भूकम्पपछिको पुननिर्माणमा बीमा अनिवार्य, बीमा क्षेत्रको बजार विस्तार हुने
काठमाडौं, २० भदौ । भूकम्पपछिको पुननिर्माणका क्रममा बन्ने सबै नीजी तथा सार्वजनिक संरचनाको बीमा अनिवार्य गरिने भएको छ । व्यवस्थापिका संसदको विकास समितिले भूकम्पपछिको पुननिर्माणका क्रममा तयार हुने सबै संरचनाको अनिवार्य बीमा गर्न निर्देशन दिएको हो । सोमबार बसेको विकास समितिको बैठकमा रौतहटका सांसद रामकुमार भट्टराईले पुननिर्माणका क्रममा बन्ने सबै खाले भवन तथा संरचनाको बीमा अनिवार्य गर्नुपर्ने आवाज उठाएका थिए । भट्टराईको सोही माग अनुसार विकास समितिले पुननिर्माणका क्रममा बीमालाई अनिवार्य गर्न सरकारलाई निर्देशन दिएको हो । ‘हामी ८ खर्ब भन्दा बढि खर्चेर पुननिर्माणको काम गरिरहेका छौं, त्यसको बीमा गरेर जोखिम हस्तान्तरण गरिनु आवश्यक छ, ताकी भावी पीडिले प्राकृतिक विपत्तिको सामना गर्दा जोखिम हस्तान्तरण होस’, सांसद भट्टरईले भने । समितिक सभापति रबिन्द्र अधिकारीले समितिको निर्देशन पढेर सुनाउँदै भने–‘भूकम्पपछिको पुननिर्माणका क्रममा तयार हुने सबै खाले निजी तथा सार्वजनिक संरचनाहरुको अनिवार्य बीमा गर्ने व्यवस्था मिलाउन समिति नेपाल सरकार मन्त्रिपरिषदको कार्यालयलाई निर्देशन दिन्छ ।’ विकास समितिको निर्देशनसँगै बीमा कम्पनीहरुको व्यवासायमा ठुलो मात्रामा वृद्धि हुनेछ । भूकम्पमा पनि करिब सात लाख घर पुर्णरुपले ध्वस्त भएको पछिल्लो सर्वेक्षणले देखाएको छ भने १० हजार सार्वजनिक विद्यालय ध्वस्त भएका छन् । त्यसका अलवा करिब एक हजार स्वास्थ्य संस्था र सैयौं पुरातात्विक सम्पदा पुर्णरुपले क्षति भएका छन् । समितिको निर्देशनसँगै ती सबैको बीमा गराउने बाटो खुलेको छ ।
नेशनल लाईफले १६५ अभिकर्तालाई मलेशिया, सिंगापुर र दुबई घुमाउने
काठमाडौं, १५ भदौ । नेशनल लाईफ ईन्स्योरेन्स कम्पनीका अभिकर्ताहरुको चियरपर्सन क्लबका सदस्यहरुको सम्मान एवंम तीन दिने तालिम कार्यक्रम गरेको छ । कम्पनीका अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंहका अध्यक्षतामा होटल पोखरा ग्राण्डीमा सम्पन्न उक्त कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत भरत बस्नेत, पेशागत बीमा अभिकर्ता संघका अध्यक्ष, कम्पनीका कर्मचारीहरु तथा कम्पनीका ४०० भन्दा बढी अभिकर्ताहरुको उपस्थिति रहेका थियो । उक्त कार्यक्रममा अध्यक्ष सिंहले कम्पनीका अभिकर्ताहरुको प्रयासले कम्पनीको ब्यवसायिक लक्ष्य प्राप्त भएकोमा खुशी ब्यक्त गर्दै आगामी दिनहरुमा कम्पनी नयाँ नयाँ योजना सहित जीवन बीमा बजारमा उपस्थित भई बीमा ब्यवसायलाई ग्राहक मुखि