काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्सले बिक्री नभई बाँकी रहेको हकप्रद सेयर गोप्य शिलबन्दी बोलपत्र प्रक्रियामार्फत बिक्री गर्ने भएको छ । कम्पनीले हकप्रद निष्काशनपछि अवितरित रहेको ७० हजार ४८० कित्ता सेयर बिक्री गर्ने भएको हो ।
कम्पनीका अनुसार बिक्री हुन बाँकी रहेको सेयरमध्ये संस्थापक समूहको ६३ हजार ८४७ कित्ता र सर्वसाधारण समूहको ६ हजार ६३३ कित्ता रहेको छ । उक्त सेयर खरिद गर्न इच्छुक व्यक्ति, कम्पनी तथा संघसंस्थाले जेठ २९ गतेदेखि असार ८ गतेसम्म आवेदन दिन सक्नेछन् ।
सेयर खरिदका लागि लगानीकर्ताले आफूले कबुल गरेको मूल्य उल्लेख गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । कम्पनीले न्यूनतम बोलकबोल मूल्य प्रतिकित्ता १०० रुपैयाँ निर्धारण गरेको छ ।
कम्पनीको सेयर बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल रहेको छ । इच्छुक लगानीकर्ताले लक्ष्मी सनराइज बैंकका विराटनगर, वीरगन्ज, जनकपुर, हेटौंडा, नारायणघाट, पोखरा, बुटवल, नेपालगन्ज, वीरेन्द्रनगर र धनगढी शाखाबाट आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।