केपी ओलीसँग राधिकाको असन्तुष्टि र अपेक्षाका गोप्य सूची

‘…त्यसपछि मैले श्रीमतीको रूपमा ‘अपेक्षा’ गर्नै छाडिदिएँ,’ प्रधानमन्त्राणी राधिका शाक्यले आत्मकथा पुस्तक करुणामा श्रीमान वहालवाला प्रधानमन्त्री केपी शर्मा ओलीको बारेमा लेखेकी छिन् । यो विषय मेरो आँखामा मात्र परेन, मनमस्तिष्कमा पनि छिर्‍यो । त्यसपछि मेरो ध्यान किताब रिपोर्टिङमा गयो । केपी ओली र राधिका शाक्यको सन्तान प्राप्ति किन नभएको रहेछ भन्ने कौतुहलता मेरो मनमा उब्जियो । किताबमा केही त पक्कै उल्लेख होला भनेर उत्सुकतापूर्वक पढेँ । उनीहरूको उमेर, विवाह, प्रजनन वातावरण, दम्पतीको इच्छा, स्वास्थ्य अवस्था जस्ता विषयमा बुझ्ने उत्सुकता पलायो ।   राधिकाले किताबमा सन्तान पाउने इच्छा रहेको विषयलाई अभिव्यक्त गरेकी छिन् । उनले करुणा पुस्तकमा छोरी हुँदाको भूमिका र अनुभव लेखेकी छिन् । श्रीमती हुँदाको भूमिका र अनुभव पनि लेखेकी छिन् । बुहारी हुँदाको भूमिका र अनुभव पनि लेखेकी छिन् । तर आमाको भूमिका र अनुभव लेखेकी छैनन् । राधिका किन आमा बनिनन् ? उमेर, विवाह, प्रजनन वातावरणबारे पुस्तकमा लेखिएका विषयहरू नै उहाँ उल्लेख गरिएको छ ।  उमेर  २००८ फागुन १० गते केपी ओली जन्मिएका थिए, राधिकाको जन्म २०१६ साल साउन ९ गते भएको हो । २०४४ साल फागुन १० गते उनीहरूको विवाह भएको थियाे । ओलीको जन्मदिनमा नै विवाह भएको देखिन्छ । त्यसैले पनि होला राधिकाले आफ्नाे जन्मदिनलाई महत्त्व नदिने गरेको तर ओलीको जन्मदिनलाई विशेष महत्त्व दिने गरेको पुस्तकमा लेखेकी छिन् ।  ढिला विवाह भएका कारण राजनीतिज्ञहरू मोहनचन्द्र अधिकारी, शेरधन राई, बलबहादुर केसी, प्रदीप पौडेल लगायतको सन्तान नभएको समाचारहरू बनेका छन् । ढिला विवाहकै कारण कलाकारहरू राजेश हमाल, मिथिला शर्मा, गायक रामेश लगायतको सन्तान भएका छैनन् । तर केपी र राधिकाको विवाह धेरै ढिला भएको होइन । विवाह गर्दा केपी ओली ३६ वर्षका थिए, राधिका शाक्य २८ वर्षकी थिइन् । दुई जनाको उमेरअन्तर ८ वर्षको छ । विवाहको उमेर र दम्पतीको उमेर अन्तरका आधार सन्तान भएन भन्न मिल्दैन । ४५ वर्षको उमेरमा विवाह गरेका शेरबहादुर देउवा र आरजु राणाको एक छोरा छन् ।  दुई पटक विवाह केपी ओली र राधिका शाक्यबीच दुई पटक विवाह भएको रहेछ । पहिलो विवाह २०४४ साल फागुन १० गते कुपण्डोलस्थित पार्टीका एक कार्यकर्ताको घरमा भएको थियो । जनवादी विवाहमा झलनाथ खनाल, विष्णु रिमाल, अमृत बोहोरा, अष्टलक्ष्मी शाक्यसहित १५/२० जनाको उपस्थिति रहेको किताबमा उल्लेख छ ।  रोचक विषय यो छ कि विवाह भएको दिन राधिका घर गइनन्, उनी माइत नै बसिन् । विवाह भएको एक सातासम्म राधिकाले परिवारसँग नभनेको र एक सातापछि पनि केपी ओलीसँग विवाह गर्दैछु भनेकी रहेछिन् । त्यसपछि घर ठेगाना नभएको केटा, त्यो पनि अन्तरजातीय विवाह गर्न लागेको भन्दै  परिवारको मञ्जरी लिन नसकेको विषयमा किताबमा लामो वर्णन गरिएको छ ।  ओली र शाक्यबीच दोस्रो विवाह २०४४ फागुन २८ गते भएको छ । यो विवाह पारिवारिक रूपमा भएको छ तर यो विवाह बेहुलीका बाले बहिष्कार गरेका छन् । छोरीको विवाहका दिन राधिकाको बुबा ससुराली गइ बसेका छन् । ठूलाबा र आमाले विवाह कर्म गराएका छन् । ओलीको दोस्रो विवाहको जन्तीमा सुशील प्याकुरेल, नारद भारद्वाज, दीपक अमात्य लगायत सहभागी भएका थिए ।  दोस्रो विवाह भएको दिन राधिका र केपी पाटनकै एक डेरामा बस्छन् । डेरा आफूले खोजेको, कोठामा चाहिने सबै सामान आफूले बन्दोबस्त गरेको उल्लेख गर्दै राधिकाले लेखेकी छिन्‌- ‘खासमा बिहेपछि उहाँले मलाई होइन, उहाँलाई मैले भित्र्याएको अवस्था थियो ।’  केपी ओली, झलनाथ खनाल ईश्वर पोखरेल, शंकर पोखरेल, अमृत बोहोरा, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट लगायत धेरै नेताहरूले घरबेटीको छोरी भगाएका गसिफ अर्थात् उडन्ते गफ राजनीतिक वृतमा बारम्बार हुन्छ । तर राधिकाले यसबारे खण्डन गरेकी छिन् र लेखेकी छिन् कि ‘म घरबेटीको छोरी पनि होइन, केपी ओलीले मेरो माइतीमा डेरा जमाएका पनि थिएनन् ।’ यसबारे सत्यतथ्य खोज्दा नयाँ लेख बन्छ । डेरालाई ससुरालीमा परिणत गर्ने नेताहरूको वास्तविकता खोतल्ने हो भने अर्को किताब नै तयार हुन्छ । प्रजनन वातावरण  सन्तान प्राप्तिका लागि विवाहपछि प्रजनन वातावरण अत्यन्तै महत्त्वपूर्ण हुन्छ । केपी ओली र राधिका दम्पतीले त्यस्तो वातावरण नपाएको करुणा पढ्दा छर्लङ्ग हुन्छ । श्रीमान श्रीमतीबीचको सम्बन्ध र पारिवारिक वातावरण जस्तो हुनुपर्ने हो हामीबीच त्यस्तो हुन नसेकेको राधिकाले किताबमा लेखेकी छिन् ।  उनले श्रीमान्‌–श्रीमतीबीचको सम्बन्ध र सन्तानबारे एउटै अध्याय वा खण्डमा उल्लेख गरेकी छैनन् । तर फरक फरक अध्यायमा टुक्रा टुक्रा गरेर वास्तविकता लेखेकी छिन् । श्रीमानश्रीमतीबीच रसरङ नै हुन नपाएको समेत उनले लेखेकी छिन् । यतिसम्म लेखिएको छ कि-'विवाहपछिको जीवनलाई ‘तावाबाट झरेको माछो भुङ्ग्रोमा’ भनेजस्तै हुँदै गयो ।’ फरक फरक प्रशङ्गहरूमा विवाहपछिको अवस्थाबारे उनले लेखेकी छिन्- ‘…त्यो सानो कोठामा सोह्र-सत्र जना मान्छेहरू पनि सुन्तुपर्थ्यो । सुत्ने पनि के भन्नु, अटे पो सुत्नु । रात कटाउने मात्र । …डेरा सार्वजनिक स्थल जस्तै थियो । मान्छेहरूको भेटघाटको चाप मैले कल्पना गरेको भन्दा विल्कुलै बढी हुन्थ्यो । …. हाम्रो डेरा राजधानी बाहिरबाट आउने कार्यकर्ताको लागि आश्रयस्थल बनेको थियो ।’  २०५१ सालमा केपी ओली गृहमन्त्री हुँदासम्म एउटा मात्र कोठाको डेरा रहेको किताबमा लेखिएको छ । ‘…श्रीमान्‌–श्रीमतीका रूपमा ‘सेयरिङ, रेयरिङ र केयरिङ’ भन्ने चिज कहिल्यै अनुभूति गर्न पाइएन । …विहेपछि हामीले गुमाएको केही चिज थियो भने त्यो श्रीमान श्रीमतीबीचको आत्मीय सम्बन्धको पल थियो । …सम्बन्धको मधुरताको लागि पर्याप्त समयको पनि जरुरी थियो । जुन हामीले पाएका थिएनौं ।… विहेपछि हाम्रो आफ्नो व्यक्तिगत समय, निजी स्पेस भएन । …हामीले जीवनको रसरङ अनुभूति गर्न कहिल्यै पाएनौं,’ करणाका थुप्रै पानाहरूका यस्ता पीडा व्यक्त भएका छन् ।  केपी ओली धेरैजसो घरबाहिर नै बस्ने, घरमा हुँदा पनि साथीहरू लिएर आउने गरेको राधिकाको वृतान्तमा उल्लेख छ । केपी ओलीलाई भेट्न धेरै मान्छे आउने, राती पनि भेटघाट चलिरहने र उनीहरूको लागि राति पनि खाना खुवाउनु पर्ने, भाँडा माझ्नुपर्ने, डेरामा रातभरि कुराकानी चल्दा निदाउन नसक्ने जस्ता दुःखहरू पनि राधिकाले पुस्तकमा लेखेकी छिन् । पारिवारिक टन्टा बेहोनुपर्ला भनेर विवाह नै नगर्ने भनेर बसेकी तर झन् झमेला बेसाउन बाध्य भएको पनि उनले लेखेकी छिन् ।  बालबालिका मोह राधिका र केपी ओली दुबैलाई बालबालिका असाध्यै मन पर्ने किताबमा उल्लेख छ । बालबालिकासँग खेल्दा र उनीहरूसँग कुराकानी गर्दा दुबै जना आनन्दित हुन्छन् । प्रधानमन्त्री र प्रधानमन्त्राणीको हैसियतमा बालबालिकाप्रतिको प्रेम झल्कने विभिन्न कार्यहरू गरेको वर्णन किताबमा गरिएको छ ।  कुल ३२४ पृष्ठको पुस्तकमा राधिकाले सन्तानबारे आफ्नो धारणा ठाउँठाउँमा, चुस्सचुस्स, अलिअलि व्यक्त गरेकी छिन् । ‘…कहिलेकाहीँ आफ्नै कोखबाट जन्मिएका सन्तान भएका भए पनि ठिकै हुन्थ्यो होला भन्ने सोच मनमा उब्जन्छ,’ एक सन्दर्भमा लेखेकी छिन्, ‘सन्तानको सन्ताप’बारे अर्को सन्दर्भमा राधिकाले लेखेकी छिन्‌–‘मेरो आफ्नाे कोखबाट जन्मेका सन्तान छैनन्  अर्थात हाम्रा आफ्नै जैविक छोराछोरी छैनन् । सन्तान नै नहोस् भन्ने पनि थिएन ।’ यसबाट राधिकाको  सन्तान इच्छा अभिव्यक्त हुन्छ ।  तर उनले आफ्नाे जागिरको व्यस्तता र केपी ओलीको राजनीतिक व्यस्तताले सन्तानको खोजी नभएको तर्क किताबमा दिएकी छिन् । आफ्नै सन्तान हुनुपर्छ भनेर श्रीमानश्रीमतीबीच कहिल्यै सरसल्लाह नै नगरेको पनि लेखेकी छिन् । वर्तमान अवस्थामा जैविक सन्तान नभए माया गर्ने मानिसको कमी नभएको बारेमा उनले लामो व्याख्या गरेकी छिन् । सन्तान नहुँदाको चिन्ता वा दुःख उनले व्यक्त गरेकी छैनन् ।  ‘हाम्रो आफ्नै जैविक सन्तान छैनन् । हामीलाई हाम्रो सम्पत्तिको व्यक्तिगत उत्तराधिकारी पनि चाहिएन । व्यक्तिगत सम्पत्तिको उत्तराधिकारी नचाहिएपछि सम्पत्तिको पनि जरुरी भएन,’ ओली–शाक्य दम्पतीको निजी सम्पत्ति जीवनपश्चात केपी ओली ट्रष्टलाई दिएको विषय लेख्दै गर्दा उनले सन्तान र वर्तमान परिवेशबारे यी विषय पनि लेखेकी छिन् ।  अपेक्षाका सूचीहरू राधिकाको आत्मकथामा अधिकांश वर्णन ‘केपी ओली सर’को तारिफमै केन्द्रीत गरेकी छिन् । तर, श्रीमानको रूपमा अत्यन्तै धेरै गुनासो र असन्तुष्टि व्यक्त गरेकी छिन् । उनी स्पष्ट शब्दमा लेख्छिन्‌- ‘एउटा श्रीमतीको रूपमा गुनासो गर्ने ठाउँ प्रशस्त छन् । आफ्ना श्रीमानले समय देओस्, जन्मदिनमा उपहार देओस्, विवाह वर्षगाँठ यादगार बनाओस्, तिमीलाई के कुराको खाँचो छ भनोस् । आमश्रीमतीका जस्तै इच्छा मेरा मनमा पनि धेरै अपेक्षाहरू थिए,’ उनी थप लेख्छिन्‌, ‘श्रीमानसँगको अपेक्षाहरूको सूची बनाएर केही समय त कुरेँ । मेरो पनि त केही रहरहरु थिए ।’ राधिकाका ती अपेक्षाहरू एकै पृष्ठमा वा पाठमा सूचीबद्ध नलेखिएता पनि ठाउँठाउँमा, फरक फरक प्रसंगमा लिखत भएका छन् ।  श्रीमानसँगको अपेक्षाहरू पुरा नभएको फेहरिस्त लेख्दै जाँदा पुस्तकको ७७ पेजमा राधिकाले लेखेकी छिन्‌-…त्यसपछि मैले श्रीमतीको रूपमा ‘अपेक्षा’ गर्नै छाडिदिएँ । जुन दिनदेखि मैले अपेक्षाको बोझ बिसाएँ, टाउको हलुका भयो । पुस्तकमा जहाँ केपी ओलीलाई श्रीमान् भनेर लेखेकी छिन् त्यस आसपासमा प्रेमको अपेक्षा गरेकी छिन्, थोरै शंका, धेरै विश्वासको अपेक्षा गरेकी छिन् । दिनभरका गतिविधिबारे श्रीमानश्रीमतीबीच साँझ कुरा गर्न नपाएको, मायाप्रेमबारे कुराकानी हुन नपाएको, घरको काममा जोडीसँगै जोडिन नपाएको विषयहरू किताबमा लेखिएका छन् ।  सौताले सताएको अनुभूति घरमा टेलिफोन जोड्दा सुरुमा आफू धेरै खुसी भएको तर पछि त्यही फोनले राधिकालाई सौतालै झैं सताएको वृत्तान्त किताबमा छन् । ‘सुरु–सुरुमा त टिनिनिटिनिनी टेलिफोनको आवाज पनि सुमधुर लाग्थ्यो । समयक्रममा टेलिफोन नै सौताजस्तो लाग्न थाल्यो,’ राधिकाले लेखेकी छिन् । श्रीमान् धेरै जसो घरबाहिर नै बस्ने, घरमा हुँदा पनि साथीहरू लिएर आउने, साथीहरू नहुँदा फोनमा घण्टौं कुरा गर्ने विषय पुस्तकका उल्लेख छ । घरको व्यवस्थापन पनि आफैले गर्नुपर्ने, परिवारको खर्च धान्न पनि आफैले आयआर्जन गर्नुपर्ने, त्यसतर्फ श्रीमानले कुनै सहयोग नगर्ने गरेको पीडालाई पनि उनले पुस्तकमा प्रकाश पारेकी छिन् ।  अनि समालिन्छन्  व्यापक असन्तुष्टिका बीच उनी फेरि आफूलाई सम्हाल्छिन् । ‘उहाँले पहिले नै एउटा धागोको धरो पनि किनिदिन सक्दिनँ पनि भनेकै हो । श्रीमानका रूपमा तिम्रा व्यक्तिगत चाहना पुरा गर्न सक्दिनँ भनेकै हो । उहाँले झूटो आशा देखाएर धोका दिएको होइन । अनि म किन दुःखी हुने ?’ ‘सहयात्राको संयोग’ भागको अन्तिम वाक्यमा राधिकाले चित्त बुझाउँदै लेखेकी छिन्- ‘मसँग कुनै गुनासो छैन उहाँसँग र आफैसँग, आफ्नो निर्णयसँग र आफैले रोजेको जिन्दगीको यति, गति र सङ्गतिसँग ।’ टिमुर्केको केटो राधिकाले जीवनभर विवाह नगर्ने साेंचसहित २८ वर्ष हुँदासम्म विवाह गरेकी थिइनन् । घरमा सहरका धनी परिवारबाट विवाहको प्रस्ताव आउँदा पनि आफूले अस्वीकार गरेको तर केपी ओलीले गरेको पहिलो प्रस्ताव नै स्वीकार गरेको उनले पुस्तकमा लेखेकी छिन् ।  राधिकासँग विवाहको प्रस्ताव केपीले राख्छन् । राधिकाले २/३ पनि जवाफ दिन्छु भन्छिन् । ‘ल हुन्छ भने हुन्छ । हुन्न भने हुन्न । केही बिग्रेको छैन । मेरो साइटबाट ओके भएरै भेट्न आएको’ केपीले तत्काल राधिकालाई च्यापेका पनि छन्, घुर्काएका पनि छन् । त्यतिमात्र होइन, ओलीले शाक्यलाई भनेको छन्‌-‘मान्छे मै हुँ । सम्पत्तिको नाममा केही पनि छैन, मैले तिमीलाई एउटा धागोको धरो पनि किनेर दिन सक्दिनँ ।’ शाक्यको मनमा चस्स हुन्छ । ‘पहिलो पटक विवाहको प्रस्तावसहित भेट्न आएको केटो कस्तो टिमुर्केको फेला पर्‍यो,’ मनका कुरा किताबमा लेखेकी छिन् । ‘झुस्स दाह्री, फू.. गर्दा ढल्ला जस्तो ज्यान । ज्यान पनि के भन्नु ह्याङ्गरमा झुण्डाएको कपडा जस्तो । वयस्क युवाको रूपमा उहाँको शरीरमा कुनै आकर्षण थिएन ।’ पहिलो पटक शाक्यले ओलीलाई पुल्चोक इन्जिनियरिङ क्याम्पसमा भेटेकी थिइन । १४ वर्षको जेलमा बसेर छुटेपछि ओलीको स्वागतमा कलेजले आयोजना गरेको कार्यक्रममा पहिलो भेट भएको शाक्यले उल्लेख गरेकी छिन् ।  गृहमन्त्री बनेपछि घरज्वाइँ २०५२ सालमा प्रधानमन्त्री मनमोहन अधिकारी नेतृत्वको सरकार ढलेपछि, केपी ओली-राधिका शाक्यका दम्पतीले मन्त्री निवास छोड्नु पर्ने भयो । पूर्वगृहमन्त्रीको सुरक्षार्थ खटिएको सुरक्षाकर्मीको लागि पोष्ट पनि आवश्यक भएपछि पाटनको महापालस्थित राधिकाको माइतीको खाली घरमा सरेको उल्लेख छ । ‘अहिलेका कम्युनिष्ट नेताहरू उबेलामा काठमाडौंका नेवारहरूका घरमा बस्ने अनि तिनैका छोरी पट्याउँथे भनेर यदाकदा ट्रोल गरेको सुन्छु । केपी सर डेरावालको रूपमा महापल बस्नु भएको होइन । खासमा हामी बिहे भएको सातआठ वर्षपछि माइतीमा आश्रय लिएका थियौं,’ करुणामा राधिकाले लेखेकी छिन् ।  ‘मन्त्री निवासबाट फर्किएर माइतघरमा’ अध्यायमा राधिका लेख्छिन्‌- ‘अब, पहिला जसरी एउटा मात्र कोठामा बस्न गाह्रो हुने भयो । अनि कम्पाउन्ड पार्किङ सुविधासहितको घर भाडामा लिएर पनि हामीले थेग्न सक्ने अवस्था थिएन ।’ उनको यो तर्क पत्याउन सकिँदैन । किनकि राधिकाले राष्ट्र बैंकमा जागिर खाएको १६ वर्ष भइसकेको थियो । त्यतिबेला उनी राष्ट्र बैंकको शाखा अधिकृत थिइन् । तत्कालीन श्री ५ को सरकारका अधिकृतले भन्दा राष्ट्र बैंकका अधिकृतले बढी तलब सुविधा पाउँथे । केपी ओलीले सांसदको हैसियतमा तलब सुविधा पाउँथे । गृहमन्त्री हुँदा हुने अस्वाभाविक कमाइबारे नेपालको राजनीतिमा थुप्रै किस्सा छन् । पूर्वगृहमन्त्रीको हैसियतमा थप सुविधा पाउने नै भए । यस अवस्थामा राधिका डेरा भाडा तिर्ने हैसियत नभएकोले माइतीको खाली घरमा बस्न गएको किताबमा लेखेकी छिन् ।  विवाहको सात वर्षपछि केपी ओली घरज्वाइँ बसेको विषय पनि राधिकाले लेखेकी छिन् । मन्त्री क्वाटर छोडेपछि ओली करिब २ वर्ष घरज्वाइँ बसेका रहेछन् । त्यसपछि ओली दम्पती ९ महिना डेरामा र ५ वर्ष शेखीमा बसेका रहेछन् ।  आफ्नै घर बनाएर २०६० मा बालकोट सरेको राधिकाले लेखेकी छिन् ।  त्यसपछि चाकुपाटमा साहिँली बहिनी जयश्रीसँगको सेयरिङमा ९ महिना भाडा तिरेर फ्लाटमा बसेको र जीवनमा सबैभन्दा बढी भाडा त्यही तिरेको राधिकाले उल्लेख गरेकी छन् । तर भाडा रकम भने खुलाएकी छैनन् । त्यसपछि तत्कालीन पीके क्याम्पसका प्राध्यापक कल्पना अधिकारी उनका श्रीमान बाबुराम अधिकारीले बानेश्वरस्थित आफ्नाे घरको एक फ्लाटमा भाडा नलिई बस्न दिएको, पाँच वर्षसम्म त्यही बसेको र बालकोटमा घर बनाएपछि उनी सरको उल्लेख गरेकी छिन् ।  अनौठा केपी ‘कुनै पनि लुगा हात परेको दिन त्यही लुगा लगाएरै सुत्नुहुन्छ । उहाँले त्यसो गर्दा मलाई भने गुडियासँग बच्चा खुसी भए जस्तो लाग्छ,’ राधिकाले लेखेकी यो विषय निकै रोचक छ । पछिल्लो समय प्रधानमन्त्रीको हैसियतमा हरेक दिन नयाँ कोटमा सार्वजनिक हुन्छन् । के उनी हरेक दिन नयाँ कोट लगाएर सुत्लान् ? खोजको विषय नै हो ।  केपी ओलीलाई सानो बच्चालाई जसरी समाल्नु पर्ने राधिकाको लेखाइ छ । ‘कतिबेला सुत्ने, कतिबेला उठ्ने, के खाने, के नखाने, के लगाउने, के नलगाउने, कुनै कुरामा उहाँलाई मतलव हुँदैन’ श्रीमानलाई आफूले सधैं सम्झाइरहने गरेको उनले लेखेकी छ ।  केपी ओलीमा देश विकासको हुटहुटी मात्र भएको, देश र जनताको विकास बारे मात्र कुरा गर्ने गरेको विषयका वर्णन गर्दै राधिकाले लेखेकी छिन्, ‘उहाँका पालामा विकास, समृद्धि, सङ्कल्प र सपनाका कुराहरू हुन्छन् । लाग्छ, उहाँले फेर्ने प्रत्येक स्वासमा देशभक्तिको अक्सिजन प्रवाहित भएको छ ।’ यसरी लेखिएका पुस्तकबारे राधिकाकी श्रीमान प्रधानमन्त्री केपी शर्मा ओलीको टिप्पणी छ- यो सम्पूर्णतः सत्य कथा हो । कल्पनाप्रधान कुनै कथा बुनिएको छैन । कथानक थपिएको छैन ।’ राधिकाले केपी ओली सर्वहाराजस्तो हुनुहुन्छ भनेकी छिन् । तर केपी ओलीले लगाउने घडी, जुत्ता, उनी चड्ने गाडीको मूल्य करोडौं रुपैयाँ रहेको विषयमा धेरै समाचार प्रकाशन भएका छन् । ती समाचार नपढेका, केपी ओलीलाई नदेखेका र राधिका शाक्यको किताब मात्र पढेकाले यस्ता विषय पत्याउने हुन् ।  