर, अहिले अधिकांशको रोजाइ सुट छ, हामीले पनि सुट लगाउन सबैलाई प्रोत्साहन गरिरहेका छौं ।’ बागबजारमा २० वर्षदेखि सटिङ सुटिङको व्यवसाय गरिरहेका एक्सलेन्ट टेलर्सका सञ्चालक कमलेश श्रेष्ठ सेवाग्राहीको माग बढेसँगै यो व्यवसायमा आवद्ध हुनेको संख्या पनि बढेको बताउँछन् । उनी आजभोलि मान्छे चिटिक्क पर्न रुचाउने भएकोले धेरैको रोजाइ सुट बनेको अनुभव सुनाउँछन् । ‘हरेक व्यक्तिलाई हेर्दा आकर्षक देखाउने नै सुट हो, त्यसैले पनि सुटमा युवापुस्ताको आकर्षण बढेको हो,’ उनले भने । कमलेश श्रेष्ठ । टेलरिङमा प्रविधि विगतको तुलनामा सटिङ-सुटिङमा केही प्रविधि भित्रिएका छन् । तर, अपेक्षाकृत ढंगले प्रविधि भित्रिन नसकेको व्यवसायीहरूकाे गुनासाे छ । सुटमालाका सञ्चालक कार्की अब यो क्षेत्रमा प्रविधिको प्रयोग गर्न ढिलाइ गर्न नहुने धारणा राख्छन् । ‘अन्य क्षेत्रमा प्रवृधिको प्रयोग बढिरहेको बेला यो व्यवसायमा पनि आवश्यक छ, सर्टिङ-सुटिङको लागि म आफैले पनि दुइटा एप विकास गर्ने तयारी गरेको छु,’ उनले याेजना सुनाए । उनले परिकल्पना गरेको एपमा कुनैपनि लुगा सिलाउन वा नाप लिनका लागि मान्छे भाैतिक रूपमा उपस्थित हुनु पर्दैन । लुगा सिलाइसक्ने बित्तिकै सेवाग्राहीलाई म्यासेज जाने एपको  विकास गर्ने प्रयास उनले गरिरहेका छन् । उनी यो पेशामा आवद्ध व्यक्तिले लगानी राम्रो गर्न नसकेको धारणा पनि राख्छन् । ‘हामीले यो पेशालाई लुगा बेच्ने र जीवन निर्वाहमात्र गर्ने बनायौं । याे पेशा जीवन निर्वाहमात्रै हाेइन, आमयुवालाई विदेश जानुभन्दा फेशनसँग सम्बन्धित रहेको एउटा टेलरिङमा पनि काम गर्न सकिन्छ भन्ने प्रेरणाको रूपमा पनि यसलाई लिन सकिन्छ,’ उनले भने । यो क्षेत्रमा अहिले नयाँ-नयाँ डिजाइन बजारमा आएका छन् । अहिले युवापुस्ताले दुई बटन राउण्डको क्लासिक डिजाइन खुब मन पराइरहेकाे व्यवसायीहरु सुनाउँछन् । त्यो बाहेक अहिले ट्रेन्डमा रहेको डबल ब्रेष्टेड सुटको डिजाइन चलेको छ । युवा भन्नेबित्तिकै स्लिम फिटेट मन पराउँछन् । उनीहरूको रोजाइअनुसार सेवा दिने चुनौती पनि थपिएको उनीहरूको भनाइ छ । ‘ग्राहकको विचार र मागमा पहिलेको भन्दा अहिले धेरै परिवर्तन आएको छ, पहिले जस्तो छैन,’ कार्की भन्छन्, ‘जमाना फेरियो, इन्टरनेटमा नयाँ-नयाँ डिजाइन आइरहेको हुन्छ । ग्राहकले पनि त्यस्तै माग गर्छन्, त्योअनुसार आफूलाई परिमार्जन गर्नुपर्छ ।’ बागबजारमा २० वर्षदेखि टेलरिङ व्यवसाय गरेका कमलेस श्रेष्ठ विगतको तुलनामा अहिले व्यवसाय सुस्ताएको बताउँछन् । उनी सुट मेलाले केही उत्साह बढेपनि पहिलेको जस्तो व्यवसाय अहिले नभएको उनको भनाइ छ । उनी भन्छन्, ‘कोरोनाले समस्या भएको थियो । तर, सुटमेलापछि अहिले फेरि लय फर्कन थालेको छ ।’ नेपाली युवाहरू विदेसिँदा यसको असर टेलरिङमा परेको बताउँछन् । ‘सुट बढी प्रयोग गर्ने भनेको युवापुस्ता हो । तर, नेपाली युवा पुस्ताको आकर्षण विदेश हुन थाल्यो । युवाहरू विदेसिँदा यसको असर व्यवसायमा परेको हो,’ उनी भन्छन्, ‘तर हामीले यो व्यवसायमा धेरै सम्भावना देखेका छौं ।’