नेपाल लाइफको २५औं वार्षिकोत्सवमा निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रमको आयोजना हुने

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले आफ्नो स्थापनाको २५औं वार्षिकोत्सवको अवसर पारेर विशेष सामाजिक उत्तरदायित्व कार्यक्रमको घोषणा गरेको छ ।  कम्पनीले ‘जीवन महत्त्वपूर्ण छ, यसलाई सँगै थप सुन्दर बनाऔं’ भन्ने मूल नाराका साथ निःशुल्क स्वास्थ्य शिविर तथा वृहत् रक्तदान कार्यक्रम आयोजना गर्ने भएको हो । कम्पनीले यस कार्यक्रममार्फत सर्वसाधारणमा स्वास्थ्य सचेतना अभिवृद्धि गर्ने र बहुमूल्य मानव जीवन बचाउन योगदान पु‍र्याउने पवित्र उद्देश्य राखेको जनाएको छ । सर्वसाधारणको स्वास्थ्यलाई ध्यानमा राख्दै आयोजना हुन लागेको स्वास्थ्य शिविरमा सहभागी भई निःशुल्क स्वास्थ्य परीक्षण गराउन कम्पनीले सबैमा आह्वान गरेको छ । बैशाख २१ र २२ गते बिहान ९ः३० बजेदेखि साँझ ६ः३० बजेसम्म नेपाल लाइफको केन्द्रीय कार्यालय, कमलादी, काठमाडौंमा स्वास्थ्य परीक्षण हुनेछ । ‘रक्तदान नै जीवनदान हो’ भन्ने भावनालाई आत्मसात् गर्दै कम्पनीले केन्द्रीय स्तर र सातै प्रदेशमा एकैसाथ रक्तदान कार्यक्रम आयोजना गर्न लागेको छ ।

हिमालयन डिष्टिलरीको नाफा १५.१५ प्रतिशत बढ्यो, ईपीएस ३०.७८ रुपैयाँ

काठमाडौं । हिमालयन डिष्टिलरी लिमिटेडको चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासमा खुद नाफा १५.१५ प्रतिशत बढेर ८५ करोड १३ लाख ५ हजार रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ७३ करोड ९२ लाख ४१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  चालु आवको चैत मसान्तसम्ममा कम्पनीको कुल आम्दानी ६.७३ प्रतिशत बढेर ५ अर्ब ७१ करोड ९१ लाख ७८ हजार रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ५ अर्ब ३५ करोड ८३ लाख ९२ हजार रुपैयाँ कुल आम्दानी गरेको थियो । चालु आवको ९ महिनाको अवधिमा कम्पनीको खुद बिक्री आम्दानी ३ अर्ब ९ करोड १४ लाख २० हजार रुपैयाँ र कुल नाफा २ अर्ब १४ करोड ४१ लाख ५६ हजार रुपैयाँ रहेको छ ।  समीक्षा अवधिमा वस्तु बिक्री लागत ९० करोड १४ लाख २८ हजार रुपैयाँ, उत्पादन खर्च ४ करोड ५८ लाख रुपैयाँ, कर्मचारीको तलब खर्च ३२ करोड ३० लाख ८२ हजार रुपैयाँ, प्रशासनिक खर्च १३ करोड ३६ लाख ८२ हजार रुपैयाँ र विक्री वितरण खर्च ५१ करोड ८२ लाख ३६ हजार रुपैयाँ रहेको छ । ३ अर्ब ६८ करोड ८० लाख ८२ हजार रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा १ अर्ब १७ करोड २७ लाख ९१ हजार रुपैयाँ रहेको छ ।  कम्पनीको नाफा बढेसँगै प्रतिसेयर आम्दानी (ईपीएस) पनि बढेर ३०.७८ रुपैयाँ पुगेको छ । गत वर्षको चैतमा २६.७३ रुपैयाँ थियो । यस्तै, कम्पनीको प्रतिसेयर नेटवर्थ १३१.८० रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात ३७.९५ गुणा रहेको छ । 

नेशनल लाईफ इन्स्योरेन्सको नारायणी क्रुज सफारी कार्यक्रम सम्पन्न

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले  अभिकर्ताहरूका लागि आयोजना गरेको २ रात ३ दिने ‘नारायणी क्रुज सफारी’ कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम चितवनको सौराहास्थित होटल सेभेन स्टारमा आयोजना गरिएको थियो । ‘संस्कृति, सौहार्द र सयरको संगम’ भन्ने नारासहित २०८२ फाल्गुण र चैत्र महिनामा सञ्चालन गरिएको मासिक योजनाअन्तर्गत लक्ष्य पूरा गर्न सफल अभिकर्ताहरूलाई लक्षित गरी उक्त कार्यक्रम आयोजना गरिएको कम्पनीले जनाएको छ । कार्यक्रममा कम्पनीका एजेन्सी विभाग प्रमुख, विभिन्न शाखाका प्रमुखहरू तथा देशभरबाट उत्कृष्ट व्यवसाय गरी छनोट भएका ३५४ जना वरिष्ठ अभिकर्ताहरूको सहभागिता रहेको थियो । सहभागीहरूलाई मनोरञ्जन प्रदान गर्ने उद्देश्यले इन्द्रेणी ग्रुपका सञ्चालक तथा चर्चित कलाकारहरूको प्रस्तुतिमा लोकदोहोरी गीत तथा नृत्य प्रदर्शन गरिएको थियो । कार्यक्रममा सहभागी अभिकर्ताहरूले पूर्ण मनोरञ्जन लिएको बताउँदै नेपालको एकमात्र क्रुजमा यात्रा गर्ने अवसर उपलब्ध गराएकोमा कम्पनीप्रति आभार व्यक्त गरेका छन् । साथै, यस्ता कार्यक्रमले मनोरञ्जनका साथै आफ्नो व्यावसायिक विकासमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।