सिभिल बैंकले बचतकर्तालाई ७ लाखकाे दुर्घटना बीमा र १ लाखको औषधी दिने
काठमाडौं । सिभिल बैंक लिमिटेडले नयाँबचत खाता योजना “सम्मान बचत खाता” ल्याएको छ । बैंकले यस बचत खातामा ७ लाख रुपैयाँसम्मको दुर्घटना मृत्यु/अपांग बीमा निःशुल्क गराउने भएको छ । यसका साथै, अस्पताल भर्ना भई लागेको १ लाख रुपैयाँसम्मको औषधोपचार खर्चको बीमा पनि निःशुल्क रुपमै उपलब्ध गराउने भएको छ । यस योजनामा ग्राहकहरुले बीमाका सुविधाहरु प्राप्त गर्न आफ्नो बचत खातामा राख्नुपर्ने रकमको कुनै बन्देज नरहेको कुरा पनि बैंकले जनाएको छ । न्यूनतम मौज्दात शुन्य रहेको यस बचत खातामा ग्राहकहरुका लागि निःशुल्क चेक बुक, एटीएम कार्ड, मोबाइल बैंकिङ सेवा, इन्टरनेट बैंकिङ, रेमिटेन्स सुविधा, ओभरड्राफ्ट कार्ड तथा निःशुल्क एबीबीएस सुविधा रहेकोे कुरा बैंकले जनाएको छ । हाल सालै जारी गरीएको श्रम ऐन अनुसार प्रत्येक संघ-संस्थाले आफ्नो श्रमिक/कर्मचारीहरुलाई ७ लाख रुपैयाँसम्मको दुर्घटना मृत्यु/अपांग बीमा तथा औषधोपचार खर्चको लागी १ लाख रुपैयाँसम्मको बीमा गराउनुपर्ने नियम रहेको छ । तर यस योजना अन्तर्गत बैंकले नै आफ्नै खर्चमा बीमा गराइदिने भएको तथा बीमाका सुविधाहरु प्राप्त गर्न आफ्नो बचत खातामा राख्नुपर्ने रकमको कुनै बन्देज नरहेकोले यस योजनाबाट संघ-संस्था लगायत ग्राहकवर्गहरु लाभान्वित हुने बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले बताए ।
बजार पूँजीकरणमा वाणिज्य बैंक कै बोलवाला, माथिल्लो तामाकोशी टपटेनबाट बाहिरियो
काठमाडौँ । बजार पूँजीकरणका आधारमा यस साता वाणिज्य बैंक नै अग्रस्थानमा रहेका छन् । नेपाल स्टक एक्सचेञ्जका अनुसार उत्कृष्ट बजार पूँजीकरण भएका १० कम्पनीमध्ये आठ वटा त वाणिज्य बैंक नै रहेका छन् । यस्तै नेपाल टेलिकम शीर्ष स्थानमा रहँदा एक बीमा कम्पनीले पनि बजार पूँजीकरणका आधारमा आफूलाई अब्बल सावित गरेको छ । सधैँ जस्तै गत साता पनि नेपाल दूरसञ्चार कम्पनी बजार पूँजीकरणका आधारमा शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको बजार पूँजीकरण एक खर्ब नौ अर्ब ३५ करोड बराबरको रहेको छ । यस्तै, नवील बैंक बजार पूँजीकरणका आधारमा दोस्रो नम्बरमा छ । सो बैंकको ६७ अर्ब ६० करोड ४६ लाख बराबरको बजार पूँजीकरण छ । त्यस्तै नेपाल इन्भेस्टमेन्ट बैंकको ६६ अर्ब ८२ करोड ८८ लाख, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ४७ अर्ब ८३ करोड ८५ करोड रहेको छ । स्ट्याण्र्डड चार्टड बैंकको ४५ अर्ब २६ करोड ६४ लाखको बजार पूँजीकरण हुँदा एभरेष्ट बैंकको ४२ अर्ब ६ करोड छ । हिमालयन बैंकको ३८ अर्ब १७ करोड, एनआइसी एशिया बैंकको रु ३४ अर्ब ५४ करोड, नेपाल एसबिआइ बैंक ३२ अर्ब १९ करोड र एनएमबी बैंकको ३० अर्ब ४८ करोड बराबरको बजार पूँजीकरण रहेको छ । बजार पूँजीकरणका शीर्ष १० स्थानमा उक्लेको माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी विगत केही सातादेखि भने पछाडि परेको छ । यस्तै स्टकमा यस साता नागरिक लगानी कोष, महालक्ष्मी विकास बैंक र पोखरा फाइनान्स कम्पनीको शेयर लाभांश सूचीकृत भएका छन् । कोषको चार लाख आठ हजार २२५ कित्ता, महालक्ष्मीको २१ लाख सात हजार ३७ कित्ता र पोखरा फाइनान्सको १९ लाख ९२ हजार २८९ कित्ता शेयर लाभांश सूचीकृत भएका छन् । रासस
