नेशनल लाइफ इन्स्योरेन्सको २५ प्रतिशत बोनस र ६० प्रतिशत हकप्रद पास
काठमाडाैं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट चुक्ता पूँजीको २६.३२ प्रतिशत लाभांश पारित गरेको छ । कम्पनीको २९औं वार्षिक साधारणसभाले यो बोनस पारित गरेको हो । २५प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १ दशमलब ३२ प्रतिशत गरी २६.३२ प्रतिशत लाभांश पारित गरेको हो । योसँगै कम्पनीको चुक्ता पूँजी १ अर्ब ६५ करोड ६० लाख पुगेको छ।बोनशपछि हुन आउने चुक्ता पूँजी ६० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ । यो हकप्रदपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब ६४ करोड ९६ लाख पुग्ने कम्पनीले जनाएको छ । अघिल्लो आर्थिक वर्ष ३६ करोड खुद मुनाफा गरेको छ । कम्पनीले ३ अर्ब ८५ करोड बीमा शुल्क संकलन भएको र १ अर्ब ७ करोड खुद दाबी भूक्तानी गरेको जनायो । कम्पनीको कुल लगानी २० दशमलब १० प्रतिशत वृद्धि भएर १४ अर्ब २० करोड पुगेको छ भने कम्पनीको बीमा कोष २२ दशमलब ९४ प्रतिशत वृद्धि भएर अघिल्लो असार मसान्तसम्म १४ अर्ब १८ करोड पुगेको छ।सिंहले अघिल्लो आर्थिक वर्षमा नाकाबन्दी र अत्याधिक तरलताका कारण निक्षेप ब्याजदरमा ह्रास आएकोले जीवन बीमा प्रभावित भएको बताईन् ।
नेपाल इन्स्योरेन्सले पुँजी वृद्धि योजना बुझायो, मर्जर वा एक्विजिशनबाट ३७ करोड पुँजी जुटाउने
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले बीमा समितिमा पुँजी वृद्धि योजना पेश गरेको छ । कम्पनीले दुई पटक गरी १० प्रतिशत बोनस सेयर दिने, एक पटक १०० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने र करिव ३७ करोड रुपैयाँ पुँजी मर्जर तथा एक्विजिशनबाट जुटाएर १ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउने योजना पेश गरेको छ । हाल कम्पनीको चुक्ता पुँजी २८ करोड रुपैयाँ छ । आर्थिक वर्ष २०७२/७३ को नाफाबाट ५ प्रतिशत बोनस सेयर वितरण गरी पुँजी करिब ३० करोड १९ लाख रुपैयाँ पुर्याउने छ । त्यसपछि कम्पनीले १०० प्रतिशत (१ बराबर १ अनुपातमा) हकप्रद सेयर निष्काशन गर्ने भएको छ । हकप्रद सेयर निष्काशन पनि कम्पनीको चुक्ता पुँजी ६० करोड ३९ लाख रुपैयाँ हुने छ । आर्थिक वर्ष २०७३/७४ को नाफाबाट कम्पनीले फेरी ५ प्रतिशत बोनस सेयर दिने योजना पेश गरेको छ । उक्त बोनस सेयर वितरणपछि कम्पनीको चुक्ता पुँजी ६३ करोड ४१ लाख रुपैयाँ हुनेछ । बाँकी करिब ३७ करोड रपैयाँ पुँजी जुटाउने विषयमा भने भेगपूर्ण प्रस्ताव गरिएको छ । स्रोतका अनुसार कम्पनीले मर्जर तथा एक्विशिजन वा बोनर तथा हकप्रद सेयरबाट ३६ करोड ५९ लाख रुपैयाँ पुँजी वृद्धि गर्ने प्रस्ताव पेश गरेको छ । उक्त पुँजी वृद्धि योजना कम्पनीको तर्फबाट सार्वजनिक गरिएको छैन ।
समस्याग्रस्त ९ वित्तीय संस्था ब्युँतिँदै, ३ वटा संचालनमा आए ६ वटा प्रक्रियामा
