पोखरामा प्रभु महालक्ष्मी लाइफका अभिकर्ता लिडरहरुको ‘रिफ्रेसमेन्ट’ कार्यक्रम सम्पन्न
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका अभिकर्ता लिडरहरुको सहभागितामा पोखरामा आयोजित तीन दिने मनोरञ्जनात्मक तथा प्रेरणादायी कार्यक्रम सम्पन्न भएको छ । जेठ १३, १४ र १५ गतेसम्म सञ्चालन भएको कार्यक्रममा संगीत, हाँसो र विभिन्न गतिविधिहरूको गुञ्जनले पर्यटकीय नगरी पोखरा थप उल्लासमय बनेको थियो । कार्यक्रममा फेवा ताल अवलोकन, ताल बाराही मन्दिरमा भजन कन्सर्ट तथा चर्चित राष्ट्रिय कलाकारहरुको प्रस्तुती मुख्य आकर्षणका रूपमा रहेका थिए । कार्यक्रमको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाई ले पानसमा दीप प्रज्वलन गरी गरेका थिए । उद्घाटन मन्तव्यका क्रममा उनले यस्ता कार्यक्रमले अभिकर्ता लिडरहरुलाई रिफ्रेसमेन्ट प्रदान गर्नुका साथै कार्यक्षमतामा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे । उनले सुन्दर पोखरामा आयोजित कार्यक्रम अन्तर्गत ताल बाराही मन्दिरमा सम्पन्न भजन कन्सर्टले सहभागीहरूलाई नयाँ अनुभव दिलाएको उल्लेख गरे । कार्यक्रममा करिब १५० भन्दा बढी अभिकर्ता लिडरहरुको उपस्थिति रहेको थियो । पोखरा भ्रमण, सांगीतिक साँझ, भजन कन्सर्ट लगायतका गतिविधिहरू हर्षोल्लासपूर्ण वातावरणमा सम्पन्न भएका थिए । कार्यक्रमको मुख्य आकर्षणका रूपमा लोकप्रिय गायिका समिक्षा अधिकारी, गायक प्रकाश सपुत तथा हास्य कलाकार सन्दीप क्षेत्री को प्रस्तुतीले सहभागीहरूलाई भरपुर मनोरञ्जन दिएको थियो । साथै स्थानीय भजन समूहले ताल बाराही मन्दिर परिसरमा भक्तिमय वातावरण सिर्जना गरेका थिए । कार्यक्रमको समापनमा धन्यवाद ज्ञापन गर्दै कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत किशोर प्रसाद लामिछाने ले गीत, संगीत र हास्य प्रस्तुतिले अभिकर्ता लिडरहरुलाई उत्साहित बनाएको बताए । कम्पनीले अभिकर्ताहरुलाई लक्षित गर्दै निरन्तर रुपमा मोटिभेसनल, रिफ्रेसमेन्ट, सम्मान तथा मनोरञ्जनात्मक कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको जनाएको छ ।
फोनपे नेटवर्कमा अब युनियनपे इन्टरनेशनल लाइभ
काठमाडौं । फोनपेले क्यूआर स्किममा युनियनपे इन्टरनेशनललाई एकीकृत गरेको घोषणा गरेको छ । यससँगै अब विश्वभरका युनियनपे प्रयोगकर्ताले नेपालमा सिधै क्यूआरमार्फत भुक्तानी गर्न सक्ने भएका छन् । फोनपेका अनुसार चीनको मुख्यभूमि, हङकङ, मकाउ, सिंगापुर लगायतका बजारका प्रयोगकर्ताले नेपालभर रहेका २० लाखभन्दा बढी फोनपे क्यूआर मर्चेन्टमा सहज रूपमा भुक्तानी गर्न सक्नेछन् । यससम्बन्धी घोषणा काठमाडौंमा आयोजित एक कार्यक्रममा गरिएको थियो । कार्यक्रममा नेपाल राष्ट्र बैंक, युनियनपे इन्टरनेशनल, नेपाल पर्यटन बोर्ड, बैंक तथा वित्तीय संस्था र व्यवसायिक क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति