राष्ट्रिय बीमा संस्थान अब कम्पनी मोडेलमा

काठमाडौं । सरकारले राष्ट्रिय बीमा संस्थालाई कम्पनी मोडेलमा सञ्चालन गर्ने भएको छ । नयाँ बीमा प्राधिकरण ऐनअनुसार संस्थानलाई कम्पनी मोडेलमा सञ्चालन गर्ने अर्थमन्त्री डा.युवराज खतिवडाले बताए । “नियामक राष्ट्रिय बीमा प्राधिकरण गठन भएपछि संस्थान राख्दा अनुपयुत्त हुने देखेर कम्पनी मोडेलमा लैजान खोजेको हो” उनले भने । व्यवस्थापिका संसदको बैठकलाई सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले कम्पनी मोडेलमा संस्थानलाई परिणत गरेपनि तत्काल निजी लगानी नहुने स्पष्टपारे । सरकारले निर्जीवन बीमा व्यवसाय सञ्चालन गर्न सरकारले राष्ट्रिय बीमा कम्पनी लिमिटेड सञ्चालनमा ल्याइसकेको छ । यस्तै राष्ट्रिय बीमा प्राधिकरण ऐन आएपछि संस्थानले गर्दै आएको निर्जीवन बीमा कारोबार कम्पनीमार्फत हुने अर्थमन्त्री खतिवडाले जानकारी दिए ।

साउन २१ गते सिटी एक्सप्रेस फाइनान्सको बुक क्लोज, १६७ प्रतिशत हकप्रद जारी गर्दै

काठमाडौं । आगामी साउन २१ गते सिटी एक्सप्रेस फाइनान्स कम्पनी लिमिटेडको बुक क्लोज हुने भएको छ । कम्पनीले हकप्रद सेयर जारी गर्नको लागि उक्त एकदिन फाइनान्सको बुक क्लोज गर्ने निर्णय गरेको हो । फाइनान्सले सेयरधनीहरुमा हालको चुक्ता पुँजीको १ः१.६७ अनुपात अर्थात १६७ प्रतिशत हकप्रद सेयर निष्कासन गर्दै छ । गत वैशाख ३१ गते सम्पन्न१२औँ साधारणसभाबाट पारित भए बमोजिम कम्पनीले सो मात्राको सेयर जारी गर्न लागेको हो । हाल कम्पनीको चुक्ता पुँजी १५ करोड रुपैयाँ रहेको छ । १६७ प्रतिशत हकप्रद पछि फाइनान्सको चुक्ता पुँजी ४९ करोड रुपैयाँ नाघ्ने छ । पछिल्लो समय कम्पनीको सेयर मूल्य प्रतिकित्ता १८६ रुपैयाँ रहेको छ ।

युनाईटेड इन्स्योरेन्स र दुई वाणिज्य बैंकबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं । युनाईटेड इन्स्योरेन्स कम्पनीले दुई वाणिज्य बैंकसँग बैंकास्योरेन्स सम्झौता गरेको छ । कम्पनीले एनआईसी एशिया बैंक र राष्ट्रिय बाणिज्य बैंकसँग बैंकास्योरेन्स सम्झौता गरेको हो । आइतबार राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र युनाइटेड इन्स्योरेन्सका कामु प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले बैंकास्योरेन्स सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । त्यस्तै गत शुक्रबार एनआईसी एशिया बैंकका काम प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने र यूनाईटेड इन्स्योरेन्स कम्पनीका भट्टराईले बैंकास्योरेन्स सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौता पश्चात राष्ट्रिय वाणिज्य बैंक र एनआईसी एशिया बैंकले कर्जा प्रवाह गर्दा कर्जाधितोको बीमा यूनाईटेड इन्स्योरेन्समा गर्ने बताइएको छ । पछिल्लो समय बैंक र बीमा कम्पनीबीच व्यवसायिक सहकार्यको लागि बैंकास्योरेन्स गर्ने अभ्यास बढेको छ ।