नेशनल लाईफले दियो कोशी प्रदेशका अभिकर्तालाई एकदिने तालिम

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कोशी प्रदेशका विभिन्न शाखा कार्यालयमा आबद्ध भई कार्यरत अभिकर्ताहरूलाई एकदिने व्यावसायिक तालिम प्रदान गरेको छ । कम्पनीले प्रेरणा, प्रगति र पेशागत उत्कृष्टताको अवधारणासहित सञ्चालन गरेको मासिक योजना 'मन्थन २०८२' अन्तर्गत तोकिएको बीमाशुल्क संकलन गरी छनोट भएका १२० जना अभिकर्तालाई इलामको फिक्कलस्थित होटल एकोममा तालिम दिइएको हो । तालिम अन्तर्राष्ट्रिय प्रशिक्षक सैयद अल्फाज अहमदले प्रदान गरेका थिए । उनले बीमा क्षेत्रको प्रतिष्ठित उपाधि एमडिआरटीको लक्ष्य हासिल गर्ने उपायबारे विभिन्न उदाहरणसहित अभिकर्ताहरूलाई प्रशिक्षण दिएका थिए । कार्यक्रममा एजेन्सी विभाग प्रमुख सुशील प्रताप राणाले अभिकर्ताको पेशागत क्षमता अभिवृद्धिका लागि कम्पनीले निरन्तर रूपमा विभिन्न प्रशिक्षण कार्यक्रम सञ्चालन गर्दै आएको उल्लेख गरे । सोही उद्देश्यका साथ मासिक योजना ‘मन्थन २०८२’ अघि बढाइएको उनको भनाइ थियो । त्यस अवसरमा कोशी प्रदेशका विभिन्न शाखामा उत्कृष्ट कार्य गरी शाखास्तरीय प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्न सफल अभिकर्ताहरूलाई पोलिसी सर्भिसिङ विभाग प्रमुख सुस्मिता राणाले मायाको चिनो प्रदान गरेकी थिइन् । तालिममा सहभागी अभिकर्ताहरूले अन्तर्राष्ट्रिय स्तरका प्रशिक्षकबाट सिक्ने अवसर प्रदान गरेकोमा कम्पनीप्रति आभार व्यक्त गरेका थिए । सम्मानित अभिकर्ताहरूले पनि आफूले गरेको मेहनतको कदर भएको महसुस भएको प्रतिक्रिया दिएका थिए ।

५ कम्पनीको सेयर मूल्य १० प्रतिशत बढ्यो, १६ अर्बको कारोबार

काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार सेयर बजार समान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३ अंकले घटेर २७६९ बिन्दुमा झरेको हो ।  नेप्सेका अनुसार ८८ कम्पनीको सेयर मूल्य बढ्दा १६५ कम्पनीको मूल्य घटेको छ । ७ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । सोमबार ३३२ कम्पनीको ३ करोड कित्ता सेयर किनबेच हुँदा १६ अर्ब ३५ करोड रुपैयाँ बराबरको कारेबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार हिमालयन पावर पार्टनरको भएको छ । हिमालयनको ६५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै आँखु खोला जलविद्युतको ५६ करोड, मन्जुश्री फाइनान्सको ५२ करोड, एसवाई प्यानलको ५० करोड र बन्दिपुर केबलकारको ४० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आज ५ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । एसवाई प्यानल, हिमस्टार ऊर्जा, सान्भी इनर्जी, सप्तकोशी डेभलपमेन्ट र माउन्टेन हाइड्रोको सेयर मूल्य १० प्रतिशतले बढेका छन् ।    सोमबारको कारोबारमा १३ उपसमूहमध्ये ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको छ । होटल तथा पर्यटन उपसमूहको परिसूचक सबैभन्दा धेरै १.६७ प्रतिशत बढेको हो । जलविद्युत, उत्पादन तथा प्रशोधन र म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य बढेको हो ।

सम्पत्ति शुद्धीकरण निवारणमा कर्मचारी क्षमता विकास गर्दै सिद्धार्थ प्रिमियर

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले सम्पत्ति शुद्धीकरण निवारण तथा आतङ्ककारी क्रियाकलापमा वित्तीय लगानी रोकथाम (एएमएल/सीएफटी) सम्बन्धी कर्णाली र सुदूरपश्चिम प्रदेशस्तरीय तालिम सम्पन्न गरेको छ । कैलालीको धनगढीमा आयोजित उक्त तालिममा नेपाल बीमा प्राधिकरणका उपनिर्देशक पदमप्रसाद सोडारीले विज्ञ स्रोत व्यक्तिका रूपमा प्रशिक्षण प्रदान गरेका थिए । तालिममा कम्पनीका कर्णाली र सुदूरपश्चिम प्रदेशअन्तर्गत रहेका सबै शाखा कार्यालयका कर्मचारीहरूको सहभागिता रहेको थियो । कार्यक्रममा कम्पनीका नायब महाप्रबन्धक नवराज पराजुली तथा विभागीय प्रमुख सुदर्शन आचार्यले तालिमको आवश्यकता र महत्वबारे जानकारी गराएका थिए । तालिममा बीमा क्षेत्रमा हुन सक्ने सम्भावित जोखिमको पहिचान तथा रोकथाम, सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी कानुनी व्यवस्था, नेपाल बीमा प्राधिकरणबाट जारी निर्देशिका तथा निर्देशनहरू लगायतका विषयमा सहभागीहरूलाई विस्तृत जानकारी दिइएको थियो । कम्पनीले यस्ता तालिममार्फत नियामकीय अनुपालन सुदृढ गर्दै बीमा व्यवसायलाई सुरक्षित, पारदर्शी र उत्तरदायी बनाउने लक्ष्य लिएको जनाएको छ ।