पुनर्बीमा कम्पनीको चुक्तापूँजी पाँच अर्ब पुग्यो, मागभन्दा बढि रकमको आवेदन

६ चैत । नेपाल पुनर्बीमा कम्पनीले चुक्तापुँजी पाँच अर्ब रुपैयाँ पुर्याउने भएको छ । पुँजीवृद्धि गर्ने योजना अनुसार कम्पनीले गत फागुन एक गते लगानीकर्ताहरुसंग एक अर्ब ६९ करोड ५० लाख रुपैयाँ मागेकोमा त्यो भन्दा बढी रकमको आवेदन परेको हो । सरकारको तर्फबाट गर्नुपर्ने लगानी बाहेकको सेयरपुँजी जुटेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश लम्सालले बताए । ‘हामीसंग नपुग रकम दुई अर्ब ९० करोड रुपैयाँ हो, सरकारले हाल्न बाँकी बाहेक अन्य सबै क्षेत्रबाट लगभग आवश्यक रकम आइसकेको छ,’ कम्पनीका प्रमुख कार्यकारी अधिकृत लम्सालले बताए । हाल २ अर्ब १० करोड रुपैयाँ चुक्तापुँजी रहेको कम्पनीमा सरकार र १७ निर्जीवन बीमा कम्पनीको लगानी छ । फागुन एक गते सार्वजनिक सूचना जारी गरेर कम्पनीले संस्थागत लगानीकर्ताहरुसंग लगानी गर्न इच्छुक रकम माग गरेको थियो । लगानीकर्ताहरुले आफुले लिन चाहेको रकमको ५० प्रतिशत चैत पाँच गतेभित्र ग्लोबल आइएमइ बैंकको खातामा राख्न सूचना जारी गरेको थियो । कम्पनीमा लगानी गर्न सबै बीमा कम्पनीले आवेदन गरेका छन् । नौंवटा जीवन बीमा कम्पनी र १७ वटै निर्जीवन बीमा कम्पनीबाट प्रतिवद्धता आएको र अधिंकाशले आफूले लिन चाहेको रकम बुधवार नै बैंक खातामा राखेको लम्सालले जानकारी दिए । त्यस्तै, कम्पनीले अन्य संस्थागत लगानीकर्ताहरुसंग ४५ करोड रुपैयाँ माग गरेकोमा आठ संस्थाबाट ५४ करोड रुपैयाँको प्रतिवद्धता आएको छ । विहीवार नै उनीहरुले ५० प्रतिशत रकम अर्थात् २७ करोड रुपैयाँ ग्लोबल आइएमइ बैंकको खातामा जम्मा गरेको लम्सालले उल्लेख गरे । पुनर्बीमा कम्पनीमा लगानी गर्न ग्लोबल आइएमइ बैंक, आइएमइ प्राली, गुह्श्वरी क्यापिटल मर्चेन्ट एण्ड फाइनान्स, क्वान्टम क्यापिटल इन्भेष्टमेन्ट, हाथवे इन्भेष्टमेन्ट, ग्लोबल आइएमइ क्यापिटल, बिशाल ग्रुप लगायतबाट लगानीको लागि आवेदन परेको हो । कम्पनीको कुल चुक्तापुँजी रकम पाँच अर्ब मध्ये जीवन बीमा कम्पनीहरुले ९.०३ प्रतिशत र नीर्जिवन बीमा कम्पनीहरुले ३८.९४ प्रतिशत लगानी गर्न पाँउने छन् । पहिले नै लगानी गरेका निर्जीवन बीमा कम्पनीहरुले पनि थप लगानी गर्ने भएका छन् । केही कम्पनीले भने उनीहरुको हिस्सामा पर्नेभन्दा बढि रकम लगानी गर्न आवेदन दिएका छन् । सरकारले कुल चुक्तापुँजी रकममा ९४ करोड ५० लाख रुपैयाँ यसअघि नै लगानी गरिसकेको छ । अब सरकारले एक अर्ब २० करोड ५० लाख रुपैयाँ लगानी गर्नुपर्ने हुन्छ । सरकारले यो रकम लगानी गरेमा कम्पनीमा सरकारको हिस्सा ४३ प्रतिशत हुनेछ । सरकारले