वित्तीय अपराध न्यूनिकरणकाे लागि फाइनान्सियल फ्रड कन्फरेन्स हुदै
काठमाडौं । वैशाख चौथो साता फाइनान्सियल फ्रड कन्फरेन्स हुने भएको छ । नेशनल बैंकिङ ईन्ष्टिच्युट (एनबीआई) ले भारतको सम्बन्धित संस्थासँगको सहकार्यमा बैशाख २४ गते बैंक तथा वित्तीय क्षेत्रमा बढ्दो अपराधलाई मध्यनजर राख्दै अन्र्तराष्ट्रिय अनुभव आदान प्रदान गर्ने उद्देश्यले राजधानीमा एक दिने राष्ट्रिय स्तरको फाइनान्सियल फ्रड कन्फेरेन्स आयोजना गर्न लागेको हो । कार्यक्रमको मुख्य उद्देश्य वित्तीय अपराधहरु पत्ता लगाउने तरिका, अनुगमन, निदान तथा सुपरीवेक्षण गर्ने कार्यहरुमा देखिएका चुनौतीहरु के–कस्ता छन् भन्ने बारेमा चर्चा गरिने बताइएको छ । त्यस्तै के–कस्तो रणनीतिक पहलहरु गरेमा वित्तीय अपराधलाई न्यूनिकरण गर्न सकिने छ भन्ने बारे पनि छलफल कार्यक्रममा गरिने आयोजकको भनाइ छ । आयोजकको अनुसार सम्मेलनमा स्रोत व्यक्तीहरुको रुपमा भारतका विज्ञहरु आउनेछन् । उनीहरुले विभिन्न विषयमा प्रस्तुती गर्नेछन् । प्यानल डिस्कशन लगायतका कार्यक्रमहरु राखिएको आयोजकको भनाइ छ । सम्मेलनमा विभिन्न बैँक तथा वित्तीय संस्थाहरुबाट १५० भन्दा बदी उच्च पदस्थका बैंकिङ कर्मचारीहरु सहभागी हुनेछन् ।
शेखर बराललाई राजीनामा गर्न युनाईटेडका सञ्चालकको दबाव, विवाद नमिले हकप्रद सेयर राेकिने
काठमाडौं । युनाईटेड इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालक समितिले प्रमुख कार्यकारी अधिकृत (सिइओ) शेखर बराललाई आधा दर्जन आरोप लगाउँदै राजीनामा गर्न दबाव दिएको छ । सिर्इओ बरालले राजीनामा गरेर मार्ग प्रशस्त नगरे बर्खास्त गर्ने निचोडमा सञ्चालक समिति पुगेको कम्पनी स्रोतले बतायो । सञ्चालकहरुले बीमा समितिसँगको सम्बन्ध सुधार गर्न नसकेको, कर्मचारी व्यवस्थापनमा असफल भएको, कर्मचारी कल्याण कोषको २४ लाख रुपैंयाँ अपचलन गरेको, सिजी इलेक्ट्रोनिक्स आगलागीको भुक्तानी विवाद सल्ट्याउन नसकेकाे, कम्पनीको छवी धमिल्याएको, प्रिमियम अाम्दानी घटेकाे, नाफा बढाउन नसकेको जस्ता आरोप लगाउँदै बराललाई राजीनामा गर्न भनेका हुन् । अाइतबारसम्म बरालले राजीनामा गरेका छैनन् । सञ्चालकहरुले राजीनामा गर्न भनेपछि सिर्इओ बराल कार्यालय नियमित जान छाेडेका छन् । विवाद नमिले हकप्रद सेयर राेकिने बीमा समितिले केहि दिन अघि युनाइेटडका सञ्चालकहरुलाई बोलाएर सिजी इलेक्ट्रोनिक्सलाई गरिएको २४ करोड रुपैयाँ भुक्तानी फिर्ता नगरे हकप्रद सेयर निष्काशन गर्न नदिने चेतावनी दिएको छ । पछिल्लो समय युनाईटेड इन्स्योरेन्सले बीमा समितिलाई हरेक निर्णयमा चुनौती दिँदै आईरहेको छ । ‘बीमा समितिका लागि युनाईटेड इन्स्योरेन्स टाउको दुखाईको बिषय बन्दै आएको छ, संस्थागत सुशासन पनि छैन्, अनि अदालतमा पनि उसैले धेरै डोर्याईरहेको छ’, बीमा समितिका एक अधिकारीले भने ।
९ महिनामा प्राइम लाइफको नाफा १४ करोड ३१ लाख
काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको ९ महिनामा नाफा बढाएको छ । गत चैतसम्म कम्पनीले १४ करोड ३१ लाख रुपैयाँ खुदनाफा गरेको छ । गत आवको सोही अवधिमा कम्पनीको नाफा १० करोड ७४ लाख रुपैयाँ थियो । गत वर्षको तुलनामा यो वर्ष प्राइमको नाफा ४ करोड रुपैयाँ बढेको आइतबार सार्वजनिक गरेको वित्तीय विवरणले देखाएको छ । समीक्षा अवधिमा कम्पनीले २१ करोड ६४ लाख रुपैयाँ आम्दानी गरेको छ । जगेडा कोषको आकार बढेर ९४ करोड ८२ लाख रुपैयाँ पुगेको छ । चालु आवको ९ महिनामा १ अर्ब ५८ करोड रुपैयाँ जीवन बीमा शुल्क आर्जन गरेको छ । यो समेत गरी हालसम्म ११ अर्ब ४० करोड रुपैयाँ बराबरको शुल्क आर्जन गरेको कम्पनीले जनाएको छ । कम्पनीले बोनसदर न्युनतम ३५ देखि ७५ रुपैयाँ दिने घोषणा गरेको छ ।