सन नेपाल लाइफ इन्स्योरेन्स र कामना सेवा विकास बैंकबीच बैंकास्योरेन्स सम्झौता
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स र कामना सेवा विकास बैंकबीच बैंकास्योरेन्स सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल र कामना सेवा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविन बस्नेतले हस्ताक्षर गरेका हुन् । यस सम्झौता अन्र्तगत कामना सेवा विकास बैंकका सम्पूर्ण ग्राहकहरुले बीमा शुल्क भुक्तानी गर्न, बीमालेख लिन तथा बीमा दाबी भुक्तानी सहज रुपमा सन नेपाल लाइफ इन्स्योरेन्सबाट प्राप्त गर्न सक्नेछन् र उत्कृष्ट सेवासहित सरल, सुलभ तरिकाले सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका विभिन्न बीमालेखहरु कामना सेवा विकास बैंकका सम्पूर्ण शाखाहरु मार्फत उपलब्ध हुनेछ ।
बीमा कम्पनीको लगानी क्षेत्र विस्तार गरिँदै, दीर्घकालिन लगानी प्राथमिकतामा
चिरञ्जीवि चापागाई, अध्यक्ष, बीमा समिति काठमाडौं । बीमा समितिले बीमा कम्पनीहरुको लगानी सम्बन्धी विद्यमान व्यवस्था संसोधन प्रक्रिया अघि बढाएको छ । बीमा कम्पनीहरुको लगानीको दायरालाई बढाउन तथा जोखिमन्युनी करणका लागि भन्दै समितिले परिमार्जन प्रक्रिया अघि बढाएको हो । ‘बीमा कम्पनीहरुको लगानी सम्बन्धी अहिलेको व्यवस्थालाई आवश्यक परिमार्जन गर्न लागिएको हो, बीमा कम्पनीहरुको लगानीको क्षेत्रमा विविधता चाहियो र जोखिम व्यवस्थापन पनि सहज गर्न परिमार्जन प्रक्रिया अघि बढाएका हौं’, बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईँले विकासन्यूजसँग भने । लगानी सम्बन्धी विद्यमान व्यवस्थाले बीमा कम्पनीहरुको जोखिम न्युनीकरण तथा अर्थतन्त्रको विकासमा समेत यथेष्ठ योगदान दिन नसकेकेको निष्कर्षसहित परिमार्जनमा जुटेको पनि उनले जानकारी दिए । समितिले अब बीमा कम्पनीहरुको लगानीको क्षेत्रलाई थप व्यापक बनाउन लागेको छ । त्यसका लागि दीर्घकालिन लगानीका क्षेत्रमा थप लगानी सुनिश्चत गरिनेछ । उर्जा, पूर्वाधार, कृषि, पर्यटन, उत्पादन मुलक पब्लिक कम्पनीहरुमा निश्चित प्रतिशत लगानी अनिवार्य गरिनेछ । डिवेञ्चर र बण्डहरुमा लगानीको हिस्सा वृद्धि गरिदिने सोँच बनाएको अध्यक्ष चापागाईँले जानकारी दिए । हाल, जीवन, निर्जीवन कम्पनी र निर्जीवन बीमा कम्पनीले निश्चित प्रतिशत सरकारी वण्ड तथा डिवेञ्चर, केहि प्रतिशत क, ख र ग वर्गका बैंक तथा वित्तिय संस्थामा अनिवार्य निक्षेप राख्नु पर्नेे व्यवस्था छ । त्य बाहेक नागरिक लगानी कोषको सामुहिक लगानी कोष र केहि बैंक तथा वित्तीय संस्थाहरुको संस्थागत सेयर तथा केहि साधारण सेयरमा लगानी गर्न पाउने व्यवस्था छ । यस्तो छ लगानी सम्बन्धी विद्यमान