पश्चिम नेपालमा प्रभु लाइफ इन्स्योरेन्सका नयाँ तीन शाखा एकैसाथ

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सका नयाँ तीन शाखा कार्यालयहरु एकैसाथ उद्घाटन भएका छन् । नेपालगञ्ज, घोराही र बुटवलमा प्रभु लाइफ इन्स्योरेन्सको शाखा विस्तार भएका छन् । उक्त तीनवटै शाखा कार्यालयहरुको उद्घाटन कम्पनीका अध्यक्ष डा. आत्माराम घिमिरे गरेका हुन् । अध्यक्ष घिमिरेले शाखा विस्तारको क्रममा रहेको र जीवन बीमा कम्पनीहरुका भन्दा राम्रा बीमा योजना भएको तथ्य प्रकाश पार्दै पश्चिम नेपालमा शाखा विस्तार गर्ने क्रममा बताएका थिए । कार्यक्रममा विशिष्ट अतिथिका रुपमा सांग्रिला डेभलपमेन्ट बैंकका अध्यक्ष अच्यूतप्रसाद प्रसाई र श्रम तथा रोजगार कार्यालय नेपालगञ्जका कार्यालय प्रमुख हरिशरण चौलागाईकोे उपस्थिति रहेको थियो । समुद्घाटन कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत किशोरप्रसाद लामिछानेले जीवन बीमालाई गाँउसम्म पुर्याउने उद्घेश्य सहित प्रभु लाइफ इन्स्योरेन्सको स्थापना भएको बताउँदै कम्पनीले जीवन बीमा बजारमा महत्वपूर्ण स्थान बनाउने दाबी गरेका थिए । दुई अर्ब चुक्तापूँजी रहेको प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडमा संस्थापक शेयरधनीले १ अर्ब ४० करोड लगानी गरेका छन् । कम्पनीले निकट भविष्यमा बाँकी ६०करोड रुपैयाँ बराबरको साधारण शेयर जारी गर्नेछ ।

युनाइटेडले २४० % हकप्रद जारी गर्ने, चुक्ता पूँजी १ अर्ब २ करोड पुग्ने

काठमाडौँ । युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडले बीमा समितिले तोकेको पूँजी कायम गर्न हकप्रद जारी गर्ने भएको छ। माघ २२ गते सम्पन्न सञ्चालक समितिको बैठकले दश बराबर २४ कित्ता (२४०प्रतिशत) हकप्रद जारी गर्ने निर्णय गरेको कम्पनी सचिव बिदुरप्रसाद भुजेलले जनाएका छन् । सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७४/७५ को वार्षिक साधारणबाट पूँजी वृद्धि गर्न समयको अभाव भएको र बीमा समितिले तोकेको समयसीमाभित्र पूँजी वृद्धि गर्नुपर्ने अवस्थालाई मध्यनजर गर्दै हकप्रद जारी गर्नु परेको कम्पनीले नेपाल स्टक एक्सचेञ्जलाई पठाएको पत्रमा उल्लेख छ । कम्पनीको हाल ३० करोड २४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको छ । प्रस्तावित २४० प्रतिशत हकप्रद (७२ करोड ५७ लाख ६० हजार रुपैयाँ) पश्चात कम्पनीको चुक्ता पूँजी एक अर्ब दुई करोड ८१ लाख ६० हजार रुपैयाँ पुग्नेछ । सञ्चालक समितिले प्रस्ताव गरेको हकप्रद जारी गरि पूँजीवृद्धि योजना बीमा समितिबाट स्वीकृत भई इन्स्योरेन्सको विशेष साधारण सभाबाट अनुमोदन भएपश्चात मात्र कार्यान्वयन हुने कम्पनीले जनाएको छ ।

जनरल इन्स्योरेन्स र बैंक अफ काठमाण्डूबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड र बैंक अफ काठमाण्डूबीच बैंकास्योरेन्स सम्झौता भएको छ । बैङ्कका प्रबन्धक रितेश लामिछाने र इन्स्योरेन्सका महा प्रबन्धक एस्.के.टमोटले उक्त सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । सहमतिसँगै बैंकका ग्राहकले जनरल ईन्स्योरेन्स कम्पनी नेपालले प्रदान गर्ने निर्जीवन बीमा सम्वन्धी सेवा सुविधा बैङ्कका सबै शाखाबाट लिन सक्नेछन ।