इभी बीमा दाबी विवाद व्यवस्थापन सम्बन्धी तालिम आयोजना हुँदै
काठमाडौं । नेपाल इन्स्योरेन्स सर्भेयर्स एसोसिएसन (निशा) ले विद्युतीय सवारी साधन (इभी) बीमा दाबी विवाद व्यवस्थापन सम्बन्धी तालिम आयोजना गर्ने भएको छ । इभी सम्बन्धी बीमा दाबी विवादहरूको प्रभावकारी व्यवस्थापन तथा नवीन प्रवृत्तिबारे ज्ञान अभिवृद्धि गर्ने उद्देश्यले 'ह्यान्डलिङ इभी क्लेम्स डिस्प्युडस् : करेन्ट च्यालेन्जेज् एण्ड इमर्जिङ ट्रेन्ड्स' विषयक विशेष तालिम आयोजना गर्न लागेको एशोसिएनले जनाएको छ । एसोसिएनका अनुसार तालिम जेठ ३१ गते आइतबार दिउँसो १ बजेदेखि ५ बजेसम्म सञ्चालन हुने छ । तालिम ललितपुर स्थित होटल कुटुम्बमा सञ्चालन हुने छ । उक्त तालिममा विद्युतीय सवारी साधन विश्लेषक, सर्भेयर तथा लस एसेसर एवं विद्युतीय इन्जिनियर इ. प्रेमलाल तामाङले प्रशिक्षण प्रदान गर्ने एसोसिएशनले जनाएको छ । एशोसिएनका अनुसार तालिममा इभी बीमा दाबीका क्रममा देखिने प्राविधिक जटिलता, विवाद समाधानका उपाय, ब्याट्री तथा विद्युतीय प्रणालीको क्षति मूल्याङ्कन, तथा अन्तर्राष्ट्रिय अभ्यासलगायत समसामयिक विषयहरू समेटिने छन् । कार्यक्रममा अधिकतम २५ जना सहभागीको मात्र सहभागिता रहनेछन् । इच्छुक व्यक्तिहरूलाई समयमै दर्ता गरी आफ्नो सहभागिता सुनिश्चित गर्न संघले ले आग्रह गरेको छ । एसोसिएशनले तालिम शुल्क निशा सदस्यहरूका लागि तीन हजार रुपैयाँ र गैर–सदस्यहरूका ५ हजार रुपैयाँ निर्धारण गरेको छ ।
सेयरधनीले नकिनेको सेयर बेच्दै यूनाइटेड अजोड, १०० रुपैयाँबाट बोलकबोल सुरु
काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्सले बिक्री नभई बाँकी रहेको हकप्रद सेयर गोप्य शिलबन्दी बोलपत्र प्रक्रियामार्फत बिक्री गर्ने भएको छ । कम्पनीले हकप्रद निष्काशनपछि अवितरित रहेको ७० हजार ४८० कित्ता सेयर बिक्री गर्ने भएको हो । कम्पनीका अनुसार बिक्री हुन बाँकी रहेको सेयरमध्ये संस्थापक समूहको ६३ हजार ८४७ कित्ता र सर्वसाधारण समूहको ६ हजार ६३३ कित्ता रहेको छ । उक्त सेयर खरिद गर्न इच्छुक व्यक्ति, कम्पनी तथा संघसंस्थाले जेठ २९ गतेदेखि असार ८ गतेसम्म आवेदन दिन सक्नेछन् । सेयर खरिदका लागि लगानीकर्ताले आफूले कबुल गरेको मूल्य उल्लेख गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । कम्पनीले न्यूनतम बोलकबोल मूल्य प्रतिकित्ता १०० रुपैयाँ निर्धारण गरेको छ । कम्पनीको सेयर बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल रहेको छ । इच्छुक लगानीकर्ताले लक्ष्मी सनराइज बैंकका विराटनगर, वीरगन्ज, जनकपुर, हेटौंडा, नारायणघाट, पोखरा, बुटवल, नेपालगन्ज, वीरेन्द्रनगर र धनगढी शाखाबाट आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।
नेको इन्स्योरेन्सको ३०औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न
काठमाडौं । नेको इन्स्योरेन्सले आफ्नो स्थापनाको ३० वर्ष पूरा गरी ३१औं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । कम्पनीको केन्द्रीय कार्यालय ज्ञानेश्वरस्थित बीमा भवनमा आयोजित उक्त कार्यक्रममा कम्पनीका कर्मचारी तथा सर्वसाधारणको सहभागिता रहेको थियो। कार्यक्रम अवधिभर कुल ५३ पिन्ट रगत संकलन भएको कम्पनीले जनाएको छ । नेपाल मेडिसिटी अस्पतालले प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा रक्तदानका अतिरिक्त उपस्थित रक्तदाता तथा सर्वसाधारणका लागि निःशुल्क स्वास्थ्य परीक्षणको समेत व्यवस्था गरिएको थियो । समाजमा रगतको अभावलाई न्यून गर्न र स्वास्थ्य सचेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको कम्पनीले उल्लेख गरेको छ ।