सिद्धार्थ इन्स्योरेन्स कम्पनी हकप्रद सेयर आवदेन खुला, १९०० को सेयर १००मा किन्ने मौका
काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स कम्पनीले ५.२ बराबर १ अनुपातमा हकप्रद सेयर निष्काशन गरेको छ । प्रतिकित्ता १०० दरले ८ लाख ६२ हजार १२५ कित्ता हकप्रद सेयर निष्काशन गरेको हो । हकप्रद सेयरका लागि बैशाख २८ गतेदेखि जेठ ३१ गतेसम्म आवेदन गर्न कम्पनीले आफ्ना सेयरधनीहरुलाई आह्वान गरेको छ । कम्पनीले बुक क्लोज गर्नु पूर्व अर्थात बैशाख १७ गतेभन्दा अघि नै सेयर लिईसकेका सेयरधनीले हकप्रद सेयर पाउनेछन् । हाल यस कम्पनीको सेयर पुँजी ४४ करोड ८३ लाख रुपैयाँ छ । हकप्रद सेयर निष्काशनपछि कम्पनीको चुक्ता पुँजी ५३ करोड ४५ लाख रुपैयाँ हुनेछ । निर्जीवन तर्फ सिद्धार्थ इन्स्योरेन्स राम्रो र प्रतिस्प्रर्धी कम्पनीको रुपमा चिनिन्छ । इक्रा नेपालले यस कम्पनीलाई ग्रेड ३ प्लास रेटिङ गरेको छ । यस कम्पनीको सेयर गत साता प्रतिकित्ता १९६० रुपैयाँमा कारोबार भएको छ । कम्पनीको आह्वान पत्रमा आगामी दुई वर्षसम्म चुक्ता पुँजी वृद्धि हुने उल्लेख गरिएको छैन । तर बीमा समितिले जारी गरेको पुँजी वृद्धि सम्बन्धी नीतिका आधारमा यस कम्पनीले चालु आर्थिक वर्ष र आगामी आर्थिक वर्षको नाफाबाट बोनस सेयर वितरण गरी पुँजी १ अर्ब रुपैयाँ पुर्याउने सम्भावना बढी छ । यस कम्पनीले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई ३० प्रतिशत बोनस सेयर दिएको थियो ।
बीमा नभएको जलविद्युत् आयोजनामा उच्च जोखिममा, कुलमान घिसिङ भन्छन्-बीमा गर्ने प्रणाली र संयन्त्र दुबै अभाव
काठमाडौं । मुलुकमा पछिल्लो समयमा जलविद्युत् आयोजना निर्माण हुने क्रम बढेसँगै त्यसको सुरक्षाको पाटोमा पनि विशेष ध्यान दिनुपर्ने र बीमा अनिवार्य गरिनुपर्नेमा जोड दिइएको छ । नेपाल विद्युत् प्राधिकरणले सञ्चालनमा ल्याएका केही आयोजनाको मात्रै बीमा गरिएको र सम्पूर्ण आयोजना भने बिमाको सञ्जालमा नजोडिएको तथा निजी क्षेत्रले अगाडि बढाएका आयोजना समेत त्यस्तै समस्या पाइएपछि जोखिम न्यूनीकरणको विषयले प्रवेश पाएको हो । जलविद्युत् लगानी तथा विकास कम्पनी र नेपाल हाइड्रोपावर एसोसिएसनको आयोजनामा शुक्रबार राजधानीमा आयोजित ‘जलविद्युत् एवम् पूर्वाधार निर्माणमा बीमाको महत्व’ विषयक कार्यक्रममा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जोखिम न्यूनीकरणका लागि बीमा गर्ने प्रणाली र संयन्त्रको विकास गर्नु जरुरी रहेको बताए । गोरखा भूकम्पको क्रममा माथिल्लो तामाकोसी, रसुवागढी, माथिल्लो त्रिशूली थ्री ए जस्ता ठूला र महत्वपूर्ण आयोजनामा क्षति पुगेको र त्यसको पुनःनिर्माण, क्षतिको मूल्याङ्कन तथा जोखिम व्यवस्थापनमा समेत लामो समय लागेका कारण समयमै ध्यान दिनुपर्ने उनको भनाइ थियो । उनले प्राधिकरणका आयोजना नै बढी जोखिममा रहेको भन्दै प्राधिकरणले नियमित रुपमा बीमा गर्ने प्रणाली अगाडि बढाउने तथा निजी क्षेत्रका आयोजनालाई समेत बीमा गर्न प्रेरित गर्ने तयारीमा आफूहरु लागेको उल्लेख गरे । जलविद्युत् लगानी तथा विकास कम्पनीका प्रमुख कार्यकारी अधिकृत छविराज पोखरेलले जोखिम व्यवस्थापनका लागि बीमा अनिवार्य शर्त रहेको बताए । प्रिमियर इन्सुरेन्सका प्रमुख कार्यकारी अधिकृत सुधुम्न आचार्यले मुलुकभित्रै बिमाका विभिन्न कार्यक्रम सञ्चालनमा आएकाले सहजरुपमा त्यसलाई अवलम्बन गर्न सकिने भएकाले आयोजना निर्माणमा सहजता थपिने विश्वास व्यक्त गरे । कार्यक्रममा नेपाल हाइड्रोपावर एसोसिएसनका महासचिव अरुण रजौरिया, स्वाती इन्टरप्राइजेजका निर्देशक पङ्कज ठाकुरले जलविद्युत् क्षेत्रमा बिमाको आवश्यकता र औचित्यका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए । रासस
सुर्या लाईफको १० प्रतिशत बोनस र १० बराबर ४ कित्ताको हकप्रद सेयर
काठमाडौं । सुर्या लाइफ इन्स्योरेन्स कम्पनीले १० प्रतिशत बोनस सेयर दिने भएको छ । कम्पनीको बैशाख १३ गते सम्पन्न सञ्चालक समिति बैठकले गत आवको नाफाबाट १० प्रतिशत बोनस सेयर र ३४ लाख ५३ हजार ९ सय ४७ रुपैंयाँ नगद लाभांश(कर प्रयोजनका लागि) दिने निर्णय गरेको हो । सोही बैठकले १० कित्ता बराबर ४ कित्ताको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने निर्णय पनि गरेको छ । बीमा समितिको स्विकृतिपछि सुर्या लाइफले हकप्रद सेयर निष्काशनको प्रक्रिया अघि बढाउने छ । बीमा समितिले जीवन बीमा कम्पनीको चुक्ता पुँजी २ अर्ब पुर्याउनु पर्ने नयाँ व्यवस्था अघि सारेपछि सुर्या लाइफले बोनस र हकप्रद सेयर सम्बन्धी निर्णय गरेको हो ।