करुणा पुस्तकमा केपी ओली १४ वर्ष जेल बसेको कुरा सयौं ठाउँमा लेखिएको छ । श्रीमानलाई केपी सर भनेर अत्यधिक रूपमा सम्बोधन गरिएको छ । केपी ओली राजनीतिमा व्यस्त हुने, भेटघाटमा व्यस्त हुने, राति अबेरसम्म पढ्ने लगायतका विषय हरेक च्याप्टरमा यतिविघ्न घुसाइएको छ कि किताब पढ्दा बारम्बार मस्तिष्कमा ठेस लाग्छ । ढिकीमा कुटेको चामल अल्छी भान्छेले नकेलाई पकाएका भात खाँदा हरेक गाँसमा बियाँ लागेजस्तै । आधुनिक मिलको चामलमा यस्तो बियाँ भेटिँदैन ।  तीन नेताको आलोचना राधिकाको लेखनमा राजनीतिक पूर्वाग्रह प्रशस्त पाइन्छ । पञ्चायत व्यवस्थाका गल्ती कमजोरी मात्र उल्लेख गर्नु, बहुदल आएपछि सबै विकास राम्रो भयो भन्नु उनीभित्र रहेको एकांकी राजनीतिक सोंच हो । एमालेभित्र केपी ओलीलाई महान् व्यक्तिको रूपमा चित्रण गर्नु, अरू कुनै पनि नेताको तारिफ करुणामा नअट्नु राधिकाको पूर्वाग्रह नै हो । केपी ओलीलाई राजनीतिमा काँध थाप्ने, पटक पटक पार्टी अध्यक्ष बनाउन र पटक पटक प्रधानमन्त्री बनाउने धेरै नेताहरूले धेरै भूमिका खेलेका छन् । तर यसतर्फ राधिकाले कहीँ कतै एक वाक्य पनि लेखेकी छैनन् ।  तीन जना नेताको बारेमा राधिकाले पुस्तकमा आक्रोश पोखेकी छिन् । सबैभन्दा बढी माधवकुमार नेपालका बारेमा, त्यसपछि पुष्पकमल दाहाल ‘प्रचण्ड’का बारेमा र पूर्व अर्थमन्त्री डा. रामशरण महतका बारेमा । केपी ओली गृहमन्त्री हुँदा २०५१ सालमा राष्ट्र बैंकको शाखा अधिकृतमा राधिकामा नाम निस्क्यो । त्यो विषय कांग्रेस नेता डा. रामशरण महतले संसदमा उठाए । यसले राधिकालाई चित्त दुःखाएको रहेछ । सोही सन्दर्भ जोडेर राधिकाले पुस्तकमा डा. महतप्रति आक्रोश व्यक्त गरेकी छिन् । प्रधानमन्त्रीको रूपमा ओलीको दोस्रो कार्यकालमा असहयोग गरेको भन्दा नेपाल र प्रचण्डमाथि राधिका खनिएकी छिन् । ओलीलाई प्रधानमन्त्री बनाउन पटक-पटक प्रचण्ड, नेपाल र शेरबहादुर देउवाले काँध थापेको दुनियाँलाई थाहा छ तर राधिकालाई थाहा रहेनछ । किताबमा सबै कुरा मौन छन् ।   बालुवाटारमा बासीभात प्रधानमन्त्री निवासमा बासीभात खाइन्छ भन्ने कुरा पत्याउन गाह्रो हुन्छ । त्यसमाथि प्रधानमन्त्राणी राधिका शाक्यलाई नै बासीभात खानुपर्ने बाध्यता होला भनेर कसले पत्याउने ? तर राधिकाले किताबमा यही सत्य हो भनेर लेखेकी छिन् । उनी लेख्छिन्‌- ‘प्रधानमन्त्री निवास, बालुवाटार । भान्छामा छिरेँ । केही पकाउनु पला कि भन्ने सोच्दै थिएँ । यसो फ्रिज खोलेँ । बेलुका बाँकी बचेको भात रहेछ । थोरै दाल पनि रहेछ । त्यही तताएँ । अनि खान थालेँ ।’ त्यसपछि उनले फेरी व्याख्या गरेकी छिन्‌- ‘एक्लै हुँदा खाना बनाउने जाँगर चल्दैन । फ्रिजमा बासी खाना रहेछ भने झनै बहाना सजिलो बनिदिन्छ ।’ किताबमा यस्तै धेरै विषय छन्, जुन पत्याउनै सकिँदैन ।  मूल्यमा चलखेल वर्तमान सरकारले उद्योगीलाई सिमन्टको बोरामा मूल्य राख्न निर्देशन दिएको छ । तर प्रधानमन्त्राणीको आत्मकथामा मूल्य राखिएको छैन । पुस्तक प्रकाशक पाणिनि बुक्सले सत्ताको बलमा, सरकारी निकायलाई उच्च मूल्यमा प्रधानमन्त्राणीको बुक भिडाउने र पैसा उठाउने नियत राखेको देखिन्छ । बिक्री प्रबन्धक उमेश आचार्यले पुस्तकको अन्तिम पृष्ठमा राखिएको बार कोडमाथि लेखिएका अंकहरू ५९५०० नै किताबको मूल्य भएको बताए । राधिकाको आत्मकथा पढ्न कसैले पनि ५९ हजार ५०० रुपैयाँ तिर्दैन । पुस्तकमा भएको यो गम्भीर त्रुटि हो ।  किताबबारे मेरो भनाइ करुणाभित्र लेखक र श्रीमान केपी शर्मा ओली (वर्तमान प्रधानमन्त्री)का जीवन कहानीहरू लेखिएका छन् । आत्मकथामा मूलपात्रले प्रचार गर्न चाहेको र प्रसंशा बटुल्न चाहेको विषयवस्तु नै हुन्छन् । आफ्ना कमजोर पक्षहरू, जीवनमा गरिएका गल्ती कमजोरीहरू लुकाइएका हुन्छन् । करुणा पुस्तमको विशेषता पनि यही हो । श्रीमान् केपी ओली एमालेका अध्यक्ष र प्रधानमन्त्री भएका थिएनन् भने राधिकाको पुस्तक प्रकाशित हुँदैन थियो । पुस्तक पढ्दा राधिकासँग कुनै असाधारण क्षमता पनि देखिँदैन, उनका कर्म पनि मामुली छन्, असाधारण छैनन् ।

नयाँ वर्षको प्रतिज्ञा र मानसिकता परिर्वतनको यात्रारम्भ

मानिसमा निहित सोच तथा विश्वासहरूले उनीहरूको व्यवहार तथा क्रियाकलापहरूलाई प्रत्यक्ष तथा परोक्षरूपमा प्रभावित पार्ने गर्दछन् । मानिसमा विद्यमान मानसिकताका आधारमा कुनै विषय वा प्रसङ्गमा कस्तो दृष्टिकोण राख्ने वा परिस्थितिहरूलाई कसरी स्वीकार गर्ने तथा प्रतिक्रिया दिने भन्ने कुरा निरन्तर रूपमा निर्धारण भैरहेको हुन्छ । जसका आधारमा मानिसहरूका शिक्षा, पेशा, व्यक्तिगत विकास, सामाजिक सम्बन्ध आदिमा नियमित तथा निरन्तर रूपमा तरंग पैदा हुन्छ । मानिसहरुका प्रतिक्रिया वा व्यवहारका आधारमा अन्तरनिहित मानसिकतालाई मुख्यरूपमा निश्चित वा स्थिर तथा विकासशील गरी दुई तरिकाले विभाजन गर्न सकिन्छ ।  क) निश्चित मानसिकता निश्चित मानसिकता भएका मानिसहरूले आफ्ना क्षमता, बौद्धिकता आदि जन्मजात तथा निश्चित रहन्छन् भन्ने कुरामा विश्वास गर्ने गर्दछन् जसबाट उनीहरूमा नयाँ कुरा सिक्न तथा आफूलाई परिस्थिति अनुकूल ढाल्न वा सुधार गर्नमा अनिच्छा पैदा हुने गर्दछ । जसकारणले उनीहरू सदैव चुनौती र असफलताको भयबाट जीवन व्यतित गरिरहेका हुन्छन् । आफूसँग अपरिचित विषयवस्तु, कार्य वा परिस्थिति उत्पन्न हुनासाथ प्रतिकूलताको तीब्रता महसुस गर्दै सहजै हार स्विकार गर्ने अवस्थाहरु पनि सृजना हुने गर्दछन् । उपलब्धी तथा सफलता मानव भाग्यमा जन्मदेखि नै निर्धारण हुने भएकोले जीवनका प्रयत्नका कारणले मात्रै परिवर्तन सम्भव ल्याउंदैन भन्ने धारणाको गहिरो प्रभावका कारणले स्थिर मानसिकताका मानिस प्रायः असफलताको डर, चुनौतीबीच असहजता, संघर्षमा सन्देह, पुरातन वा परम्परागत विचारमा अडिगता आदिका शिकार हुने गर्दछन् ।  