काठमाडौं । नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जासम्बन्धी नीतिमा लचिलोपन ल्याएपछि वाणिज्य बैंकहरूले पुँजी बजारमा लगानी उल्लेखनीय रूपमा बढाएका छन् । चालु आर्थिक वर्ष २०८२/८३ को ९ महिनामा मात्रै बैंकहरूको सेयर धितो कर्जा ३४.५५ प्रतिशतले वृद्धि भई ३५ अर्ब १० करोड ९५ लाख रुपैयाँले बढेको राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ ।
चैत मसान्तसम्ममा १९ वटा बैंकहरूले कुल १ खर्ब ३६ अर्ब ७१ करोड ६६ लाख रुपैयाँ बराबर सेयर धितो कर्जा प्रवाह गरेका छन् । गत वर्षको सोही अवधिमा १ खर्ब १ अर्ब ६० करोड ७० लाख रुपैयाँ मात्र रहेको थियो । राष्ट्र बैंकले विगतमा कडाइ गरेको मार्जिन प्रकृतिको कर्जा (सेयर कर्जा) सम्बन्धी नीति पछिल्लो समय खुकुलो बनाएको र साथै सेयर धितो कर्जाको जोखिम भार १०० प्रतिशतमा झारेपछि बैंकहरूको लगानी बढेको बैंकर तथा लगानीकर्ताहरू बताउँछन् ।
यस अवधिमा अधिकांश बैंकहरूले सेयर धितो कर्जा विस्तार गरेका छन् । सबैभन्दा ठूलो वृद्धि कृषि विकास बैंकले गरेको छ, जसले १७९.७१ प्रतिशतले वृद्धि गर्दै ५ अर्ब ४५ करोड रुपैयाँ थपेर कुल ८ अर्ब ४९ करोड रुपैयाँ सेयर कर्जा प्रवाह गरेको छ । गत वर्ष बैंकको सेयरमा लगानी ३ अर्ब ३ करोड रुपैयाँ मात्र थियो ।
रकमका आधारमा सबैभन्दा बढी सेयर धितो कर्जा दिने बैंक नबिल बैंक बनेको छ । नबिल बैंकले १९.९४ प्रतिशत वृद्धि गर्दै २ अर्ब ८९ करोड रुपैयाँ थपेर कुल १७ अर्ब ४० करोड रुपैयाँ लगानी गरेको छ, जुन वाणिज्य बैंकहरूमध्ये सबैभन्दा उच्च हो ।

समीक्षा अवधिमा माछापुच्छ्रे बैंकको १३६.९३ प्रतिशत अर्थात् २ अर्ब ४८ करोड रुपैयाँ बढेर ४ अर्ब २९ करोड रुपैयाँ, सानिमा बैंकको ९९.८३ प्रतिशत अर्थात् २ अर्ब ४८ करोड रुपैयाँ बढेर ४ अर्ब ९० करोड रुपैयाँ, एनएमबि बैंकको ९१.४२ प्रतिशत अर्थात् १ अर्ब ९१ करोड रुपैयाँ बढेर ४ अर्ब रुपैयाँ, एनआईसी एशिया बैंकको ९१.३७ प्रतिशत अर्थात् २ अर्ब २२ करोड रुपैयाँ बढेर ४ अर्ब ६५ करोड रुपैयाँ सेयरमा लगानी गरेका छन् ।
एभरेष्ट बैंकको ८३.३५ प्रतिशत अर्थात् २ अर्ब ३१ करोड रुपैयाँ बढेर ५ अर्ब ८ करोड रुपैयाँ, लक्ष्मी सनराइज बैंकको ८२.१७ प्रतिशत अर्थात् ४ अर्ब २८ करोड रुपैयाँ बढेर ९ अर्ब ४९ करोड रुपैयाँ, हिमालयन बैंकको ७४.३८ प्रतिशत अर्थात् १ अर्ब ५७ करोड रुपैयाँ बढेर ३ अर्ब ६९ करोड रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकको ६७.९१ प्रतिशत अर्थात् ३ अर्ब ३१ करोड रुपैयाँ बढेर ८ अर्ब २० करोड रुपैयाँ पुँजी बजारमा लगानी गरेका हुन् ।
समीक्षा अवधिमा प्रभु बैंकको ३१.७० प्रतिशत अर्थात् १ अर्ब ४७ करोड रुपैयाँ बढेर ६ अर्ब १२ करोड रुपैयाँ, प्राइम बैंकको २४.४९ प्रतिशत अर्थात् १ अर्ब ९० करोड करोड रुपैयाँ बढेर ९ अर्ब ६९ करोड रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबि)को २०.३६ प्रतिशत अर्थात् ६५ करोड ७६ लाख रुपैयाँ बढेर ३ अर्ब ८८ करोड रुपैयाँ, कुमारी बैंकको १९.५९ प्रतिशत अर्थात् १ अर्ब ७९ करोड रुपैयाँ बढेर १० अर्ब ९३ करोड रुपैयाँ लगानी गरेका हुन् ।
यस्तै, ग्लोबल आइएमई बैंकको १७.८५ प्रतिशत अर्थात् २ अर्ब ८ करोड रुपैयाँ बढेर १३ अर्ब ७३ करोड रुपैयाँ, सिद्धार्थ बैंकको ५.६२ प्रतिशत अर्थात् ४७ करोड ९४ लाख रुपैयाँ बढेर ९ अर्ब ३२ लाख रुपैयाँ लगानी गरेका छन् ।
तर, समीक्षा अवधिमा नेपाल बैंक, सिटिजन्स बैंक र नेपाल एसबिआई बैंकले भने सेयरमा लगानी घटाएका छन् । नेपाल बैंकको १५.०८ प्रतिशत अर्थात् १ अर्ब १८ करोड रुपैयाँ घटेर ६ अर्ब ६४ करोड रुपैयाँ, सिटिजन्स बैंकको १४.०२ प्रतिशत अर्थात् ९६ करोड ५ लाख रुपैयाँ घटेर ५ अर्ब ८८ करोड रुपैयाँ र नेपाल एसबिआई बैंकको ८.६५ प्रतिशत अर्थात् ५ करोड ३१ लाख रुपैयाँ घटेर ५६ करोड रुपैयाँ मात्रै सेयरमा लगानी गरेका छन् ।