घाटामा भियतनामी ईभी भिनफास्ट, डेलिभरी तीव्र बनाए पनि विदेशमा बिक्री गर्न संघर्ष

काठमाडौं । भियतनामी इलेक्ट्रिक सवारीसधान (ईभी) निर्माता भिनफास्टले बिहीबार सन् २०२४ मा लगभग ९७ हजार गाडी डेलिभर गरेको घोषणा गर्‍यो, जुन २०२३ को तुलनामा तीन गुणा बढी हो । तर, बिक्री मुख्य रूपमा भियतनामको घरेलु बजारमै सीमित रह्यो । वैश्विक बिक्री दोब्बर पार्ने लक्ष्य भिनफास्टले यो वर्ष अन्तर्राष्ट्रिय बिक्री कम्तीमा दोब्बर पार्ने लक्ष्य राखेको छ । २०२४ को अन्तिम त्रैमासिकमा ५३ हजारभन्दा बढी गाडी बिक्री भए, जुन वार्षिक बिक्रीको आधाभन्दा बढी हो । कम्पनीले २०२४ को लागि ८० हजार गाडी बिक्री गर्ने संशोधित लक्ष्य तोकेको थियो, जुन पार गर्दै बिक्री ९७ हजार एकाइ पुगेको हो । पहिले कम्पनीले १ लाख गाडी बेच्ने योजना बनाएको थियो । भिनफास्टकी अध्यक्ष थुई लेले भनिन्, ‘भिनफास्टको २०२४ को परिणामले अपेक्षाभन्दा राम्रो नतिजा देखाएको छ । यसले बजारमा उतारचढाव र म्याक्रोइकोनोमिक अस्थिरताको बावजुद लचिलापन देखाएको छ ।’ आक्रामक तर खर्चिलो रणनीति स्टार्टअप कम्पनीले भियतनाममा आक्रामक तर खर्चिलो विस्तार रणनीति अगाडि बढाएको छ । भियतनाममा लगभग १० करोड मानिसहरू बसोबास गर्छन् । अन्तिम त्रैमासिकमा सस्तो र सानो मोडेल सुरु गरेपछि बिक्रीमा ठूलो उछाल आएको थियो । तर उपलब्ध नवीनतम तथ्यांकअनुसार कम्पनीले गत वर्षको पहिलो तीन त्रैमासिकमा लगभग २ अर्ब डलर घाटा बेहोरेको छ, जुन २०२३ मा २.४ अर्ब डलर घाटापछि आएको हो । यसले यसको मूल कम्पनी भियतनामी कन्ग्लोमरेट भिङग्रुपमा दबाब बढाएको छ । कार निर्माता कम्पनीले विदेशमा पनि विस्तार गर्न चाहेको छ तर अहिलेसम्म विदेशी खरिदारहरूलाई आकर्षित गर्न संघर्ष गरिरहेको छ । भिनफास्टले जनवरीमा एक बयान जारी गरेर भनेको थियो कि गत वर्ष यसले भियतनाममा ८७ हजारभन्दा बढी कारहरू बेचेको छ । यसको मतलब विदेशमा मात्र १० हजार कार बिक्री भएको हो, जुन कुल बिक्रीको लगभग १० प्रतिशत हो । गत वर्ष कम्पनीले अमेरिकामा एक कारखाना स्थापना गर्ने योजना स्थगित गरेको थियो । अहिले कम्पनीले एसियाली बजार विशेष गरी भारत र इन्डोनेसियातर्फ झुकाव देखाएको छ, जहाँ यसले दुई असेम्ब्ली कारखानाहरू स्थापना गर्ने योजना बनाएको छ । भारतमा राम्रो बिक्री हुने अनुमान इन्डिया मोबिलिटी ग्लोबल एक्स्पो २०२५ मा भिनफास्टले पहिलो पटक भारतमा आफ्नो कारहरू प्रस्तुत गरेको थियो । भिनफास्टले दुई नयाँ इलेक्ट्रिक एसयूभी भीएफ सेभेन र भीएफ सिक्स लन्च गरेको हो । कम्पनीले यी गाडीहरू २०२५ को अन्त्यसम्ममा भारतमा बिक्रीको लागि उपलब्ध हुने बताएको थियो । यी भारतमा भिनफास्टका पहिलो गाडीहरू हुनेछन् । कम्पनीले