ख) विकासशील मानसिकता व्यक्तिमा निहित क्षमता तथा बौद्धिकतामा समय, अभ्यास अनि प्रयत्नसँगै विकास हुदै जान्छ भन्ने सोंच राख्ने मानिसहरूलाई विकासशिल मानसिकतामा राख्ने गरिन्छ । यस्ता मानिसले चुनौतीको सामनालाई अवशरका रूपमा स्वीकार गर्दछन् र असफलताहरूलाई सिकाइका माध्यमका रूपमा देख्छन् । सदैप नयाँ कुरा सिक्ने कुरामा प्रेरित भैरहने यस्ता मानिस अनवरत कडा परिश्रम, अभ्यास, सकरात्मक सोच तथा निरन्तर सुधारको बाटोमा अग्रसर भैरहेका भेटिन्छन् । व्यक्तिमा विकास हुने मानसिकताले उसको जीवनको दिशा निर्धारण गर्नमा अत्यन्तै महत्वपूर्ण भूमिका खेलिरहेका हुन्छन् । निश्चित वा स्थिर मानसिकताले परिवर्तनलाई सदैव बहिष्कार गर्दछ भने विकासशील मानसिकताले सदैव परिर्वतनलाई सिकाइको प्रमुख आधारका रूपमा बुझिरहेको हुन्छ । लक्ष्य प्राप्तिका लागि मानसिकतालाई पनि सोहीअनुरूप ढाल्न सक्यो भने मात्र आशातित सफलता हासिल हुन सक्छ अन्यथा भाग्यलाई दोष लगाउँदै टाउकोमा हात लगाउनुको विकल्प रहँदैन ।  मानिसमा विकास भैरहेको वा बनिसकेका मानसिकता परिवर्तन गर्नै नसकिने भने होइन । नियमितरूपमा स्वपरीक्षण गर्दै आफ्ना दृष्टिकोणहरुमा परिवर्तन ल्याउन अभ्यासरत मानिसले आफ्ना यथास्थिति केन्द्रित मानसिकतालाई जित केन्द्रित मानसिकताले प्रतिस्थापन गर्न सक्षम रहन्छन् । अपेक्षित परिणाम र त्यसका लागि आवश्यक क्रियाकलापका निम्नानुसारका समीकरणीय बोधपश्चात आपश्यक अभ्याससहित नयाँ वर्षसँगै लिइने प्रतीज्ञाहरूमा आफ्ना मानसिकता परिर्वतनको यात्रारम्भ गर्न सक्दा पक्कै पनि उपलब्धीको प्रभावकारिता अनि आयातन ठुलो हुनेछ ।    १) सफलता  = (धैर्य + निरन्तरता)  सफलता प्राप्त गर्नका लागि केवल एउटा प्रयत्न वा एक पलको प्रयास कहिल्यै पनि पर्याप्त हँुदैन । यसका लािग धैर्य र प्रयत्नको निरन्तरताको दरकार पर्दछ । केवल अथक प्रयास र संर्घषले मात्रै मानिसलाई अन्ततः लक्ष्यमा पुर्‍याउने भएकोले जस्तोसुकै परिस्थितिमा धैर्य राख्दै आफ्नो यात्रा निरन्तर राख्नाले मात्रै सफलताको स्वाद चाख्न पाउँछ ।  २) उपलब्धी = (आत्मविश्वास + मेहनत) आत्मविश्वास र परिश्रमको उपर्युक्त सन्तुलनबाट अपेक्षित सफलता हासिल हुन सक्छ जसका लागि सर्वप्रथम सफलताको अपेक्षाकर्ताले आफ्ना क्षमतामा विश्वास राख्दै कडा मेहनत गर्दा लक्ष्यमा पुग्न सकिन्छ । बिना परिश्रम प्राप्त हुने सफलताको दिगो नहुने भएको आत्मविश्वासका साथ प्राप्त गरेको सफलताको सन्तुष्ठि अधिक हुन्छ ।  ३) प्राप्ती = (सकारात्मक सोंच + परिश्रम) सकारात्मक सोंच र कडा परिश्रमको तालमेलले मानिसलाई लक्ष्य प्राप्त गर्न सबलता प्रदान गर्दछ । जब मानिस आफ्ना कामहरुमा सकरात्मक तरिकाले परिश्रम गर्न थाल्दछ त्यसपछि सफलताको यात्रा अत्यन्तै प्रभावकारी बन्दै जान्छ । सकारात्मक सोचबाट मानसिकतामा सुधार आउँछ भने परिश्रमले आफ्नो फल आर्जन गर्न भएकोले यस्तो प्राप्तिको स्वाद अत्यन्तै मीठो हुने गर्दछ ।  ४) नेतृत्व = (अवशर + तयारी)  आवश्यक तयारीको उपस्थितिमा हमेशा अवसरले सफलतालाई आकर्षित गर्ने गर्दछन् । जुन मानिस सदैव हरेक कुरामा तयार रहन अभ्यासरत रहन्छ अवसरहरूले पनि उसैलाई पछ्याउँदै नेतृत्वको शिखरमा पु¥याउने गर्दछ भने बिना तयारीमा हासिल भएको नेतृत्वले अक्सर बाँदरको हातमा नरिवलको भावनालाई चरितार्थ गर्ने बाहेक अन्य केही गर्न सक्दैन ।   ५) परिणाम = (विचार + कर्म) मानिसले जीवनमा हासिल गर्ने परिणाम उसको विचार अनि उसले गर्ने विभिन्न कर्मको योगफलका रूपमा उत्पन्न हुने गर्दछन् । विचारमात्रै वा कर्ममात्रैबाट पनि केही न केही परिणाम उत्पन्न त हुन सक्छन् तर अपेक्षित परिणामका लागि दुबैको उपस्थिति अपरिहार्य छ । सही विचार र उचित कर्मले निश्चिय नै उत्पन्न हुने परिणामलाई सकरात्मक बनाउने छन् ।  ६) चरित्र = (विपत्ति + संघर्ष) सुनको शुद्धता खारेपछि मात्रै थाहा भए झैं जीवनका कठिनाइ र संर्घषले सदैव मानिसको चरित्रलाई बलियो बनाउछ । त्यसैले अधिक प्रतिकूलताहरूसँगको सामना खदिलो चरित्रको आधार स्तम्भ हो । कठिन समयमा जुन सीप वा ज्ञान हासिल हुन्छ त्यसले सदैव जीवनमा सबलता प्रदान गर्ने गर्दछ । त्यसैले प्रतिकूलता तथा संघर्षलाई जिताइ वा सिकाइका रूपमा दिन सक्दा मानिसको चरित्र तथा मानसिकता दुबैमा सकरात्मक बल प्राप्त हुन्छ ।  ७) तयारी= (सपना + योजना) लक्ष्य प्राप्तिको सपना देख्नु मात्रै पर्याप्त हुँदैन, यसलाई प्राप्त गर्न आवश्यक योजना बनाउनु पर्ने हुन्छ । जसमा के कस्ता गतिविधि वा क्रियाकलाप गर्ने, कहिले गर्ने, कुन दिशामा अग्रसर बन्ने, कति परिश्रम गर्ने, कस्तो ज्ञान, सीप वा संगति हासिल गर्ने आदिजस्ता पक्षहरूको मेहेनतका साथ आँकलन तथा अनुसरण गर्न सक्दा पक्कै पनि सफलता हासिल गर्ने तयारी परिपक्क बन्न सक्छ ।   ८) प्रगति = (समय + प्रतिवद्धता) हरेक मानिससँग समयको सीमा हुन्छ । जसले उपलब्ध समयको सहि सदुपयोग गर्दै लक्ष्य प्राप्तिमा प्रतिबद्ध हुन्छ उसको मात्रै प्रगति सुनिश्चित हुन्छ । जसले यसलाई तालमेल गर्न सक्दैन उसको जीवन केवल गुनासो मात्रै शेष रहने गर्दछ ।  ९) जीवन शिक्षा = (अनुभव + शिक्षा) शिक्षाले सदैव सैद्धान्तिक ज्ञान दिन्छ भने अनुभवले त्यसलाई व्यावहारिक बनाउने भएकोले आर्जित अनुभव र शिक्षालाई एकीकृतरूपमा सदुपयोग गर्दा जीवन उपयोगित शिक्षा प्राप्त हुन्छ । जीवन उपयोगी शिक्षाको प्रचुरतासँगै जीवनका कठिनाइहरूसँगै डटेर जुधून् तथा अवसरहरूको भरपूर सदुपयोग गर्न सक्षमता वृद्धिमा टेवा पुग्छ ।  १०) व्यक्तिगत विकास = (आत्म आलोचना + सुधार) आत्म आलोचनाले मानिसलाई आफ्ना कमजोरीहरूको सुक्ष्म परीक्षण गरी सुधारका रणनीतिहरू बनाउन मार्गदर्शन गर्दछ जसबाट हिजोभन्दा आज क्रमिकरूपमा व्यक्तिगत विकासहरू देखिन थाल्दछन् । आत्म आलोचना र सुधारको प्रक्रियाले मानिसको व्यक्तिगत विकासमा ठूलो भूमिका खेल्ने गर्दछ । यो निरन्तर सुधारको प्रक्रियाले मानिसलाई जीवनभर विकास गर्न मद्दत गर्दछ ।  ११) अहंम = (१/सफलता) मानिसलाई महान तथा तुच्छ सम्म बनाउन सक्ने विशेषता बोक्ने भएकोले अहंमले जीवनमा दोधारी तरबारको काम गरिरहेको हुन्छ । यो समीकरणले मानिसहरूलाई साँचो सफलता अहंमता बढाउनमा होइन, विनम्रता स्विकार गर्नमा छ भनेर सतर्क बनाउने काम गर्दछ । जब सफलता एक हुन्छ मानिसको अहंमता शून्यमा झर्दा मात्रै मानिसको बृहत्तर वृद्धि तथा समृद्धिको मार्ग खुल्ने छ ।  १२) आत्मविश्वास = विश्वास / वास्तविकता हरेक क्रियाकलापहरू सम्पादन गर्दा मानिसहरूमा आत्मविश्वासको आवश्यकता पर्दछ जुन उसको विश्वास र बास्तविकता बीचको सन्तुलनबाट निर्माण हुने गर्दछ । विश्वासको अधिकताबाट अहंकारको जन्म हुन सक्छ भने वास्तविकताको बोधको कमीले क्षमताको सही सदुपयोग नहुन सक्छ । त्यसैले मानिसको विश्वासलाई वास्तविकतासँग मिलान गर्दा स्वस्थ अनि सबल आत्मविश्वास विकासमा टेवा पुग्छ ।   १३) खुशी = (अनुभव–अपेक्षा) × कृतज्ञता मानिसका खुसीहरू केवल बाह्य परिस्थितिहरूमा मात्रै निर्भर नभई अपेक्षा तथा वर्तमान परिवेशको बोध, प्रशंसा एवं कदर गर्ने क्षमतामा पनि निर्भर गर्दछ । यस समीकरणले मानिसलाई आफ्ना अपेक्षाहरू व्यवस्थापन गर्न, अनुभवहरूलाई बढाउन तथा कृतज्ञता व्यक्त गर्न प्रेरित गर्दछ जसबाट सन्तुष्ट, सुखी तथा खुसी जीवनका लागि मार्गदर्शन हुन्छ ।  १४) असफलताको लचकता = ((प्रयत्न + सिकाइ)/(भय × २)) अपेक्षित सफलता प्राप्तिका लागि यात्रामा आउने प्रत्येक असफलताहरूले अत्यन्तै महत्त्वपूर्ण भूमिका खेल्ने भएकोले सफलताको अभिन्न अंगका रूपमा विफलताहरूलाई लिने गरिन्छ । त्यसैले असफलतालाई तिरष्कार गर्नेभन्दा पनि लचकता अपनाउने गर्दा जीवनमा प्रयास र सिकाइ मात्र होइन डर कम तथा सामना गर्दै निरन्तर जीतको तयारीमा जुट्न प्रेरणा मिल्ने गर्दछ । असफलताहरूलाई सिक्ने अवसरका रूपमा हेर्न सक्दा मानिस जीतका लागि थप बलियो बन्नुका साथै प्रतिकूलता बहन क्षमता विस्तारमा लचिलो बन्न सक्छ ।  १५) असाधारण सफलता = (जोश + दृढता + धैर्य) जीवनमा असाधारण सफलता हासिल गरिरहेका मानिसहरूको जीवनलाई नियालेर हेर्दा प्रायः सबै मानिसहरूमा हुने सामान्य गुणहरूकै प्रचुरता रहेको पाइन्छ । त्यसैले असाधारण सफलता हासिल गर्नका लागि पनि प्रेम, धैर्यता तथा दृढताको मिश्रणसहितको प्रतिभा र समयको साथ लक्ष्य प्राप्तिको निरन्तर प्रयास नै हो भनेर बुझ्दा सहज हुने देखिन्छ ।   १६) उत्प्रेरणा =(चाहना ×एकरूपता) मानिसका प्रत्येक क्रियाकलापहरूको प्रेरक शक्तिका रूपमा प्रेरणाले काम गर्छ जुन संधै स्थिर नरहन सक्छ । उत्प्रेरणालाई अविच्छिन्न राख्न बलियो इच्छा वा चाहना तथा एकनास प्रयासको आवश्यकता रहन्छ । यो उत्साह र निरन्तर प्रगतिको संयोजन हो जसले मानिसलाई अघि बढ्न हौसाइरहेको हुन्छ ।  १७) एकाग्रता = (व्यतित समय × तीव्रता) / विचलित अवस्था  मानिसले जीवनमा आफ्ना पूर्वनिर्धारित लक्ष्यबाट विचलित हुने अनेकन क्रियाकलापहरू तथा परिस्थितिहरूको निरन्तर सामना गरिरहको हुन्छ जसबाट उसको एकाग्रता भंग भै लक्ष्य प्राप्तिमा अवरोध सृजना हुन्छ । त्यसैले मानवजीवनमा ध्यान एकाग्र गर्न सक्नु पनि एक मूल्यवान सीप हो । यो समीकरणबाट मानिसहरूलाई एकाग्रता भनेको केबल समयको खर्च मात्र होइन कि अपेक्षित कार्यमा तीब्रता कायम गर्दै ध्यान भट्काउने तत्वहरूलाई घटाउनु समेत हो भनेर बुझ्न सहजता प्रदान गर्दछ ।  १८) स्व:प्रेम = (करुणा + स्वीकृति) ×क्षमा   जसले आफूलाई प्रेम गर्दैन उसले कसैलाई पनि प्रेम गर्नै सक्दैन । त्यसैले स्व:प्रेम व्यक्तिगत विकासको एक आधारस्तम्भ हो । यसबाट मानिसलाई आत्मदया, आत्म स्वीकृति तथा माफी भनेको एक स्वस्थ्य आत्मचित्रको आधार समेत निर्माण हुने गर्दछ । आफूलाई दया र समझदारीका साथ व्यवहार गर्दा मानिसलाई सकारात्मक एवं समृद्ध जीवनको मार्गदर्शन हुने गर्दछ ।  १९) लचकता =((प्रतिकूलता ×अनुकूलन) /( भय +  शंका))  मानिसको जीवन प्रायः प्रतिकू​​​लताका चुनाैतीहरूले भरिएको हुन्छ जसबाट बाहिर निस्कनका लागि मानिसहरूसँग रहने परिस्थितिजन्य लचकताको क्षमताले अत्यन्तै महत्त्वपूर्ण भूमिका खेल्ने गर्दछ । यस समीकरणबाट प्रतिकूलता सामना गर्दा अनूकुलनको क्षमता र भय अनि शंका घटाउन पर्ने आवश्यकतालाई प्रष्ट पार्दछ । लचिलोपन भनेको केवल कठिनाइ सहन गर्नु मात्र नभई त्यसको बाबजुत पनि समृद्धि हासिल गर्ने क्षमता विकास समेत हो ।  २०) दिगो सफलता = (जुनून + निष्ठा) × प्रभाव   सफलताहरू केवल व्यक्तिगत उपलब्धीहरू मात्रै नभई मानिसहरूले संसारमा छोड्ने दीर्घकालीन प्रभावहरू समेत हुन् । त्यसैले दिगो सफलताको मापन मानिसहरूको जुनून, निष्ठा र वरपर देखिने सकारात्मक प्रभावका आधारमा समेत मापन हुने गर्दछ । त्यसैले सफलतालाई दिगो स्वरूप दिनका लागि वरपर सकारात्मक बाह्यता सृजना गर्नु पनि उत्तिकै महत्त्वपूर्ण हुने गर्दछ ।  