थियो । फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस कुमारले यसलाई महत्वपूर्ण उपलब्धि भन्दै नेपाललाई विश्वस्तरीय डिजिटल भुक्तानी गन्तव्य बनाउने दिशामा ठूलो कदम भएको बताए । ‘यो केवल सहकार्य मात्र होइन, नेपालको डिजिटल कनेक्टिभिटी विश्वस्तरमा विस्तार भएको सन्देश पनि हो,’ उनले भने । यस्तै, युनियनपे इन्टरनेशनलका उपाध्यक्षले नेपाललाई आफ्नो नेटवर्कका लागि महत्वपूर्ण बजारको रूपमा व्याख्या गरेका छन् । ‘फोनपेसँगको सहकार्यले अब हाम्रा प्रयोगकर्ताले नेपालमा आफ्नै देशजस्तै सहज डिजिटल भुक्तानी अनुभव गर्न सक्नेछन्,’ उनले भने । सन् २०२५ मा नेपालले ११.५ लाखभन्दा बढी पर्यटक भित्र्याएको थियो । तीमध्ये युनियनपे प्रयोग हुने बजारबाट आउने पर्यटकको हिस्सा उल्लेख्य छ । यसअघि डिजिटल भुक्तानीको सीमित पहुँचका कारण ती पर्यटकहरू नगदमा निर्भर रहनुपर्थ्यो । अब भने यो समस्या समाधान हुने अपेक्षा गरिएको छ । फोनपे क्यूआर प्रयोग गर्ने व्यवसायीहरूले अन्तर्राष्ट्रिय ग्राहकबाट सिधै भुक्तानी लिन सक्ने भएकाले आम्दानी बढ्ने र कारोबार सहज हुने विश्वास गरिएको छ । फोनपेले यसअघि पनि विभिन्न अन्तर्राष्ट्रिय नेटवर्कसँग सहकार्य गर्दै १३ भन्दा बढी देशका पेमेन्ट प्रणालीसँग आफ्नो पहुँच विस्तार गरिसकेको जनाएको छ ।
बाल आश्रमका बालबालिकालाई सानिमा रिलायन्स लाइफको सहयोग
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले नयाँ बानेश्वरस्थित नेपाल वाल सेवा फाउन्डेसनमा आश्रित बालबालिकाका लागि आर्थिक सहयोग गरेको छ । कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत आश्रममा बसोबास गर्ने बालबालिकामध्ये शाम्भवि स्कुलमा अध्ययनरत ८ जनाको वार्षिक शैक्षिक शुल्कबापत २ लाख ४० हजार रुपैयाँ सहयोग गरेको जनाएको छ । उक्त फाउन्डेसनले स्थापना कालदेखि विभिन्न जिल्लाका अनाथ तथा असहाय बालबालिकाको संरक्षण गर्दै आएको छ। हाल संस्थामा ४५ जना बालबालिका आश्रित रहेका छन् । सानिमा रिलायन्स लाइफले मानव कल्याण तथा सामाजिक हितका क्षेत्रमा विभिन्न गतिविधि सञ्चालन गर्दै आएको जनाएको छ । कम्पनीका अनुसार शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, वित्तीय साक्षरता तथा विपद् व्यवस्थापनजस्ता क्षेत्रमा योगदान पुर्याउने लक्ष्यसहित यस्ता कार्यक्रमहरू अघि बढाइँदै आएका छन् । कम्पनीले नाफामुखी व्यवसायसँगै सामाजिक उत्तरदायित्वलाई सँगसँगै अघि बढाउने रणनीति लिएको उल्लेख गरेको छ । आगामी दिनमा यस्ता कार्यक्रमलाई अझ प्रभावकारी र समुदायमैत्री बनाउने योजना रहेको पनि जनाएको छ । सानिमा रिलायन्स लाइफले डिजिटल सेवा विस्तार, दाबी प्रक्रिया सहजता तथा ग्राहक सेवा सुदृढीकरणमार्फत आफूलाई भरोसायोग्य जीवन बीमा कम्पनीका रूपमा स्थापित गर्दै आएको छ । हाल कम्पनीले देशभर १६८ शाखामार्फत सेवा दिँदै आएको छ ।