गरिमा विकास बैंकका ग्राहकलाई ओम हस्पिटल र कान्तिपुर डेन्टलमा उपचार सेवामा छुट
काठमाडौं । गरिमा विकास बैंक लिमिटेडका ग्राहकहरूले अब ओम हस्पिटल एण्ड रिसर्च सेन्टर र कान्तिपुर डेन्टल हस्पिटल (केडिसी) एण्ड रिसर्च सेन्टरमा विभिन्न उपचार सेवामा आकर्षक छुट पाउने भएका छन् । यस सम्बन्धमा बैंकले दुवै स्वास्थ्य संस्थासँग छुट प्रदान गर्ने सम्झौता सम्पन्न गरेको छ । सम्झौताअनुसार बैंकका ग्राहकहरूले ओम हस्पिटल एण्ड रिसर्च सेन्टरमा सिटी स्क्यान, एक्स–रे लगायत अन्य स्वास्थ्य सेवामा अधिकतम १० प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् । त्यसैगरी, कान्तिपुर डेन्टल हस्पिटल (केडिसी) मा बेड शुल्कमा १५ प्रतिशत तथा अन्य स्वास्थ्य सेवामा १० प्रतिशतसम्म छुट उपलब्ध हुनेछ । कान्तिपुर डेन्टल हस्पिटलले प्रदान गर्ने उक्त सुविधा काठमाडौंको बसुन्धारा, सुन्दरबस्ती र सतुंगलका शाखासहित पोखरा (कास्की), नारायणगढ र भरतपुर (चितवन) र बुटवल (रुपन्देही) स्थित शाखाबाट पनि लिन सकिनेछ । गरिमा विकास बैंकका ग्राहकहरूले बैंकको मोबाइल बैंकिङ तथा डेबिट/क्रेडिट कार्डमार्फत बिल भुक्तानी गर्दा उल्लेखित दुवै अस्पतालबाट सहज रूपमा छुट प्राप्त गर्न सक्नेछन् । हाल गरिमा विकास बैंक लिमिटेडले देशभर १२६ शाखा कार्यालय, ५१ एटिएम तथा नवीनतम डिजिटल बैंकिङ सेवामार्फत करिब ९ लाख ग्राहकलाई सरल, सुरक्षित र गुणस्तरीय सेवा प्रदान गर्दै आएको छ ।
प्यान र ईमेल अद्यावधिक गर्न एनआईसी एशिया बैंकको ग्राहकलाई आग्रह
काठमाडौं । एनआईसी एशिया बैंकले ग्राहकहरूलाई खातामा स्थायी लेखा नम्बर (प्यान) र ईमेल ठेगाना यथाशीघ्र अद्यावधिक गर्न अनुरोध गरेको छ । बैंकले खाताबाट गरिएको करकट्टीको विवरण 'आयकर ऐन २०५८' बमोजिम नेपाल सरकार, अर्थ मन्त्रालयअन्तर्गत आन्तरिक राजश्व विभागद्वारा जारी गरिएको स्थायी लेखा नम्बर प्रणालीमा आबद्ध गर्नुपर्ने भएकाले प्यान अद्यावधिक आवश्यक रहेको जनाएको छ। ग्राहकहरूले बैंकको पोर्टल वा मोबाइल बैंकिङ एपमार्फत ‘प्यान अपडेट’ विकल्पमा गई आफ्नो प्यान अद्यावधिक गर्न सक्नेछन् । साथै, आफूलाई पायक पर्ने बैंकको जुनसुकै शाखा कार्यालयबाट पनि प्यान अद्यावधिकका लागि आवेदन दिन सकिने व्यवस्था गरिएको बैंकले जनाएको छ । बैंकका अनुसार निक्षेपकर्ताको ब्याज भुक्तानी वापत काटिएको करलाई ई–टीडीएस (e-TDS) रेकर्डमा समावेश गर्न प्यान अनिवार्य हुन्छ । प्यान अद्यावधिक भएपछि करकट्टीको विवरण स्वतः सम्बन्धित प्यानमा प्रविष्ट हुने र आयकर प्रणालीले अनुसूची–१० मा करकट्टीको विवरण मिलान गर्नेछ । यसले करकट्टी प्रमाणपत्र तथा कर चुक्ता प्रमाणपत्र प्राप्त गर्न सहज बनाउने विश्वास बैंकले लिएको छ । प्यान अद्यावधिक