गोर्खाज फाइनान्सको २४औँ वार्षिक साधारणसभा सम्पन्न, पुँजी ८० करोड पुर्याउनेमा दोश्रो

काठमाडौं । गोर्खाज फाइनान्सले आफ्नो २४औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । संस्थाले शुक्रबार नक्सालको सेलेब्रेशन ब्याङकेटमा उक्त सभा सम्पन्न गरेको हो । उक्त सभाले आर्थिक वर्ष २०७४/७५ को संचालक समितिको प्रतिवेदन पारित गरेको छ । नेपाल राष्ट्र बैंकबाट राष्ट्रियस्तरको वित्त कम्पनीलाई तोकिएको न्युनतम चुक्ता पुँजी ८० करोड रुपैयाँ पुर्याउने वित्त कम्पनीमा दोश्रो संस्थाको रुपमा रहेको छ । हाल संस्थाको चुक्ता पुँजी ८६ करोड ७९ लाख रुपैयाँ रहेको छ । फाइनान्सले चालु आर्थिक वर्षको प्रथम ६ महिनामा नाफा १७१ प्रतिशतले वृद्धि गरेको छ । पुस मसान्तसम्ममा फाइनान्सले ६ करोड ९ लाख खुद नाफा गरेको छ । गत वर्षको पहिलो ६ महिनामा २ करोड २४ लाख रुपैयाँ खुद नाफा गरेको थियो । सभामा संस्थाका अध्यक्ष प्रेमबहादुर खापुङले आगामी आर्थिक वर्षमा सेयरधनीलाई निश्चित रुपमा लाभांश वितरण गर्ने बताएका छन् । उनले चालु आवको पुस मसान्तसम्मको वित्तीय विवरणलाई आधार मानेर सो कुरा जानकारी गराएका हुन् । २०७४ साल पुस मसान्तमा फाइनान्सले ४ अर्ब निक्षेप संकलन गरेकोमा २०७५ पुससम्ममा ५ अर्ब ५२ करोड निक्षेप पुर्याएको छ । यस अवधिमा फाइनान्सको निक्षेप वृद्धि ३६ प्रतिशतभन्दा बढी छ । यस अवधिमा कर्जा लगानी ३ अर्ब ४२ करोडबाट ४ अर्ब २८ करोड रुपैयाँ बनाएको छ । कर्जा निक्षेप अुनपात (सीसीडी रेसियो) ६९ प्रतिशत रहेको छ । क्यापिटल एडेक्वसी करिव १९ प्रतिशत छ । सीसीडी रेसियो र क्यापिटल एडेक्वसी एकदमै सहज अवस्थामा रहेकोले यस फाइनान्सलाई आगामी दिन पनि व्यवसाय विस्तारमा सजिलो पर्ने देखिएको छ । यस फाइनान्सको प्रतिसेयर आम्दानी १४ रुपैयाँ छ । प्रतिसेयर नेटवर्थ १४० रुपैयाँ छ । प्रतिसेयर कुल सम्पत्ति ८९० रुपैयाँ छ । वित्तीय परिसूचकहरु राम्रो देखिए पनि बजारमा यस फाइनान्सको सेयर मूल्य प्रतिकित्ता १२१ रुपैयाँ मात्र छ । त्यस्तै, संस्थाको तरलता अनुपात ४०.२९ प्रतिशत रहेको छ जुन नेपाल राष्ट्र बैंकले तोकेको अनुपात(२० प्रतिशत) भन्दा २ गुणा बढी हो । वित्तीय क्षेत्रमा तरलता संकट हुँदा पनि यस फाइनान्सको व्यवसाय विस्तार राम्रो देखिएको छ । यसैगरी चालु आवमा संस्थाले ७ वटै प्रदेशमा शाखा वित्तार गरेको छ । हाल संस्थाको कुल शाखा संख्या २३ वटा पुगेको छ ।

गुडविल फाइनान्सको नगद लाभांश पारित, निक्षेप र कर्जा दुबैमा वृद्धि

काठमाडौं । गुडविल फाइनान्सले सेयरधनीलाई ५.२६३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ । शुक्रबार सम्पन्न फाइनान्सको २४औँ वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । फाइनान्सले गत आर्थिक वर्ष(आव)को मुनाफाबाट सेयरधनीलाई सो मात्रा अर्थात ४ करोड २१ लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने भएको छ । बैंकले गत आवमा ६ करोड ५० लाख रुपैयाँ खुद नाफा कमाएको थियो । त्यस्तै, चालु आवको दोस्रो त्रैमासिकमा संस्थाले ५ करोड ६५ लाख रुपैयाँ नाफा कमाएको छ । जुन प्रथम त्रैमासिकको तुलनामा २ करोड ७० लाख रुपैयाँ बढी हो । संस्थाले चालु आवको असोज मसान्तसम्ममा २ करोड ९४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । त्यसैगरी, चालु आवको असोज मसान्तमा ५ अर्ब १२ करोड रुपैयाँ निक्षेप संकलन गरेको संस्थाले पुस मसान्तसम्ममा ५ अर्ब ४२ करोड रुपैयाँ संकलन गरेको छ । त्यसैगरी, संस्थाले ४ अर्ब ३५ करोड रुपैयाँ बाट वृद्धि गरी ४ अर्ब ६७ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ । चुक्ता पुँजी ८० करोड रुपैयाँ रहेको संस्थाको जगेडा कोषमा १७ करोड ४३ लाख रुपैयाँ जम्मा रहेको छ ।  त्यस्तै, आव २०७३/७४ को तुलनामा आव २०७४/७५ मा संस्थाको मूल्य आम्दानी अनुपातमा वृद्धि भएको छ । त्यसैगरी, व्याज आम्दानी तथा कर्जा तथा सापट, कुल कर्जा/निक्षेप र कुल संचालन खर्च तथा कूल सम्पत्तीमा वृद्धि भएको छ । आव २०७३/७४मा १२.८८ प्रतिशतले बढेको संस्थाको आधार व्याजदर २०७४/७५ मा १३.५७ प्रतिशतले बढेको छ । संस्थाले निक्षेप र कर्जा दुबैमा वृद्धि भएपनि संस्थाको खुद नाफामा भने गिरावट देखिएको छ । आव २०७३/७४को तुलनामा २०७४/७५मा संस्थाको खुद नाफा ६.३४ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष १५.१७ प्रतिशत बढी नाफा कमाएको संस्थाले गत वर्ष जम्मा ८.८३ प्रतिशत कमाएको छ ।

एनसीसी बैंक र प्रिमियर इन्स्योरेन्स कम्पनीबीच बीमा सेवा सम्बन्धी सम्झौता

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक र प्रिमियर इन्स्योरेन्स कम्पनीबीच बीमा सेवा प्रदान गर्ने सम्बन्धी सहकार्यात्मक सम्झौता भएको छ । सम्झौतामा नेपाल क्रेडिट एण्ड कमर्स बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र प्रिमियर इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुद्युम्नप्रसाद उपाध्यायले संयुक्त रुपमा उक्त पत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार एनसीसी बैंकको कर्पोरेट तथा विभिन्न शाखा कार्यालयहरुबाट बैंकका ग्राहकहरूले प्रिमियर इन्स्योरेन्सले प्रदान गर्ने निर्जीवन बीमा सम्बन्धी सेवा सुविधाहरू प्राप्त गर्न सक्नेछन् ।