भारतमा बनेका विद्युतीय सवारीसाधनहरू पश्चिम एसिया र अफ्रिकामा पनि बेच्न चाहन्छ । एक्स्पोमा भिनफास्टप्रति धेरैको आकर्षण देखिएकाले भारतमा राम्रो बिक्री हुने अनुमान गरिएको छ । भिनफास्टले बजारअनुसारको बिक्री विवरण प्रदान गरेको छैन । आफूसम्बन्धित कम्पनीमा बढी बिक्री २०२३ मा भियतनाममा यसको बिक्रीको बढी भाग यसका मालिक फाम न्हाट भुङ्गसँग सम्बन्धित कम्पनीहरूलाई भएको थियो, जसमा इलेक्ट्रिक ट्याक्सी सञ्चालक ग्रिन एसएम वा जीएसएम पनि समावेश छ । गत वर्षको घरेलु खरीदारहरूको पूर्ण विवरण उपलब्ध छैन, तर त्रैमासिक आयअनुसार कुल वितरणको लगभग २० प्रतिशत भिनफास्टका सम्बन्धित पक्षहरूलाई गएको थियो । कम्पनीले २४ अप्रिलमा वार्षिक परिणाम जारी गर्ने अपेक्षा गरिएको छ । सान्दर्भिक सामग्री : ईभी ब्याट्री रिसाइक्लिङमा नयाँ उपलब्धी हासिल, युरोपलाई चीनविरुद्ध प्रतिस्पर्धा गर्न सजिलो निसान र होन्डाको ६० अर्ब डलरको मर्जर वार्ता कसरी असफल भयो ? मस्कको दशक लामो ‘स्वचालित टेस्ला’ ल्याउने वाचा पूरा होला ? विज्ञ भन्छन्- जोखिम धेरै

म्यानुफ्याक्चर कम्पनी : सर्वोत्तमको नाफा ६८९ प्रतिशत बढ्यो, यी ४ कम्पनी घाटामा

काठमाडौं । पुँजी बजारमा उत्पादन तथा प्रशोधन (म्यानुफ्याक्चर एण्ड प्रोसेसिङ) क्षेत्रका विभिन्न ९ कम्पनी सूचीकृत छन् । थोरै कम्पनी सूचीकृत भएपनि यो क्षेत्रमा लगानीकर्ताको भने आकर्षण बढ्दो छ । उत्पादन तथा प्रशोधन कम्पनीले दिने प्रतिफल अन्य क्षेत्रको भन्दा धेरै र सेयर मूल्य पनि उच्च भएकाले यो क्षेत्रप्रति सबैको चासो रहन्छ । पुँजी बजारमा सूचीकृत ९ वटा उत्पादन तथा प्रशोधन कम्पनीमध्ये चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासमा रिलायन्स स्पिनिङ्ग मिल्स, हिमालयन डिष्टिलरी, सर्वाेत्तम सिमेन्ट, नेपाल ल्यूव आयल र युनिलिभर नेपालको नाफा बढेको छ । तर, समीक्षा अवधिमा घोराही सिमेन्ट, बोटलर्स नेपाल (बालाजु), बोटलर्स नेपाल (तराई) र सोनापुर मिनरल्स एण्ड आयलको नाफा ऋणात्मक छ । घोराही सिमेन्टको चालु आव २०८१/८२ को दोस्रो त्रैमासमा खुद नाफा ६६ करोड ७१ लाख रुपैयाँ ऋणात्मक छ । गत वर्षको पुस मसान्तसम्ममा कम्पनीको नाफा ४१ करोड ८४ लाख रुपैयाँ ऋणात्मक थियो । समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी १.१३ प्रतिशत बढेर १ अर्ब ७३ करोड १९ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ७१ करोड २४ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । तर, यस अवधिमा कम्पनीको बिक्री लागत १ अर्ब ६१ करोड ४४ लाख रुपैयाँ ऋणात्मक छ । गत वर्षको पुसमा कम्पनीको बिक्री लागत १ अर्ब ५१ करोड ७७ लाख रुपैयाँ ऋणात्मक थियो । कम्पनीको कुल नाफा ३९.