आफ्नो हिस्सामा पर्ने रकम हाल्न नसकेमा सरकारी लगानीका कम्पनीहरु कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष लगायत मार्फत् लगानी गर्न सक्ने लम्सालले बताए । १० करोड रुपैयाँको बीज पूँजीबाट शुरु भएको आकस्मिक बीमा कोषलाई गत कात्तिक २१ गतेबाट कम्पनीको रुपमा सञ्चालनमा ल्याइएको हो । हाल कम्पनीको अधिकृत पूँजी पाँच अर्ब रुपैयाँ र जारी पूँजी तीन अर्ब रुपैयाँ रहेको छ । बीमा गरिएका क्षेत्रको जोखिमभार कम्पनीहरुले व्यहोर्न नसक्ने अवस्थामा पुर्नबीमा कम्पनीहरुमा सारिन्छ । हालसम्म नेपालमा सञ्चालीत बीमा कम्पनीहरुले अन्तराष्ट्रिय पुनर्बीमा कम्पनीबाट पुनर्बीमाको सुविधा लिदै आएका छन् ।

पूर्वाधार बीमा पोलिसी तयार गर्दैछौं-सुधुम्न उपाध्याय

प्रमुख कार्यकारी अधिकृत प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेड बीमा समितिले भने झै कम्पनीको पुँजी वृद्धि गर्न किन ढिला गरेको ? पहिला हामीले मर्जरको प्रयास ग¥यौं । त्यो सफल नभएपछि हकप्रद सेयर जारी गरेर पुँजी वृद्धि गर्दै छौं । अहिले जारी गर्न लागेको हकप्रद अन्र्तगतको रकम संस्थापकहरुले हालिसकेका छन् । अब सर्वसाधारणमा जारी गरेपछि यस आर्थिक वर्षभित्र हाम्रो चुक्तापुँजी २८ करोड रुपैयाँ पुग्ने छ । त्यसपछि क्रमशः पूँजी वृद्धि गर्दै चुक्तापूँजी ५० करोड पु¥याउने छौं । चुक्तापुँजी ५० करोड पु¥याउन यो हकप्रद पछि पुन बोनस तथा हकप्रद जारी गर्नुपर्ने हुनसक्छ । मर्जरको सम्भावना सकिएको हो ? तत्काललाई मर्जरको सम्भावना छैन् । यदी चुक्तापुँजी ५० करोडबाट पनि बढाउनुपर्ने अवस्था आयो भनेपनि मर्जरको बाटो रोज्नु हुन्न ? हुनतः पछिल्लो समय प्रस्तावित मस्यौदाले बीमा कम्पनीहरुको चुक्तपूँजी बढाउन लगाउने तर नतोक्ने खबर आएका छन् । कम्पनीहरुको क्षेत्र बिस्तार हुँदै जाँदा अवश्य नै चुक्तापुँजी पनि बढाउदै लानुपर्ने हुन्छ । अहिले विश्वव्यापी रुपमा हेर्ने हो भने पनि बीमा क्षेत्रमा मर्जर तथा एक्विजिसन भइनै रहेको छ । वित्तीय बजारमा मर्जर र एक्विजेशन नयाँ कुरा होइन । मर्जर र एक्विजिशनले संस्थालाई नै बलियो बनाउँछ । एकपटक मर्जर भएन भन्दैमा यो प्रक्रियाबाटै हामी अलगियौं भन्ने होइन । मर्जर ‘इकोनोमिक डाइनामिज्म’मा स्वभाविक कुरा हो । हामी जहिलेपनि ‘ओपन’ छौं । यो सम्भावना र अवसर पनि हो । कुनै बेला कम्पनीको सबै पक्षलाई राम्रो हुन्छ भने मर्जरमा जान सकिन्छ । बन्देज नै भन्ने होइन । मर्जर समयको माग हो, जुन बेला समयको माग हुन्छ, सही पार्टनर भेटिन्छ, मर्जर भइहाल्छ । हाम्रो क्षेत्रमा मर्जरको लागि त्यति धेरै समस्या पनि हुदैन । मात्र कम्पनीहरुबीचको