एनएलजी इन्स्योरेन्सले नयाँ सीईओ माग्यो, को को छन् दौडमा
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले प्रमुख कार्यकारी अधिकृत (सीईओ) नयाँ नियुक्ती प्रक्रिया अगाडि बढाएको छ । बीमा समितिले जारी गरेको संस्थागत सुशासन, सीईओको योग्यता र प्रक्रिया पुरा गर्दै कम्पनीले भ्याकेन्सी (आवश्यकता) सम्बन्धि सूचना सार्वजनिक गरेको छ । व्यवस्थापन, अर्थशास्त्र, बीमा, वित्त, लेखा, वाणिज्य, कानुन वा गणित विषयमा मास्टर डिग्री हासिल गरेको वा व्याचलरसहित इन्जियियरिङ चार्टर्ड एकाउण्टेसी गरेको, बीमा कम्पनीमा भए पाँच वर्ष र बैंकमा भए कम्तिमा ८ वर्ष म्यानेजर भन्दा माथिको पदमा काम गरेको, बीमकको संस्थागत सुशासन निर्देशिका २०७३ अनुसार योग्य र ६० वर्ष ननाघेको व्यक्तिले प्रतिस्पर्धामा आवदेन गर्न सक्ने कम्पनीले जनाएको छ । इच्छुक व्यक्तिले चार वर्षको व्यवसायिक योजनासहित असार ३० गतेसम्म आवदेन गर्नु पर्नेछ । बीमा समितिले तोकेका प्रक्रिया अनुसार खुला प्रतिस्पर्धाबाट सीईओ छनौट गर्न लागेको र नयाँ नियुक्ती कम्पनी भित्र वा वाहिर दुबै क्षेत्रबाट हुन सक्ने कम्पनीका अध्यक्ष विमलप्रसाद वाग्लेले बताए । स्रोतका अनुसार प्रक्रिया पुरा गरेर सोही कम्पनीको कामु प्रमुख कार्यकारी अधिकृत सुनील बल्लभ पन्तलाई सीईओमा नियुक्त गर्ने मनस्थितिमा केही सञ्चालकहरु छन् भने केही सञ्चालक बाहिरबाट नयाँ व्यक्ति ल्याउने कसरतमा छन् । भ्याकेन्सी सार्वजनिक भएपछि यूटाईटेड इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत शेखर बरालले एनएलजी इन्स्योरेन्सका सञ्चालक र निर्णयक प्रवद्र्धकहरुसँगको भेटगाटलाई तिब्र पारेका छन् । यूटाईटेड इन्स्योरेन्स कम्पनीमा नियुक्त हुँदा गरेको करार सम्झौता अनुसार कार्यसम्पादन नतिजा दिन नसकेका बरालले सो कम्पनीमा सञ्चालकहरुबाट आलोचना खेप्दै आएका छन् । बैकिङ कसुर लगायत विभिन्न सरकारबादी मुद्दा खेपिरहेका बरालका कारण कम्पनीको ब्राण्ड इमेजमा धक्का लागेको महसुश सो कम्पनीका सञ्चालकहरुले गर्दै आएका छन् । दुई कार्यकाल सीमाले हालको कम्पनीमा निरन्तरताको समस्या निकट पुगेका अरु कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरुले पनि एनएलजीको सिईओमा आवेदन गर्ने अनुमान गरिएको छ ।
एभरेष्ट इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा कमल गौतम नियुक्त
काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा कमल गौतम नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिले गौतमलाई आगामी ४ वर्षको लागि प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको हो । गौतमले असार ११ गतेदेखि कम्पनीको जिम्मेवारी समाल्ने बताएका छन् । १७ वटा निर्जीवन बीमा कम्पनी मध्ये सबैभन्दा पछाडि रहेको र अरु कम्पनीसँग प्रतिस्पर्धामा नरहेको यस कम्पनीलाई प्रतिस्पर्धी बनाउने गौतमले बताए । २६ वर्षसम्म बैकिङ पेशामा क्रियाशिल गौतमको लागि बीमा नितान्त नयाँ पेशा हो । ‘अनुभवको दृष्टिले बीमा मेरो लागि नितान्त नयाँ क्षेत्र हो । मनमा नयाँ कामप्रति उत्सुकता हुनुका साथै सफलता पूर्वक जिम्मेवारी निर्वाह गर्ने चुनौति पनि उत्तिकै छ’ गौतमले विकासन्युजसँग भने-समस्यामा परेको इन्फ्राष्ट्रक्चर डेभलपमेन्ट बैंक सुधारमा पाएको सफलताले एभेरेष्ट इन्स्योरेन्स कम्पनी पनि सुधार गर्ने आँट र अठौत मसँग छ ।’ नेपाल ग्रिनलेज बैंकबाट बैकिङ पेशामा प्रवेश गरेका गौतमले हिमालयन बैंक, नेपाल बंगलादेश बैंक, सनराईज बैंक, एनसीसी बैंक, एनआईसी एशिया हुुँदै इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत भएका थिए । इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक एनसीसी बैंकमा विलय भएपछि उनी एनसीसी बैंकमा डीजीएम थिए ।