६८ प्रतिशत घटेर ११ करोड ७४ लाख रुपैयाँमा झरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीको कुल नाफा १९ करोड ४७ लाख रुपैयाँ थियो । ४ अर्ब ५६ करोड ७६ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको सञ्चित नाफा ५४.०२ प्रतिशत घटेर १ अर्ब ३७ करोड ६० लाख रुपैयाँ र सेयर प्रिमियममा २ अर्ब ६५ करोड ८४ लाख रुपैयाँ छ । कम्पनीको प्रतिसेयर आम्दानी १४.६० रुपैयाँ रहेको छ । कम्पनीका अनुसार सिमेन्ट उद्योगको बजारमा माग भन्दा बढी उत्पादन भएको र प्रतिस्पर्धात्मक अवस्थामा बिक्रीमा अपेक्षा अनुसार वृद्धि नभएको, बिक्री दरमा केही वृद्धि भएको तर अपेक्षा गरे अनुरुप नबढेको, लागतमा भएको वृद्धि, यस अवधिमा युनिट १ को ब्याज खर्चमा लेखांकन गरेको र सो युनिटको ह्रास खर्चलाई नाफा नोक्सानमा लेखिएकोले यस संस्थाका दोश्रो त्रैमासिकमा आम्दानी घट्न गएको हो । आगामी अवधिमा भौतिक संरचनाहरुको निर्माण कार्यमा पनि वृद्धि आउने हुँदा सिमेन्टको मागमा वृद्धि आउने समय रहेको विगतको अनुभवबाट अनुमान गर्न सकिन्छ । सो समयमा सिमेन्टको मागमा वृद्धि आउने भएकोले बिक्री बितरणमा पनि वृद्धि आउने अपेक्षा कम्पनीले गरेको छ । क्षमता विस्तारबाट धेरै सहज हुने, नयाँ प्लान्टमा लाग्ने प्रत्यक्ष खर्चमा कटौती हुने र उत्पादन लागत समेत घट्ने र निर्यात व्यापारमा पनि सुधार आउने कम्पनीको व्यवस्थापक आशावादी बनेको छ । रिलायन्स स्पिनिङ्ग मिल्सको चालु आवको दोस्रो त्रैमासमा खुद नाफा २७४.८९ प्रतिशत बढेर १८ करोड ८८ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ५ करोड ३ लाख रुपैयाँ मात्रै खुद नाफा आर्जन गरेको थियो । यसअवधिमा कम्पनीको सञ्चालन आम्दानी ४७.३८ प्रतिशत घटेर ४ अर्ब ८४ करोड ३५ लाख रुपैयाँ गरेको छ । गत वर्षको पुसमा कम्पनीको सञ्चालन आम्दानी ९ अर्ब २० करोड ६० लाख रुपैयाँ थियो । कम्पनीको कुल नाफा २४ प्रतिशत घटेर ६५ करोड ७३ लाख रुपैयाँ, सञ्चालन नाफा २०.४४ प्रतिशत घटेर ४५ करोड ५६ लाख रुपैयाँ गरेको छ । गत वर्षको पुसमा कुल नाफा ८६ करोड ५० लाख रुपैयाँ र सञ्चालन नाफा ५७ करोड २७ लाख रुपैयाँ थियो । समीक्षा अवधिमा कम्पनीको अन्य आम्दानी ५९.६३ प्रतिशत घटेर २ करोड ३३ लाख रुपैयाँ गरेको छ । तर, कम्पनीको प्रशासन खर्च १३ करोड ५५ लाख रुपैयाँ र वित्तीय खर्च २४ करोड ३६ लाख रुपैयाँ ऋणात्मक छ । १ अर्ब ७० करोड ७३ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको अन्य इक्विटी ३.५३ प्रतिशत बढेर ५ अर्ब ५३ करोड ४५ लाख रुपैयाँ छ । नाफा बढेसँगै कम्पनीको प्रतिसेयर आम्दानी १९ रुपैयाँ बढेर २२.