नेको इन्स्योरेन्सको ९९ हजार कित्ता हकप्रद लिलामीमा, बोलपत्र पेश गर्ने अन्तिम दिन बैंशाख २६ मा
काठमाडौं । नेको इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद सेयर बिक्री नभएपछि लिलामी गर्ने भएको छ । कम्पनीको संस्थापक र सर्वसाधारणको गरी ९९ हजार ९४९ कित्ता हकप्रद सेयर बिक्री नभएपछि लिलामी गर्न लागेको हो । हकप्रद सेयर खरिद गर्नका लागि बोलपत्र पेश गर्ने अन्तिम मिति बैंशाख २६ गतेलाई तोकिएको बिक्री प्रवन्धक एनएमबी क्यापिटल लिमिटेडले जनाएको छ । सर्वसाधारणको ९५ हजार ८८५ र संस्थापकतर्फ ४ हजार ६३ कित्ता हकप्रद सेयर लिलामी हुन लागेको हो । हकप्रद सेयर किन्न अंकित मूल्य १ सय रुपैयाँ भन्दा बढी दर प्रस्ताव गर्नुपर्ने छ । बोलपत्र न्युनतम १०० कित्तालाई गर्नुपर्ने छ । कम्पनीले चुक्तापुँजी बढाउन गत माघ २६ देखि चैत १ गतेसम्म बिक्री खुला गरेकोमा आवेदन नपरेको हकप्रद सेयर लिलामी गर्न लागेको हो ।
कर्मचारी सञ्चय कोषका प्रशासक तुलसीप्रसाद गौतमद्धारा पदबहाली
काठमाडौं । नेपाल सरकारका सह–सचिव तुलसीप्रसाद गौतम कर्मचारी सञ्चय कोषको प्रशासकमा नियुक्त भएपछि सोमबार कोषमा पदबहाली गरेका छन् । गौतम अागामी ५ (पाँच) वर्षको लागि प्रशासकमा नियुक्त भएका हुन् । सह-सचिव गौतमलाई नेपाल सरकार (मन्त्रीपरिषद) को बैठकले कोषको प्रशासक पदमा नियुक्त गर्ने निर्णय गरेको थियो । प्रशासक गौतमले आगामी एक महिनाभित्र नेपाल सरकार, अर्थमंत्रालयसँग आगामी ५ वर्षका लागि सम्पादन गर्नुपर्ने कामको मापनयोग्य लक्ष्य र सूचकहरु सहितको कार्य सम्पादन सम्झौता गर्नुपर्ने छ । उनले नेपालको सार्वजनिक प्रशासनमा २७ वर्षदेखि नेपाल सरकारको विभिन्न जिम्मेवारीमा रही अनुभव प्राप्त गरेका छन् । आफ्नो पद बहालीका क्रममा प्रशासक गौतमले कोषमा कार्यरत रहुञ्जेल सञ्चयकर्ताको उच्चतम हित र कोषको छवी उच्च राख्न तथा उच्चस्तरको सँस्थागत सुशासन कायम राख्ने प्रतिवद्धता व्यक्त गरेका छन् । पदबहाली कार्यक्रममा कोषमा कार्यरत उच्च पदस्थ अधिकारी, कोषमा कार्यरत ट्रेड युनियनका पदाधिकारी लगायत अन्य कर्मचारीहरुले प्रशासक गौतमको सफल कार्यकालका लागि शुभकामना दिएका थिए ।
सनराइज बैंकले स्वास्थ्य बीमा अन्तर्गत बज्रचार्यलाई दियाे २१ हजार रुपैयाँ
काठमाडौं । सनराइज बैंक लिमिटेडले स्वास्थ्य बीमा अन्तर्गत गाःबहाल शाखाका ग्राहक राजेन्द्र बज्रचार्यलाई २१ हजार १९९ रुपैयाँ बराबरको सहयोग गरेको छ । बैंकले बिरामी बज्रचार्यलाई शल्यक्रिया गर्दाको क्रममा लागेको सो मात्राको उपचार खर्च प्रदान गरेको हो । उक्त रकम बैंकका वरिष्ठ नायब महाप्रबन्धक आशाराणा अधिकारी र नायब महाप्रबन्धक अपछकुमार यादबले निजका पत्नी श्रीमती मैया बज्रचार्यलाई प्रदान गरेका हुन् । आफ्ना बचत खाताका ग्राहकहरुको लागि “स्वास्थ्य बीमा सुविधा” प्रदान गर्दै आएको छ । उक्त बीमा अन्तर्गत बैंकका बचतकर्ताहरुले अस्पताल भर्ना भई स्वास्थ्य उपचार गराउँदा लाग्ने खर्च रु. १ लाखमा नवढ्ने गरी आफ्नो बचत खातामा रहने बार्षिक औषत मौज्दातको २५ प्रतिशत वा विल रकम मध्ये जुन कम हुन्छ सो रकम दाबी गर्न पाइनेछ । सन्राइज बैंक लिमिटेडले उल्लेखित स्वास्थ्य बीमा सुविधाको अतिरिक्त आफ्ना बचत खाताका ग्राहकहरुको लागि “सामुहिक दुर्घटना बीमा सुविधा” समेत प्रदान गर्दै आइरहेको छ । यस सुविधा अन्तर्गत दुर्घटनामा परि कुनै बचतकर्ताको मृत्यु वा स्थायी तवरले अशक्त भएमा ५ लाख रुपैयाँ नबढ्ने गरी बचतखातामा रहेको मौज्दातको ४ गुणा सम्म दाबी गर्न सकिनेछ । ग्राहकहरुले खाता खोलेको पहिलो दिनबाट नै उल्लेखित दुबै बीमा सुविधाहरु पाउने समेत बैंकले जनाएको छ ।