व्यवस्था हाल जीवन बीमा कम्पनीहरुले नेपाल सरकार, राष्ट्र बैंकको ऋण पत्र वा सरकारको जमानतप्राप्त ऋण पत्रमा २५ प्रतिशत नघट्ने गरि, बाणिज्य बैंकमा निक्षेपका रुपमा ३५ प्रतिशत नघट्ने गरि, विकास बैंकमा १५ प्रतिशत नबढ्ने गरि र नागरिक लगानी कोषको एकांकी नागरिक लगानी योजना वा सामुहिक लगानी कोषमा ५ प्रतिशत नबढ्ने गरि लगानी गर्न पाइन्छ । त्यसबाहेक बाणिज्य र विकास बैंक तथा फाईनान्स कम्पनीहरुको अग्राधिकार प्राप्त सेयरमा १० प्रतिशत लगानीगर्न पाउने व्यवस्था छ । फाइनान्स कम्पनीमा १० प्रतिशत नबढ्ने गरि निक्षेप राख्न पाइने, पब्लिक लिमिटेड कम्पनीको साधारण सेयरमा कुल लगानीको १० प्रतिशत नबढ्ने गरि, उत्पादनशिल तथा राष्ट्रिय महत्वका कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, विद्युत जस्ता क्षेत्रका पब्लिक कम्पनीमा ५ प्रतिशत नबढ्ने गरि र कुल लगानीको २ प्रतिशत नबढ्ने गरि इन्भेष्टमेन्ट कम्पनीमा लगानी गर्न सकिने व्यवस्था छ । निर्जीवन कम्पनीले नेपाल सरकार, राष्ट्र बैंकको ऋण पत्रवा सरकारको जमानतप्राप्त ऋण पत्रमा २० प्रतिशत नघट्ने गरि, बाणिज्य बैंकको निक्षेपमा ३५ प्रतिशत नघट्ने गरि, विकास बैंकको निक्षेपमा कुल लगानीको १५ प्रतिशत नघट्ने गरि, नागरिक लगानी कोषको एकांकी नागरिक लगानी योजना वा सामुहिक लगानी कोषमा ५ प्रतिशत नबढ्ने गरि लगानी गर्न पाइन्छ । वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुको अग्राधिकार शेयरमा (साधारण शेयरमा परिणत नहुने), सुरक्षित डिवेन्चर र ऋणपत्रहरुमा १० प्रतिशत नबढ्ने गरि, फाइनान्स कम्पनीको निक्षेपमा १० प्रतिशतनबढ्ने गरि, पब्लिक लिमिटेड कम्पनीको साधारण सेयरमा कुल लागनीको १० प्रतिशत नबढ्ने गरि र गरी उत्पादनशील वा राष्ट्रिय महत्वका क्षेत्रहरु (जलविद्युत, स्वास्थ्य, शिक्षा, पर्यटन र कृषि) मा आधारित पब्लिक लिमिटेड कम्पनीको शेयरमा लगानी गर्न सकिनेछ । त्यस्तै, नेपाल पुन र्बिमा कम्पनीले नेपाल सरकार र नेपाल राष्ट्र बैंकको ऋणपत्र वा नेपाल सरकारको जमानत प्राप्त ऋणपत्र/बचतपत्रमा २० प्रतिशत नघट्ने गरि, बाणिज्य बैंकमा निक्षेप तथा अल्पकालिन लगानीमा ३५ प्रतिशत नघट्ने गरि, विकासमा बैंकमा निक्षेप १५ प्रतिशत नबढ्ने गरि, नागरिक लगानी कोषको एकाँकी नागरिक लगानी योजना वा सामुहिक लगानी कोषमा गरिएको लगानीमा ५ प्रतिशत नबढ्ने गरि र वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुको अग्राधिकार शेयरमा (साधारण शेयरमा परिणत नहुने), सुरक्षित डिवेन्चर र ऋणपत्रहरुमा १० प्रतिशत नबढ्ने गरि लगानी गर्न पाइने व्यवस्था रहेको छ ।
गर्भनर नेपाल भन्छन्-लगानीको वातावरण बन्दैछ
