कोदोको ब्राण्डिङमा आर्क्स ग्रुप, निर्यात गरेर विश्वव्यापी बनाउने रणनीति

<p>&nbsp; काठमाडौं । आर्क्स ग्रुपले नेपालको ग्रामीण भेगमा फल्ने कोदोलाई अन्तर्राष्ट्रियकरण गर्ने योजनाअनुरुप कोदोको विभिन्न उत्पादनहरु बजारमा ल्याएको छ । होटल, मोटर्स, हेल्थकेयरलगायत क्षेत्रमा लगानी गरिरहेको यस  ग्रुपले अहिले कोदोको प्रडक्टहरु पनि बजारमा ल्याएको हो । ग्रुपले आर्क्स फुड अन्तर्गत कोदोका प्रडक्टहरु बनाएर अहिले बिक्री गरिरहेको छ । आक्र्स फुड यो ग्रुप अन्तर्गतको एउटा कम्पनी हो [&hellip;]</p>

 

काठमाडौं । आर्क्स ग्रुपले नेपालको ग्रामीण भेगमा फल्ने कोदोलाई अन्तर्राष्ट्रियकरण गर्ने योजनाअनुरुप कोदोको विभिन्न उत्पादनहरु बजारमा ल्याएको छ । होटल, मोटर्स, हेल्थकेयरलगायत क्षेत्रमा लगानी गरिरहेको यस  ग्रुपले अहिले कोदोको प्रडक्टहरु पनि बजारमा ल्याएको हो । ग्रुपले आर्क्स फुड अन्तर्गत कोदोका प्रडक्टहरु बनाएर अहिले बिक्री गरिरहेको छ ।

आक्र्स फुड यो ग्रुप अन्तर्गतको एउटा कम्पनी हो । जसले सिङ्गापुरकै कफी ब्रान्ड म्याग कफी, चाइनाबाट डीडीएन ब्रान्डको सोडा क्र्याकर बिस्कुट र भारतबाट चकलेट लगायतका फुड आइटम आयात गरेर बिक्री गर्दै आएको छ ।

लामो समयदेखि विदेशी फुडलाई आयात गर्दै नेपालमा बजारीकरण गरिरहेको आर्क्स फुडले अहिले स्वदेशी फुड उत्पादन गरेर नेपाली बजारमा ल्याएको बताएको छ । आयातलाई जोड दिइरहेको आर्क्स फुडले कोभिड १९ पछि भने स्वदेशी उत्पादनलाई जोड दिएको बजार निर्देशक गोपालकृष्ण श्रेष्ठले बताए ।

‘ल्याउन पनि सजिलो, बिक्री गर्न पनि सजिलो, बजारमा पनि सहजै बिक्री हुँदा कुनै टाउको दुखाइ थिएन । तर, कोभिडपछि बजारमा आर्थिक समस्या देखियो त्यसपश्चात् नेपालमै उत्पादन भएको प्रयोग गरौं भन्ने कुरा आयो अनि यतातिर लाग्यौं,’ उनले भने ।

नेपाली कुन प्रडक्टलाई कसरी बजारमा ल्याउने, त्यसको मार्केट कस्तो गरी बजारमा ल्याउने भन्ने विषयमा ग्रुपभित्र विविध छलफल भयो । त्यसपछि कोदोलाई बजारीकरण गर्ने उद्देश्यका साथ अहिले कोदोको विभिन्न परिकार बनाएर बिक्री गरिरहेको उनले बताए ।

विगत २ वर्षदेखि आफ्नै उद्योग स्थापना गरी आर्क्स ग्रुपले आर्क्स फुड बजारमा ल्याएको छ । आर्क्स फुडले अहिले बजारमा आफैले उत्पादन गरेको बिस्कुट, कुकिज, पफ ल्याइरहेको छ । ‘हामीले नेपाली बजारलाई मात्र टार्गेट गरेर हुँदैन, यसलाई विदेशी बजारसम्म पुर्याउन सक्नुपर्छ,’ बजार निर्देशक श्रेष्ठ भन्छन्, ‘अहिले हामीले निर्यातमा विशेष जोड दिइरहेका छौं ।’

