उच्च मागसँगै नाइमाको बुकिङ बन्द, नाडाले पाएन बिजनेस

काठमाडौं । अटो व्यवसायीका लागि दशैं पर्व मानिने नाडा अटो शो यसपटक भने संकटको संघारमा पुगेको छ । नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपाल (नाडा) छुट्टिएर जन्मिएको नयाँ संस्था नेपाल अटोमोबाइल इम्पोटर्स एण्ड म्यानुफ्याक्चर्स एशोसिएन (नाइमा) को नेपाल मोबिलिटी एक्स्पो  हुने भएपछि नाडा अटो शो संकटमा पुगेको हो ।  नाडाभित्र चरम राजनीति भएको, निषेधको परिपाटी र आयातकर्ताको विषय सुनुवाइ नै नभएको भन्दै रातारात नयाँ संस्था ‘नाइमा’ खोलिएको थियो ।  नाडा र नाइमा दुवै संस्थाले यसअघि नै फरक–फरक मितिमा अटो शो गर्ने घोषणा गरिसकेका छन् । विगतका वर्षमा मिलेर नाडा अटो शो आयोजना गर्ने व्यवसायीहरू यसवर्ष छुट्टाछुट्टै अटो शो गर्ने भएपछि नाइमाको मोबिलिटी एक्स्पोमा उत्साह र रौनक देखिने निश्चित भएको छ भने नाडालाई बिजनेस पाउन नै हम्मेहम्मे भएको छ । यसले नाडा अटो शो हुने कि नहुने भन्ने मै दुबिधा देखिएको छ ।  नाडाले आगामी भदौ ३ गतेदेखि ८ गतेसम्म १७औं संस्करणको ‘नाडा अटो शो’ गर्ने जानकारी गराइसकेको छ । जसका लागि फागुन २७ गतेदेखि चैत ४ गतेसम्मका लागि भन्दै रजिष्ट्रेसन खोलेको थियो । तर, सो रजिष्ट्रेसन अहिलेसम्म पनि बन्द भएको छैन ।  ढिलो गरेर रजिष्ट्रेसन खोलेको नाइमाले बन्द गरिसकेको छ । नाइमाले वैशाख २२ गते देखि २९ गतेसम्म स्टल बुकिङ खुला गरेमा सोचेभन्दा बढी स्टल बुकिङ भएपछि बन्द गरिसकेको छ ।   नाइमाले आगामी साउन २१ गतेदेखि २५ गतेसम्म भृकुटीमण्डपमा ‘नेपाल मोबिलिटी एक्स्पो २०२५’ आयोजना गर्ने घोषणा गरिसकेको छ । नेपालमा बिक्री हुने मुख्य ब्राण्ड नाइमामा आवद्ध व्यवसायीले आयात गर्ने भएकोले पनि नाडा अटो शोभन्दा नाइमा मोबिलिटी एक्स्पो प्रभावशाली हुने देखिएको छ ।  नाडा अटो शो २०२५ मा सोचेभन्दा कम कम्पनीले मात्र स्टल बुकिङ गराएपछि बुकिङ बन्द नभएको बताइएको छ । नाइमाले भने सोचेभन्दा बढी स्टल पाएको छ ।  नाइमाकी अध्यक्ष रितु सिंह वैद्यले माग गरेभन्दा बढी आवेदन परेपछि सबैलाई समेट्न अतिरिक्त स्टलहरूको व्यवस्था गर्नुपरेको बताइन् । ‘यसलाई हामीले नेपालमा मोबिलिटी क्षेत्रमा देखिएको उत्साह र सम्भावनाको स्पष्ट संकेत भएको बुझेका छौं, हामीले प्रदर्शनीकर्तालाई २५ प्रतिशत सस्तोमा स्टल दिएका छौं, नाडाको भन्दा हाम्रो व्यवस्थित स्टल हुन्छ,’ उनले भनिन् ।  नेपाल मोबिलिटी एक्स्पो २०२५ ले परम्परागत नाडा अटो शोभन्दा फरक तरिकाले, प्रविधिनिर्भर, इन्टरएक्टिभ र उपभोक्तामैत्री अनुभव दिने उद्देश्य लिएको उनको भनाइ छ । मोबिलिटी एक्स्पोले अटोमोबाइल क्षेत्रका निर्माता डिलर, डिस्ट्रिब्युटर, उपभोक्ता, अवलोकनकर्ता तथा यस क्षेत्रमा सरोकार राख्ने सबैलाई कम मूल्यमा टिकेट दिनेदेखि मिडिया र बिजनेश डेको लागि अलग्गै दिनको व्यवस्था गरिएको छ ।  