अस्थायी रूपमा स्वास्थ्य सेवा बन्द गरेका अस्पतालसँग निरन्तर छलफलमा छौं : बीमा बोर्ड
काठमाडौं । स्वास्थ्य बीमा बापतको दाबी भुक्तानी नपाएपछि अस्थायी रूपमा सेवा बन्द गरेका अस्पतालहरूलाई पुनः सञ्चालनमा ल्याउन निरन्तर पहल भइरहेको स्वास्थ्य बीमा बोर्डले जनाएको छ । बोर्डले मंगलबार (आज) एक अपिल जारी गर्दै सेवा प्रदायक अस्पतालहरूसँग निरन्तर छलफल गरिरहेको जनाएको हो । बोर्डका अनुसार बीमित नागरिकको उपचारमा असर नपरोस् भनेर सेवा बन्द गरिएका अस्पताललाई पुनः सेवा सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ । केही दिन अघिमात्रै त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) र सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रले स्वास्थ्य बीमा बापतको दाबी रकम बोर्डले भुक्तानी नगरेको भन्दै सेवा बन्द गरेका थिए । नागरिकलाई सर्वसुलभ रूपमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न तथा स्वास्थ्य सेवा उपयोगमा सुधार ल्याउनका लागि सामाजिक स्वास्थ्य बीमाको आधारमा सबैका लागि स्वास्थ्य सेवा सुनिश्चित गर्ने उद्देश्यसहित यो कार्यक्रम सञ्चालन हुँदै आएको उल्लेख गरेको छ । बोर्डका अनुसार यो कार्यक्रमले स्वास्थ्यमा सर्वव्यापी पहुँच प्राप्तितर्फ नेपाललाई अग्रसर बनाउँदै दिगो विकास लक्ष्य प्राप्त गर्न महत्त्वपूर्ण भूमिका खेल्ने लक्ष्य लिएको छ । स्वास्थ्य बीमा ऐन, २०७४, स्वास्थ्य बीमा नियमावली, २०७५ तथा अन्य नीतिगत व्यवस्थाहरूले यस कार्यक्रमलाई सामाजिक स्वास्थ्य सुरक्षा प्रणालीको मेरुदण्डका रूपमा परिकल्पना गरेको छ । सीमित स्रोतसाधन तथा केही संरचनागत चुनौतीका बाबजुद पनि कार्यक्रममार्फत दैनिक करिब ५० हजार नागरिकहरूले स्वास्थ्य सेवा प्राप्त गरिरहेको बोर्डले जनाएको छ । बोर्डका अनुसार दैनिक दैनिक औसत ८ करोड रुपैयाँ बराबरको आम नागरिकको गोजीबाट हुने खर्च जोगिँदै वित्तीय सुरक्षा सुनिश्चित भइरहेको छ । त्यस्तै, बोर्डले स्वास्थ्य बीमाको सही सदुपयोग गर्न नागरिकलाई आग्रह गरेका छन् । बीमा सेवाको दुरुपयोग नगर्न र सेवा प्रदायकहरूले पनि औचित्यका आधारमा मात्र चेकजाँच, ल्याब परीक्षण तथा उपचार प्रचलित कानुन तथा बोर्डले निर्माण गरेका निर्देशिका, कार्यविधि तथा परिपत्रको कार्यान्वयन गरी स्वास्थ्य बीमा कार्यक्रमलाई दिगो बनाउन निर्वाह गर्न अनुरोध गरेको छ ।
किसानलाई बीमाप्रति सचेत गराउँदै सगरमाथा लुम्बिनी इन्स्योरेन्स
काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडको आयोजनामा माघ १२ गते उदयपुर जिल्लाको रौतामाई नगरपालिका–७ स्थित सभा हलमा कृषि, पशुपक्षी तथा विपद् बीमा जोखिम न्यूनीकरणसम्बन्धी छलफल तथा सचेतना कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीका कोशी प्रदेश प्रमुख नारायण गौतमको अध्यक्षता तथा रौतामाई नगरपालिका–७ का वडा अध्यक्ष मनोजकुमार राणा मगरको प्रमुख आतिथ्यतामा सञ्चालन गरिएको हो । कार्यक्रमको सञ्चालन गाईघाट शाखा प्रमुख धनबहादुर कटुवालले गरेका थिए । कार्यक्रममा स्थानीय कृषि तथा पशु प्राविधिक, कार्यालयका कर्मचारी, प्रतिनिधि तथा अगुवा कृषकसहित ४० जनाको सहभागिता रहेको थियो । कार्यक्रममा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीका कृषि तथा पशुपक्षी विभाग प्रमुख उमेश ढकालले कृषि तथा पशुपक्षी बीमाको प्रक्रिया, दाबीसम्बन्धी व्यवस्था तथा बीमाबाट हुने जोखिम न्यूनीकरणका विषयमा सहभागीलाई महत्वपूर्ण जानकारी प्रदान गरेका थिए ।
सेयर बजार ४२ अंकले घट्यो, १४ अर्बकाे कारोबार
काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४२ अंकले घटेर २७२६ बिन्दुमा झरेको हो । नेप्सेका अनुसार ३४ कम्पनीको सेयर मूल्य बढ्दा २२४ कम्पनीको मूल्य घटेको छ । २ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । मंगलबार ३३३ कम्पनीको ३ करोड कित्ता सेयर किनबेच हुँदा १४ अर्ब १६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार राधी विद्युत कम्पनीको भएको छ । राधीको ५७ करोड ८५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । साथै एसवाई प्यानलको ५७ करोड, आँखु खोलाको ५१ करोड, न्यादी गुप्रको ३९ करोड र बन्दिपुर केबलकारको ३७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आज १३ उपसमूहमध्ये १२ उपसमूहको परिसूचक घटेको छ भने एक उपसमूहको परिसूचक स्थिर रहेको छ। । बैकिङ १.४९ प्रतिशत, डेभलपमेन्ट बैंक १.०० प्रतिशत, फाइनान्स २.४४ प्रतिशत, होटल तथा पर्यटन १.९० र हाइड्रोपावर १.४७ प्रतिशतले घटेका छन् ।