बीमा प्राधिकरणले बैंकहरुको मुद्धती निक्षेपमा लगानी गर्ने
काठमाडौं । नेपाल बीमा प्राधिकरणले बैंकहरुको मुद्धती निक्षेपमा लगानी गर्ने भएको छ । प्राधिकरणले बैंक मौज्दात लगानी नीति अनुसार विभिन्न वाणिज्य बैंक तथा विकास बैंकको मुद्दती निक्षेपमा लगानी गर्ने भएको हो । प्राधिकरणले इच्छुक बैंकहरुले आफूले दिन सक्ने अधिकतम प्रतिफल उल्लेख गरी तपसिलको विवरणहरू खुल्ने गरी ७ (सात) दिनभित्र सिलबन्दी दरभाउपत्र पेश गर्न आह्वान गरेको छ । पेश हुन आएको सिलबन्दी दरभाउपत्रको मान्य अवधि कम्तीमा १५ दिनको हुनुपर्ने प्राधिकरणले जनाएको छ । यसका लागी बैंकहरुले मुद्दती निक्षेपमा उपलब्ध गराउन सक्ने अधिकतम ब्याजदर, अन्तिम पटक प्रकाशित त्रैमासिक वित्तीय विवरण, विगत तीन वर्षको नाफा नोक्सानको अवस्था, बैँकको निष्क्रिय सम्पत्ति, बैंकको कर्जा निक्षेप अनुपात र पूँजी पर्याप्तता कोषको विवरण खुल्ने कागजात पेस गर्नुपर्नेछ ।
एनआईसी एशिया बैंकको अध्यक्षमा अशोक कुमार अग्रवाल नियुक्त
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा अशोक कुमार अग्रवाल नियुक्त भएका छन् । बैंकको २८औं वार्षिक साधारण सभा जेठ १८ ले संस्थापक सेयरधनीको तर्फबाट उनलाई सञ्चालक समितिमा निर्विरोध निर्वाचित गरेपछि समितिले आगामी चार वर्षका लागि अध्यक्ष पदमा नियुक्त गरेको हो । नवनियुक्त अध्यक्ष अग्रवालले सोही दिन नेपाल राष्ट्र बैंकका गभर्नर प्रा. डा. विश्वनाथ पौडेलबाट पद तथा गोपनीयताको सपथ लिएका छन् । अग्रवालसँग बैंक तथा वित्तीय क्षेत्र, बीमा र कर्पोरेट क्षेत्रमा लामो अनुभव रहेको छ । उनले विभिन्न संस्थामा सफल नेतृत्व गर्दै मुलुकको आर्थिक विकासमा योगदान पुर्याएका छन् ।
१८४ कम्पनीको सेयर मूल्य बढ्यो, ५ अर्बको कारोबार
काठमाडौं । मंगलबार सेयर बजार बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २२ अंकले बढेर २ हजार ७७७ बिन्दुमा पुगेको हो । नेप्सेका अनुसार १८४ कम्पनीको सेयर मूल्य बढ्दा ७७ कम्पनीको सेयर मूल्य घटेको छ । १० कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । मंगलबार ३४६ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ५ अर्ब २६ कराेड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार आँखु खोला जलविद्युतको भएको छ । आँखु खोलाको ४६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै नेपाल रिइन्स्योरेन्सको २६ करोड ७८ लाख, रिडिपावरको २६ करोड, ५ लाख, सेन्ट्रल फाइनान्सको २२ करोड र हिमालयन रिइन्स्योरेन्सको १५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार कालिन्चोक हाइड्रोपावरको सेयर मूल्य १४.९८ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । आज सेन्ट्रल फाइनान्स, क्रेष्ट माइक्रो लाइफ, नेपाल रिइन्स्योरेन्स र गुरखाज फाइनान्सको लगानीकर्ताले कमाएका छन् । आज १२ उपसमूहको सूचकमा हरियाली छाएको छ । बैंकिङ ०.१४ प्रतिशत, डेभलपमेन्ट बैंकको ०.५९ प्रतिशत, फाइनान्स ६.०३ प्रतिशत, होटल तथा पर्यटन ०.१२ प्रतिशत, हाइड्रोपावर ०.६१ प्रतिशत, इनभेष्टमेन्ट ०.२० प्रतिशत र लाइफ इन्स्योरेन्स ०.२७ प्रतिशत बढेका छन् । साथै माइक्रो फाइनान्स ०.४० प्रतिशत, म्यूचल फन्ड ०.२९ प्रतिशत, नन लाइफ इन्स्योरेन्स, अन्य ३.८४ प्रतिशत र ट्रेडिङ १.१३ प्रतिशतले बढेका छन् ।