अजोड इन्स्योरेन्स र महालक्ष्मी बिकास बैंकबीच बैंकास्योरेन्स सम्झौता
काठमाडाैं । अजोड इन्स्योरेन्स र महालक्ष्मी बिकास बैंक बीच सहकार्य गर्दै बैंकास्योरेन्स सेवा प्रदान गर्ने सम्बन्ध सम्झौता भएको छ । अजोड इन्स्योरेन्सका प्रमुख कायर्कारी अधिकृत कुमारवहादुर खत्री र बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले सहमति पत्रमा हस्ताक्षर गरेका छन् । बैंकका ग्राहकहरूलार्इ अजोड इन्स्योरेन्सले प्रदान गर्ने निर्जीवन बीमा सम्वन्धी सम्पूर्ण सेवा सुविधा बैंकका सबै शाखाबाट लिन सकिने अजोड इन्स्योरेन्स कम्पनीले जानकारी दिएको छ ।
लक्ष्मी लघुवित्तको २६ प्रतिशत नगद लाभांश पारित
काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रस्तावित २६.३२ प्रतिशत नगद लाभांश पारित भएको छ । आइतबार सम्पन्न संस्थाको सातौँ वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । सभाले पारित गरेबमोजिम सेयरधनीले हाल कायम चुक्ता पुँजीको कर सहित सो मात्राको नगद लाभांश पाउने छन् । हाल संस्थाको चुक्ता पुँजी २४ करोड २० लाख रुपैयाँ रहेको छ । संस्थाले कर समेत ६ करोड ३८ लाख ८४ हजार २११ रुपैयाँ नगद लाभांश वितरण गर्ने छ । त्यस्तै, सभाले सर्वसाधारण सेयरधनीको तर्फबाट साविककै सञ्चालक सविना उपाध्याय र गणेश भट्टराई थप कार्यकालको लागि निर्विरोध रुपमा चयन गरेको छ । हाल संस्थाले ४७ जिल्लाहरुमा ६२ वटा शाखा कार्यालयहरु मार्फत ७२ हजार ग्राहक सदस्यहरुलाई प्रत्यक्ष सेवा पुर्याएको छ । ३ अर्बभन्दा बढी कर्जा लगानी गरेको यस संस्थाले १ अर्ब भन्दा बढी बचत संकलन गरेको विज्ञप्तिमा उल्लेख छ ।
एसबीआई बैंकले १५ प्रतिशत लाभांश दिने, बोनस सेयरपछि चुक्ता पुँजी ८ अर्ब ४४ करोड
काठमाडौं । नेपाल एसबिआई बैंकले १५.७९ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । बैंकले १०.७९ प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनस शेयर प्रस्ताब गरेको छ । प्रस्तावित लाभांश अघिल्लो वर्षको तुलनामा केही कम हो । गत वर्ष बैंकले १६.२३ प्रतिशत लाभांश दिएको थियो । बैंकले प्रस्ताव गरेको लाभांश साधारणसभा र नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपछि शेयरधनीले पाउने छन् । गत बर्ष बैकले एक अर्ब ८९ करोड रुपैयाँ नाफा गरेको थियो । चालु आर्थिक बर्षको पहिलो त्रैमासमा बैंकले ४८ करोड ५३ लाख रुपैयाँ नाफा गरेको छ । पहिलो त्रैमासको वित्तीय विवरण अनुसार हाल बैंकको चुक्ता पूँजी आठ अर्ब चार करोड रुपैयाँ छ । बोनस शेयर वितरणपछि बैंकको चुक्ता पूँजी आठ अर्ब ४४ करोड रुपैयाँ पुग्ने छ । बैंकको जगेडा कोषमा पाँच अर्ब २६ करोड रुपैयाँ छ ।