एनएमबि बैंकको कार्ड पेमेन्ट गेटवे सञ्चालनमा, विदेशी कार्डबाट अनलाइन भुक्तानी
काठमाडौं । एनएमबि बैंकले नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) सँगको सहकार्यमा कार्डमा आधारित अनलाइन पेमेन्ट गेटवे सुरु गरेको छ । यस सेवाले भौतिक तथा अनलाइन ई–कमर्स व्यवसायीहरूलाई डिजिटल कारोबार सहज, द्रुत र सुरक्षित रूपमा गर्न मद्दत गर्ने बैंकले जनाएको छ । नयाँ गेटवे मार्फत व्यवसायीहरूले स्वदेशी वा विदेशी जुनसुकै बैंकले जारी गरेका डेबिट वा क्रेडिट कार्ड मार्फत ग्राहकबाट भुक्तानी स्वीकार गर्न सक्नेछन् । यस सुविधाले नेपालभित्र तथा विदेशबाट पनि डिजिटल भुक्तानी लिन सकिने भएकाले व्यवसाय विस्तारमा ठूलो फाइदा पुग्ने अपेक्षा गरिएको छ । गेटवेमाअन्तर्गत ओटीपी वा पासवर्ड–आधारित प्रमाणीकरण प्रणाली समावेश गरिएको छ, जसले कार्डबाट हुने अनलाइन कारोबारलाई अझ सुरक्षित बनाउँछ । बैंकका अनुसार यसले अनाधिकृत भुक्तानी वा जोखिमपूर्ण खरिदमा उल्लेखनीय कमी ल्याउनेछ र उपभोक्ता तथा व्यवसायी दुवैमा विश्वसनीयता बढाउनेछ । एनएमबि बैंकले यो सहकार्य ई–कमर्स प्रवर्द्धन तथा देशको डिजिटलाइजेसनलाई सुदृढ बनाउने महत्त्वपूर्ण कदम भएको बताएको छ । सबैका लागि कार्ड भुक्तानीलाई सजिलो र सुरक्षित बनाउँदै, बैंकले डिजिटल अर्थतन्त्रतर्फ देशलाई अगाडि लैजाने लक्ष्य राखेको छ । सुरक्षित भुक्तानी सेवा अपनाउन इच्छुक अनलाइन व्यवसायीहरूले आफ्नो पोर्टलमा पेमेन्ट गेटवे जोड्नका लागि एनएमबि बैंकमा सम्पर्क गर्न सकिने बैंकले जनाएको छ ।
लक्ष्मी लघुवित्तको १५औँ वार्षिकोत्सवमा वित्तीय साक्षरता र रक्तदान कार्यक्रम सम्पन्न
काठमाडौं । लक्ष्मी सनराइज बैंकको सहायक कम्पनी लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले आइतबार १५औँ वार्षिकोत्सव केन्द्रीय कार्यालय तथा शाखा–उपशाखाहरूमा विविध कार्यक्रमसहित मनाएको छ । संस्था २०६७ साल मंसिर १४ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई औपचारिक रूपमा स्थापना भएको हो । केन्द्रीय कार्यालयमा आयोजित मुख्य समारोहमा सञ्चालक समितिका अध्यक्ष, लक्ष्मी सनराइज बैंकका उच्च व्यवस्थापन टोली, संस्थाका प्रमुख कार्यकारी अधिकृत, विभागीय प्रमुखहरू तथा केन्द्रीय कार्यालयका कर्मचारीहरूको उपस्थितिमा वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरिएको थियो । वार्षिकोत्सवकै अवसरमा बारा जिल्लाको देवताल–रौवाही चोकस्थित शाखा कार्यालयमा बृहत रक्तदान कार्यक्रम आयोजना गरिएको संस्थाले जनाएको छ । त्यसैगरी, मुख्य शाखा कार्यालयमा १५० जना ग्राहक सदस्यहरूसँग अन्तरक्रिया तथा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिएको थियो । १५औँ वार्षिकोत्सव अन्तर्गत सञ्चालन भएका सप्ताहव्यापी कार्यक्रम अन्तरगत विभिन्न शाखा कार्यालयहरूले स्थानीय जनप्रतिनिधि, सुरक्षा निकाय, बुद्धिजीवी, विद्यालयका विद्यार्थी तथा ग्राहक सदस्यलगायत करीब १८०० भन्दा बढी व्यक्तिहरूको सहभागितामा वित्तीय साक्षरता कार्यक्रम संचालन गरेका छन् ।
मेटलाइफ र क्यानबीच बीमा सहकार्य, खेलाडीलाई सुरक्षा
काठमाडौं । एक वर्षदेखि राष्ट्रिय क्रिकेट खेलाडीहरूका विश्वसनीय संरक्षक बनेको मेटलाइफ नेपालले फेरि नेपाल क्रिकेट संघ (क्यान) सँगको आफ्नो बीमा साझेदारी नवीकरण गरेको छ । यससहित पुरुष तथा महिला दुवै राष्ट्रिय क्रिकेट टोलीका सदस्यहरू र क्यानले निरन्तर आर्थिक सुरक्षा र सहयोग प्राप्त गर्नेछन्, जसले खेलाडीहरूलाई पूर्ण आत्मविश्वासका साथ खेलमा केन्द्रित रहन मद्दत गर्नेछ । गत वर्षभरि राष्ट्रिय टोलीका खेलाडीहरूले विभिन्न अन्तर्राष्ट्रिय टूर्नामेन्टहरूमा दृढ आत्मविश्वासका साथ प्रतिस्पर्धा गरेका थिए । जहाँ प्रत्येक स्ट्रोक, डाइभ र जितको पछाडि मेटलाइफ नेपालको बीमा सुरक्षा महत्वपूर्ण आधार बनेको थियो । मेटलाइफको यो नवीकरण विशेष अर्थपूर्ण क्षणमा आएको छ । नेपालको राष्ट्रिय क्रिकेट टोलीले आगामी आइसीसी टी–२० विश्वकपका लागि योग्यता हासिल गरेको छ, जसले राष्ट्रको खेलकुद इतिहासमा अर्को महत्वपूर्ण उपलब्धि जोडेको छ । आगामी ठूला प्रतिस्पर्धाका लागि तयारीरत टोलीको मनोबल मेटलाइफको अटल सुरक्षा र साथले अझ मजबुत बनाएको छ । क्यानका सचिव तथा पूर्व कप्तान पारस खड्काले भने, 'मेटलाइफ हाम्रो बीमाकर्ता भएकाले हामीलाई दृढ आत्मविश्वास मिलेको छ । खेलाडीहरू सुरक्षित छन् भन्ने थाहा पाउँदा हामी सम्पूर्ण मन र जोशका साथ खेलमा केन्द्रित हुन सक्छौँ ।' मेटलाइफ नेपालका जनरल म्यानेजर नर्मल काजी श्रेष्ठले भने, 'हाम्रा क्रिकेट खेलाडीहरू नेपालकै गौरव, एकता र दृढताको प्रतीक हुन् । उनीहरूले राष्ट्रलाई प्रेरित गर्ने प्रत्येक प्रदर्शनमा हामी उनीहरूको सुरक्षा कवच बनेर साथ दिन पाउँदा गर्वान्वित छौँ । टोली आगामी ठूला प्रतियोगितामा अघि बढ्दै गर्दा, मेटलाइफ नेपाल उनीहरूको विश्वासिलो सुरक्षा साझेदार बनेर उभिएको छ । किनकि जब हाम्रा खेलाडीहरू निडर हुन्छन्, नेपालको आत्मविश्वास अझ उज्यालो देखिन्छ ।'