नगरेका कारण ई–टीडीएसमा ब्याजकर दाखिला नभएको वा त्यसपछि थप समायोजन गर्नुपर्ने अवस्था आएमा बैंक जिम्मेवार नहुने पनि बैंकले स्पष्ट पारेको छ । त्यसैगरी, ग्राहकहरूलाई खातामा ईमेल ठेगाना पनि अद्यावधिक गर्न बैंकले आग्रह गरेको छ । भिडियो केवाईसी वा मोबाइल बैंकिङ एपमार्फत ‘चेन्ज इमेल’ विकल्प प्रयोग गरी ईमेल ठेगाना अद्यावधिक गर्न सकिनेछ । शाखा कार्यालयमार्फत पनि यो सेवा उपलब्ध रहेको बैंकले जनाएको छ । यसअघि प्यान उपलब्ध गराइसके पनि करकट्टी विवरण समावेश नभएको वा ईमेल अद्यावधिक नभएको अवस्थामा नजिकको शाखा कार्यालय वा ग्राहक सम्पर्क केन्द्रमा सम्पर्क गर्न बैंकले अनुरोध गरेको छ ।
बीमा कम्पनीहरूले दाबीबापत तिरे ५१ अर्ब ५९ करोड, ५२ अर्ब भुक्तानी बाँकी
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को ९ महिना (साउन–चैत)सम्म बीमा कम्पनीहरूले ५१ अर्ब ५९ करोड ३५ लाख रुपैयाँ दाबी भुक्तानी गरेका छन् । सञ्चालनमा रहेका जीवन र निर्जीवन बीमा कम्पनीहरूले सो रकम बराबरको दाबी भुक्तानी गरेको नेपाल बीमा प्राधिकरणले जनाएको छ । अघिल्लो वर्ष यही अवधिसम्म बीमा कम्पनीहरूले ६२ अर्ब २२ लाख रुपैयाँ दाबी भुक्तान गरेका थिए । अघिल्लो वर्षको तुलनामा बीमा दाबी भुक्तानी १६.७९ प्रतिशतले घटेको छ । प्राधिकरणका अनुसार जीवन बीमा कम्पनीहरूले चैत्र मसान्तसम्ममा १ लाख ४४ हजार ३०६ वटा दाबीको ३१ अर्ब १० करोड ७३ लाख रुपैयाँ भुक्तानी गरेका छन् । यो गत आवको तुलनामा ३१.४५ प्रतिशतले घटेका छ । गत आवको चैत्र मसान्तसम्ममा बीमा कम्पनीहरुले २ लाख ८२ ८१० वटा दाबीको ४५ अर्ब ३७ करोड ९४ लाख रुपैयाँ भुक्तानी गरेका थिए । अघिल्लो वर्षको तुलनामा दाबी भुक्तानी रकम ३१.४५ प्रतिशतले घटेको छ । त्यसैगरी, चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा निर्जीवन बीमकहरूले १ लाख ११ हजार ७०७ वटा दाबीको २० अर्ब ४८ करोड ६२ लाख रुपैयाँ भुक्तानी गरेका छन् । अघिल्लो आवको सोही अवधिमा बीमा कम्पनीहरूले १ लाख १ हजार ७१३ वटा दाबीको १६ अर्ब ६२ करोड २८ लाख रुपैयाँ भुक्तानी गरेका थिए । अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा निर्जीवन बीमकहरूको दाबी संख्या र रकम क्रमशः ९.८३ प्रतिशत र २३.२४ प्रतिशतले बढेको छ । ५२ अर्ब भुक्तानी बाँकी चैत्र मसान्तसम्ममा जीवन र निर्जीवन बीमा कम्पनीहरूले ५२ अर्ब ५२ अर्ब ७३ करोड ३२ लाख रुपैयाँ दाबी भुक्तानी गर्न बाँकी रहेको देखिएको छ । जीवन बीमा कम्पनीहरूले मात्रै ६१ हजार ५१६ दाबीको ५ अर्ब ५७ करोड ३१ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ । त्यस्तै निर्जीवन बीमा कम्पनीहरूले १ लाख १३ हजार ९४७ वटा दाबीको ४७ अर्ब १६ करोड १ लाख रुपैयाँ रहेको छ ।