आईएमई डिजिटललाई मोबाइल वालेट सेवा सञ्चालन गर्न रष्ट्र बैंकको अनुमति
काठमाडौं । आईएमई समूह अन्तर्गतको डिजिटल वित्तीय सेवा प्रदायक कम्पनी आईएमई डिजिटल सोलुसन लिमिटेडलाई नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायकको कार्य गर्ने अनुमतिपत्र प्रदान गरेको छ । नेपाल राष्ट्र बैंकको “भुक्तानी तथा फर्छ्यौट विनियमावली, २०७२”बमोजिम आईएमई डिजिटलले दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट कार्य गर्ने अनुमति प्राप्त गरेको हो । मोबाइल वालेट सञ्चालन गर्न अनुमति पाउने आईएमई डिजिटल पहिलो कम्पनी हो । आईएमई डिजिटलले “आईएमई पे” ब्रान्ड अन्तर्गत मोबाइल वालेट सेवा उपलब्ध गराउने जनाएको छ । यसको मदतबाट सेवाग्राही आफैले अथवा एजेन्टहरूको सहयोग लिएर मोबाइलमार्फत विभिन्न किसिमका भुक्तानी सम्बन्धी कार्य गर्न सक्नेछन् । आईएमई डिजिटलले चाँडै नै आईएमई पे सेवालाई सञ्चालनमा ल्याउने जनाएको छ । यसले सेवाग्राहीलाई दर्ता गर्ने, मोबाइल मार्फत् तत्कालै पैसा पठाउने र प्राप्त गर्ने, बिलहरूको भुक्तानी गर्ने, रकम ट्रान्सफर गर्ने, विद्यालय, कलेजका शुल्कहरू भुक्तानी गर्ने देखि लिएर अनलाइनभन्दा बाहिर (अफसाइट) रहेका रेस्टुरेन्टहरू, ग्रोसरी/ डिपार्टमेन्ट स्टोरहरूका साथै साना-ठूला खुद्रा पसलहरूमा अफलाइन नै भुक्तानी गर्ने सम्मका विविध भुक्तानी सेवाहरू प्रदान गर्नेछ । नेपाल राष्ट्र बैंकबाट यस कम्पनीले व्यावसायिक रूपमा कार्य गर्ने अनुमतिपत्र प्राप्त गरेको सन्दर्भमा आईएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकालले भन्छन्, “हामीले आईएमईको व्यापक सञ्जाल अन्तर्गत रहेका विद्यमान ६००० भन्दा बढी रेमिटेन्स एजेन्टहरू, आईएमई समूह अन्तर्गतका २००० भन्दा बढी बिक्री केन्द्रहरूका साथै हाम्रो सञ्जालभन्दा बाहिर रहेका हजारौँ आउटलेटहरू मार्फत् देशका हरेक कुना काप्चामा रहेका नेपालीलाई आईएमई पे को सेवा उपलब्ध गराउने लक्ष्य लिएका छौँ ।” आईएमई डिजिटलले अन्तर्राष्ट्रिय स्तरको सिस्टम आर्किटेक्चरमा आधारित गुणस्तरीय वालेट प्ल्याटफर्म विकास गरिसकेको छ र यसमा देशव्यापी मोबाइल मनी अपरेसनका लागि आवश्यक सहजताका साथै अत्यन्त सुरक्षित रूपमा कारोबार गर्न सकिने व्यवस्था गरिएको छ । यसै अवसरमा खुसी व्यक्त गर्दै आईएमई समूहका प्रबन्ध निर्देशक हेमराज ढकालले भन्छन् “साथमा पैसा बोक्न नपर्ने (क्यासलेस) समाज निर्माण गर्ने हाम्रो उद्देश्य र यात्रा तर्फको यो पहिलो कदम हो । मोबाइलमा आधारित भुक्तानीलाई स्वीकार गर्नका लागि देशभरि छरिएका साना-ठूला व्यापारिक केन्द्रहरू, बैंक तथा वित्तीय संस्थाहरूलाई यस सेवामा आबद्ध गरेर मोबाइल मनीमा आधारित प्रणाली विकास गर्ने दिशामा हाम्रा योजानहरू अगाडि बढिरहेका छन् ।” मोबाइलमा आधारित भुक्तानी प्रणालीको सुरुवातसँगै आईएमई डिजिटलले बैंकिङ सुविधाबाट वञ्चित भएका ५० प्रतिशत भन्दा बढी देशभरि छरिएर रहेका नेपालीहरूको खुद्रा भुक्तानी सम्बन्धी अनगिन्ती आवश्यकताहरू पूरा गर्ने लक्ष्य लिएको छ ।