स्थिर नीति र ८०/२० को एलटीभी अनुपात मिलाउन अर्थमन्त्रीलाई नाइमाको सुझाव
काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले सरकारसँग अटोमोबाइल क्षेत्रलाई विलासिताको साटो आवश्यकताको क्षेत्रका रूपमा मान्यता दिन माग गरेको छ । अध्यक्ष रितु सिंह वैद्यको नेतृत्वमा गएको नाइमाको प्रतिनिधिमण्डलले नवनियुक्त अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनील लम्सालसँग छुट्टाछुट्टै शिष्टाचार भेट गर्दै यस्तो सुझाव प्रस्तुत गरेको हो। प्रतिनिधिमण्डलले अर्थमन्त्री डा. वाग्लेलाई भेट्दै अटोमोबाइल क्षेत्रका लागि स्थिर र पूर्वानुमानयोग्य नीतिगत वातावरण बनाउन आग्रह गरेको छ । भेटका क्रममा नाइमाले ८०/२० को कर्जा-मूल्य अनुपात कायम गरी वित्तीय पहुँचलाई सहज बनाउन माग गरेको छ । यस्तै, भन्सार जाँचपास भइसकेपछि पनि अडिट तहमा फरक व्याख्याका कारण बेरुजु देखिने प्रवृत्तिले व्यवसायमा अनिश्चितता बढेको गुनासो, विद्युतीय (ईभी) र हाइब्रिड सवारीको स्पष्ट वर्गीकरण गरी सबै प्रविधिमा समान कर व्यवहार हुनुपर्नेमा जोड, ‘मेक इन नेपाल’ अभियान अन्तर्गत एसेम्बलिङ उद्योगको प्रवद्र्धनका लागि दीर्घकालीन नीतिको आवश्यकता सुझाव ग्रहण गर्दै अर्थमन्त्री डा. वाग्लेले नाइमाका सुझावहरू सान्दर्भिक रहेको र आगामी नीति, कार्यक्रम तथा बजेटमा यी विषयहरूलाई यथासम्भव समेट्ने आश्वासन दिए । यसैगरी, भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनील लम्सालसँगको भेटमा मन्त्री सुनिल लम्सालले देशको अर्थतन्त्र, रोजगारी र गतिशीलतामा अटोमोबाइल क्षेत्रले पुर्याएको योगदानको प्रशंसा गरे । मन्त्री लम्सालले भने, ‘यस क्षेत्रबाट उठ्ने कर राजस्वको निश्चित अंश पुनः यही क्षेत्रकै विकास र सुधारमा लगानी गर्ने नीतिगत व्यवस्था गर्न सरकार सकारात्मक छ । ’ उनले समस्या समाधानका लागि ठोस बुँदाहरूमा मन्त्रालयसँग निरन्तर परामर्श र सहकार्य गर्न नाइमालाई आग्रह गरे । भेटका क्रममा नाइमाले भन्सार प्रक्रियाको सरलीकरण, सवारी परीक्षण सुविधा, यातायात ऐनको पुनरावलोकन, डिजिटल एकीकरण, सडक सुरक्षा र प्रदूषण नियन्त्रण जस्ता विषयमा पनि आफ्ना स्पष्ट धारणा राखेको छ ।
ऋणपत्र जारी गरेर १० अर्ब आन्तरिक ऋण उठाउँदै सरकार
काठमाडौं । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ। नेपाल सरकार, अर्थ मन्त्रालय अन्तर्गतको उक्त कार्यालयका अनुसार ६ वर्ष अवधि रहेको ‘विकास ऋणपत्र–२०८८’ बोलकबोलमार्फत बिक्री गर्न लागिएको हो । ऋणपत्रको बोलकबोल चैत २५ गते गरिनेछ भने चैत २६ गते निष्कासन गरिने जनाइएको छ । इच्छुक खरिदकर्ताले बोलकबोल प्रक्रियामार्फत आवेदन दिन सक्नेछन् । यस ऋणपत्रमा बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनीका साथै नेपाली नागरिकहरूले समेत भाग लिन सक्नेछन् ।
एनपीएल दोस्रो संस्करणबाट क्यानले कमायो ४७ करोड ३६ लाख, खुद नाफा ९ करोड २१ लाख
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा नेपाल क्रिकेट संघ (क्यान) ले ४७ करोड रुपैयाँभन्दा बढी आम्दानी गरेको छ । सोमबार क्यानले दोस्रो संस्करणको एनपीएलमार्फत ४७ करोड ३६ लाख रुपैयाँ आम्दानी भएको जनाएको छ । एनपीएल दोस्रो संस्करणमार्फत क्यानको खुद आम्दानी भने ९ करोड २१ लाख २१ हजार रुपैयाँ रहेको छ । प्रतियोगिता सञ्चालन गर्न २१ करोड ९७ लाख ५ हजार रुपैयाँ खर्च भएको क्यानको आय(व्यय विवरणमा उल्लेख छ । क्यानले आम्दानीको ५० प्रतिशत रकम ८ फ्रेन्चाइ टिमसँग पनि वितरण गर्ने गर्छ । जसअन्तर्गत १६ करोड १८ लाख ७३ हजार रुपैयाँ ८ फ्रेन्चाइलाई दिएको छ । आम्दानी बाढ्नु अघि क्यानको खुद आम्दानी २५ करोड ३९ लाख ९५ हजार रुपैयाँ रहेको जनाइएको छ ।