अजोड इन्स्योरेन्सका ग्राहकले नेपाल मेडीसिटी अस्पतालमा छुट पाउने

काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेडका ग्राहकले नेपाल मेडीसिटी अस्पतालमा विशेष छुट पाउने भएका छन् । बिहीबार दुई कम्पनीबीच मेडीसिटीमा इन्स्योरेन्सका ग्राहकलाई नगदरहित सेवा दिने सम्बन्धि सम्झौता भएको छ ।उक्त सम्झौतामा इन्स्योरेन्स कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्री र अस्पतालका तर्फबाट महाप्रबन्धक विजय रिमालले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार क्यासलेस अर्थात नगदरहीत सेवा ग्राहकले उपचारका लागि भर्नाको अवस्थामा उपभोग गर्न पाउने छन् । स्वास्थ्य सबैको पहुचमा पुग्ने भएकोले स्वास्थ्य बीमालाई अस्पतालले विशेष जोड दिएको अस्पतालका महाप्रबन्धक रिमालले बताएका छन् । त्यस्तै, अजोड इन्स्योरेन्सले स्वास्थ्य बीमामा जोड दिएको र भविष्यमा धेरै भन्दा धेरै मानिसमा स्वास्थ्य बीमा बारे सचेतना वृद्धि गर्दै जाने उद्धेश्यले उक्त सम्झौता गरेको कम्पनीले जनाएको छ ।

एभरेष्ट इन्स्योरेन्सले १०५ प्रतिशत हकप्रद निष्कासन गर्दै, बुक क्लोज कहिले ?

काठमाडौं । एभरेष्ट इन्स्योरेन्सले १०५ प्रतिशत अर्थात १ः१.०५ को अनुपातमा हकप्रद निष्कासन गर्ने भएको छ । कम्पनीले संस्थापक समूहलाई सो मात्रा अर्थात १४ लाख ३ हजार ३२५ कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो । सो प्रयोजनको लागि कम्पनीले आगामी कात्तिक २७ गते संस्थाको बुक क्लोज गर्ने भएको छ । हाल कम्पनीको चुक्ता पुँजी १३ करोड ३६ लाख रुपैयाँ रहेको छ । १०५ प्रतिशत हकप्रद पछि कम्पनीको चुक्ता पुँजी २७ करोड ३९ लाख रुपैयाँ नाघ्ने छ । कम्पनीको हकप्रद सेयर निष्कासन गर्ने प्रस्तावलाई गत वैशाख १ गते बसेको इन्स्योरेन्सको २३औँ वार्षिक साधारणसभाले पारित गरेको हो ।

बरुण हाइड्रोपावरको कात्तिक २० गते बुक क्लोज, वार्षिक साधारणसभामा जाँदै

काठमाडौं । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडको आगामी कात्तिक २० गते बुक क्लोज हुने भएको छ । कम्पनीले वार्षिक साधारणसभामा जानको लागि उक्त एक दिन सेयर खरिद बिक्री गर्ने कार्य बन्द गर्न लागेको हो । यस कम्पनी आगामी कात्तिक २५ गते १५औं वार्षिक साधारणसभामा जाँदै छ । सभा उक्त दिन बिहान ११ बजे काठमाडौंको अनामनगरमा रहेको युनियन हाउसमा बस्दै छ । सभामा कम्पनीले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सम्बन्धि छलफर गरी पारित गर्ने भएको छ । साथै, सञ्चालक समितिको निर्वाचन गर्ने कम्पनीले जनाएको छ ।