काठमाडौं । नेपाल आयल निगमले आर्थिक वर्ष २०८१/८२ मा साढे १३ अर्ब रुपैयाँभन्दा बढी खुद नाफा कमाएको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा २०८३ अनुसार निगमले गत आर्थिक वर्षमा १३ अर्ब ६४ करोड ३८ लाख रुपैयाँ खुद नाफा कमाएको हो ।
मन्त्रालयको प्रतिवेदन अनुसार गत आर्थिक वर्षमा निगमको कुल सञ्चालन आय ३ खर्ब ६६ अर्ब रुपैयाँ रहेको छ भने प्रशासनिक खर्च १ अर्ब ७५ करोड रुपैयाँ सञ्चालन भएको छ । यसैगरी गत आवमा निगमको सञ्चालन संचित नाफा १६ अर्ब ८६ करोड रुपैयाँ पुगेको मन्त्रालयले जनाएको छ ।
गत फेब्रुअरी २८ देखि मध्यपूर्वमा सुरु भएको युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा उतारचढाव आएसँगै निगमले लगातार मूल्य बढाउँदै आएको छ । एकातिर उपभोक्ता मारमा परिरहेका बेला अर्कोतिर निगमको नाफा भने अर्बौं रुपैयाँ देखिएको छ ।
सञ्चित नाफाबाहेक निगमसँग २० अर्ब रुपैयाँभन्दा बढी रकम मूल्य स्थिरीकरण कोषमा जम्मा भएर बसेको थियो । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा नेपालमा सोही अनुपातमा मूल्य वृद्धि नगर्नका लागि उक्त कोषको करिब आधा रकम प्रयोग गरिएको दाबी निगमले गर्दै आएको छ ।
अन्तर्राष्ट्रिय बजारको घाटा थेग्न भन्दै निरन्तर मूल्य बढाइरहेको आयल निगम चालू आर्थिक वर्ष २०८२/८३ को अन्त्यसम्ममा पनि सञ्चित नाफाकै अवस्थामा रहने प्रक्षेपण गरिएको छ ।
उपभोक्ता तहमा महँगीको मार परे पनि निगमको वित्तीय स्वास्थ्य भने मजबुत देखिएको अर्थ मन्त्रालयको समीक्षाले देखाउँछ ।