कल खाताको पैसा झिकेर सेयर बजारमा, एक सातामा बैंक निक्षेप ७ अर्बले घट्यो
काठमाडौं । वाणिज्य बैंकहरूमा एक साताको अवधिमा ७ अर्ब रुपैयाँले निक्षेप संकलन घटेको छ । चैत ४ गतेसम्म वाणिज्य बैंकहरूमा १९ खर्ब ५३ अर्ब निक्षेप संकलन भएकोमा एक साता अर्थात चैत ११ गतेसम्म निक्षेप संकलन घटेर १९ खर्ब ४६ अर्बमा झरेको छ । माघ २० गते ‘क’ वर्गका बैंकहरूसँग यस्तो निक्षेप १९ खर्ब ३६ अर्ब थियो । सेयर बजारमा लगानीकर्ताको आकर्षण बढेसँगै वाणिज्य बैंकहरूको निक्षेप संकलन घटेको हो । चैत पहिलो सातासम्म दैनिक ३०/३५ करोड रुपैयाँ बराबरको सेयर कारोबार हुने गरेकोमा चैतको दोस्रो साता दैनिक करिव ढेड अर्ब रुपैयाँ बराबरको कारोबार भएको छ । यस्तो छ बैंकहरूको कर्जा प्रवाह र निक्षेप संकलनको अवस्था गते/महिना निक्षेप कर्जा २० माघ १९३६ १६१७ २५ माघ १९४१ १६२५ ६ फागुन १९४२ १६२६ २० फागुन १९४१ १६३१ २७ फागुन १९४४ १६२९ ४ चैत १९५३ १६३० ११ चैत १९४६ १६३२ सेयर बजारको आकर्षणले बैंकहरूमा डिपोजिट रकम घट्न गएको विश्लेषकहरूको भनाइ छ । बैंकहरुले कल एकाउन्टको व्याजदर घटाउन थालेपछि सो रकम पुँजी बजारमा आउन थालेको ब्रोकर्स संघका पूर्व अध्यक्ष अन्जनराज पौडेलले बताए । लगानी योग्य पुँजीको अभावका कारण विगत तीन महिनायता सबै प्रकारका कर्जा प्रवाह रोकका बैंकहरूले पछिल्लो समय साना कर्जाहरू दिन थालेका छन् । यसले गर्दा कर्जा प्रवाह पनि बढेको सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले जानकारी दिए । चैत ४ गतेसम्म १६ खर्ब ३० अर्ब कर्जा लगानी भएकोमा ११ गते आइपुग्दा कर्जा प्रवाह २ अर्ब रुपैयाँले वृद्धि भएको छ । लगानी योग्य पुँजी अभावका बेला बैंकहरूले साना व्यवसायमा लगानी गर्न शुरु गरेपनि निक्षेप भने पछिल्लो घट्दो र कर्जा लगानी बढ्दो क्रममा रहेको छ । गत माघ २० गते १६ खर्ब १७ अर्ब कर्जा प्रवाह गरेका बैंक तथा वित्तीय संस्थाको लगानी प्रवाह १५ अर्बले बढेर अहिले १६ खर्ब ३२ अर्ब पुगेको छ ।
एशियन लाईफको १३ करोड ४२ लाख रुपैयाँ बोनस र ५० प्रतिशत हकप्रद सेयर पारित
काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनीको गत आर्थिक वर्षको मुनाफाबाट १३ करोड ४२ लाख ६५ हजार ५४० रुपैयाँ बोनस दिने प्रस्ताव पारित भएको छ । कम्पनी सञ्चालक समितिको उक्त प्रस्तावलाई बिहीबार सम्पन्न कम्पनीको आठौँ तथा नवौँ साधारणसभाले पारित गरेको हो । साथै, सभाले कम्पनीको चुक्ता पूँजीको ५० प्रतिशत (२ बराबर १ को अनुपातमा) हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव समेत पारित गरेको छ । उक्त हकप्रद बोनस सेयर वितरण पश्चात निष्कासन गर्ने कम्पनीले जनाएको छ । बोनस सेयर पश्चात कम्पनीको चुक्ता पूँजी ८० करोड ५५ लाख ९२ हजार ४०० रुपैयाँ हुने कम्पनीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । कम्पनीका अनुसार हकप्रद सेयर पश्चात कम्पनीको चुक्तापूँजी एक अर्ब २० करोड ८३ लाख ८८ हजार ६ सय रुपैयाँ पुग्ने छ । साथै, सभाले संस्थापक सेयरधनी समूह ‘क’ वर्गबाट बिजय कुमार सरावगी, दिनेशलाल श्रेष्ठ, सुशान्त चाचान, दीपक कुमार श्रेष्ठ र सुरेन्द्र गोयललाई सञ्चालकमा निर्विरोध निर्वाचित गरेको छ । त्यस्तै, सर्वसाधारण सेयरधनी समूह ‘ख’ बाट रबी कुमार गुप्ता र सौरभ रुगंटालाई आगामी चार वर्षको लागि संचालक पदमा निर्वाचित भएका छन् ।
देवःविकास बैंकले युनियन फाइनान्स एक्वाएर गर्ने
काठमाडौं । देवः विकास बैक लिमिटेडले युनियन फाइनान्स लिमिटेडलाई प्राप्ति(एक्वाएर)गर्ने सम्झौता भएको छ । उक्त एक्वाएर गर्ने सम्बन्धमा मंगलबार दुई संस्था बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारी पत्रमा देवः विकास बैकको तर्फबाटबाट संचालक समितिका अध्यक्ष सुवर्णलाल बज्राचार्य र युनियन फाइनान्सको तर्फबाट संचालक समितिका अध्यक्ष भक्तबहादुर मल्लले हस्ताक्षर गरेका छन् । नेपाल राष्ट्र बैकबाट जारी निर्देशन बमोजिम २०७४ आषाढ मसान्तसम्म तोकिए बमोजिम चुक्ता पूँजी पुर्याउनु पर्ने भएकोले सो बमोजिम चुक्ता पूँजी कायम गर्न यो समक्षदारी पत्रमा हस्ताक्षर गरिएको कम्पनीले जनाएको छ । साथै, बैंकले उक्त फाइनान्स प्राप्ति पछि नपुग चुक्ता पूँजीको लागि थप संस्थाहरु प्राप्त/मर्जर गर्ने योजना सहित कार्य गरिरहेको छ । साथै, उक्त संस्था प्राप्ति पछि संस्थाको नाम देवः विकास बैक लि. नै रहने बैंकले जनाएको छ ।