एनएमबि माइक्रोफाइनान्सको सिईओमा फनीलाल चौधरी नियुक्त

काठमाडौं । एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत(सिईओ)मा फनीलाल चौधरी नियुक्त भएका छन् । हालै सम्पन्न संस्थाको सञ्चालक समितिको बैठकले चौधरीलाई १० गते(हिजो)देखि लागू हुने गरी उक्त पदमा नियुक्त गराएको हो । नवनियुक्त सिईओ चौधरीको बैंकिङ यात्रा नेपाल राष्ट्र बैंकबाट प्रारम्भ गरि पूर्वाञ्चल ग्रामीण बिकास बैंक लिमिटेड (हालको नेपाल ग्रामीण बिकास बैंक), नेरुडे लघुवित्त बिकास बैंक हुँदै मेरो माइक्रोफाइनान्स वित्तीय संस्थामा प्रमुख कार्यकारी अधिकृत भई कार्य गरेको झण्डै २६ वर्षको अनुभव रहेको छ । यसका साथै, प्लान नेपाल, यूएनडीपी, केयर नेपाल लगायतका विभिन्न अन्तराष्ट्रिय गैह्रसरकारी संस्थाहरुमा कार्य गरेका चौधरी पछिल्लो समयमा उन्नति वित्तीय पहुँच परियोजनामा कार्यरत थिए । निजले वित्तीय संस्थाहरुमा कार्यरत कर्मचारी, सरोकारवालाहरुका साथै वित्तीय संस्थाका सदस्यहरुलाई विभिन्न किसिमका तालिमहरु प्रदान गर्दै आएको र राष्ट्रिय तथा अन्तरराष्ट्रिय क्षेत्रमा तालिम, गोष्ठी तथा सेमिनारहरुमा पनि भागलिई अनुभव प्राप्त गरेका छन् । यस अघि कम्पनीको सिईओको कार्यभार तिर्थरत्न कोनाजोले सम्हालेका थिए । कोनाजोले उक्त पदबाट राजिनामा दिएपछि मात्र संस्थाले कम्पनीको नयाँ सिईओको रुपमा चौधरीलाई नियुक्त गरेको हो ।

एभरेष्ट इन्स्योरेन्सले १० प्रतिशत बोनस शेयर र ६ लाख नगद लाभांश दिने, संस्थापक र सर्वसाधरणलाई हकप्रद शेयर जारी गर्दै

काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनीले राजधानीमा सोमबार २३ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । साधारणसभाले आर्थिक वर्ष २०७३/७४ को मुनाफाबाट १० प्रतिशत बोनस शेयर तथा कर प्रयोजनकाे लागि ६ लाख ३९ हजार रूपैयाँ नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ । कम्पनीले बोनस शेयर पश्चात हुन आउने कुल चुक्ता पूँजीमा कम्पनीका शेयरधनीहरुलाई १ः१.०५ संस्थापक शेयर कायम हुने गरी हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ । त्यस्तै, त्यसपश्चात कायम हुने सम्पूर्ण शेयरधनी(संस्थापक र सर्वसाधरण) लाई १ः३ हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ । सभाले शेयरधनीहरुबाट समितिमा प्रतिनिधित्व गर्न ५ जना सञ्चालकहरु निर्विरोध निर्वाचित गरेको छ । निर्वाचित हुनेहरुमा राजिव सापकोटा, भुबल राई, हेमराज थापा, रामप्रसाद खनाल तथा एन्जिला विष्ट गिरी रहेका छन् ।

एनएलजी इन्स्योरेन्स र कुमारी बैंकबीच बैंकासुरेन्स सम्झौता

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी र कुमारी बैंक लिमिटेडबीच बैंकासुरेन्स सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत अनुजमणि तिमिल्सिना तथा ईन्स्योरेन्सका तर्फबाट का.मु. प्रमुख कार्यकारी अधिकृत सुनिलबल्लभ पन्तले एक कार्यक्रमका बीच हस्ताक्षर गरेका छन् । उक्त सम्झौता अन्तर्गत बैंकका सम्पूर्ण ग्राहकहरुले निर्जिवन बीमा सेवा सुलभ र छरितो रुपमा बैंकको सम्पुर्ण शाखाहरुबाट उपभोग गर्न सक्ने छन् ।