हिमालयन बैंकले शुरु गर्यो मास्टरकार्ड सेवा, सामान खरिदमा २० प्रतिशत छुट

काठमाडौँ । हिमालयन बैंकले अन्तर्राष्ट्रिय कार्ड प्रदायक मास्टरकार्डको अत्याधुनिक, थप सुरक्षित चिप र पिन प्रविधियुक्त डेबिट कार्डको सेवा आजबाट शुरु गरेको छ । बैंकद्वारा आयोजित पत्रकार सम्मेलनमा बैंकका प्रमुख कार्यकारी अधिकृत(सिइओ) अशोक शम्सेर राणा र मास्टरकार्डका दक्षिण एसिया क्षेत्रीय प्रमुख पोरुष सिंहले सो कार्ड सेवाको शुभारम्भ गरेका हुन् । सो अवसरमा सिइओ राणाले उक्त कार्डद्वारा बैंकका ग्राहकले अझबढी सेवा सुबिधा सुरक्षित रुपमा पाउने विश्वास व्यक्त गरे ।मास्टरकार्डका क्षेत्रीय प्रमुख सिंहले पछिल्ला वर्षहरुमा नेपालले डिजिटल भुक्तानी प्रणालीमा र कार्डको प्रयोगमा उच्च प्रगति गरेको हुँदा मास्टरकार्डले उक्त प्रगतिपथमा हिमालयन बैंकसँग सहकार्य गर्न पाउँदा गौरवान्वित भएको बताए । हिमालयन बैंकका ग्राहकले मास्टरकार्डबाट कारोबार गरी सामान खरिद गर्दा वा रकम भुक्तानी गर्दा विभिन्न मर्चेन्टहरु(होटल, रेष्टुराँ, पब लगायत अन्य पसलहरु)मा २० प्रतिशतसम्म छुट पाउने छन् । बैंकले नयाँ खाता खोल्ने ग्राहकहरुका लागि सो कार्ड निःशुल्क प्रदान गर्ने जनाएको छ । हिमालयन बैंकका ग्राहकहरुले देशभर भएका ५७ वटै शाखाहरुबाट उक्त कार्ड लिन सक्ने तथा १११ वटा एटीएम मार्फत प्रयोग गर्न सक्नेछन् । साथै उक्त कार्ड नेपाल र भारतका पस मेशिनहरुमा प्रयोग गर्दा कुनैपनि शुल्क नलाग्ने बैंकले जानकारी दिएको छ ।

मिशन डेभलपमेन्टको अध्यक्षमा टीकाराम घिमिरे चयन

काठमाडौँ । मिशन डेभलपमेन्ट बैंकको अध्यक्षमा टीकाराम घिमिरे चयन भएका छन् । बैंकको पुस २६ गते सम्पन्न नबौं वार्षिक साधारण सभाले संस्थापक समूहका सदस्यहरुमा ऋषिराम पाण्डे, टीकाराम घिमिरे, धर्मराज पौडेल र लिलबहादुर केसीलाई निर्विरोध निर्वाचित गरेको थियो । साथै, सर्वसाधारण समूहको तर्फबाट विद्यमान २ जना सञ्चालकहरु प्रा.डा. राजेन्द्रप्रसाद श्रेष्ठ र डा. सूर्यबहादुर राना गरी जम्मा ६ जना सञ्चालक मध्येबाट टीकाराम घिमिरे सर्वसम्मत रुपमा सञ्चालक समितिको अध्यक्ष चयन भएको कम्पनी सचिव विष्णुप्रसाद पोखरेलले बताए ।  

युनियन लाईफले ल्यायो नयाँ योजना, १८ प्रकारका घातक रोगको आर्थिक सुरक्षा दिने

काठमाडौं । युनियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विभिन्न जीवन बीमामा घातक रोग सम्बन्धी बीमा सुविधा योजना ल्याएको छ । इन्स्योरेन्सले आफ्ना ग्राहकहरुका लागि १८ प्रकारका घातक रोगको उपचारार्थ आर्थिक सुरक्षा दिने उद्देश्यले उक्त योजना बजारमा ल्याएको हो । कम्पनीमा प्रचलनमा ल्याईएको बालबच्चा जीवन बीमा बाहेक अन्य जीवन बीमा योजनाहरुमा उक्त घातक रोगहरु समावेश गरी थप सुविधा प्रचलनमा ल्याएको छ । यस्तो सुविधा १६ वर्षको उमेरदेखि नै लिन सकिने हुँदा न्युनतम बीमा शुल्कमा भविष्यमा हुन सक्ने घातक रोग विरुद्ध सुरक्षा प्रदान गर्दछ । यो योजनाको विशेषता भनेको न्युन बीमा शुल्कमा बीमितको भविष्य सुरक्षित गर्नु हो । यो सेवा कम्पनीको सम्पूर्ण शाखाहरुका साथै यस कम्पनीसँग बैंकास्युरेन्स सेवा लिएका बैंकहरुबाट समेत लिन सकिने छ । हालसम्म कम्पनीले १० प्रकारको बीमालेख संचालनमा ल्याएको छ ।