कोदोमा जोड

नेपालमा प्राचीनकालदेखि फल्ने महत्वपूर्ण अन्नबाली हो कोदो । जसलाई नेपालीहरूले गरिबको खानाको रूपमा चिन्ने गरेका थिए । नेपाली बजारमा मैदा, चामल आएसँगै धेरै नेपालीले कोदो खान छोडिसकेका थिए । यतिसम्मकि यो अन्नलाई हेला गरी धेरैले खेती लगाउन समेत छोडे । तर, विस्तारै नेपालीहरूले रैथाने खानालाई बुझ्न थालेका छन् ।

श्रेष्ठ यही मौकामा कोदोको फुड बजारमा ल्याएको बताउँछन् । उनका अनुसार कोदोको फुड बजारमा ल्याउनुको अर्को कारण पनि छ । आर्क्स फुडले उद्योग सञ्चालनमा ल्याइसकेपछि सुरुमा ‘दामी पफ’ बजारमा ल्यायो । दामी पफ बजारमा आउँदा उपभोक्ता स्वास्थ्यप्रति निकै सचेत भइसकेको पाइयो । धेरैले मैदा खान हुँदैन भन्ने बुझिसकेका थिए । दामी पफ वितरण गर्दैगर्दा धेरै उपभोक्ताले आर्क्स फुडलाई सल्लाह नै दिन थाले । उपभोक्ता नै मैदाबाट टाढा हुन थालिसकेपछि आर्क्स फुडलाई फेरि सोच्न बाध्य बनायो ।

नेपालमै उत्पादन गर्न उद्योग पनि स्थापना भइसक्यो तर, उपभोक्ता यो खान तयार भएन,’ श्रेष्ठ भन्छन्, ‘यो कुराले हामीलाई नेपालमै उत्पादन भएको नेपाली अन्नबाटै बनाउनुपर्छ भन्ने भयो । यो कुरामा धेरै वर्कआउट गर्यौ- कोदोलाई सुपर फुड पनि भनिँदो रहेछ, यो स्वस्थकर पनि रहेछ र कोदो मैदाको उत्कृष्ट विकल्पको रूपमा कोदोलाई पायौं ।’

उपभोक्ताको रुचि र स्वास्थ्यलाई रोज्दै कोदोको फुड बजारमा ल्याएको उनको भनाइ छ ।

सहजै रूपमा कोदो उपलब्ध

धेरैजसो नेपालीले कोदोको महत्व बुझेपनि उत्पादन गर्नेहरूको संख्या भने थोरैमात्र छ । अहिलेको युवापुस्ता धेरैजसो विदेश र नेपालमा भएका युवाहरू पनि कृषिमा आकर्षण छैन । जसकारण कोदोको उत्पादन पर्याप्त नभएपनि अपर्याप्त भने अहिले छैन ।

गोपालकृष्ण श्रेष्ठ ।

पश्चिमी पहाडमा अहिले पनि कोदोको उत्पादन राम्रै हुन्छ । बजार निर्देशक श्रेष्ठ सहजै रूपमा कोदो पाइरहेको बताउँछन् । आर्क्स फुडले बनाइरहेको सामग्री अहिले त्रिशुली क्षेत्रको कोदोको हो । बिस्कुट, कुकिज, पफको उत्पादन भक्तपुरको च्यामासिंहमा फ्याक्ट्री बनाइएको छ । श्रेष्ठले फुडको लागि नेपालमै उत्पादन गरिएको कोदो प्रयोग गरिएको बताए ।

बजारमा रुचाइयो

आर्क्स फुडले कोदोको सामाग्री उत्पादन गरेर बजारीकरण सुरु गरिएको ६ महिना भयो । ६ महिनामै यसले उपभोक्ताको मन जितेको श्रेष्ठको दाबी छ । अहिले बजारमा जताततै खोजी हुने खाद्यान्नमा कोदोको पिठो पर्छ ।

‘छोटो समयमै हाम्रो उपभोक्ताले फुड मन पराएका छन्,’ उनी भन्छन्, ‘अहिले हाम्रो उत्पादन पूर्वको बिर्तामोडदेखि पश्चिम महेन्द्रनगरसम्म पुगेको छ, विदेशमा पनि यसको माग बढिरहेको छ ।’

