कृषि तथा पशुपंक्षी व्यवसायमा सहुलियत ब्याजमा ऋण लिने बढे, १४ अर्ब लगानी
काठमाडौँ । सरकारले दिएको सुविधाको उपभोग गरी कृषि तथा पशुपक्षी व्यवसायमा कर्जा लिनेको सङ्ख्या बढ्दै गएको पाइएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मुलुकको पछिल्लो आर्थिक विवरणमा गत मङ्सिर मसान्तसम्म नौ हजार ७४९ जनाले कृषि कर्जा लिएको पाइएको छ । सरकारले कृषि क्षेत्रको विकासका लागि भन्दै पाँच प्रतिशत ब्याज अनुदान दिएको छ । राष्ट्र बैंकको विवरणअनुसार १४ अर्ब ३९ करोड बराबरको लगानी भएको छ । कृषि क्षेत्रलाई थप व्यावसायिक र प्रतिस्पर्धी बनाउने लक्ष्यका साथ सरकारले ब्याज अनुदान दिँदै आएको छ । उक्त कर्जा लिएका व्यक्तिबाट ७५ करोड ८२ लाख बराबरको ब्याज अनुदान प्रदान गरिएको छ । यस्तै उत्पादनशील क्षेत्रतर्फ कर्जा लगानी तथा निर्यात विस्तारमा समेत सहयोग पुर्याउने उद्देश्यले राष्ट्र बैंकले सहुलियत दरमा प्रदान गरिने पुनःकर्जाको उपयोगसमेत बढेको छ । गत मङ्सिर मसान्तसम्ममा राष्ट्र बैंकले १६ अर्ब ७० करोड पुनःकर्जा लगानीमा गरेको छ । भूकम्पपीडितलाई आवासीय घर निर्माणका लागि सहुलियतपूर्ण कर्जा प्रदान गर्न यस बैंकबाट बैंक तथा वित्तीय संस्थालाई उपलब्ध गराइएको पुनः कर्जाको बक्यौता गत मङ्सिर मसान्तसम्ममा दुई अर्ब ४२ करोड रहेको छ । त्यस्तो कर्जा लिनेको सङ्ख्या एक हजार ५३४ जना रहेका छन् । रासस
उन्नतिको साधारण सभा माघ २६ गते, राष्ट्रिय स्तरमा स्तरोन्नति गर्ने विशेष प्रस्ताव
काठमाडौँ । उन्नति माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको वार्षिक साधारण सभा माघ २६ गते हुने भएको छ । वित्तीय संस्था सञ्चालक समितिको माघ ३ गते बसेको बैठकले वार्षिक साधारण सभाको मिति तय गरेको हो । साधारण सभामा सामान्य प्रस्तावका रुपमा सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आव २०७४/०७५ को प्रतिवदेन पारित गरिने छ । त्यसैगरी लेखा परीक्षकको प्रतिवेदन सहित आव २०७४/०७५ को वासलात, नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरण लगायत वित्तीय विवरणमा छलफल गरिन पारित गरिने कम्पनीले जनाएको छ । सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम २०७५ असार मसान्तसम्मको चुक्ता पूँजीको २.१३ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश स्वीकृत गरिनेछ । साथै सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम २०७५ असार मसान्तसम्म कायम रहेको चुक्ता पूँजीको ४०.५० प्रतिशत बोनस शेयर स्वीकृत गर्ने र सोही हदसम्म जारी पूँजी तथा चुक्ता पूँजी बृद्धि गर्ने विशेष प्रस्तावका रुपमा साधारण सभामा प्रस्तुत गरिने छ । बोनस शेयर र हकप्रद पश्चात कायम चुक्ता पूँजी ८ करोड ८२ लाख ७५ हजारको ५ः१ अनुपातमा अर्थात २० प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव पनि साधारण सभामा प्रस्तुत गर्ने जनाइएको छ । वित्तीय संस्थाको कार्यक्षेत्र विस्तार गरी राष्ट्रिय स्तरमा स्तरोन्नति गर्ने विशेष प्रस्ताव पनि पेश हुने कम्पनीका प्रमुख कार्यकारी अधिृकत तथा कम्पनी सचिव प्रेमबहादुर पाठकले जनाएका छन् । साथै वार्षिक साधारण सभा प्रयोजनका लागि माघ १६ गते १ दिन शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने निर्णय भएको छ ।
सांग्रिलामा नयाँ सञ्चालक समिति, अध्यक्षमा प्रसाईँ चयन
काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडमा नयाँ सञ्चालक समिति चयन भएको छ । पुस ३० गते सम्पन्न १४ औं वार्षिक साधारण सभाले बैंकको संस्थापक समूह तथा सर्वसाधारण शेयरधनीहरुबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ३/३ जना निर्विरोध चयन गरेको थियो । नवनिर्वाचित सञ्चालकहरुको बैठकले अध्यक्षमा अच्युतप्रसाद प्रसाईँलाई चयन गरेको छ । साथै सदस्यहरुमा संस्थापक समूहबाट शान्तराज बतास, शुसीलकाजी बाँनिया, सर्वसाधारण समूहबाट गंगासागर ढकाल, सुमनकुमार श्रेष्ठ र रविना शेरचन चयन भएको कम्पनी सचिव तेजबहादुर ठकुल्लाले जनाएका छन् ।