१९ रुपैयाँ पुगेको छ । बोटलर्स नेपाल (बालाजु) को पुस मसान्तसम्ममा नोक्सानी रकम बढेर २४ करोड ५० लाख रुपैयाँ पुगेको छ । जबकि गत वर्षको पुसमा कम्पनीको नाफा १५ करोड १५ लाख रुपैयाँ मात्रै ऋणात्मक थियो । यस अवधिमा कम्पनीको सञ्चालन आम्दानी ४.७७ प्रतिशत घटेर ४ अर्ब ३६ करोड ४३ लाख रुपैयाँमा सीमित भएको छ । गत वर्षको पुसमा कम्पनीले ४ अर्ब ५८ करोड ३१ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । पुसमा कम्पनीको कुल नाफा २२.२१ प्रतिशत घटेर ९१ करोड ६५ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब १७ करोड ८३ लाख रुपैयाँ कुल नाफा गरेको थियो । कम्पनीको अन्य सञ्चालन आम्दानी ५.१० प्रतिशत बढेर १ करोड ६४ लाख रुपैयाँ गरेको छ भने वित्तीय आम्दानी ३४.६८ प्रतिशत घटेर ७ लाख ९१ हजार रुपैयाँ गरेको छ । १९ करोड ४८ लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोष ५.१५ प्रतिशत बढेर ५ अर्ब ८१ करोड ३३ लाख रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर आम्दानी २४० रुपैयाँ ऋणात्मक छ । बोटलर्स नेपाल (तराई) को पुस मसान्तमा खुद नाफा ११ करोड ८९ लाख रुपैयाँ ऋणात्मक छ । गत वर्षको पुसमा कम्पनीको नाफा ७ करोड ४१ लाख रुपैयाँ मात्रै ऋणात्मक थियो । यसअवधिमा कम्पनीको सञ्चालन आम्दानी १९.५१ प्रतिशत घटेर २ अर्ब ९६ करोड ८६ लाख रुपैयाँ, वित्तीय आम्दानी २३ प्रतिशत घटेर ४० हजार रुपैयाँमा झरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ३ अर्ब ६८ करोड ८३ लाख रुपैयाँ सञ्चालन आम्दानी र ५२ हजार रुपैयाँ वित्तीय आम्दानी गरेको थियो । समीक्षा अवधिमा कम्पनीको कुल नाफा २७ प्रतिशत घटेर ६० करोड ३२ लाख रुपैयाँ मात्रै गरेको छ भने अन्य सञ्चालन आम्दानी २५८.२६ प्रतिशत बढेर ३ करोड ५६ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ८२ करोड ७५ लाख रुपैयाँ कुल नाफा र ९९ लाख रुपैयाँ अन्य सञ्चालन आम्दानी गरेको थियो । १२ करोड १० लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको जगेडा कोष ६.६९ प्रतिशत बढेर ३ अर्ब ९६ करोड ७४ लाख रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर आम्दानी १९७ रुपैयाँ ऋणात्मक छ । हिमालयन डिष्टिलरीको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा १४७.४२ प्रतिशत बढेर ४० करोड ४९ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १६ करोड ३६ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी ५९.६९ प्रतिशत बढेर ३ अर्ब ३ करोड २२ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको सञ्चालन आम्दानी १ अर्ब ८९ करोड ८८ लाख रुपैयाँ गरेको थियो । कम्पनीको कुल नाफा ६४.६८ प्रतिशत बढेर ९१ करोड १४ लाख रुपैयाँ गरेको छ भने सञ्चालन खर्च १३१.