किसानलाई बीमाप्रति सचेत गराउँदै सगरमाथा लुम्बिनी इन्स्योरेन्स
काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडको आयोजनामा माघ १२ गते उदयपुर जिल्लाको रौतामाई नगरपालिका–७ स्थित सभा हलमा कृषि, पशुपक्षी तथा विपद् बीमा जोखिम न्यूनीकरणसम्बन्धी छलफल तथा सचेतना कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीका कोशी प्रदेश प्रमुख नारायण गौतमको अध्यक्षता तथा रौतामाई नगरपालिका–७ का वडा अध्यक्ष मनोजकुमार राणा मगरको प्रमुख आतिथ्यतामा सञ्चालन गरिएको हो । कार्यक्रमको सञ्चालन गाईघाट शाखा प्रमुख धनबहादुर कटुवालले गरेका थिए । कार्यक्रममा स्थानीय कृषि तथा पशु प्राविधिक, कार्यालयका कर्मचारी, प्रतिनिधि तथा अगुवा कृषकसहित ४० जनाको सहभागिता रहेको थियो । कार्यक्रममा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीका कृषि तथा पशुपक्षी विभाग प्रमुख उमेश ढकालले कृषि तथा पशुपक्षी बीमाको प्रक्रिया, दाबीसम्बन्धी व्यवस्था तथा बीमाबाट हुने जोखिम न्यूनीकरणका विषयमा सहभागीलाई महत्वपूर्ण जानकारी प्रदान गरेका थिए ।
सेयर बजार ४२ अंकले घट्यो, १४ अर्बकाे कारोबार
काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४२ अंकले घटेर २७२६ बिन्दुमा झरेको हो । नेप्सेका अनुसार ३४ कम्पनीको सेयर मूल्य बढ्दा २२४ कम्पनीको मूल्य घटेको छ । २ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । मंगलबार ३३३ कम्पनीको ३ करोड कित्ता सेयर किनबेच हुँदा १४ अर्ब १६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार राधी विद्युत कम्पनीको भएको छ । राधीको ५७ करोड ८५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । साथै एसवाई प्यानलको ५७ करोड, आँखु खोलाको ५१ करोड, न्यादी गुप्रको ३९ करोड र बन्दिपुर केबलकारको ३७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आज १३ उपसमूहमध्ये १२ उपसमूहको परिसूचक घटेको छ भने एक उपसमूहको परिसूचक स्थिर रहेको छ। । बैकिङ १.४९ प्रतिशत, डेभलपमेन्ट बैंक १.०० प्रतिशत, फाइनान्स २.४४ प्रतिशत, होटल तथा पर्यटन १.९० र हाइड्रोपावर १.४७ प्रतिशतले घटेका छन् ।
स्वास्थ्य बीमामा तीनै तहका सरकारको लगानी आवश्यक : मन्त्री गौतम
पर्वत । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा गौतमले स्वास्थ्य बीमालाई प्रभावकारी रुपमा सञ्चालन गर्न तीन वटै तहका सरकारले लगानी गर्नुपर्नेमा जोड दिएकी छन् । मंगलबार बिहान प्रदेश अस्पताल पर्वतको निरीक्षण गर्दै मन्त्री गौतमले सङ्घीय सरकारको मात्र बजेटले स्वास्थ्य बिमा कार्यक्रमलाई अपुग भएकाले प्रदेश सरकार र स्थानीय तहहरुले समेत बजेट विनियोजन गर्नुपर्ने बताइन् । अहिले पनि थुुप्रै अस्पतालले स्वास्थ्य बिमाको बजेट नपाएको गुनासो आइरहेको बताउँदै सरकारसँग बजेट अभाव भएकै कारण भुक्तानी दिन नसकिएको बताइन् । अर्थ मन्त्रालयमा माग गर्दा बजेट नभएको भनेपछि स्वास्थ्य मन्त्रालयकै बजेटबाट झन्डै एक अर्ब रुपैयाँ बीमा बोर्डलाई भुक्तानी भएको उनको भनाइ छ । मन्त्री गौतमले आफूले विभिन्न प्रदेशअन्तर्गतका बैठकमा प्रदेश सरकार र स्थानीय तहका जनप्रतिनिधिलाई आगामी बजेटमा स्वास्थ्य बिमाका लागि पनि रकम विनियोजन गर्न आग्रह गरेको बताइन् । मन्त्री गौतमले स्वास्थ्य सेवालाई सर्वसुलभ बनाउनका लागि अहिलेको सरकारले निरन्तर पहल गरिरहेको बताइन् । सरकारी स्वास्थ्य संस्थाहरुमा पर्याप्त औषधि, जनशक्ति र उपकरणको व्यवस्थापन हुनुपर्नेमा जोड दिँदै मन्त्री गौतमले नागरिकलाई आधारभूत स्वास्थ्य सुविधाका पुर्याउनका लागि विभिन्न नीति र योजना बनाउनुनपर्ने बताइन् । उनले निर्वाचन आचारसंहिता लागिसेककाले कतिपय कामहरु अघि बढाउन नसकिएको बताइन् । उनले गत भदौ २३ र २४ गतेको आन्दोलनमा घाइते भएका जेनजीहरुको उपचारका लागि सरकारले कुनै पनि कसर बाँकी नराख्ने बताइन् । उनले घाइतेको उपचारमा कुनै समस्या नभएको तर अङ्ग प्रत्यारोपण गर्नुपर्नेहरुको व्यवस्थापनमा सरकार लागिरहेको बताइन् । उनले सहिद परिवारहरुले विभिन्न सेवासुविधा माग गरिरहेकाले सरकारले आवश्यक छलफल गरिरहेको जानकारी दिइन् । मन्त्री गौतमले आगामी फागुन २१ गते हुने निर्वाचनलाई स्वच्छ र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि सबैले सहयोग गर्नुपर्नेमा जोड दिइन् । सरकारका तर्फबाट सम्पूर्ण तयारी भइरहेको उल्लेख गर्दै उनले राजनीतिक दल, मतदाता र युवा पुस्ताले पनि सहयोग गर्न आग्रह गरिन् । आफ्नो कार्यकाल छोटो भए पनि आगामी सरकारले अघि बढाउने गरी स्वास्थ्य क्षेत्रमा केही सुधारका कामहरु गरिरहेको उनको दाबी रहेको छ । सो अवसरमा प्रदेश अस्पताल पर्वतका अध्यक्ष याम परियारले अस्पतालका लागि आवश्यक जनशक्ति, उपकरण, बिमा बापतको रकम उपलब्ध गराई दिनेलगायत विभिन्न माग समेटिएको मागपत्र पेस गरेका थिए । उनका अनुसार उक्त अस्पतालले बिमा बापतको रु तीन करोड भुक्तानी पाउन बाँकी छ ।