विश्वमै ठूलो मानिएको बैंक एचएसबीसीको नाफा २० अर्ब डलर, गतवर्ष भन्दा १६ % बढ्यो
हङकङ । विश्वमै ठूलो बैंक मानिएको एचएसबीसीको सन् २०१८ को नाफामा १६ प्रतिशतले वृद्धि भई करिब २० अर्ब डलर पुगेको छ । बैंकद्वारा मङ्गलबार जारी वक्तव्यमा उक्त नाफा करबाहेकको रकम रहेको जनाइएको छ । वर्षको अन्तिम चौमासिक अवधिमा चुनौतीपूर्ण बनेको बाह्य वातावरणका बाबजूद बैंकको नाफा सकारात्मक रहेको बैंकको भनाई छ । मुख्य व्यावसायिक गतिविधि एसियामा केन्द्रित गरेको एचएसबीसी बैंकका प्रमुख कार्यकारी अधिकृत जोन फ्लिन्टले संयुक्तराज्य अमेरिका र चीनबीचको व्यापार तनाबकै बीचमा पनि बैंकलाई प्रतिस्पर्धात्मक बनाइने प्रतिबद्धता जनाए । बैंकले सन् २०१८ को अक्टोबर-डिसेम्बरबीच ४ दशमलब ४ अर्ब डलर आम्दानी हुने पूर्वानुमान गरेपनि त्यसमा केही कमी भएर ३ दशमलब ३९ अर्ब डलर भएको थियो । रासस/एएफपी
सिटिजन्स बैंकले गर्यो आसमान नेपाललाई १ लाख आर्थिक सहयोग
काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले विभिन्न सामाजिक गतिविधि गर्दै आएको आसमान नेपाल नामक गैर सरकारी संस्थालाई आर्थिक सहयोग प्रदान गरेको छ । बैंकको केन्द्रीय कार्यालय नारायणहिटी पथमा आयोजित एक कार्यक्रम बीच एक लाखको चेक आसमान नेपाललाई हस्तान्तरण गरिएको हो । सेन्ट मेरिज स्कूलका भूतपूर्व विद्यार्थीहरूको छाता संगठन आसमान नेपालले करिव २८ वर्ष देखि शिक्षा, स्वास्थ्य, सांस्कृतिक जागरण तथा विकास जस्ता क्षेत्रमा सिमान्तकृत महिलाहरूको सशक्तिकरण तथा बालबालिकाहरूको चौतर्फी विकासका निम्ति विभिन्न परियोजनाहरू संचालन गर्दै आएको छ । यस प्रकारको सहयोगबाट महिलातथाबालबालिकाको सशक्तिकरण, सबलिकरण तथाचौतर्फी विकासमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।
मोबाइल एप एनबीआई शुभारम्भ, वित्तीय साक्षरता र शैक्षिक सामाग्री समावेश
काठमाडौँ । नेशनल बैंकिङ्ग इन्स्टिच्यूट लि.(एनबीआई)ले आफ्नो स्थापनाको दशौं वार्षिकोत्सवको अवसर फागुन ५ गते संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत एनबीआई नामको मोबाईल एपको समेत शुभारम्भ गरिएको छ । सो एपमा नेपालकै पहिलो बित्तीय साक्षरता सम्बन्धी जानकारीमूलक एवम् शैक्षिक सामग्री समावेश गरिएको छ । उक्त एपको समावेश वित्तीय साक्षरता सम्बन्धी भागमा वित्तीय साक्षरताको ज्ञान दिलाउने ई–किताव, सो किताव अध्ययन पश्चात परिक्षाको अवसर, बिभिन्न सफलताका कथाहरु लगायत वित्तीय साक्षरता सम्बन्धी गीत समावेश गरिएको छ । नेपालको हरेक क्षेत्रका बासिन्दाहरु अझ मुख्य रुपमा ग्रामीण क्षेत्रका बासिन्दाहरलाई वित्तीय ज्ञान अभिबृद्धि गरी समस्त आर्थिक कारोबारलाई बैंक तथा वित्तीय संस्था मार्फत गराउन अभिप्रेरित गरी देश विकासमा केही योगदान पुगोस भन्ने उद्धेश्यले यो वित्तीय साक्षरता सम्बन्धी मोवाईल एपको निर्माण गरिएको एनबीआईले जनाएको छ । प्रविधिको उचित सदुपयोग गरी देशका बिभिन्न भागमा छरिएर रहेका बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीहरुले आ–आफ्नो क्षेत्रमा वित्तीय साक्षरता सम्बन्धी ज्ञान एवम् जानकारी प्रवाह गर्न सकिने गरी यो वित्तीय साक्षरता सम्बन्धी एपमा पावरप्वाईन्ट प्रस्तुतिकरण समेत समावेश भएको छ । गैर बैंकिङ्ग क्षेत्रमा छरिएर रहेका कोषहरुलाई बैंकिङ्ग प्रणालीमा ल्याउने प्रयोजनको लागि यो वित्तीय साक्षरता सम्बन्धी एपको प्रयोग गरी बैंकिङ्ग सम्बन्धी ज्ञान प्रवाह गर्न सकिने र यसले समग्रमा वित्तीय ज्ञान फैलाउन महत्वपुर्ण योगदान हुने एनबीआईले बिश्वास लिएको छ । यो एप नि:शुल्क रुपमा एन्ड्रोइड भर्सनको गुगल प्ले स्टोरबाट डाउनलोड गरी अफलाईन मोडमा पनि चलाउन सकिने सुबिधा रहेको छ ।