शिखर इन्स्योरेन्सलाई ‘मेरिट प्रमाणपत्र’, सम्मान प्राप्त गर्ने नेपालको पहिलो बीमा कम्पनी
काठमाडौं । शिखर इन्स्योरेन्सले दक्षिण एसियाली लेखा परीक्षक महासङ्घ (एसएएफए) ले प्रदान गर्ने मेरिट प्रमाणपत्र प्राप्त गरेको छ । उत्कृष्ट वार्षिक प्रतिवेदन सम्मानमा शिखरले यो प्रमाणपत्र पाएको हो । यो सँगै यो सम्मान प्राप्त गर्ने शिखर इन्स्योरेन्स नेपालको पहिलो बीमा कम्पनी बन्न सफल भएको छ । यो उपलब्धि शिखर इन्स्योरेन्सका लागि मात्र होइन, सम्पूर्ण नेपाली बिमा उद्योगका लागि पनि कोशेढुंगा भएको कम्पनीले जनाएको छ । एसएएफएद्वारा प्रदान गरिने यो सम्मान दक्षिण एसियामा वित्तीय प्रतिवेदनको गुणस्तर, पारदर्शिता, सुशासन, तथा जवाफदेहीपनको उत्कृष्ट अभ्यासलाई मान्यता दिने सबैभन्दा प्रतिष्ठित अवार्डमध्ये एक मानिन्छ । यो सम्मानले शिखर इन्स्योरेन्सले पछिल्ला वर्षहरूमा अपनाउँदै आएको मजबुत सुशासन र वित्तीय अनुशासन प्रतिको निरन्तर प्रतिबद्धतालाई थप पुष्टि गर्ने कम्पनीले जनाएको छ ।
प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सका नवनियुक्त अध्यक्ष दिनेश सरियाले लिए शपथ
काठमाडौं । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडका सञ्चालक समितिका नवनियुक्त अध्यक्ष दिनेश सरियालाई बिहीबार पद तथा गोपनीयताको सपथ गराइएको छ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष जनक राज शर्माले कुपण्डोलस्थित प्राधिकरणको केन्द्रीय कार्यालयमा शपथ गराएका हुन् । सो अवसरमा प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदी, निर्देशक शाम्भराज लामिछाने र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडका अन्य पदाधिकारीहरू पनि उपस्थित थिए । शपथ ग्रहण समारोहले कम्पनीको नेतृत्वमा नयाँ व्यवस्थापनद्वारा अघि बढाइने जिम्मेवारी र दायित्वको औपचारिकता पुष्टि गरेको बताइएको छ ।
एनएमबि बैंकले पायो एक्सीलेन्स इन कमर्सियल कार्ड बिजनेस अवार्ड
काठमाडौं । एनएमबि बैंकले भिसा इन्टरनेशनलबाट हालै आयोजित 'लिडरसीप कन्केलभ नेपाल २०२५' सम्मेलनमा 'एक्सीलेन्स इन कमर्सियल कार्ड बिजनेस' अवार्ड प्राप्त गरेको छ । यो सम्मान बैंकले व्यावसायिक कार्ड क्षेत्रमा देखाएको उत्कृष्ट प्रदर्शन र डिजिटल भुक्तानी सेवालाई प्रवर्धन गर्न गरेको महत्वपूर्ण योगदानको कदरस्वरूप प्रदान गरिएको हो । एनएमबि बैंकले देशभर २०२ वटा शाखा, १८४ वटा एटिएम र ९ वटा एक्सटेन्सन काउन्टरमार्फत ग्राहकहरूलाई उच्चस्तरीय सेवा प्रदान गर्दै आएको छ । बैंकले यस उपलब्धिलाई डिजिटल भुक्तानी सेवाको सुधार र व्यावसायिक कार्ड क्षेत्रमा अझ प्रगतिशील कदम चाल्न उत्प्रेरकका रूपमा लिने जनाएको छ ।