बनाउँदै लैजाने प्रतिवद्धता ब्यक्त गरेकी छिन् । कार्यक्रममा विशेष रुपमा सम्मानित प्रमुख १० अभिकर्ताहरु मध्ये आफ्नै कोडमा सबैभन्दा बढी प्रथम बीमा शुल्क रकम संकलन गर्न सफल प्रथम, द्वितीय तथा तृतीय हुने अभिकर्ताहरु तथा आफ्नो र आफ्नो संजालबाट सबै भन्दा बढी प्रथम बीमा शुल्क रकम संकलन गर्न सफल प्रथम, द्वितीय तथा तृतीय हुने अभिकर्ताहरुलाई विशेष सम्मान सहित नगद पुरस्कार समेत प्रदान गरिएको थियो । कार्यक्रममा मलेशिया, सिंगापुर र दुबई मध्ये कुनै १ देशमा भ्रमणको लागि तथा बैंकक भ्रमणको लागि गरी १६५ जना अभिकर्ताहरु छनौटमा परेको सीईओ बस्नेतले जानकारी दिए ।
नुवाकोटको जुरेथुममा आशा लघुवित्तको स्थापना, राष्ट्र बैंकका गभर्नरद्वारा उद्घाटन
काठमाडौं, १५ भदौ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले नुवाकोटको जुरेथुममा स्थापना भएको आशा लघुवित्त वित्तीय संस्थाको उद्घाटन गरेका छन् । मंगलबार आयोजित कार्यक्रममा गभर्नर नेपालले ग्रामीण क्षेत्रमा वित्तीय पहुँच विस्तारमा लघुवित्तको महत्वपूर्ण भूमिका रहेको बताएका छन् । नेपाल राष्ट्र बैंकबाट स्वीकृतिमा स्थापना भएको उक्त लघुवित्तको कारोबार मंगलबारदेखि शुरु भएको छ । संस्थाका अनुसार १० करोड रुपैयाँ चुक्ता पुँजी भएको राष्ट्रिय स्तरको यो लघुवित्तमा सस्थापक समूहको सात करोड रुपैयाँ लगानी छ । संस्थाले सर्वसाधारण लगानीकर्ताका लागि तीन करोड रुपैयाँको साधारण सेयर जारी गर्ने विज्ञप्तिमा उल्लेख छ । गभर्नर डा. नेपालले लघुवित्त सस्थाहरु गाउँ गाउँमा पैसा लिएर आएकोले स्थानीयहरुले व्यवसाय र स्वरोजगार मुलक काम गरेर पैसा कमाउन सुझाव दिएका छन् । उनले वैदेशिक रोजगारीमा गएर मासिक १०, १२ हजार रुपैयाँ कमाउने भन्दा आफै मालिक भएर व्यवसायको अवसर खोज्न पनि स्थानीय युवा तथा आम नागरिकलाई आग्रह गरेका छन् । आशा लघुवित्त सस्थाको सञ्चालक समितिका अध्यक्ष एवं उद्घाटन कार्यक्रमका सभापति राम बहादुर पाण्डेले सस्थाले मुलुकको आर्थिक उन्नतिमा टेवा पु¥याउने र वित्तीय सेवाको पहुँच नपुगेका स्थानमा शाखा खोलेर सेवा दिने प्रतिद्धता जनाएका छन् । उनले स्वरोजगारमुलक व्यसायलाई प्राथमिकताका साथ लगानी गर्ने बताएका छन् । नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष डा आत्माराम घिमिरेले लघुवित्त संस्थालाई तोकेको सात प्रतिसत स्प्रेडदर उपयुक्त नभएको बताउँदै क्षेत्र अनुसार स्प्रेड तोक्न राष्ट्र बैंकलाई सुझाव दिएका छन् । साथै, उनले गरिवलाई वित्तीय सेवा पु¥याउन र नाफासँगै सामाजिक सेवाका रुपमा सस्थालाई अघि बढाउन सुझाव दिएका छन् ।