सूर्या लाइफ इन्स्योरेन्सको सञ्चालकमा डा. बिनोद आत्रेय नियुक्त

काठमाडौं, २९ पुस । सूर्या लाइफ इन्स्योरेन्सको सञ्चालकमा डा. बिनोद आत्रेय नियुक्त भएका छन् । बिहीबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आत्रेयलाई आगामी चार वर्षे कार्यकालका लागि सञ्चालक नियुक्त गरेको हो । आत्रेयले नियुक्त पाएकै दिन देखि कम्पनीको कार्यभार सम्हाल्नेछन् । उनीले नेपाल राष्ट्र बैंकमा ३० वर्ष काम गरेर कार्यकारी निर्देशक पदबाट अवकाश पाएका थिए । राष्ट्र बैंकमा रहदा उनले नेपाल बैंकमा करिव ३ वर्ष प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी समालेका थिए । हाल उनी व्यवसायिक घराना विशाल ग्रुप निकट भएर विभिन्न कम्पनीको जिम्मेवारी समाल्दै आएका छन् । डा आत्रेय हाल इमर्जी नेपाल लिमिटेड कम्पनीको प्रमुख कार्यकारी अधिकृत समेत छन् ।

लघु वित्तलाई ब्याजदरमा कडाई, १८ प्रतिशतमा नझारे कारवाही

काठमाडौं, २७ पुस । लघुवित्त कम्पनीहरुले २०७४ असार मसान्तसम्ममा ब्याजदर १८ प्रतिशतमा झानुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले लघु वित्त कम्पनीहरुको ब्याजदरमा कडाई गर्दै १८ प्रतिशतको सिमा तोकिदिएको हो । अब लघु वित्त कम्पनीहरुले आफ्नो प्रशासनिक खर्च समेतलाई समेटेर अधिकतम १८ प्रतिशत ब्याज मात्रै लिन पाउनेछन् । कम्पनीहरुले २०७४ असार मसान्तभित्रै यस्तो व्यवस्था कार्यान्वयन नगरेर कारवाही भोग्नु पर्नेछ । लघु वित्तहरुले आफ्नो कस्ट अफ फण्डमा अधिकतम ४ प्रतिशतसम्म कोष प्रशासनिक लागत कायम गर्न पाउनेछन् । कस्ट अफ फण्डमा ४ प्रतिशत कोष तथा प्रशासनिक लागत जोडेर अधिकतम ७ प्रतिशत बढि ब्याजदर कायम गर्न पाइनेछ र त्यो १८ प्रतिशत भित्रै हुनुपर्नेछ ।

चापागाइँले छोडे राष्ट्र बैंक, बुधबारदेखि बीमा समितिको ४ बर्षे कमाण्ड सम्हाल्ने

काठमाडौं, २६ पुस । बीमा समितिका नव नियुक्त अध्यक्ष चिरञ्जीवी चापागाइँले बुधबारदेखि कार्यभार सम्हाल्ने भएका छन् । उनले मंगलबारदेखि लागु हुनेगरि नेपाल राष्ट्र बैंकको सम्पुर्ण जिम्मेवारी छाडेका हुन् । बीमा समितिको चार बर्षे कार्यभार सम्हाले लगत्तै सोही दिन चापागाइँले सरोकारवाला निकायहरुसँग छलफल कार्यक्रम आयोजना गरेका छन् । चापागाईलाई पुस १४ गते बसेको मन्त्रिपरिषद बैठकले बीमा समितिको अध्यक्ष नियुक्त गरेको थियो । चापागाइँले नेपाल राष्ट्र बैंकको पोखरा शाखाका प्रमुख थिए । बाग्लुङमा जन्मेका चापागाइँले त्रिभुवन विश्वविद्यालयबाट एमबीए र पछि पूर्वाञ्चाल विश्वविद्यालयबाट एक्जिक्यूटिभ एमबीए (दोस्रो) सम्मको औपचारिक शिक्षा हासिल गरेका छन् ।