एभरेष्ट बैंकको “सौगात बचत खाता”, नाम बचत खाता, विशेषता मुद्दती खाता जस्तो

काठमाडौं । एभरेष्ट बैंकले आफ्नो एक बिषेश योजना ‘सौगात बचत खाता’ पुनः सरुवात गरेको छ । यस खातामा बैंक पैसा राख्ने ग्राहकले ७ देखि ९ प्रतिशतसम्म ब्याज प्राप्त गर्ने बैंकले जनाएको छ । बचत खाताको नाम भएपछि यसको विशेषता र सुविधा मुद्दती खाताको जस्तो छ । पाँच वर्षको लागि बचत गर्दा बैंकले ९ प्रतिशत व्याज दिन्छ । त्यसका बैंकले विभिन्न सर्त राखेको छ । ‘बचत तथा मुद्दती खाता दुबैको मिश्रण भएको यस खातामा स्वीप इन र स्वीप आउटको सुबिधा रहेको छ । उपभोक्ताले यस खातालाई बचत खाताको रुपमा प्रयोग गर्न सक्दछन् र लामो अवधिको लागि रहने रकममा अति आकर्षक ब्याजदर पाउछन्’ बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

निजी सवारी साधानको बीमा शुल्क ३० प्रतिशतले घट्यो, न्यूनतम बीमा शुल्क २ हजार रुपैयाँ

काठमाडौं । निजी सवारी साधानधनीका लागि खुशीको खबर छ । निजी सवारी साधानको बीमा शुल्क ३० प्रतिशतले घटेको छ । २० लाखको गाडीका हानि नोक्सानी बीमा गर्दा पहिला २० हजार रुपैयाँ बीमा शुल्क तिर्नु पर्ने थियो भने अब १४ हजार रुपैयाँ तिरे पुग्छ । त्यसमा तेस्रो पक्ष बीमा, हुलदंगा बीमाको अतिरिक्त शुल्क लाग्नेछ । निजी सवारीको बीमा गर्दा औषतमा घोषित मूल्यको २ प्रतिशत बीमा शुल्क लाग्ने गरेकोमा त्यसमा ३० प्रतिशत घटाउने निर्णय बीमा समितिले गरेको हो । बीमा कम्पनीहरुबीच मोटर बीमाको शुल्क घटाएर बीमा गर्ने अस्वस्थ्य प्रतिस्पर्धा भएपछि बीमा समितिले शुल्क घटाउने निर्णय गरेको हो । समितिको अनुसार एक हजार सीसी भन्दा कम पावरको निजी सवारीको बीमा गर्दा २० लाख भन्दा कम मूल्यको सवारी भएमा घोषित मूल्यको ०.८४ प्रतिशत र २० लाख भन्दा बढी मूल्यको भए थप मूल्यको १.१२ प्रतिशत बीमा शुल्क तिर्नु पर्नेछ । यस्ता सवारीको लागि तेस्रो पक्षका बीमा शुल्क थप ३ हजार रुपैयाँ लाग्नेछ । १ हजार देखि १६ सय सीसी पावरका मोटरको हानी नोक्सानी बीमा शुल्क घोषित मूल्य २० लाख भन्दा कम भएमा ०.८७ प्रतिशत र २० लाख भन्दा बढी मूल्य भएमा घोषित मूल्यको १.१२ थप बीमा शुल्क लाग्ने छ । सरकारी स्वामित्वमा रहेको सवारीको बीमा शुल्क निजी सवारीको बीमा शुल्क भन्दा धेरै सस्तो छ । त्यस्तै, विद्युतीय सवारीको बीमा शुल्क पनि अन्य सवारीको तुलनामा कम गरिएको छ । तर कुनै पनि मोटर बीमा गर्दा प्रति सवारीमा दुई हजारभन्दा कम प्रिमियम लिएर बीमा पोलिसी जारी गर्न बीमा समितिले रोक लगाएको छ । बीमा कम्पनीहरुबीच बीमा शुल्क घटाउने अस्वस्थ्य प्रतिपर्धा भएपछि बीमा समितिले मोटर बीमा शुल्क घटाएको हो । घटेको बीमा शुल्क पुस १ गतेदेखि नै लागू गर्न बीमा कम्पनीहरुलाई निर्देशन दिइएको छ । बीमा शुल्क घट्दा निजी सवारी साधान धनीलाई फाइदा भएको छ । तर बीमा क्षेत्रमा लगानी गर्ने लगानीकर्ताको बोनस घट्नेछ । पछिल्लो समयमा मोटर बीमा बढ्दा बीमा कम्पनीहरुले राम्रो लाभ लिएका थिए ।

एनबी इन्सुरेन्सको व्यापार २२६ प्रतिशतले बढ्यो, नाफा पनि १३६ प्रतिशतले वृद्धि

काठमाडौं । एनबी इन्सुरेन्स कम्पनीले चालु आर्थिक वर्षको प्रथम ६ महिनामा उच्चदरको प्रगति हासिल गरेको छ । कम्पनीको पुस मसान्तसम्ममा ३३ करोड २ लाख रुपैयाँ प्रिमियम संकलन गरेको छ । यो रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २२६.२८ प्रतिशतले बढी भएको कम्पनीको सहायक महाप्रबन्धक शरण रेग्मीले जानकारी दिए । त्यस्तै कम्पनीको खुद नाफा १३७.२७ प्रतिशतले वृद्धि गरी ३ करोड १२ लाख  रुपैयाँ छ । कम्पनीको प्रति शेयर नेटवर्थ १०६.६७ पुगेको छ । हाल यस कम्पनीको सेयर प्रतिकित्ता ९०० रुपैयाँमा कारोबार भईराखेको छ । हाल कम्पनीको चुक्ता पुँजी २७ करोड रुपैयाँ छ । गत मंसिर १७ गते सम्पन्न कम्पनीको साधारणसभाले १ बराबर १ अनुपातमा हकप्रद सेयर निष्काशन गरि चुक्ता पुँजी ५४ करोड रुपैयाँ पुर्याउने निर्णय गरेको छ ।