९६ प्रतिशत बढेर ५३ करोड ४५ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीको कुल नाफा ५५ करोड ३४ लाख रुपैयाँ र सञ्चालन खर्च २३ करोड ४ लाख रुपैयाँ थियो । ३ अर्ब ७ करोड ३४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोष १४.९१ प्रतिशत बढेर ५५ करोड ३३ लाख रुपैयाँ पुगेको छ । नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी १६ रुपैयाँ बढेर २६.३५ रुपैयाँ पुगेको छ । सोनापुर मिनरल्स एण्ड आयलको चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा १२ करोड ५२ लाख रुपैयाँ नोक्सानी छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनी १४ करोड ७८ लाख रुपैयाँ नोक्सानीमा थियो । गत वर्षको तुलनामा यस अवधिमा कम्पनीको नोक्सानी घटेको छ । समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी २९.७७ प्रतिशत बढेर ८१ करोड ५८ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ७० करोड ५६ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । कम्पनीको कुल नाफा ९.०२ घटेर ८ करोड ६५ लाख रुपैयाँमा झरेको छ । गत वर्षको पुसमा कम्पनीको कुल नाफा ९ करोड ५१ लाख रुपैयाँ थियो । कम्पनीको अन्य आम्दानी ४२.६६ प्रतिशत घटेर ३० लाख रुपैयाँमा झरेको छ ३ अर्ब ७ करोड ५० लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको जगेडा कोष ४३.९८ प्रतिशत बढेर ९४ करोड ७ लाख रुपैयाँ र सेयर प्रिमियममा १ अर्ब ६५ करोड ३३ लाख रुपैयाँ छ । पुस मसान्तसम्ममा कम्पनीको प्रतिसेयर आम्दानी ७.९४ रुपैयाँ ऋणात्मक रहेको छ भने प्रतिसेयर नेटवर्थ १८४.३६ रुपैयाँ रहेको छ । सर्वोत्तम सिमेन्टले चालु आवको दोस्रो त्रैमासमा २४ करोड १४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीले ३ करोड ५ लाख रुपैयाँमात्र नाफा गरेको थियो । गत वर्षको सोही अवधिको तुलनामा ६८९.२४ प्रतिशत बढी नाफा आर्जन गरेको हो । पुस मसान्तसम्ममा कम्पनीको सञ्चालन आम्दानी ३५.९४ प्रतिशत बढेर ३ अर्ब ९८ करोड २२ लाख रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले २ अर्ब ९२ करोड ९४ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । समीक्षा अवधिमा कम्पनीको कुल नाफा ४८.७४ प्रतिशत बढेर ६५ करोड ९६ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ४४ करोड ३५ लाख रुपैयाँ कुल नाफा गरेको थियो । कम्पनीको वित्तीय खर्च ३१.९५ प्रतिशत घटेर १५ करोड ६२ लाख रुपैयाँ र कुल खर्च ०.७६ प्रतिशत घटेर ४१ करोड ७६ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले २२ करोड ९६ लाख रुपैयाँ वित्तीय खर्च र ४२ करोड ८ लाख रुपैयाँ कुल खर्च गरेको थियो । साथै कम्पनीको अन्य आम्दानी २८३.