व्यवसायीले आफ्ना स्टलहरू बाहिर गार्डेनमा राख्नु नपर्ने बताइन् । उनकाअनुसार पहिलो संस्करणकै प्रदर्शनीका लागि अटो क्षेत्रबाट आएको सहभागिता उल्लेखनीय रहेको छ । नाइमाले सुरुमा ४४ वटा स्टलको व्यवस्था गरेको थियो । तर, सहभागी कम्पनीहरूको चापका कारण ४८ वटा आवेदन प्राप्त भएपछि बुकिङ बन्द गरी थप स्टल निर्माण गरेको हो ।  नाइमा मोबिलिटी एक्स्पोमा २३ वटा चारपाँग्रे, १९ वटा दुईपाँग्रे र ८ वटा कमर्शियल ब्राण्ड सहभागी हुनेछन् । मोबिलिटी एक्स्पोमा चारपाँग्रे, दुईपाँग्रे तथा व्यावसायिक सवारीसाधन उत्पादन तथा आयातमा संलग्न ५० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्राण्डहरू सहभागी हुनेछन् । प्रदर्शनीमा चार पाँग्रेअन्तर्गत बीवाइडी, सिट्रोन, फोरथिङ, ग्रेटवाल मोटर्स, हेनरी भोल्टास, हुन्डाई, केई, किया, लीपमोटर, एलईभी ०१, महिन्द्रा, म्याक्सस, माज्दा, एमजी, मित्सुविशी, निसान, ओमोडा र जेको, प्युजो, प्रोटोन, रेनो, टोयोटा, फक्सवागेन र जीकर रहनेछन् । दुईपाँग्रेमा एम्पियर, एथर, बजाज, बेनेली, सीएफ मोटो, गोगोरो, होन्डा, केटीएम, महिन्द्रा, एनआइयू, रिभोल्ट, रोयल इन्फिल्ड, सेगवे–नाइनबोट, सुजुकी, ट्राइम्फ, टीभीएस, अल्ट्राभ्वाइलेट, यज्दी र जीहो रहने नाइमाले जनाएको छ । यसैगरी, कमर्शियलतर्फ चेरी वान्डा, डोङफेङ, फारिजोन, हाउजी, कामा, कारी, किङलोङ र सनलङ सहभागी हुनेछन् । यो एक्स्पोले नेपालका मोबिलिटी क्षेत्रमा क्रान्तिकारी सोच प्रस्तुत गर्नेछ भने आगन्तुक तथा प्रदर्शक दुवैका लागि नयाँ अनुभव दिने नाइमाको दाबी छ । पहिलो पटक आयोजना गर्न लागेको यो एक्स्पो ऐतिहासिक हुने अपेक्षा र विश्वास नाइमाको छ । मोबिलिटी एक्स्पोले नेपालको विद्युतीय सवारी साधन, स्मार्ट मोबिलिटी समाधान र दिगो यातायात प्रणालीप्रतिको प्रतिबद्धतालाई उजागर गर्ने विश्वास नाइमाको छ ।  फागुनमै रजिष्ट्रेशन खोलेको नाडा अटो शोमा भने हालसम्म कुन–कुन ब्राण्ड सहभागी भए ? कति भए भन्ने यकिन जानकारी नाडाले दिन चाहेको छैन । नाडाका अध्यक्ष करण चौधरीले चाँडै सार्वजनिक गर्ने तयारी भइरहेकोले अहिले नबताउने तर्क राखे ।  ‘बुकिङ खुल्ला नै राखेका छौं । हामीले हालसम्म स्टलबारे यति भए भनेर सार्वजनिक गरेका छैनौं । समय भएको छैन, अझै धेरै छ । स्टल बन्द गरेर सबैलाई जानकारी गर्नेछौं,’ उनले भने ।  एक अटो व्यवसायीका अनुसार नाइमामा सहभागी भएका कम्पनी नाडा र नाडामा सहभागी भएका कम्पनी नाइमाले आयोजना गरेको एक्स्पोमा सहभागी हुने छैनन् ।  