सुशासन लागू भएपछि एशियन लाइफ इन्स्योरेन्सका अध्यक्ष परिवर्तन, श्रेष्ठद्धारा बीमा समितिमा पदभार ग्रहण
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स लिमिटेडका अध्यक्ष दिपककुमार श्रेष्ठले मंगलबार बीमा समिति अध्यक्षसँग पदभार ग्रहण गरेका छन् । कम्पनीका अध्यक्ष श्रेष्ठले समितिका अध्यक्ष चिरञ्जीबी चापागाईंसमक्ष पद तथा गाेपनियताकाे शपथ ग्रहण गरेका हुन् । समितिका अध्यक्ष चापागाँर्इले बीमककाे संस्थागत सुशासन निर्देशिका जारी भएपछि पहिलो पटक यस कम्पनीका अक्ष्यक्ष श्रेष्ठलाई शपथ गराएका हुन् । आइतबार जारी बीमककाे संस्थागत सुशासन निर्देशिका अनुसार बीमा कम्पनीका अध्यक्षले बीमा समितिका अध्यक्ष समक्ष पदभार ग्रहण गर्नुपर्छ । संस्थागत सुशासन लागू भएपछि एशियन लाइफ इन्स्याेरेन्स कम्पनीका अध्यक्ष बिजय सराबगीले राजीनामा गरेका छन् । निर्देशिकामा सार्वजनिक पद धारण गरेको व्यक्ति बीमा कम्पनीको अध्यक्ष तथा सञ्चालक बन्न नपाउने व्यवस्था गरेपछि सराबगीले यस कम्पनी छाडेका हुन् । सराबगी वीरगञ्ज नगरपालिकाको मेयर हुन् । सराबगीकाे राजीनामा पछि सञ्चालक समितिले रिक्त अध्यक्ष पदमा श्रेष्ठ चुनेकाे हाे । श्रेष्ठ विगत ५ वर्षदेखि यस कम्पनीमा सञ्चालक थिए । सपथ ग्रहण कार्यक्रममा बीमा समितिका निर्देशक राजुरमण पौडेल, नियमन विभाग प्रमुख साम्बराज लामिछाने, एशियन लाइफ इन्स्योरेन्सका सञ्चालक दिनेशलाल श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृत राजेश श्रेष्ठ लगायतको उपस्थिति थियो ।
सानिमा लाईफ इन्स्योरेन्स र माछापुच्छ्रे बैंकबीच बैंक्यास्योरेन्स सम्झौता
काठमाडौं । सानिमा लाईफ इन्स्योरेन्स र माछापुच्छ्रे बैंक लिमिटेडबीच बैक्यास्योरेन्स सम्झौता भएको छ । कम्पनीका नायव महाप्रवन्धक केशबराज केसी तथा बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत अर्जुन थापाले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । उक्त सम्झौताअनुसार ग्राहकहरुले माछापुच्छ्रे बैंकका सम्पुर्ण शाखाहरुबाट सानिमा लाईफ इन्स्योरेन्सको उत्कृष्ट जीवन बीमा सेवा उपभोग गर्न सक्ने छन् ।
शिखर इन्स्योरेन्सले संस्थापकलाई भन्यो : साधारण सेयरमा परिवर्तन गर्ने कि नगर्ने ?
काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड संस्थापक सेयरधनीलाई आफनो स्वामित्व साधारण सेयरमा परिवर्तन गर्ने कि नगर्ने स्पष्ट पार्न भनेको छ । कम्पनीले लगानी संरचनामा परिवर्तन गरी संस्थापकको स्वामित्व ७० बाट घटाएर ६० र सर्वसाधारणको बढाएर ४० प्रतिशत पुर्याउने भएपछि संस्थापकलाई स्वघोषण गर्न भनेको हो । कम्पनीले आउदो ३५ दिनभित्र संस्थापक सेयर परिर्तन गर्ने वा नगर्ने स्पष्ट पार्न अनुरोध गरेको हो । कम्पनीको सेयर संरचना परिवर्तन गर्ने प्रस्ताव साधारणसभाबाट पारित भएको र कम्पनीको प्रवन्धपत्र र नियमावलीमा संशोधन गरिसकेको छ । नियामक बीमा समितिबाट स्वीकृति पनि प्राप्त गरिसकेको शिखरले जनाएको छ ।