४२ प्रतिशत बढेर ७ करोड १८ लाख रुपैयाँ गरेको छ । ४ अर्ब ९७ करोड ५५ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको जगेडा कोष ३३ करोड ६८ लाख रुपैयाँ र अन्य इक्विटीमा ३ अर्ब ९७ करोड ४७ लाख रुपैयाँ छ । नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी ८.२८ रुपैयाँ बढेर ९.७० रुपैयाँ पुगेको छ । पुस मसान्तमा कम्पनीको प्रतिसेयर नेटवर्थ १८६.६६ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात ७५.२५ गुणा रहेको छ । शिवम् सिमेन्ट्सको चालु आवको दोस्रो त्रैमासमा खुद नाफा ६१.७७ प्रतिशत घटेर ५ करोड ६८ लाख रुपैयाँमा सीमित भएको छ । गत आवको पुसमा कम्पनीले १४ करोड ८५ लाख रुपैयाँ नाफा गरेको थियो । चालु आवको ६ महिनामा सञ्चालन आम्पानी ११.८८ प्रतिशत घटेर ३ अर्ब १० करोड १६ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा सञ्चालन आम्दानी ३ अर्ब ५१ करोड ९९ ला रुपैयाँ गरेको थियो । समीक्षा अवधिमा कम्पनीको कुल नाफा २०.६३ प्रतिशत घटेर ४० करोड १ लाख ८६ हजार रुपैयाँ, अन्य आम्दानी २७.९७ प्रतिशत घटेर १२ करोड २६ लाख रुपैयाँ र कुल खर्च १२.३७ प्रतिशत घटेर ४४ करोड ६८ लाख रुपैयाँ गरेको छ । गत वर्षको पुसमा कम्पनीले ५० करोड ४२ लाख रुपैयाँ कुल नाफा, १७ करोड २ लाख रुपैयाँ अन्य आम्दानी र ५० करोड ९४ लाख रुपैयाँ कुल खर्च गरेको थियो । ५ अर्ब ४५ करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको जगेडा कोष ८.६५ प्रतिशत घटेर ३ अर्ब १५ करोड ३२ लाख रुपैयाँ र सेयर प्रिमियममा ९५ करोड ६२ लाख रुपैयाँ सञ्चित छ । कम्पनीको प्रतिसेयर आम्दानी २.०८ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १७५.३१ रुपैयाँ र मूल्य आम्दानी अनुपात २५५.७६ गुणा रहेको छ । युनिलिभर नेपालले चालु आर्थिक वर्षको पुसमा ४७ करोड ७८ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत आवको सोही अवधिमा कम्पनीले ४२ करोड १० लाख रुपैयाँ खुद नाफा गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीले १३.४९ प्रतिशत बढी नाफा आर्जन गरेको हो । समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी ५.४१ प्रतिशत बढेर १ अर्ब ९४ करोड ५६ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ८४ करोड ५७ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । कम्पनीको कुल आम्दानी ३.०१ प्रतिशत बढेर १ अर्ब ९८ करोड रुपैयाँ र कुल खर्च १.०८ प्रतिशत घटेर १ अर्ब ३९ करोड ९४ लाख रुपैयाँ गरेको छ । गत वर्षको पुससम्ममा कम्पनीले १ अर्ब ९२ करोड २१ लाख रुपैयाँ कुल आम्दानी गरेर १ अर्ब ४१ करोड ४८ लाख रुपैयाँ कुल खर्च गरेको थियो । ९ करोड २१ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको रिटेन्ड अर्निङ्ग १०.