बिरामीलाई अनावश्यक रिफर नगर्न स्वास्थ्य बीमा बोर्डको आग्रह
काठमाडौं । स्वास्थ्य बीमा बोर्डले आफ्नो संस्थामा सेवा पर्याप्त हुँदाहुँदै बिरामीलाई अन्यत्र रिफर नगर्न आग्रह गरेको छ । सेवाग्राहीलाई दिनुपर्ने सेवा उपलब्ध हुँदाहुँदै अन्यत्र रिफर गर्ने क्रम बढेकाले यसो नगर्न आग्रह गरेको हो । बोर्डले सबै सेवा प्रदायक स्वास्थ्य संस्थालाई परिपत्र गर्दै भनेको छ, ‘स्वास्थ्य बीमा ऐन २०७४, स्वास्थ्य बीमा नियमावली, २०७५ तथा प्रेषण कार्यविधि, २०८० विपरीत अनावश्यक रुपमा प्रेषण गरेको पाइएकोले आफ्नो संस्थामा भइरहेको सेवालाई नजर अन्दाज गरी प्रेषण नगर्नुहुन अनुरोध छ ।’ अस्पतालले सेवा उपलब्ध गराउन नसक्ने भएमा स्वास्थ्य बीमा नियमावली, २०७५ को अनुसूची ९ बमोजिमको रिफर पुर्जी भरी त्यस्तो सेवा सुनिश्चित हुने गरी नजिकको स्वास्थ्य संस्थामा रिफर गर्न समेत अनुरोध गरेको छ । बोर्डले अनावश्यक रिफर गरेको पाइएमा दाबी मूल्याङ्कन तथा रुजु गर्दा त्यस्तो रकम सोध भर्ना नगरिने र स्वास्थ्य बीमा नियमावली २०७५ अनुसूची ८ को ४ (ग) बमोजिम सम्झौता स्थगन वा रद्द हुने जानकारी गराएको छ।
स्वास्थ्य बीमाको क्षेत्रमा सुधारका काम भइरहेका छन् : स्वास्थ्यमन्त्री
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा गौतम शर्माले स्वास्थ्य बीमाको क्षेत्रमा सुधारको काम भइरहेको बताएकी छन् । सहिद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्रको ३०औँ वार्षिकोत्सवका अवसरमा बिहीबार आयोजित कार्यक्रममा उनले स्वास्थ्य बीमालाई व्यवस्थित रुपमा सञ्चालन गर्न सरकारले काम गरिरहेको बताएकी हुन् । 'स्वास्थ्य मन्त्रालयमा आएको बजेटभन्दा धेरै बजेट बीमाको रकमको खर्च हुन थालेकाले समस्या परेको हो, अनावश्यक रुपमा डाक्टरले बिरामी जाँचेर औषधि लेखिदिने र बिरामीले अनावश्यक रुपमा बीमाको दाबी गर्दा अहिलेको समस्या आएको हो, यसलाई समाधान गर्न सरकारले काम गरिरहेको छ,' उनले भनिन् । स्वास्थ्य बीमामा सङ्घीय सरकारको एकोहोरो बोझ परेको उनको भनाइ थियो । स्वास्थ्य बीमालाई सफल बनाउन तीनै तहका सरकारबीच समन्वयको आवश्यकता रहेको मन्त्री शर्माले बताइन् । मन्त्री शर्माले विपन्न नागरिकको उपचार गरेबापत अस्पतालले पाउने रकम र सामाजिक सेवाको रकम सरकारले तत्काल उपलब्ध गराउने स्पष्ट पारिन् । उनले मुटु उपचारको क्षेत्रमा गङ्गालाल अस्पतालले पुर्याएको योगदानको प्रशंसा गरिन् । अस्पतालका कार्यकारी निर्देशक प्राडा रवि मल्लले मुटु रोगको रोकथाम, निदान र उपचारमा गङ्गालालले उच्चस्तरीय स्वास्थ्यसेवा प्रदान गर्दै आइरहेको बताए । विसं २०५६ सालमा नौ शय्यामार्फत मुटुको उपचार सुरु गरेको उक्त अस्पतालले हाल ३०५ शय्यामार्फत बिरामीको उपचार गरिरहेको मल्लले जानकारी दिए । अस्पतालका वरिष्ठ मुटु शल्य चिकित्सक डा. रामेश कोइरालाले जेनजी आन्दोलनका क्रममा गङ्गालाल अस्पताल प्राथमिकतामा नपरेको गुनासो गरे । गत वर्ष मात्र गङ्गालाल अस्पतालले एक हजार ९९० विरामीको शल्यक्रिया सम्पन्न गरेको उनको भनाइ थियो ।
आईएमई लाइफद्वारा एजेन्सी लिडरलाई सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी तालिम
काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेसनल एन्टिमनी लण्डरिङ डेको अवसरमा एजेन्सी लिडरहरूलाई सम्पत्ति शुद्धीकरण, आतंककारी कार्य तथा आम विनाशकारी हातहतियारको निर्माण वा विस्तारमा हुने वित्तीय लगानी निवारण सम्बन्धी तालिम प्रदान गरेको छ । तालिममा जीवन बीमा क्षेत्रमा हुन सक्ने सम्भावित जोखिमको पहिचान तथा रोकथाम, सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी कानुनी व्यवस्था, नेपाल बीमा प्राधिकरणबाट जारी निर्देशिका तथा निर्देशनहरू लगायतका विषयमा सहभागीहरूलाई जानकारी दिइएको थियो । कम्पनीका अनुसार सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी कानुनको पालना गर्नाले कम्पनीको सुशासन सुदृढ बन्ने र ग्राहकको विश्वास थप मजबुत हुने विश्वास लिइएको छ । तालिम कार्यक्रमको समापन समारोहमा बोल्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवनकुमार खड्काले सम्पूर्ण अभिकर्ता साथीहरूलाई सम्पत्ति शुद्धीकरण, आतंककारी कार्य तथा आम विनाशकारी हातहतियार निर्माण वा विस्तारमा हुने वित्तीय लगानी निवारणसम्बन्धी कानुनी व्यवस्थाहरू पूर्ण रूपमा पालना गर्दै जिम्मेवार रूपमा काम गर्न निर्देशन दिएका छन् ।