सहयोगी विकास बैंकको नाफा २९१ प्रतिशतले बृद्धि
जनकपुर । सहयोगी विकास बैंक लिमिटेडले आफ्नो खुद नाफा २९१ प्रतिशतले बृद्धि गरेको छ । बैंकले सार्वजानिक गरेको वित्तीय विवरण अनुसार आव २०७५/०७६ को पहिलो त्रैमासिक विवरणको तुलनामा बैंकले सो प्रतिशतले नाफा बृद्धि गर्न सफल भएको हो । बैंकले गत त्रैमासिक २०७५/०७६ मा असोज मसान्तमा भन्दा दोश्रो त्रैमासिकमा ११६.९८ प्रतिशतले मुनाफा बृद्धि गर्न सफल छ । बैंकको ०७४÷०७५ को असोज मसान्त सम्ममा १ करोड भन्दा बढी घाटा व्यहोर्नु परेको थियो । बैंकले पहिलो त्रैमासिकमा अघिल्लो सोही महिनाको तथ्यांकमा पनि ३०० प्रतिशतले बृद्धि गर्न सफल भएको थियो । बैंकले गत अवधिको तुलनामा यस बर्ष निक्षेप तथा कर्जा लगानीमा पनि बृद्धि गरेको छ । बैंकले निक्षेपमा २५.८२ प्रतिशतले बृद्धि गरेको र कर्जा लगानीमा २४.२२ प्रतिशतले बृद्धि गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत विनय रिजाल बताए । जसमा गत बर्षको तुलनामा खुद नाफालाई १५ प्रतिशतले बृद्धि गरेको छ । गत बर्ष २०७४/०७५ को यही अवधिमा निक्षेप ३ अर्ब ४५ करोड ४६ लाख ६९ हजार थियो भने यस बर्षको सोही अवधिमा ४ अर्ब ३४ करोड ६८ लाख सम्म पुर्याउन बैंक सफल भएको छ । त्यसैगरी लगानी तर्फ २ अर्ब ८४ करोड ८८ लाख ७१ हजार प्रवाह गरेको थियो भने यस बर्षको सोही अवधिमा बढाएर ३ अर्ब ६८ करोड १२ लाख ६६ हजार पु¥याउन सफल भएको छ । बैंकको व्याज आम्दानीमा सामान्य बृद्धि भएपनि बैंकले ‘एभरेज इन्ट्रेस्ट स्प्रेड’ दर ५.१० प्रतिशतमा कायम गर्न सफल भएको छ । बैंकले आफ्नो निष्क्रिय कर्जा २.४५ प्रतिशतबाट १.६३ प्रतिशतमा झार्न सफल भएको तथ्यांकले देखाएको छ । त्यस्तै बैंकले आधार दरलाई १०.८८ प्रतिशतबाट १०.२५ प्रतिशत कायम गर्न पनि सफल भएको जानकारी दिएको छ । बैंकद्वारा प्रकाशित वित्तीय विवरण अनुसार बैंकको कोषको लागत र आधार दर घटे पनि बैंकको लागत बढेको देखिन्छ । बैंकले गत बर्षको तुलनामा सम्पत्तिमा पनि बृद्धि गरेको छ । प्राविधिक हिसावले पनि बैंकले गत बर्ष भन्दा राम्रो फड्को मारेको प्रमुख कार्यकारी अधिकृत रिजालले जानकारी दिए । गत बर्ष २०७४/०७५ को यसै अवधिमा बैंकले आफ्नो कारोबार ८ शाखा मार्फत गर्दै आएकोमा हाल आएर १२ शाखा कार्यालयबाट कारोबार सञ्चालन गर्न सफल भएको छ । यही माघ महिना भित्रै बैंकले २ शाखा थप गरी १४ शाखा मार्फत कारोबार गर्ने पनि उनले जानकारी दिए । बैंकले एक बर्षको अवधिमा २० हजार ग्राहक थप गरी अहिले ८५ हजार सन्तुष्ट ग्राहक बनाउन सफल भएको छ । चुक्ता पूँजी ५० करोड ९६ लाख ६८ हजार रुपैयाँ रहेको बैंकको मूख्य कार्यालय जनकपुरमा रहेको छ । महोत्तरी, सिन्धुली र धनुषा कार्यक्षेत्र रहेको यो बैंकलाई प्रदेश नं. २ को उदाहरणीय बैंकको रुपमा स्थापित गराउँदै राष्ट्रियस्तरको विकास बैंक बनाउन आफू प्रतिबद्धताका साथ लागि परेको प्रमुख कार्यकारी अधिकृत रिजालले जानकारी दिए ।