नाइमाको आयोजनामा हुने एक्स्पोमा केही ठूला कम्पनीहरु सहभागी नहुने नाडाका एक सदस्यले जानकारी दिए । ती सदस्यका अनुसार नाडासँग असन्तुष्ट व्यवसायीहरु मिलेर नाइमा गठन गरेपछि आयोजना गर्न लागेको यो एक्सपोमा सिप्रदी ट्रेडिङ र एमएडब्लु ग्रुपलगायत केही अन्य प्रमुख कम्पनीहरु नदेखिने भएका हुन् । नाडा अटो शोको विषयमा अझै पनि छलफल नै भइरहेको ती सदस्यले बताए ।  उनले नाइमामा अधिकांश अटो मोबाइल आयातकर्ता तथा उत्पादकहरुको सहभागिता भए पनि, सिप्रदी ट्रेडिङ र एमएडब्लू ग्रुप सहभागी नहुने जानकारी दिए । अटोमोबाइल बजारमा तीव्र गतिमा विस्तार भइरहेको सिजी मोटर्स र सुजुकी गाडीको बिक्री गर्ने सिजी मोटोकर्प पनि नाइमा मोबिलिटी एक्स्पोमा सहभागी नहुने निश्चित भएको छ ।  उनका अनुसार सिप्रदी ट्रेडिङले बिक्री गर्ने टाटा ब्रान्डका कारहरु र एमएडब्लु ग्रुपले आयात गर्ने जीप, दिपाल, सेरेस, नामी, स्कोडा, फोटोन र सोकोन लगायतका आधा दर्जन ब्रान्डका गाडीहरू नाइमा मोबिलिटी एक्सपोमा अवलोकन गर्न पाइने छैन ।  यसैगरी एमडब्लु ग्रुपले बिक्री गर्ने यामाहा मोटरसाइकल पनि नाइमा एक्सपोमा सहभागी नहुने उनी बताउँछन् ।  सिजी मोटर्सले आयात गरी बिक्री गर्दै आएको एवोन, एक्सपेङ, अवतार, नेटा, स्मार्ट, केवाईसी र किङलङ ब्रान्डका ईभी (इलेक्ट्रिक भेहिकल) र हिरो ब्रान्डको मोटरसाइकल तथा अतिरिक्त, भेष्पारअप्रिलिया र यात्री मोटरसाइकलसहित केही अन्य इलेक्ट्रिक दुई पाँग्रे सवारी साधनहरु नाडामै रहेको बुझिएको छ ।

नयाँ गभर्नर आएपछि राष्ट्र बैंकको दाबी : अब अर्थतन्त्र थप सुधार हुन्छ

काठमाडौं । नेपाल राष्ट्र बैंकले अब अर्थतन्त्र सुधार हुने दाबी गरेको छ । आइतबार चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै अर्थतन्त्र सुधारको दिशामा रहेको र अब थप सुधार हुँदै जाने दाबी गरेको हो ।  राष्ट्र बैंकले वित्तीय क्षेत्रमा तरलता यथेष्ट रहेको उल्लेख गर्दै कर्जाको औसत ब्याजदर पनि एकल बिन्दुमा झरेको बताएको छ । उपर्युक्त पृष्ठभूमिमा आगामी दिनमा लगानी वातावरणमा थप सुधार हुने र अर्थतन्त्रको उत्पादन क्षमता विस्तार हुनुको साथै विद्यमान उत्पादन क्षमताको उपयोग पनि बढ्दै जाने दाबी राष्ट्र बैंकको छ ।  चालु आर्थिक वर्षको नौ महिनामा औसत मुद्रास्फीति ४.५७ प्रतिशत रहेको जानकारी दिँदै २०८१ असोजको बाढी÷पहिरोबाट भएको क्षतिका कारण आपूर्ति प्रणालीमा व्यवधान आउनुको साथैभारतमा खाद्यान्नको मूल्य उच्च रहेकाले खाद्यान्न समूहको मुद्रास्फीतिमा चाप परेको बताएको छ । यसका कारण चालु आर्थिक वर्षको दोस्रो त्रयमासमा मुद्रास्फीति केही उच्च रहन गएको उल्लेख गरेको छ ।  अन्तर्राष्ट्रिय बजारमा कच्चा इन्धनकोमूल्य घट्दै गएको र खाद्यान्नको मूल्यमा समेत कमी आएकालेचालु आर्थिक वर्षको तेस्रो त्रयमासमा मुद्रास्फीति न्यून रहन गएको राष्ट्र बैंकको भनाइ छ ।  विश्व भूराजनीतिक तनाव यथावतै रहेको र पछिल्लो समय परिवर्तित अमेरिकी व्यापार नीतिका कारण मुद्रास्फीतिमा चाप पर्ने जोखिम देखिएतापनि पछिल्ला दिनहरुमा ठूला देशहरुबीच द्विपक्षीय व्यापार सम्झौतासमेत हुँदै गएको, पछिल्लो समय पेट्रोलियम पदार्थको मूल्यमा कमी आइरहेको र भारतको थोक तथा खुद्रा मुद्रास्फीतिसमेत घटिरहेकाले चालु आर्थिक वर्षको वार्षिक औसत मुद्रास्फीति लक्षित सीमाभित्र रहने अनुमान राष्ट्र बैंकको छ ।  विगतमा अर्थतन्त्रमा चाप यथावत रहेको बताउँदै आएको राष्ट्र बैंकले नयाँ गभर्नर डा.विश्व पौडेल आएपछि भने अर्थतन्त्र सुधार हुने दाबी गरेको हो ।  

आधा दर्जन बुँदामा आयो मौद्रिक नीतिको समीक्षा, के-के भयो परिवर्तन ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालुआर्थिक वपर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ । राष्ट्र बैंकले आइतबार समीक्षा सार्वजनिक गरेको हो । राष्ट्र बैंकले ६ वटा नयाँ व्यवस्था गरेको हो ।  १. आन्तरिक आर्थिक तथा वित्तीय स्थिति र परिदृश्यका आधारमा मौद्रिक नीतिको कार्यदिशालाई सजगतापूर्वक सन्तुलित राखिएकोछ ।  २. नीतिगत दरलाई विद्यमान ५.० प्रतिशत, तल्लो सीमाको रुपमा रहेको निक्षेप संकलन दरलाई ३.० प्रतिशत र ब्याजदर करिडोर अन्तर्गतको माथिल्लो सीमाको रुपमा रहेको बैंक दरलाई ६.५ प्रतिशतमा यथावत राखिएको छ ।  ३. विद्यमान अनिवार्य नगद मौज्दात र वैधानिक तरलतासम्बन्धी अनुपातलाई यथावत राखिएको छ । वित्तीय प्रणालीको विद्यमान तरलताको अवस्था र पछिल्लो समय यस बैंकले खुला बजार कारोबार उपकरणहरुमा गरेको सुधारलाई मध्यनजर गरी बैंक तथा वित्तीय संस्थाहरुले दैनिक ९० प्रतिशत न्यूनतम अनिवार्य नगद मौज्दात कायम राख्नुपर्ने व्यवस्था गरिने छ ।  ४. विद्यमान सेयर धितो कर्जाको जोखिम भार १२५ प्रतिशतबाट घटाई १०० प्रतिशत कायम गरिने छ । ५. लगानी वातावरण सुधार गर्ने उद्देश्यले विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ र विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ मा भएको पछिल्लो संशोधनका व्यवस्थाहरुलाई समावेश गरी “नेपाल राष्ट्र बैंक विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८” जारी गरिनेछ ।  ६.  बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ को संशोधनबमोजिम चेक अनादरसम्बन्धी व्यहोरा प्रमाणित गर्ने कार्यविधि तर्जुमा गरी जारी गरिनेछ ।