मार्जिन कारोबार शुरु गर्न नेपाल स्टक एक्सचेञ्जको आग्रह
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्जले धितोपत्रको दोस्रो बजारमा मार्जिन कारोबार शुरु गर्न धितोपत्र दलाल व्यवसायीलाई आग्रह गरेको छ । स्टकले सबै धितोपत्र दलाल व्यवसायीलाई पत्राचार गर्दै मार्जिन कारोवार प्रणाली शुरु गर्न आग्रह गरेको हो । कारोबारलाई सुरक्षित, पारदर्शी एवम् व्यवस्थित बनाउने उद्देश्यले नेपाल धितोपत्र बोर्डको निर्देशनबमोजिम ‘नेपाल स्टक एक्सचेञ्ज लिमिटेड मार्जिन कारोवार सुविधासम्बन्धी कार्यविधि, २०७५’ तयार भई लागू भइसकेको छ । सोही कार्यविधिअनुसार आवश्यक कार्य गर्न तथा गराउन धितोपत्र दलाल व्यवसायीलगायत सबैलाई स्टकले आग्रह गरेको छ । उक्त व्यवस्थाबमोजिम शेयर लगानीकर्ताले शेयर बजारमा लगानीका लागि धितोपत्र दलाल व्यवसायीबाट ऋण लगायतका अन्य सुविधासमेत पाउने छन् । धितोपत्र नै धितोमा राखेर पनि ऋण पाउन सक्ने भएकाले त्यस्तो व्यवस्थाले बजार विस्तारमा सहयोग पुग्ने विश्वास लिइएको छ ।
एनआईसी एशियाका ग्राहकले अब घरैमा बसेर केवाइसी अपडेट गर्न सक्ने
काठमाडौँ । एनआई सी एशिया बैंकले ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै ग्राहक पहिचान अद्यावधिक(केवाईसी अपडेट) गर्न बैंकको शाखा कार्यालयमा स्वयम् उपस्थित हुन पर्ने व्यवस्थालाई परिमार्जन गरेको छ । अब ग्राहकहरु घर तथा कार्यालयमा बसी झण्झट रहित तरिकाबाट ईन्टरनेटको माध्यमबाट आफ्नो ग्राहक पहिचान अद्यावधिक गर्न सकिने व्यवस्था मिलाएको बैंकले जनाएको छ । यस सुविधा अन्तर्गत ग्राहक महानुभावहरुले बैंकको आधिकारिक वेबसाइट www.nicasiabank.com मा लगइन गरी “update KYC Online” portal मा आफ्नो खाता नम्बर, मोवाईल नम्बर र ईमेल आइडी राखेर आफ्नो ग्राहक पहिचान विवरण अद्यावधिक गर्न सक्ने छन् ।
बाग्लुङ, डोटी र रोल्पामा ग्लोबल आइएमईको थप ३ शाखारहित बैंकिङ्ग सेवा बिस्तार
काठमाडौँ । ग्लोबल आइएमई बैंकले विभिन्न जिल्लाहरुमा थप ३ वटा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । बैंकले फागुन १३ गतेदेखि बाग्लुङ्ग जिल्लाको बाग्लुङ्ग नगरपालिका–१२, अमलाचौरमा ११८औँ, डोटी जिल्लाको के.आई.सिहं गाउँपालिका– २, तिखातरमा ११९औँ र रोल्पा जिल्लाकोलुंग्री गाउँपालिका–१२, सिर्पमा १२०औँ शाखारहित बैंकिङ्ग सेवाको शुरुवात गरेको हो । यी तीनै शाखारहित बैंकिङ्ग सेवाहरु स्थानीय जनप्रतिनिधि, बुद्घिजिवी तथा स्थानीयवासीहरुको रोहवरमा शुरुवात भएको हो । शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानिय बासिन्दाले स्थानिय प्रतिनिधि मार्पmत बैंकिङ्ग सेवा लिन सक्नेछन् । यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमा सम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने, डीसहोम, सीडीएमए, यूटीएलको महसुल भुक्तानी गर्ने, मोबाइल रिर्चाज गर्ने लगायतका सेवा लिन सक्ने बैंकले जनाएको छ । कृषि, रेमिट्यान्स तथा पर्यटन मुख्य आयस्रोत रहेको यी क्षेत्रका बासिन्दा बैंकिङ्ग सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नु पर्ने बाध्यतालाई मध्यनजर गरी ग्लोबल आइएमई बैंकले ती स्थानहरुमा शाखारहित बैंकिङ्ग सेवा शुरु गरेको जनाएको छ ।