काठमाण्डौ । नेपालको समग्र वित्तिय विश्लेषकहरुको संस्थाको रुपमा एसोसियसन अफ इन्भेष्टमेन्ट प्रोफेसनल नेपालको औपचारिक उद्घाटन भएको छ । वित्तिय क्षेत्रहरुको विश्लेषणमार्फत नेपालमा समग्र सामाजिक हितको लागि लगानी र पुँजी बजारमा नैतिकता, व्यावसायिकता र पारदर्शीता बढाउने उद्देश्यले चार्टर फाइनान्सियल एनालिष्ट (सीएफए) संलग्न सो संस्था नेपालमा स्थापना भई उद्घाटन भएको हो । गत बर्षको अप्रिलमा एशोसियसन गैर नाफामुलक संस्थाको रुपमा दर्ता भएको थियो । सीएफए पूरा गरेका एनालिष्टहरु नेपालमा १२ जना मात्र छन् भने ३ सय १७ विद्यार्थी अध्ययरत छन् । संस्थाले कानुन नीति नियम तर्जुमा गर्न सरोकारवालासँग छलफल गरेर नीति निर्माणकर्तालाई सुझाव दिनेछ । संस्थाको उद्घाटन गर्दै नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जीवि नेपालले नेपालले देशमा राजनीतिक स्थिरता आएसँगै लगानीको वाताबरण बन्दै गएको र उचित लगानीका लागि वित्तीय विश्लेषणको महत्व रहेको बताए । देश आर्थिक रुपान्तरणको बाटोमा रहेको बताउँदै उनले सरकारले नेपालमा लगानीका लागि उचित वातावरण बन्दै गएको बताए । ‘वित्तीय साक्षरता र वित्तिय पहुँच बढ्दै गएको छ । सरकारले एक स्थानीय तह कम्तीमा एक बैंकको नीति लिएकाले यसले बिजनेस बढाउन मद्दत गर्छ ।’–उनले भने–‘भुक्तानी प्रणाली आधुनिकिकरण भएको छ । लगानीको वाताबरण बन्दै गएको छ ।’ उनले वातावरण निर्माणसँगै लगानी वृद्धि हुँदै वित्तिय अवस्था सुधार हुँदै जाने बताए । नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरीले पुँजी बजारको नियामकको हिसाबले नेपाल धितोपत्र बोर्ड लगानीको सुरक्षा गर्न सधै प्रयास गरिरहेको बताए । उनले बोर्ड लगानीकर्तालाई आत्मविश्वासी बनाउन चाहेको उल्लेख गरे । सिएफए एसिया प्यासिफिकका निक पोलार्डले प्रोफेसनल इन्भेष्टमेन्टले पुँजी बजारको नैतिक बिकासमा सहयोग पुर्याउने बताए । लगानी बोर्डका सदस्य बालकृष्ण शिवाकोटीले लगानीबाट प्रतिफल निकाल्नु महत्वपुर्ण कुरा भएकाले प्रोफेसनल इन्भेष्टमेन्ट जस्ता संस्थाको भुमिका महत्व हुने बताए । शुक्रबार नै क्रियाशील चार्टर फाइनान्सियल एनालिष्ट (सीएफए)हरुको सम्मेलन पनि भएको छ । सम्मेलनमा चार्टर फाइनान्सियल एनालिष्टको क्षेत्रका सकृय स्वदेशी तथा विदेशी विज्ञहरु, यसमा अध्ययरत विद्यार्थीहरु, यस क्षेत्रसँग सम्बन्धित नियामक निकाय धितोपत्र बोर्डका प्रतिनीधिहरुका साथै बीमा, बैकिङ, मर्चेण्ट बैकिङ क्षेत्रका प्रतिनीधि सहित तीन सय जनाको सहभागिता थियो । एशोसियसनका अध्यक्ष डा. मनोज शाहीले सानातिना लगानीकर्ताको हितका लागि र समग्र वित्तिय विश्लेषणका लागि संस्थाले आफ्ना गतिविधिहरु बढाउने बताए ।