५७ प्रतिशत बढेर ४ अर्ब १७ करोड ७८ लाख रुपैयाँ पुगेको छ । नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी ६२ रुपैयाँ बढेर ५१९ रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ ४ हजार ६४१ रुपैयाँ छ । नेपाल ल्यूव आयलको पुस मसान्तसम्ममा खुद नाफा १७९.२३ प्रतिशत बढेर २ करोड १९ लाख ६२ हजार रुपैयाँ आर्जन गरेको छ । गत वर्षको पुसमा कम्पनीले ७८ लाख ६५ हजार रुपैयाँ नाफा गरेको थियो । समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी ६.१८ प्रतिशत बढेर ५४ करोड ९६ लाख रुपैयाँ, अन्य सञ्चालन आम्दानी ६० प्रतिशत बढेर २६ लाख ९० हजार रुपैयाँ, कुल नाफा ९.५० प्रतिशत बढेर १६ लाख ५४ हजार रुपैयाँ र सञ्चाल नाफा ४६.३५ प्रतिशत बढेर ४ करोड १३ लाख ४४ हजार रुपैयाँ गरेको छ । गत वर्षको पुसमा कम्पनीको सञ्चालन आम्दानी ५१ करोड ७६ लाख रुपैयाँ, अन्य सञ्चालन आम्दानी १६ लाख ८१ हजार रुपैयाँ, कुल नाफा १४ करोड ६१ लाख रुपैयाँ र सञ्चाल नाफा २ करोड ८२ लाख रुपैयाँ गरेको थियो । चालु आवको पुससम्ममा कम्पनीको चुक्ता पुँजी २०.१४ प्रतिशत बढेर ७ करोड २८ लाख रुपैयाँ, अन्य इक्विटी २६.९३ प्रतिशत घटेर ६ करोड ९१ लाख रुपैयाँ र सञ्चित नाफा १७.२९ प्रतिशत घटेर २६ करोड ७७ लाख रुपैयाँ पुगेको छ । कम्पनीको नाफासँगै प्रतिसेयर आम्दानी ३४ रुपैयाँ बढेर ६०.२९ रुपैयाँ पुगेको छ ।

हेलिप्याड र ६ घरले रोकियो सडक निर्माण, सरकार भत्काउने र स्थानीय प्रतिवाद गर्ने रणनीतिमा

कठमाडौं । चीनले निर्माण गरिरहेको हिल्सा-सिमकोट सडकखण्ड अन्तर्गतको मितेरी पुल नजिकैको सडक निर्माणमा सरकारी तथा आवासीय संरचना बाधक बनेका छन् । चीनले ८ महिनामै पुल निर्माण सम्पन्न गरेपनि पहुँच मार्ग निर्माणमा भने सरकारी तथा व्यक्तिगत संरचना बाधक बनेका हुन् । हिल्सा-सिमकोट सडक आयोजनाका प्रमुख बेलबहादुर नेपालीका अनुसार चीनतर्फको सडक निर्माण भइसकेपनि नेपालतर्फ संरचना रहेको कारण निर्माण कार्य रोकिएको छ । चीनले लगभग ७० मिटर सडक बनाइसकेको छ । नदीतर्फ आरसीसी रिफिटिङ वाल लगाइएको छ । २ सय मिटरमध्ये १ सय मिटरमा ६ वटा घर, सार्वजनिक शौचालय र हेलीप्याडका कारण निर्माण कार्य अगाडि बढाउन सकिएको छैन । त्यसकारण हिल्साबाट सवारी साधनमार्फत नेपाल-चीन आवतजावत सञ्चालनमा ल्याउन नसकिएको उनको भनाइ छ । उनका अनुसार ६ वटा घरहरू भत्काएर समस्या समाधान हुँदैन । ‘एक सय मिटरका लागि घर भत्काउन आवश्यक छैन, बरु अन्य विकल्प खोज्नुपर्छ,’ उनले भने । उनका अनुसार स्थानीयले घर भत्काउन नदिने योजना बनाएका छन् । १४६ मिटर लम्बाइ रहेको मितेरी पुल नेपालतर्फ ५७ मिटर र चीनतर्फ ६३ मिटर रहेको छ । चिनियाँ ठेकेदारले नेपालतर्फ भएका संरचनाका कारण पुलसम्म पहुँचमार्ग निर्माण गर्न बाँकी रहेको बताउँदै संरचना हटाउन आग्रह गर्दै आएको छ । उनले चीनले नेपालतर्फ २ सय मिटर एप्रोच रोड ( अप्रोच रोड भनेको मुख्य सडक वा गन्तव्यसम्म पुग्न बनाइएको सहायक वा जडान सडक हो । यो कुनै राजमार्ग, पुल, उडानस्थल वा अन्य महत्वपूर्ण स्थानसम्म सजिलै पहुँच पुर्‍याउने माध्यमको रूपमा प्रयोग गरिन्छ ।) बनाइदिने भनेको जानकारी दिए । विकल्प खोजिँदै हुम्लाका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले सडकमा पर्ने संरचना भत्काउने वा अन्य विकल्प खोज्ने विषयमा छलफल भइरहेको बताए । उनका अनुसार यो विषयमा माथिल्लो तहले निर्णय गर्ने भएकोले माथिको निर्देशनबाटै निर्णय हुने उनको भनाइ छ । ‘हामीले सर्वदलीय बैठक बसेर यसबारे के गर्ने भनेर भौतिक पूर्वाधार मन्त्रालयमा सिफारिस गरेका छौं, यसको निर्णय मन्त्रालयले नै गर्छ,’ उनले भने । नेपाल र चीन दुवै देशको सम्झौतामा बनेको मितेरी पुलसम्म पुग्न २ सय मिटर बाटो नेपालतर्फबाट बनाउनुपर्ने जानकारी उनले गरे । स्थानीय सरकारले भने संरचना खाली गर्न घरधनीहरुलाई आग्रह गरिरहेको छ । नाम्खा गाउँपालिकाका अध्यक्ष प्रेम लामाले आफूहरुले घरधनीलाई आग्रह गरेपनि भत्काउने वा नभत्काउने भन्ने विषयमा छलफल नै भइरहेको जानकारी दिए । ‘सडक निर्माणका लागि घर नै भत्काउनुपर्ने अवस्था त छैन । तर, चीनियाँ पक्षले हटाउन ताकेता गरिरहेको छ, अब के गर्ने यस विषयमा छलफल हुँदैछ,’ उनले भने । सन् २०१९ मा अर्थमन्त्रालयका सचिव र सहसचिवले नेपालतर्फ २ सय मिटर र चीनतर्फ ३ सय मिटर पहिला नै सहमति भएको थियो । कर्णाली प्रदेश सरकारले मुगुको नाक्चेलाग्ना, डोल्पाको मोरिल्ला र हुम्लाको हिल्सा नाकालाई ठूलो प्राथमिकतामा राखेको छ । तर, पर्याप्त बजेट विनियोजन नहुँदा काम प्रभावकारी रुपमा अगाडि बढ्न सकेको छैन । खुलालुदेखि हुम्लाको सलिसल्लासम्मको १९६ किलोमिटर सडक ट्र्रयाक नेपाली सेनाले खोलिसकेको छ । चीनसँगको सीमा हुम्लाको हिल्सादेखि सलिसल्लासम्मको १४६ किलोमिटर हिल्सा-हुम्ला सडक आयोजनाबाट काम भइरहेको छ । उक्त सडकखण्डको काम पनि तीव्र रूपमा भइरहेको आयोजना प्रमुख नेपालीले बताए । तर, कर्णाली नदीमाथि पुल बन्न नसक्दा हुम्ला सदरमुकामसम्म सडक पु¥याउन नसकिएको उनको भनाइ छ । गत मंसिरमा प्रधानमन्त्री केपी शर्मा ओलीको औपचारिक चीन भ्रमणका नेपाल र चीनबीच ‘बेल्ट एण्ड रोड इनिसियटीभ’ (बीआरआई) सहकार्यको फ्रेमवर्कमा हिल्सा–सिमकोट सडक परियोजनामा सम्झौता भएको थियो । यो सम्झौताले सो सडक खण्डको काम अगाडि बढ्ने अपेक्षा धेरैको छ । हिल्सा-सिमकोट सडक : आर्थिक विकासको मेरुदण्डदेखि उत्तर-दक्षिणको मध्यस्थतासम्म