‘सुरुमा हामीलाई डर लागेको थियो, कोदो स्वस्थकर मात्र भएर भएन, यसमा बिस्कुटको टेस्ट पनि मिलाउनुपर्ने थियो, बजारमा सामग्री ल्याउँदो कस्तो प्रभाव पर्छ भन्ने थियो तर, पहिलोे ट्रायलमा राम्रो प्रतिक्रिया आयो,’ उनले थपे ।

श्रेष्ठ उत्पादन गरेको टेस्ट सबैले मन पराउँदा निकै खुसी लागेको बताउँछन् । पहिले काठमाडौंलगायतका केही मार्केटमा सुरु गरेको फुडको राम्रा प्रतिक्रिया आएपछि पोखरा, वुटवल, नारायणगढ, लगायत विभिन्न सहरमा सामग्री पुगेको छ ।

निर्यातकाे लक्ष्य 

आर्क्स फुडले लक्ष्य गरेको बजार विदेशी हो । स्वदेशसँगै विदेशलाई प्राथमिकतामा राखेर उद्योग सञ्चालनमा ल्याइएको हो । श्रेष्ठ नेपालको बजार पर्याप्त नभएको बताउँदै यसले मात्र व्यवसाय धान्न मुस्किल पर्ने बताउँछन् ।

आर्क्स फुडले उत्पादन गरेको ‘दामी पफ’ अहिले अस्टे«लिया, न्यूजिल्याण्ड निर्यात सुरु गरिएको छ भने कोदो विस्कुट र कुकिजको लागि पनि यी दुई देशबाट माग आइसकेको श्रेष्ठले बताए ।

आर्क्स ग्रुपले करिब ५ करोडको लगानीमा यो उद्योग सुरु गरेको हो । यो उद्योगले ५५ देखि ६० जनालाई उत्पादनतर्फ प्रत्यक्ष रोजगारी दिएको छ भने मार्केटिङमा २२ जनाले रोजगारी पाएका छन् । यो ग्रुपको अध्यक्ष राजेश काजी श्रेष्ठ हुन् ।

आगामी  योजना

कोदोको फुडले राम्रो बजार लिएपछि आर्क्स फुडले बजार बढाउने योजना बनाएको छ । जसका लागि निरन्तरता आवश्यक हुने श्रेष्ठको भनाइ छ । यसले चाँडै कोदोको पफ बजारमा ल्याउने योजना बनाउको छ भने निकट भविष्यमै फापर मकैको बिस्कुट तथा कुकिज सार्वजनिक गर्ने योजना बनाएको छ ।

‘युके, डेनमार्क लगायतका देशमा पनि यसको माग छ,’ उनी भन्छन्, ‘गर्न सक्यो भने राम्रै हुँदो रहेछ, अब हामी कोदोको नयाँ आइटम पनि ल्याउँछौं । लोकल उत्पादनलाई जोड दिन्छौं ।’

यसका लागि प्रत्यक्ष किसानसँग पुग्ने योजना यो ग्रुपले बनाएको छ । अहिले पनि नेपालमा कोदो बाहिरबाट आयात हुन्छ । नेपाली कोदोको पीठोको बजार मूल्य १ सय २० देखि ४० हुँदा आयातित पिठो निकै सस्तो छ ।

श्रेष्ठ भन्छन्, ‘हामीले आयातित् पिठो प्रयोग गर्दैनौं, सकेसम्म नेपालमा नेपालीले उत्पादन गरेको अन्न प्रयोग गर्छौं, यसले राम्रो मूल्य किसानले पाउन्, हामीले पनि राम्रो सामग्री पाऊँ भन्ने अपेक्षा हो ।’

आर्क्स फुडले उत्पादन गरी बजारमा ल्याएको कोदोको बिस्कुट र कुकिजको मूल्य कच्चा पदार्थ प्रयोग गर्दा मूल्य धेरै पर्छ तर अहिले बजारको अन्य बिस्कुट, पफ, कुकिजको मूल्य सरह बेचिएको उनले बताए ।

‘हामीलाई अहिले फाइदाभन्दा पनि मार्केट राम्रो बनाउनु छ । अहिले यसको टेस्ट र बजारको लागि अरू मैदावाला सरह नै मूल्य राखिएको छ, मार्केट बनिसक्छ त्यसपछि मूल्य हेरफेर गर्न सकिन्छ,’ उनले भने ।

Share News