अवसर र चुनौती फरक हुने हो । त्यो समयले बताउने कुरा हो । हकप्रद सेयर कहिलेबाट जारी हुन्छ, कत्तिको सहभागिता हुने देख्नुहुन्छ ? हामीले चैत आठ गते आवहान पत्र निष्कासन गर्ने भएका छौं । दोस्रो बजारमा हेर्नुभयो भने हाम्रो कम्पनी प्रति लगानीकर्ताको झुकाव राम्रो छ । त्यसैले यो निष्कासनमा सबै लगानीकर्ताहरुले सहभागिता जनाउनु हुनेछ भन्ने हाम्रो विश्वास छ । कसैले जानकारी नपाएको कारण केहीको आवेदन नपर्नसक्ला । जानकारी पाउने सबै सेयरधनीले नै हकप्रद सेयर लिने हाम्रो विश्वास छ । चुक्तापुँजी बढेसंगै व्यवसाय बिस्तार गर्नुपर्ने हुन्छ, योजना के के बनाउनु भएको छ ? हामी अहिले शाखा बिस्तारमा लागेका छौं । अहिले हाम्रो १३ वटा शाखा सञ्चालनमा छ । शाखा कति संख्यामा वृद्धि गर्ने योजना बनाइरहेका छौं । हामीले लगानीको क्षेत्र अनुसार सन्तुलित ढंगले लगानी गरिरहेका छौं । हाम्रो अहिले वृद्धिदर ४० प्रतिशतमा रहेको छ । यो वृद्धि चालु आवको अन्त्यसम्म पनि कायम राख्ने गरि कार्यसम्पादन गरिरहेका छौं । कम्पनीको अहिलेको वित्तीय अवस्था कस्तो छ ? चालु आवको दोस्रो त्रैमाशमा हाम्रो नाफा दुई करोड २९ लाख रुपैयाँ नाफा रहेको छ । हाम्रो प्रगति त्यसले पनि देखाउँछ । यस वर्षमा भने हाम्रो साढे छ करोड नाफा गर्ने लक्ष्य रहेको छ । हामीले सन्तुलित रुपमा विकास गर्नु पक्ष भन्ने मान्यता राखेकोले हाम्रो अवस्था दीर्घकालसम्म प्रगतिशील नै हुने छ । बीमा व्यवसाय स्वथ्य वातावरणमा गर्नुपर्छ र दीगोपना हुनु पर्छ भन्ने विश्वासमा हामी अगाडी बढिरहेका छौं । हाम्रो बिगत तीन बर्षदेखि नाफा क्रमिक रुपमा बढ्दै गएको छ । लगभग तीन बर्षदेखि हाम्रो कम्पनीको वृद्धि ४० प्रतिशतको दरमा भइरहेको छ । कम्पनी ठूलो हुँदै जाँदा नाफाको वृद्धिदर भने घट्दै जान्छ, यो स्थापित सिद्धान्त नै हो । तर नाफा नै घट्ने भन्ने होइन । नाफा र वृद्धि बढ्न भने रोकिदैन । तपाईहरुको कम्पनीको नाफामा प्रभाव पर्ने गरेर मेडिकल इन्स्योरेन्समा उच्च दाबी पर्ने गरेको अध्ययनहरुले देखाउँछ , दाबी किन उच्च भएको हो ? मेडिकल इन्स्योरेन्समा खर्च बढ्दै गइरहेको छ । हामी कहाँ १० औं/१५ औं वर्षदेखिका ग्राहकहरु छन् । पुरानो ग्राहकहरुबाट आउने प्रिमियमको तुलनामा मेडिकल खर्च बढेको कारणले यस्तो ‘मिस म्याच’ देखिएको हो । यही कारण हामीले अहिले क्रमिक रुपमा मेडिकल इन्स्योरेन्सको प्रिमियम शुल्क पनि बढाउँदै लगिरहेका छौं । यसले गर्दा लागत र आम्दानीबीच सन्तुलन बन्दै गएको छ । तपाईहरुको क्षेत्रगत लगानी कस्तो छ ? हाम्रो अग्नि बीमा, मोटर बीमा, इन्जिनियरिङ, एभिएशन सबैमा सन्तुलित नै छ । गत बर्ष