सूर्या लाइफले घोषणा गर्यो नयाँ बोनसदर, प्रतिहजार ७३ रुपैयाँसम्म दिने

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ बोनस दर घोषणा गरेको छ ।  कम्पनीले बीमालेखमा प्रतिहजार वार्षिक न्युनतम् ३८ देखि ७३ रुपैयाँसम्म बोनस दिने भएको हो । नियामक बीमा समितिले गत आर्थिक वर्षको आर्थिक स्थितीको लेखाजोखा र दायित्वको मूल्याँकन सम्बन्धित बीमाङकीय प्रतिवेदन गत बिहीबार स्वीकृत गरेपछि कम्पनीले नयाँ बोनस दर घोषणा गरेको हो ।   गत असारसम्म जारी भएका जीबन बीमालेखहरुमा नयाँ बोनस दर कायम गरिएको कम्पनीले जनाएको छ । कम्पनीले ९ वर्षसम्मको बीमालेखमा सावधिक तथा आजीवनमा प्रतिहजार ३८ रुपैयाँ, १० देखि १४ वर्षसम्म ४३, १५ देखि १९ वर्षसम्म ४८, २० देखि २४ वर्षसम्म ५८, २५ देखि २९ वर्षसम्म ६३ र ३० वर्षमाथि ७३ रुपैयाँ बोनसदर तोकिएको छ ।

नेपाल इन्स्योरेन्सको ४.५२ प्रतिशत बोनस र ६५ प्रतिशत हकप्रद पारित, पुँजी एक अर्ब नाघ्याे

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीको प्रस्तावित ४.५२ प्रतिशत बोनस सेयर पारित भएको छ । शुक्रबार(आज) सम्पन्न कम्पनीको ६९औँ वार्षिक साधारण सभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । साथै, सभाले बोनस वितरण पश्चात कायम हुने पुँजीको ६५ प्रतिशतका दरले हकप्रद सेयर जारी गर्ने प्रस्तावलाई पनि पारित गरेको छ । कम्पनीले पुँजी वृद्धि गर्न सो मात्राको हकप्रद जारी गर्न लागेको हो । हाल कम्पनीको चुक्ता पुँजी ५९ करोड ९ लाख रुपैयाँ रहेको छ । ४.५२ प्रतिशत बोनस पश्चात कम्पनीको चुक्ता पुँजी ६१ करोड ७६ लाख रुपैयाँ पुगेकाे छ । त्यसपश्चात यस पुँजीको ६५ प्रतिशतका दरले हकप्रद सेयर निष्काशन गर्ने भएकाे छ । सो मात्राको हकप्रद पश्चात यस इन्स्योरेन्सको चुक्ता पुँजी एक अर्ब एक करोड रुपैयाँ नाघ्ने कम्पनीले जनाएकाे छ ।

आइएमई जनरल इन्स्योरेन्स र स्टार हस्पिटलबीच नगद रहित सेवा सम्झौता

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र स्टार हस्पिटल बिच सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका नायव महाप्रबन्धक पवन थापा र स्टार हस्पिटलका प्रबन्ध निर्देशक डा. शैल रुपाखेतीले हस्ताक्षर गरेका छन् । यस सम्झौता पश्चात आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकहरुको बीमालेखको सीमासम्म स्टार हस्पिटलबाट नगद रहित हस्पिटलाईजेसन सेवा प्राप्त हुनेछ । सोही अवसरमा आइएमई जनरल इन्स्योरेन्सका नायव महाप्रबन्धक पवन थापाले स्टार हस्पिटलले कम्पनीसंगको सहकार्यमा कम्पनीका ग्राहकहरुलाई बीमालेखमा तोकिएको सिमासम्म नगद रहित हस्पिटलाईजेसन सुविधा प्रदान गर्ने संझौता गरेकोमा अस्पतालको संचालक समिति तथा व्यवस्थापनलाई धन्यवाद दिएका छन् । साथै, स्टार हस्पिटलले आफ्ना ग्राहकहरुलाई आइएमई जनरल इन्स्योरेन्ससंग आईजीआई औषधोपचार बीमालेख खरिद गरी अस्पतालसंग बीमालेखको सिमासम्म नगद रहित हस्पिटलाईजेशस सेवा लिन दिने छ । त्यस्तै, अस्पताल र अस्पतालसंग आवद्ध सदस्यहरुलाई औषधोपचार लगायत आवश्यक पर्ने सबै प्रकारका निर्जीवन बीमा सेवा यस इन्स्योरेन्सबाट प्राप्त गर्नसकिने कम्पनीले जनाइको छ ।