नेपाल लाइफको कार्यक्रममा विवाद, दुई अभिकर्ता संघले जारी गरे विज्ञप्ति

काठमाडौं । बुधबार नेपाल लाइफ इन्स्योरेन्सले आयोजना गरेको राष्ट्रिय सम्मान कार्यक्रममा भएको विवादको विषयमा दुवै पक्षले फरक-फरक विज्ञप्ति जारी गरेका छन् ।

कम्पनीले बुधबार (हिजो) होटल याक एण्ड यतिमा आयोजना गरेको देशभरिका उत्कृष्ट अभिकर्ताहरूको राष्ट्रिय सम्मान कार्यक्रमका क्रममा भएको विवादपछि आज दुई अभिकर्ता संघले आ–आफ्ना धारणा सार्वजनिक गरेका हुन् । 

नेपाल राष्ट्रिय बीमा अभिकर्ता संघ (नेपाल लाइफ) ले वर्षभरि मेहेनत गरेर कम्पनीको लक्ष्य पूरा गरेका अभिकर्ताहरूलाई सम्मानका लागि बोलाएर दुर्व्यवहार गरिएको आरोप लगाएको छ । 

‘श्रम ऐन बमोजिम विभागमा दर्ता भएका ट्रेड युनियनका नेताहरूलाई अपमान गरी अभिकर्ताहरूबीच फुट ल्याई बीमितहरुको बोनस घटाइरहेको र अभिकर्तामाथि असमान व्यवहार भएको छ,’ संघका सचिव तेजप्रसाद तिवारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

आफ्नो सांगठनिक पहिचान खोज्दा होटलमा बाउन्सर, सुरक्षाकर्मी र प्रहरी प्रयोग गरी संघका अध्यक्ष कृष्ण प्रसाद आचार्य लगायतका अभिकर्ताहरूलाई गिरफ्तार गराइएको र श्रमिकको हक अधिकारमाथि ज्यादती गरिएको भन्दै संघले आपत्ति जनाएको छ । 

अन्यायका विरुद्ध अभिकर्ता, बीमित र बीमा व्यवसायका हितका लागि आवाज उठाउन बीमाकर्मी, पत्रकार, बीमित र सम्पूर्ण न्यायप्रेमी जनसमुदायमा संघले अपिल गरेको छ ।

त्यस्तै, पेशागत बीमा अभिकर्ता संघ नेपालले केही गैर–अभिकर्ता तथा नियतवश आएका व्यक्तिहरूले अनावश्क विवाद निकाली भव्य रूपमा चलिरहेको सम्मान कार्यक्रमलाई प्रभावित पार्न खोजेको आरोप लगाएको छ ।

संघको हरहिसाब हिनामिना गरी कागजात बरबुझारथ नगरी अर्को गैरकानुनी संगठन दर्ता गरिएको र बाहिरका मानिसहरू बोलाएर हुलहुज्जत गरी कम्पनीको साख र व्यवसाय वृद्धिमा आँच पुर्याउने कु–प्रयास गरिएको भन्दै विज्ञप्ति जारी गरेका छन् । 

राष्ट्रिय सम्मान कार्यक्रम निर्धारित समयमा भव्य रूपमा निरन्तर चलिरहेको बेला हुलहुज्जत गर्न खोजेको, कम्पनीलाई बदनाम गराउन खोेजेको र कार्यक्रममा सम्बन्ध नै नभएको विषयलाई ल्याएर भ्रामक कुप्रचार गरेको समितिले खण्डन गरेको छ । 

‘कार्यक्रमको सम्मानलाई समेत प्रभावित बनाउने उद्देश्य लिएर अमुक कम्पनीमा काम गर्ने अभिकर्तालाई समेत बाहिर बोलाई हुलहुज्जत गर्न खोजेको, कम्पनीलाई बदनाम गर्न र कार्यक्रममा सम्बन्ध नै नरहेको विषय उठाई भ्रामक कू प्रचार गरी देशैभरिबाट सम्मानित हुन आएका अभिकर्ताहरूको मानमर्दन गर्ने कोसिस भएको छ,’ समितिले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ । 

यस्ता भ्रामक र कू– प्रचारको खण्डन गर्न तथा यस्ता गलत प्रवृत्तिका विरुद्ध कानुनी कारबाही अघि बढाउन कम्पनी र सम्बन्धित निकायसँग समितिले मागसमेत गरेको छ ।

राष्ट्रिय सम्मान कार्यक्रम निर्धारित समयमा भव्य र सभ्य तरिकाले निरन्तर चलिरहेको अवगत गराउँदै यस्ता भ्रामक कू–प्रचारको सबै तहबाट खण्डन गर्नुका साथै यस्ता गलत प्रवृत्तिका विरुद्ध कानुनी कारबाही अगाडि बढाउन कम्पनी तथा सम्बन्धित निकायसँग संघले अनुरोध पनि गरेको छ ।

Share News