सिद्धार्थ इन्स्योरेन्सले थप्यो ३ नयाँ बीमा सेवा, पूर्व नेपाल सुन्दरी सुब्बा सद्भावना दूत नियुक्त
काठमाडौँ । सिद्धार्थ इन्स्योरेन्स लिमिटेडले ३ नयाँ बीमा सेवा थप गरेको छ । आज काठमाडौँमा नयाँ बीमालेख सार्वजनिक एवम् पत्रकार सम्मेलन गरी सो जानकारी गराइएको हो । बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईँ र सिद्धार्थ इन्स्योरेन्सका अध्यक्ष रतनलाल केडियाले संयुक्तरुपमा बीमा सेवाको शुभारम्भ गरेका हुन् । नयाँ थप गरिएको बीमा सेवामा सिद्धार्थ आदर्श नारी दुर्घटना बीमा महिलाहरुको आर्थिक सुरक्षालाई मध्यनजर गरेर ल्याइएको बीमालेख हो । त्यसैगरी सिद्धार्थ पारिवारिक दुर्घटना बीमाले एकै परिवारका चार सदस्य श्रीमान्, श्रीमति तथा १८ वर्षसम्मका २ सन्तान एकै बीमालेखमा समावेश गरिएको पत्रकार सम्मेलनमा बताइयो । अर्को बीमा डाक्टर तथा चिकित्सा पेशामा रहँदा आइपर्ने कानूनी दायित्वको क्षतिपूर्ति प्रदान गर्ने उद्देश्यले ल्याइएको छ । पत्रकार सम्मेलनमा सिद्धार्थ इन्स्योरेन्सले आफ्नो सद्भावना दूतको रुपमा पूर्व नेपाल सुन्दरी माल्भिका सुब्बालाई नियुक्त गरेको जानकारी गराइएको थियो । साथै पानी जहाजको बीमा गर्ने पहिलो इन्स्योरेन्स सिद्धार्थ नै भएको र अहिलेसम्म ४ वटा जेट बोटको बीमा भएको जानकारी गराइयो ।
शाइन रेशुङ्गाको कम्पनी सचिवमा पौडेल नियुक्त
काठमाडौँ । शाइन रेशुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडको कम्पनी सचिवमा प्रकाश पौडेल चयन भएका छन् । बैंक सञ्चालक समितिको माघ २ गते बसेको बैठकले प्रमुख कार्यकारी अधिृकत पौडेललाई कम्पनी सचिव नियुक्त गरेको हो ।
अरुण काबेली पावरको सञ्चालक समिति गठन
काठमाडौँ । अरुण काबेली पावर लिमिटेडमा सञ्चालक समिति परिवर्तन भएको भएको छ । पुस ३० गते सम्पन्न सातौं र आठौँ वार्षिक साधारण सभाबाट सञ्चालक समिति गठन गरिएको हो । नयाँ सञ्चालक समितिमा संस्थापक समूहबाट गुरुप्रसाद न्यौपाने, जीवनराम शाक्य, बच्छराज तातेड र भेजप्रसाद तिमल्सिना चयन भएका छन् । त्यसैगरी साधारण समूहबाट मिलन खड्का र नोलकुमारी आचार्य तथा स्वतन्त्र सञ्चालकमा इन्द्रमणि धिताल चयन भएको कम्पनी सचिव सिर्जना खड्काले बताइन् ।