सुर्यालाइफ इन्स्योरेन्समा चरम अस्थिरता, सात वर्षमा पाँच कार्यकारी प्रमुख फेरिए
सूर्यालाइफ इन्स्योरेन्स सञ्चालनमा आएको करिब सात वर्ष मात्र भएको छ । २०६४ चैतबाट सञ्चालनमा आएको यस कम्पनीमा हालसम्म पाँच जना कार्यकारी प्रमुख आए र गए । छैटौ कार्यकारी प्रमुखको लागि कम्पनीले ‘वान्टेड नोटिसी’ जारी गरेको छ । कम्पनीको यो पदमा आवेदन दिन ४ दिन बाँकी रहेको छ । कम्पनीको प्रमुख पदमा रहेका कतिपयको योग्यता नियामक निकाय बीमा समितिले तोके अनुरुप नपुगेपछि छोड्नु परेको जानकारहरु बताउँछन । कोही आन्तरिक विवादले त कोही सञ्चालक समितिबाट बढि किचलो भयो भन्दै निस्किएका देखिन्छन । अग्रवाल समूहको पकडमा रहेको यस कम्पनीको पहिलो प्रमुखको रुपमा भारतीय नागरिक बी.सी. शर्मा थिए । संस्थापक प्रमखको रुपमा रहेका शर्माले करिब ७ महिनामात्र यो जिम्मेवारी सम्हाले । त्यसपछि कम्पनीको कार्यकारी प्रमुखको रुपमा शेखर बराल, नन्द किशोर शर्मा, गोपाल धिमिरे र मनोज लाल कर्णले जिम्मेवारी सम्हाले । शर्मालगतै महाप्रबन्धकको जिम्मेवारी सम्हालेका शेखर बराल नै कम्पनीमा लामो समय रहेका प्रमूख हुन् । उनले करिब डेढ बर्ष कम्पनीमा व्यतित गरे । राम्रो अवसर पाएपछि बरालले सूर्यालाइफ छोडेका हुन । बरालले छोडेपछि केही समय रिक्त रहेको पदमा सञ्चालक मध्येकै एक नन्दकिशोर शर्माले प्रमूखको जिम्मेवारी सम्हाले । तर त्यसैबीच बीमा समितिले बीमा कम्पनीहरुको योग्यता तोक्यो । बीमा कम्पनीमा प्रमूख हुन कम्तिमा स्नातकोत्तर गरेको हुनु पर्ने लगायतका प्रावधान रहेपछि नन्द किशोर शर्माले पनि पद छोड्नु परेको हो । नन्दकिशोर शर्मापछि कार्यकारी प्रमूखको जिम्मेवारी सम्हालेका गोपाल घिमिरेले पनि केही महिनामा कम्पनी छाडे । सञ्चालक समितिबाट किचलो भइरहने, साना साना बिषयमा पनि निर्देशन आइरहने लगायतको कारणले घिमिरेले कम्पनी छाडेको बुझिएको छ । घिमिरे लगत्तै प्रमूखको रुपमा कार्यवहाक महाप्रबन्धक भएर काम गरेका मनोज लाल कर्णले सबैभन्दा छोटो समय जिम्मेवारी सम्हाले । गत भदौं २६ गते यो जिम्मेवारी सम्हालेका कर्णले गत पुस ४ गते नै कम्पनी छाडे । उनले जिम्मेवारी छाड्नुमा आन्तरिक विवाद रहेको बुझिएको छ । उनको कार्यकालमा भएको कामकारवाहीको कम्पनीले छानबिन गरिरहेको स्रोत बताउँछ । कम्पनीको व्यवस्थापन तहमा नै अस्थिरता देखिदै आएको छ । महाप्रबन्धकमात्र होइन कम्पनीको सहायक महाप्रबन्धकमा पनि तारम्तार फेरबदल भइरहने गरेको छ । दुई बर्षको अन्तरालमा सहायक महाप्रबन्धकमा 2 जना फेरिइसकेको छ ।
पुनर्बीमा प्रिमियम वार्षिक २ अर्ब ७७ करोड
१४ पुस । नेपालबाट वार्षिक पुनर्बीमाबापत २ अर्ब ७७ करोड रुपैयाँ विदेशिएको छ । नियामक निकाय बीमा समितिका अनुसार गत आर्थिक वर्ष २०७०/७१ मा २ अर्ब ७७ करोड ८३ लाख ४९ हजार रुपैयाँ विदेशिएको हो । आव ०६९/७० मा २ अर्ब १० करोड ४६ लाख ८३ हजार ४ सय ७ र आर्थिक वर्ष ०६८/६९ मा नेपालबाट १ अर्ब ८२ करोड ३७ लाख ८२ हजार ४ सय ९० रुपैयाँ विदेशिएको थियो । हरेक वर्ष पुनर्बीमाबापत विदेशिने प्रिमियमको रकम उच्च दरले बढ्दै गएको छ । आव ०६९/७० भन्दा आव २०७०/७१ मा ३२ प्रतिशतले बढी पुनर्बीमाबापतको प्रिमियम रकम विदेशिएको छ । यस्तै, आव ०६८/६९ को तुलनामा आव ०६९/७० मा १५ प्रतिशतले बढी पुनर्बीमाबापत रकम बाहिरिएको छ । नेपालमा जीवन र निर्जीवन बीमा गर्दै आएका आकस्मिक बीमा कोषसहित २७ कम्पनी रहेका छन् । जसमध्ये राष्ट्रिय बीमा संस्थान (ननलाइफ) को आव २०७०/७१ मा २२ करोड ५६ लाख ३३ हजार पुनर्बीमाबापत रकम विदेशिएको छ । जुन ०६९/७० को भन्दा ३३ प्रतिशतले बढी हो । आव ०६९/७० मा राष्ट्रिय बीमा संस्थानको १६ करोड ८४ लाख ७१ हजार रुपैयाँ विदेशिएको थियो । यस्तै, आव ०६८/६९ मा संस्थानको पुनर्बीमाबापत १५ करोड १९ लाख २३ हजार रुपैयाँ विदेशिएको थियो । यसैगरी, हिमालयन जनरल लाइफ इन्स्योरेन्सको आव २०७०/७१ मा ५८ करोड २३ लाख ७५ हजार रुपैयाँ पुनर्बीमाबापत विदेशी कम्पनीमा गएको थियो । सो कम्पनीले आव ०६९/७० मा ५० करोड ३८ लाख ५ हजार र आव ०६८/६९ मा १९ करोड ७० लाख ६७ हजार रुपैयाँ बाहिरिएको थियो । हिमालयनको आव ०६९/७० भन्दा २०७०/७१ मा १५ प्रतिशतले बढी रकम बाहिरिएको तथ्यांकले देखाउँछ । पुनर्बीमाबापतको प्रिमियम रकम सबैभन्दा बढी बाहिरिने कम्पनीमा हिमालयन जनरल इन्स्यारेन्स कम्पनी रहेको छ । नेसनल इन्स्योरेन्स र एसियन लाइफ इन्स्योरेन्स कम्पनीले यस्तो रकम खुलाएका छैनन् ।
२० प्रतिशत पुनर्बिमा नेपालमै गर्नु पर्ने
८ पुस । नेपाली बीमा कम्पनीले गर्ने पुनर्बीमा २० प्रतिशत अंश नेपालमै गर्नुपर्ने भएको छ । नेपालमै पुनर्बीमा कम्पनी स्थापना भएकोले सो परिमाणको पुनर्बीमा नेपाल पुनर्बीमा कम्पनीमा नै गर्नुपर्ने बाध्यकारी ब्यवस्था गर्न लागिएको हो । अर्थमन्त्री डा. रामशरण महतले नेपाली बीमा कम्पनीले कुल पुनर्बीमाको २० प्रतिशत नेपालमै गर्नुपर्ने ब्यवस्था गर्न लागिएको जानकारी दिए । नेपालमै पुनर्बीमा कम्पनी स्थापना भएकोले नेपाली कम्पनीले अनिवार्य रुपमा नेपालमै पुनर्बीमा गर्नुपर्ने ब्यवस्था गरेर भएपनि केहि हदसम्म पुँजी विदेशिनबाट राक्ने उनको भनाइ छ । नेपाल पुनर्बीमा कम्पनीको उद्घाटन गर्दै अर्थमन्त्री डा. महतले यस्तो बताएका हुन् । ‘हिजोको दिनमा नेपालमा पुनर्बीमा कम्पनी नहुदा नेपाली कम्पनीले विदेशी कम्पनीसँग पुनर्बीमा गराउनु पर्ने वाध्यकारी अवस्था थियो’, मन्त्री महतले भने– अब नेपालमै यस्तो कम्पनी स्थापना भएको छ, स्वदेशी कम्पनीमा पुनर्बीमा गराएर केहि मात्रामा भएपनि पुँजी विदेशिनवाट जोगाऔं ।’ अर्थ सचिव सुमन प्रसाद शर्माले कम्पनीलाई ब्यवसायिक योजना लिएर आउन सुझाव दिए । नेपाल पुनर्बीमा कम्पनीका अध्यक्ष शोभाकान्त पौडेलले दक्षिण एशियाका सबै मुलुकमा पुनर्बीमा कम्पनी स्थापना भैसके पनि नेपालमा ढिलाई भएको भन्दै कम्पनी स्थापना मुलुकका लागि गौरवको बिषय भएको बताए । उनले पुनर्बीमा ब्यवसायको माध्यमवाट विदेशी मुद्रा बाहिरिन केहि मात्रामा भएपनि कम हुने र विदेशी मुद्रा आर्जन पनि हुने दावी गरे । बीमा समितिका अध्यक्ष डा. फत्तबहादुर केसीले नेपालमा पुनर्बीमा कम्पनी स्थापना हुनु बीमा क्षेत्रकै लागि गौरबको विषय भएको भन्दै ब्यवसाय विस्तारको लागि समितिको तर्फवाट सवै प्रकारको सहयोग प्राप्त हुने प्रतिबद्धता जाहेर गरे । पुनर्बीमाको लागि बर्सेनि करिब २ अर्ब रुपैयाँ विदेशिने गरेको तथ्यांक पेश गर्दै उनले केहि हदसम्म भएपनि सो रकम नेपालमै रोकिने आशा समेत ब्यक्त गरे । नेपाल बीमाक संघका अध्यक्ष तथा एनएलजी इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत विजयवहादुर शाहले पुनर्बीमाको लागि विदेशी कम्पनीकै भर पर्नु परेको भन्दै अब नेपाली बिमकहरु हिनताबोधबाट मुक्त भएको धारणा राखे । कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश लम्सालले सुरुका दिनमा आन्तरिक ब्यवसायमा हात हाल्ने र मध्य र दीर्घकालमा विदेशी बजार पनि लिन सक्ने धारणा राखे ।