काठमाडौं । केन्द्रीय बैंकबाट हालसम्म समस्याग्रस्त घोषणा भएका १६ संस्थामध्ये ९ वटा ब्युँतिने भएका छन् । समस्याग्रस्त फुकुवा भई सञ्चालनमा आएका र फुकुवाको प्रक्रियामा रहेकासहित कम्तीमा नौवटा ब्युँतिने भएका हुन् । हालसम्म ३ वटा सञ्चालनमा आइसकेका छन् भने ६ वटा सञ्चालनमा आउने प्रक्रियामा रहेको राष्ट्र बैंक स्रोतले जनाएको छ । समस्याग्रस्त घोषणा भएकामध्ये नेपाल विकास बैंक, सम्झना फाइनान्स, युनाइटेड विकास बैंक र हिमालयन फाइनान्स खारेजीमा गइसकेका छन् । तीमध्ये हिमालयन फाइनान्सको खारेजी प्रक्रिया अन्तिम चरणमा छ । यसअघि समस्याग्रस्त घोषणा भएका गोर्खाज फाइनान्स (तत्कालीन गोर्खा विकास बैंक मर्ज भएर बनेको), जनरल फाइनान्स र अरुण फाइनान्स सञ्चालनमा आइसकेका छन् । समस्याग्रस्त रूपमा रहेको तत्कालीन गोर्खा विकास बैंक सामान्य अवस्थामा आएपछि काठमाडौं फाइनान्ससँग मर्जर भएर एक तह घटुवा भई गोर्खाज फाइनान्सको नामबाट सञ्चालनमा आएको हो । तीमध्ये पनि ६ वटा संस्थाको सेयर स्वामित्व हस्तान्तरणको प्रक्रियामा रहेको राष्ट्र बैंकले जनाएको छ । ती संस्थाहरू पनि सञ्चालनमा आएपछि बिग्रेका मध्येबाटै ९ वटा संस्था पुनस् सञ्चालनमा आउने भएका हुन् । बाँकी तीनवटा संस्थामध्ये सेयर मार्केट एन्ड फाइनान्स र क्रिस्टल फाइनान्सको विषयमा अदालतमा मुद्दा विचाराधीन छ । यसकारण अदालतको निर्णय आइनसक्दै ती संस्थालाई यथास्थितिमा राख्ने राष्ट्र बैंकको मनसाय देखिन्छ । अर्को संस्था नारायणी डेभलपमेन्ट बैंकबारे भने केही प्रगति भएको देखिँदैन । यसकारण उक्त संस्थालाई खारेजीमा लाने वा पुनः सञ्चालनमा ल्याउने विषयमा राष्ट्र बैंकले निर्णय गरिसकेको छैन । ‘नयाँ लगानीकर्ता खोजेर वा कुनै संस्थासँग मर्ज गरेर भए पनि नारायणी विकास बैंकलाई जोगाउने विषयमा पनि छलफल भइरहेको छ,’ स्रोतले भन्यो । समस्याग्रस्त संस्थामध्ये कुवेर मर्चेन्ट फाइनान्स सञ्चालनको अन्तिम तयारीमा छ । यसका लागि यो कम्पनीको सेयर स्वामित्व हस्तान्तरण प्रक्रिया अन्तिम चरणमा रहेको राष्ट्र बैंकले जनाएको छ । ‘आउँदो भदौ ४ गते संस्थाको साधारणसभा हुँदै छ, सम्भवत त्यसपछि यो संस्था सञ्चालनमा आउनेछ,’ स्रोतले भन्यो यो कम्पनीको अधिकांश सेयर सिटी एक्सप्रेसलगायत समूहले खरिद गरी सञ्चालनमा ल्याउन लागेको हो । क्यापिटल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स कतार र जापानमा रहेका गैरआवासीय नेपालीको एक समूहले सञ्चालनमा ल्याउन लागेको छ । यसका लागि सेयर स्वामित्व हस्तान्तरण प्रक्रिया अन्तिम चरणमा रहेको राष्ट्र बैंक स्रोतले बताएको छ । यसैगरी वल्र्ड मर्चेन्ट बंैकिङ एन्ड फाइनान्सको सेयर हस्तान्तरण प्रक्रिया पनि पूरा भइसकेको छ । तर, संस्थाको न्यूनतम चुक्ता पुँजी ८० करोड रुपैयाँ पुगि नसकेकाले राष्ट्र बैंकले समस्याग्रस्त फुकुवा गर्न मानेको छैन । सञ्चालकबाट उक्त प्रतिबद्धता आएलगत्तै समस्याग्रस्त फुकुवा गर्ने मनसायमा राष्ट्र बैंक छ । कान्तिपुर दैनिकबाट ।