अब महालक्ष्मी विकास बैंकबाटै महालक्ष्मी लाईफ इन्स्योरेन्सको जीवन बीमा पाइने
काठमाडौं । अब महालक्ष्मी विकास बैंकको जुनसुकै शाखाहरुबाट महालक्ष्मी लाईफ इन्स्योरेन्सको जीवन बीमा योजनाहरु पाइने भएको छ । उक्त बीमा सेवा सम्बन्धी बुधबार दुई कम्पनीबीच सम्झौता भएको छ । सम्झौतामा महालक्ष्मी विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछाने र महालक्ष्मी लाईफ इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले हस्ताक्षर गरेका छन् । यस सम्झौता अनुसार महालक्ष्मी विकास बैंकले आफ्ना १०१ वटै शाखाहरुबाट महालक्ष्मी लाईफ इन्स्योरेन्सले प्रदान गर्ने सम्पूर्ण बीमा सेवा दिने छ । गत माघ २७ गतेबाट कारोबार शुरु गरेको इन्स्योरेन्सले साबधिक बीमा योजना, डबल बीमा योजना र लगानी फिर्ता बीमा योजना सार्वजनिक गरेको छ । हालसम्म महालक्ष्मी लाईफ इन्स्योरेन्सले काठमाडौं, पोखरा र वीरगंजबाट कारोबार शुरु गरिसकेको छ । साथै, यहि फागुनभित्र बाँकी १० वटा शाखा बिर्तामोड, इटहरी, जनकपुर, लाहान, नारायणगढ, बुटवल, दाङ, कोहलपुर, सूर्खेत र धनगढीबाट कारोबार शुरु गर्ने तयारी गरिहेको छ ।
२७ विकास बैंकले सम्पन्न गरे वार्षिक साधारणसभा, बाँकी ६ वटाले कहिले गर्छन् ?
काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचिकृत ३३ विकास बैंकमध्ये हालसम्म २७ वटा संस्थाले आ–आफ्नो वार्षिक साधारणसभा सम्पन्न गरिसकेका छन् । कुल संस्था मध्ये बाँकी ६ वटा संस्थाले भने फागुन लाग्दा पनि अझै साधारणसभा गरेका छैनन् । कम्पनी कानुन अनुसार पुस मसान्तभित्र साधारण गरिसक्नुपर्ने छ । त्यसैले, पुस मसान्तभित्र साधारणसभा गर्ने बैंक तथा वित्तीय संस्थाको वित्त प्रणाली र सुशासन पक्ष राम्रो मानिन्छ । हालसम्म साधारणसभा नगर्ने ६ संस्थामध्ये तीन कम्पनीले साधारणसभाको मिति घोषणा गरिसकेका छन् भने बाँकी तीन कम्पनीले भने अझै सभाको मिति तय गरेका छैनन् । एक्सेल डेभलपमेन्ट बैंक, मितेरी डेभलपमेन्ट बैंक र सहयोगी विकास बैंकले चैतसम्म साधारणसभा गर्ने मिति तय गरेका छन् । उता एनआईडीसी, ओम र वेष्टर्न डेभलपमेन्ट बैंकले भने अझै साधारणसभा गर्ने निधो गरेका छैनन् । त्यस्तै, भार्गव विकास बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक, देवः विकास बैंक, गण्डकी विकास बैंक, गरिमा विकास बैंक, ग्रीन डेभलपमेन्ट बैंक, हाम्रो विकास बैंक, ज्योति विकास बैंक, काबेली विकास बैंक, कैलाश विकास बैंक, कामना सेवा विकास बैंक, कञ्चन डेभलपमेनट बैंक, कन्काई विकास बैंक, कर्णाली डेभलपमेन्ट बैंक, लुम्बिनी विकास बैंक, महालक्ष्मी विकास बैंक, मिसन डेभलपमेन्ट बैंक, मुक्तिनाथ विकास बैंक, नारायणी डेभलपमेन्ट बैंक, नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक, पूर्णिमा विकास बैंक, सहारा विकास बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक, सांग्रिला डेभलपमेन्ट बैंक, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक र तिनाउ डेभलपमेन्ट बैंकले फागुन पहिलाे साता अघि नै साधारणसभा बोलाई सकेका छन् ।
आइएमई जनरल इन्स्योरेन्सका सेवा मुक्तिनाथ विकास बैंकबाट पाइने
काठमाडौँ । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र मुक्तिनाथ विकास बैंक लिमिटेडबीचच बैंकास्योरेन्स सेवा सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र मुक्तिनाथ विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत प्रधुम्न पोखरेलले हस्ताक्षर गरे । सम्झौता पश्चात बैंकका ग्राहकहरुले नेपालभर रहेका मुक्तिनाथ विकास बैंकका शाखाहरु मार्फत आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले प्रदान गर्ने सबै प्रकारका बीमा सेवाहरु प्राप्त गर्न सक्ने छ । कार्यक्रममा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका नायब महाप्रबन्धक शरण रेग्मी तथा मुक्तिनाथ विकास बैंक लिमिटेडका सहायक प्रमुख कार्यकारी अधिकृतद्धय तिलबहादुर गुरुङ तथा गोविन्दबहादुर राउतको उपस्थिति रहेको थियो ।