हाम्रो मोटर बीमाको हिस्सा ३५ प्रतिशत रहेको थियो । बिगत दुई बर्ष अगाडी हाम्रो मोटर बीमामा खासै लगानी थिएन । त्यसमा भने वृद्धि भएको हो । तरपनि मोटरमा कम नै छ । अग्निमा हाम्रो लगानीको करिब २० प्रतिशत हिस्सा रहेको छ । तपाईहरुको प्रिमियम रिटेन्सन रेसियो बजारको औसतभन्दा कम रहेको छ । यसले पनि नाफामा प्रभाव पारिरहेको देखिन्छ, किन हो ? अन्य कम्पनीहरुको मोटर सेग्मेन्टमा ५० देखि ६० प्रतिशत लगानी छ । यसले गर्दा उनीहरुको ग्रस प्रिमियम रिटेन्सन बढि छ । तर उनीहरुको तुलनामा हाम्रो अग्नि, मरिन, इन्जिनियरिङमा लगानी बढि भएकोले गर्दा पुनर्बीमामा बढि रकम जाने गरेको छ । यसले गर्दा प्रिमियमको धेरै हिस्सा रकम सञ्चित हुन पाउँदैन र पुनर्बीमा कम्पनीमा जान्छ । त्यसैले अनुपात कम भएको हो । हाम्रो सञ्जाल नै सानो भएकोले पनि मोटर बीमा बढ्न नसकेको हो । बीमा बजारमा मोटर बीमाको हिस्सा तुलनात्मक रुपमा अन्यभन्दा बढि रहेकोले हामीले पनि यस क्षेत्रमा लगानी बढाउँदै छौं । तर हाम्रो बजार हिस्साको सन्तुलनलाई भने बिगार्दैनौं । बीमा कम्पनीहरुले लगानी विविधिकरण गर्न सकेका छैनन् । तपाईहरुले कुनै नयाँ प्रडक्ट ल्याउँने सोच बनाउनु भएको छ ? अहिले नेपालका बिभिन्न परियोजनामा लगानी गर्न बिभिन्न अन्तराष्ट्रिय वित्तीय संस्थाहरु इच्छुक छन् । त्यसमा डाइरेक्टर एण्ड अफिसर लायबिलिटिज, प्रोफेशनल इनएबिलिटिज इन्स्योरेन्स सम्बन्धि दायित्व बीमाहरु गर्नुपर्ने अन्तराष्ट्रिय प्रचलन हुन्छ । अहिले भौतिक पुर्वाधार निर्माणको काम पनि बढ्दै छ । हामीले पनि दायित्व सम्बन्धि यस्तै बीमा योजनाहरु ल्याउने तयारी गरिरहेका छौं । परियोजनाहरु सञ्चालनमा आउँन बीमा पुर्व शर्त जस्तो भइसकेको छ । कुनैपनि परियोजनामा बिदेशी लगानी आउने हो भने बीमा गर्नु वहाहरुको आवश्यकता नै हुन्छ । नेपालको पुर्वाधार बिकासको लक्ष्य पुरा गर्न पनि बिदेशी लगानीको आवश्यकता छ । त्यसैले यस्तो दायित्व बीमाको सम्भावना पनि उच्च छ । यो उच्च प्राविधिक बिषय पनि हो । हाम्रो इन्जिनियरिङ क्षेत्रमा एक्पोजर राम्रो भएकोले यस्ता योजना पनि ल्याउन खोजेका हौं । पुर्वाधार विकासको प्रक्रियामा नै देश अगाडी बढेको छ । त्यसैले यस क्षेत्र सहयोगी बीमा प्रडक्टहरु ल्याउन एक्सपर्टिज खोज्ने वा निर्माण गर्ने, जोखिम बहन क्षमता बढाउने लगायतको काम गर्दै जानुपर्ने हुन्छ । पुनर्बीमा कम्पनीमा लगानी थप्ने कम्पनीको सोच छ ? हामी लगानी थप गर्ने सोचमा छौं । बीमा समितिले लगानी गर्न स्वीकृती दिने अधिकत्तम सीमासम्म हामी लगानी गर्ने पक्षमा छौं । हामीले टोकियो, बेलायत, मध्यपुर्वी देशलगायतका कम्पनीहरुबाट