माथिका प्रत्येक समीकरणले मानिसलाई विभिन्न महत्त्वपूर्ण पहलुहरूमा ध्यान केन्द्रित गराउन, जीवनका चुनौतीहरूसँग जुध्न, लक्ष्यहरू प्राप्ति गर्न, खुसी तथा सुखी बन्न आदिका बारेमा बढ्ने जागरणसँगै मानसिकता तथा परिणाममा परिवर्तन वा वृद्धि हुने कुराको संकेत गर्दछन् । समीकरणीय बोध तथा दैनिक जीवनमा नियमित अभ्यासबाट मानसिकताहरूमा सकारात्मक परिर्वतन आई जीवनलाई अधिक सफल तथा सुखी मार्गमा निर्देशित गर्न सकिने प्रमाणहरू पनि माथिका प्रसंङ्गमा भेटिन्छन् ।  । त्यसैले यस्ता सुत्रहरूलाई आत्मसात गरेर आफ्नाे आत्मगौरव, आत्मविश्वास, खुसी, विफलतामा विजय आदिमा नयाँ आयाम स्थापित गर्न सकिन्छ, जुन प्रत्येक नयाँ वर्षहरूमा गरिने प्रतिबद्धताहरूलाई कसिलो तथा प्रभावकारी बनाउने आधार समेत बन्न सक्छ । प्रायः नयाँ वर्षसँगै मानिसहरूले आफूमा केही न केहि परिर्वतन ल्याउने, बदल्ने अथवा सुधार गर्ने प्रतिज्ञा गर्ने प्रचलनहरूसमेत रहेका छन् तर धेरै प्रतिज्ञाहरू नयाँ वर्षको पहिलो महिनाको १५ दिनसम्म पनि कायम रहँदैनन् । फेरि अर्काे वर्षमा यस्तै प्रतिज्ञाहरू भइरहन्छन् । यस नयाँ वर्ष २०८२ ले हामी सबैलाई स्वस्थ तथा सबल मानसिकता प्रवर्द्धन एवं विकासका हरेक संकल्पहरूको सुक्ष्म बोधसहित अनवरत एवं अनुशासित कार्यान्वयनमा जुट्ने ऊर्जा थप्न सकोस्, सबैलाई हार्दिक मंगलमय शुभकामना !  (उल्लेखित विचारहरू लेखकका निजी भएकाले आवद्ध संस्थाको प्रतिनिधित्व गदैनन्‌)

शिक्षामा २०८१ : शून्य प्रगति, सडकमै शिक्षक

काठमाडौं । २०८१ साल शिक्षा क्षेत्रमा सन्तोष गर्न लायक बन्न सकेन । यो पटक पनि निकै उतारचढावका बीच एक वर्ष बितेको छ । यो वर्षको बिदाइ समेत शिक्षकहरूले सडकबाटै गर्नुपर्दा शिक्षा क्षेत्रमा उल्लेखनीय प्रगति भएको मान्न सकिँदैन । ८१ सालको सुरुवात तामझामका साथ विद्यार्थी भर्ना अभियान सञ्चालन गरेर भएपनि बिदाइ भने दुःखका साथ भएको छ ।  वर्षको सुरुवातमा शिक्षामन्त्री सुमना श्रेष्ठ थिइन् । उनले शैक्षिक क्षेत्रमा केही थिति बसाल्ने प्रयास गरेकी थिइन् । तर, उनले धेरै काम गर्ने मौका पाइनन् । त्यसपछि शिक्षामन्त्री बनेकी विद्या भट्टराईले पनि केही प्रयास गरेकी छिन् । उनले अघिल्लो मन्त्री सुमनाले गरेका राम्रा कामलाई निरन्तरता दिँदै राम्रो काम गर्ने वचनबद्धता गरेपनि शिक्षा क्षेत्रमा भएको राजनीतिबारे भने काम गर्न नसकेको गुनासो आएको छ । सुमनाले शिक्षा क्षेत्रलाई जसरी राजनीतिबाट मुक्त गर्ने अठोट बनाएकी थिइन् विद्याले यो अठोटलाई निरन्तरता दिन सकिनन् तर उनले केही राम्रा काम गर्ने प्रयास भने जरुर गरेकी छन् ।  यो वर्षको समीक्षा सरकारले गरेका राम्रो कामको प्रयासबाट गरौं । सरकारले गरेको प्रयास सरकारले अनिवार्य गर्ने भनिएको निःशुल्क अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयनका लागि कार्ययोजना बनाएको छ । २०७५ सालमा बनेको ऐन अझै कार्यान्वयनमा आइनसकेको अवस्थामा शिक्षामन्त्री भट्टराईले संविधानले दिएको मौलिक हकको रूपमा राख्दै कार्ययोजना बनाएकी हुन् । यसका लागि नीति अनुसन्धान प्रतिष्ठानसँग सुझाव माग गरी २०८३ सालसम्म कार्यान्वयन गरिसक्ने कार्ययोजना छ ।  सरकारले दिवा खाजा कार्यक्रमलाई पनि प्राथमिकता दिएको पाइएको छ  । सरकारले सञ्चालन गरिरहेको दिवा खाजा कार्यक्रमलाई परिमार्जित गर्दै स्थानीय उत्पादनमा आधारित खाजा कार्यक्रम सुरु गरेको छ । शिक्षा मन्त्रालयले यो विषयमा निर्देशिका बनाएर कार्यन्वयन गरेसँगै सातवटै प्रदेशमा नमुनाको रूपमा सुरु गरिसकिएको छ भने केही पालिकाले योभन्दा अगाडि नै कार्यक्रम सुरु गरिसकेका थिए ।  सरकारले गरेको अर्को राम्रो कामको सुरुवात नेपालमा सञ्चालनमा आएका विदेशी विश्वविद्यालयबाट सञ्चालित कलेजलाई मापदण्ड पुरा गरे नगरेको विषयमा अनुगमन गरिएको छ । नेपालमा सञ्चालित ५९ यस्ता कलेजमध्ये १४ कलेजले मात्र मापदण्ड पुरा गरेको पाइएपछि बाँकी सबै कलेजलाई पनि मापदण्ड पुरा गर्न निर्देशन दिइएको थियो भने शिक्षकको दरबन्दीका लागि पुनरावलोकनको प्रयास पनि गरिएको छ । यस्तै, विद्यालय तहको परीक्षा र मूल्यांकन प्रणालीमा थप सुधार गर्न कार्ययोजना तयार गरिएको छ भने शिक्षामा विज्ञान र प्रविधिको विकासको लागि ओपन डेटा प्लेटफर्मको अवधारणा तयार पारिएको छ ।  सरकारले शिक्षाक्षेत्रमा केही गर्ने प्रयास गरे पनि २०८१ शिक्षा क्षेत्रमा गौरव गर्नलायक नबनेको विज्ञहरू बताउँछन् । केही प्रयास थालिएपनि ५ प्रतिशत काम पनि आशालाग्दो नभएको विज्ञहरूको तर्क छ । शिक्षाविद् डा. विष्णु कार्की यो शिक्षा क्षेत्र अनुत्पादक र अन्योलग्रस्त भएर बितेको बताउँछन् । उनी माध्यमिक शिक्षा परीक्षा (एसईई) र कक्षा १२ को नतिजाले नै यो वर्ष शिक्षामा कति कमजोर रह्यो भन्ने प्रष्ट पारेको बताउँछन् ।  २०८१ सालमा सार्जजनिक भएको एसईईको नतिजामा ५२ प्रतिशत, कक्षा १२ मा ४८ प्रतिशत विद्यार्थी पास भए । सदरर ५० प्रतिशतभन्दा बढी विद्यार्थी फेल भए । उनी यो देशका लागि सबैभन्दा ठूलो घाटाको कुरा भएको बताउँछन् ।  ‘हुन त यो यो वर्षमात्र होइन, संधै यस्तै हुँदै आएको थियो,’ शिक्षाविद कार्की भन्छन्, ‘तर यसपाली राम्रो नतिजा आउँछ कि भन्ने आशा सबैले गरेका थियौं, सुरुवाती अवस्था नै निराश भएको शिक्षा क्षेत्रमा यो वर्षले पनि कुनै राम्रो नतिजा दिन सकेन ।’ शिक्षाविद कार्की यो वर्षको राम्रो काम भनेको विद्यालय शिक्षा विधेयक छलफलको लागि प्रतिनिधिसभामा जानु र त्यसमाथि छलफल सुरु हुनु एक सकारात्मक भएको बताउँछन् । छलफल सुरु भएको विधेयक हिउँदे अधिवेशनमा पाइन्छ कि भन्ने सबैको आश पारित नहुँदा निराशमा परिणत भएको उनको भनाइ छ । शिक्षाविद डा. विद्यानाथ कोइराला यो २०८१ मा केही सकरात्मक कामको थालनी र धेरै नकारात्मक क्रियाकलाप भएको तर्क गर्छन् । उनी केही शिक्षकहरूले राम्रो अभ्यासको सुरुवात गरेको तर त्यसको संग्रह नगरिएको बताए । ‘केही विद्यालय, पालिकाले पनि राम्रो उदाहरणीय काम गरेका छन्,’ उनी भन्छन्, ‘तर त्यो काम पनि संकलन भएको छैन, यसरी हेर्ने हो भने एउटा पाटो सकारात्मक छ, त्यसलाई संग्रह गरिएको छैन तर अर्को नकारात्मक कुरा पनि छ ।’ विद्यालय ऐन पारित हुन सकेन २०७५ सालमा पारित भइसक्नुपर्ने विद्यालय शिक्षा ऐन अझै पारित हुन सकेको छैन । २०८१ सालको हिउँदे अधिवेशनमा पारित हुने आशामा रहेक आम नागरिकहरूलाई दुःखी तुल्याएको छ । विद्यालय शिक्षा विद्येयक नहुँदा शिक्षा क्षेत्रमा देखिएको अन्यौलको गाँठो फुस्काउन मुस्किल परेको छ । स्थानीय तहले के गर्ने, विद्यालयको अधिकार कसलाई दिने भन्ने धेरै अन्यौलताहरू कायमै रहेका छन् । विद्यालय शिक्षा नआउँदा काम गर्न समेत उत्तिकै चुनौती थपेको विज्ञहरू बताउँछन् ।  शिक्षाविद् डा. कार्की विधेयक पारित नहुँदा शिक्षकहरू गरेको आन्दोलन शिक्षा क्षेत्रलाई अझै ४-५ वर्ष पछाडि धकेल्ने प्रयास भएको बताउँछन् । उनी भन्छन्, ‘विधेयक आउँदा कसको अधिकार के, कसले के काम गर्ने भन्ने कुरा स्पष्ट हुनथ्यो, त्यो भएन विद्यालय बन्द गरेर शिक्षकहरू सडकमा आएका छन्, यो राम्रो संकेत होइन । शिक्षाको लागि योभन्दा घातक केही हुन सक्दैन ।’ डा. कार्कीले झट्ट हेर्दा केही नदेखिए जस्तो भएपनि शिक्षक आन्दोलनले शिक्षा क्षेत्रमा ठूलो धक्का पुर्याएको बताए । ‘पढाइमा जुन गति बढिरहेको थियो, यो आन्दोलनले ठूलो बाधा सिर्जना गरेको छ, विद्यालय एकाएक बन्द हुँदा यो राम्रो भएन,’ उनी भन्छन्,‘ यसले एउटा भाष्य के स्थापित गर्योभन्दा यहाँ शिक्षाको गुणस्तरको चिन्ता कसैलाई रहेनछ भन्ने भाष्य निर्माण भयो, यसले निजी विद्यायलाई थप बलियो बनायो ।’ उनी समग्र रूपमा यो वर्ष शिक्षा क्षेत्र अन्यौलग्रस्त भएर बितेको ठोकुवा गर्छन् । सुधारोन्मुख भएको थापाको दावी प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापा देशको समग्र शैक्षिक अवस्था राम्रो हुन नसकेपनि सुधारोन्मुख बाटोतिर लागेको बताउँछन् ।  ‘राम्रो देख्नलाई सबैले राम्रो सोंच्नुपर्यो, अहिलेसम्म लथालिंग अवस्थामा रहेको शिक्षा क्षेलाई सुधार गर्ने तर्फ हामी लागिरहेका छौं,’ उनी भन्छन्, ‘शिक्षा क्षेत्र राम्रो बनाउनको लागि हामीले विधेयक बनाउने, कानुन बनाउने काम गरिरहेका छौं, आत्मनिर्भर शिक्षाको परिकल्पना गरिएको छ । यो आधारमा अघि बढ्न हामीले थुप्रै प्रयास गरिरहेका छौं ।’ सभापति थापाले २०८२ सालको वर्षे अधिवेशनमा विद्यालय शिक्षा विद्येयक पारित हुने दाबी गरे । उनले छलफलको चरणमा रहेको हतारमा पारित नगरेको बताउँदै ८२ असारमा पारित हुने बताए ।  शिक्षा क्षेत्रका जानकारहरू भने पारितमा ढिलो भएको बताउँदै समग्र शिक्षा क्षेत्र नै अन्योल बनेको बताउँछन् ।  कुलपति बरालले दिए राजीनामा त्रिभुवन विश्वविद्यालय (टीयू)का उपकुलपति केशरजंग बरालले राजीनामा दिए । उनको राजीनामापछि अहिले टीयू उपकुलपतिविहीन छ । उपकुलपति बरालले राजनीति दबाब थेग्न नसकेपछि काम गर्न नसकेको भन्दो चैत्र महिनामा राजीनमा दिएका थिए । त्रिविका आंशिक प्राध्यापकले आफूहरूलाई स्वतः स्थायी गर्नुपर्ने माग राख्दै पटक–पटक दबाब दिएकाले दबाब थेग्न नसकेको उनको प्रतिक्रिया थियो ।  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री हुँदा नियुक्त भएका उपकुलपतिले राजनीतिक दबाब थेग्न नसकेको भन्दै राजीनामा दिनुले राम्रो सन्देश नदिएको विज्ञहरू बताउँछन् । शिक्षा क्षेत्रमा हुने राजनीति अन्त्य गरिनुपर्छ भन्ने चर्चा र बहस भइरहेको बेला यस्तो घटना हुनुले २०८१ सालको शिक्षा क्षेत्र कस्तो रह्यो भन्ने नजरअन्दाज लगाउन सकिन्छ ।  केयुले पायो कुलपति काठमाडौं विश्वविद्यालय (केयू)मा उपकुलपति नियुक्तिको विषय लिएर यो वर्ष निकै वादविवाद सिर्जना भयो । उपकुलपति नियुक्त गर्न बनेको खोज तथा सिफारिस समितिले दुई–दुई पटक दरखास्त आह्वान गर्नुपर्यो । उपकुलपतिको विषयलाई लिएर केही समय निकै विवादित बनेको केयूले यो वर्ष नयाँ उपकुलपति पाएको छ ।  जसमा लामो समयदेखि केयूमा कार्यरत प्राध्यापक डा. अच्युतप्रसाद वाग्ले नियुक्त भएका छन् । वाग्ले नियुक्त भएसँगथै केयूमा सिर्जित विवाद पनि समाधान भएको छ ।  सडकमै शिक्षकहरू शिक्षकहरूसँग भएको सम्झौता कार्यान्वयन गर्न र विद्यालय शिक्षा विधेयक पारित गर्न भन्दै आन्दोलित शिक्षक अहिले पनि सडकमै छन् । २०८० साल सडकमै बिताएका शिक्षकहरूको २०८१ साल पनि सडक तताएरै गएको छ । शिक्षकहरूले अब सम्झौताबिना माग पुरा गर्न भन्दै सरकारलाई सडकबाटै दबाब दिरहेका छन् । यसकारण पनि यो वर्ष शिक्षा क्षेत्रमा कुनै राम्रो काम हुन नसकेको विज्ञहरू बताउँछन् ।  अनिवार्य तथा निःशुल्क शिक्षा ऐन बन्यो तर कार्यान्वयन भएन  २०७५ सालमै अनिवार्य तथा निःशुल्क शिक्षा ऐन बने पनि कुनै पनि पालिकाले यसको कार्यान्वयन नगरेको शिक्षाविद् प्राडा. विद्यानाथ कोइरालाले गुनासो पोखे । ‘२०७५ सालमै अनिवार्य तथा निःशुल्क शिक्षा ऐन बनेको छ  तर, कुनै पनि पालिकाले यसको कार्यन्वनय गरेका छैनन् । हामी नेपालीहरू के कुरा गर्छौं र के काम गर्छौं भन्ने कुरा बुझ्नै गाह्रो । शिक्षालाई सबैले गरिखाने बनाउनु पर्छ भनियो तर कसरी बनाउने भन्ने बारे काम भएको छैन,’ उनले भने ।