पुनर्बीमा सेवा लिदै आएका छौं । यहा स्थापना हुने पुनर्बीमा कम्पनीले शतप्रतिशत रकम बाहिर जानबाट रोक्छ भन्ने त होइन, तर यही पुनर्बीमा कम्पनी हुँदा केही न केही पुँजी यही रहने अवस्था आउँछ । पुँजीको विकास गर्न र प्रिमियम रिटेन यही हुने वातावरण बन्छ । यसले देशको अर्थतन्त्रको बिकासमा सहयोग पुग्छ । कृषि तथा बाली बीमालाई बाध्यकरी रुपमा लिनु भएको त छैन ? हामीले सकारात्मक रुपमा लिएका छौं । व्यक्तिगत रुपमा भन्दा यसरी नै जाँनुपर्छ भन्ने मेरो सोच पनि हो । किनभने नेपालभरी शाखा बिस्तार गर्न बीमा कम्पनीहरुलाई समस्या छ । त्यसैले एउटा क्षेत्रलाई मात्र प्राथमिकतामा राख्न पायौं भने त्यहाका समस्या, चुनौतीको समाना गर्न पनि सजिलो हुन्छ । त्यस्तै एक कम्पनीले एक क्षेत्रमा र अर्काेले अर्काे क्षेत्रमा काम गर्न पाउँदा सबै भुभागका ग्राहकले सेवा पाउँछन । नत्र पहुँच पु¥याउन सहज हुने क्षेत्रमा मात्र सबै केन्द्रीत हुने र अन्य क्षेत्रकाले सेवा नै नपाउँने अवस्था पनि आउन सक्छ ।

कृषि बीमा अनुदानको दुरुपयोग, किसानलाई दिइएको राहत एजेन्टलाई कमिसन

१९ फागुन । सरकारले किसानको लागि दिएको कृषि बीमा शुल्कको अनुदान रकम दुरुपयोग भएको छ । किसानलाई भनेर दिइएको अनुदान रकमवाटै एजेन्टलाई कमिसन दिएर दुरुपयोग गरिएको हो । कृषिको ब्यवसायिकरण र औद्योगिकीकरण गर्नको लागि भन्दै सरकारले कृषि बीमा कार्यक्रयममा अनुदानको ब्यवस्था गरेको थियो । बाली तथा पशुपन्छी बीमा गराउदा लाग्ने बीमा शुल्कको ७५ प्रतिशत रकम सरकारले अनुदान दिने गरेको छ । किसानले आफूले बीमा गराउने बाली तथा पशुपन्छीको मूल्यको अर्थात बिमांकको ५ प्रतिशत रकम बीमा शुल्क तिर्नुपर्छ । यसको अर्थ १ लाख रुपैयाँ मूल्यको बाली तथा पशुपन्छीको बीमा गराउदा बार्षिक ५ हजार रुपैयाँ बीमा शुल्क तिर्नु पर्ने भन्ने हो । यस्तो बीमा गराउने बीमा अभिकर्ता (एजेन्ट)को लागि १५ प्रतिशत कमिसन दिने कार्यविधि बनाइएको बीमा समितिको भनाइ छ । कृषि बीमा अन्तरगत किसान र सरकार दुबै मिलेर तिरिने शुल्ककै १५ प्रतिशत रकम एजेन्टले पाउने भएकोले सरकारी अनुदान पनि एजेन्ट कसिमनमा खर्च हुने भएको हो । किसानले १ लाख रुपैयाँको बाली तथा पशुपन्छीको बीमा गराउदा त्यसको ५ हजार रुपैयाँ बीमा शुल्क तिर्नुपर्छ । बीमा शुल्कको ७५ प्रतिशत रकम सरकारले अनुदान दिने भएपछि किसानले १२ सय ५० रुपैयाँ र सरकारले ३७ सय ५० रुपैयाँ तिर्नुपर्ने हुन्छ । तर एजेन्टले भने ५ हजार रुपैयाँकै कमिसन पाउछन् । उनीहरुले एक लाख रुपैयाँको कृषि बीमा गराउदा पाउने ७ सय ५० रुपैयाँ कमिसनको ७५ प्रतिशत रकम सरकारी अनुदानको हो ।