स्वरोजगार लघुवित्त विकास बैंकको २९ सय कित्ता सेयर लिलामीमा

काठमाडौं । स्वरोजगार विकास बैंकको २९ सय ८० कित्ता सेयर लिलामीबाट विक्री गरिने भएको छ । यो लघुवित्तले गत असार १ देखि साउन ४ गतेसम्म खुला गरेको हकप्रद सेयरमा बिक्री नभएको सेयर लिलामीबाट बेच्ने भएको छ । यो लघुवित्तले संस्थापकतर्फको १५ सय ८४ कित्ता र सर्वसाधारण तर्फको १३ सय ९६ कित्ता सेयर लिलामीबाट विक्री गर्ने भएको छ । एक सय रुपैयाँ अंकित यो संस्थाको सेयर आवदेन यही भदौ ८ देखि १६ गतेसम्ममा दिइसक्नु पर्ने छ । यसको विक्री प्रवन्धक एनएमबी क्यापिटल लिमिटेड हो ।

राष्ट्रिय बिमा कम्पनीको नाफा २३ करोड ७० लाख

काठमाडौं । राष्ट्रिय बिमा कम्पनी लिमिटेडको गत आर्थिक वर्ष ०७३/०७४ मा नाफा बढेको छ ।गत आवमा कम्पनीले २३ करोड ७० लाख रुपैयाँ खुदनाफा गरेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीले १६ करोड ३७ लाख रुपैयाँ खुदनाफा गरेको थियो । गत वर्ष कम्पनीले नाफा ८ करोड रुपैयाँ बढाएको छ । कम्पनीले गत असारसम्म ८४ करोड १२ लाख रुपैयाँ बिमा शुल्क आर्जन गरेको छ । अघिल्लो वर्षमा कम्पनीले ८६ करोड ८७ लाख रुपैयाँ आजर्न गरेको थियो । कम्पनीले बिहीबार सार्वजनिक गरेको गत आवको वित्तीय विवरणअनुसार गत असारसम्म १६ हजार ७६९ बिमालेख जारी गरेको छ । समीक्षा अवधिमा कम्पनीले १८ करोड ६९ लाख रुपैयाँ दावी भूत्तानी गरेको जानकारी दिएको छ । कम्पनीको चुक्तापुँजी १२ करोड ४४ लाख रुपैयाँ छ । गत आवको नाफाबाट प्राप्त बोनस सेयर नेपाल धितोपत्र दर्ताको क्रममा रहेकाले यसपछि चुक्तापुँजी २६ करोड ६६ लाख रुपैयाँ पुग्ने कम्पनीले जानकारी दिएको छ ।

आइएमई लाइफ इन्स्योरेन्सले कारोबार थाल्यो, छिट्टै ३० प्रतिशतको आइपीओ जारी गर्ने

काठमाडौं । जीवन बीमा व्यवसाय सञ्चालनको अनुमित पाएका विभिन्न ६ वटा कम्पनीमध्ये आइएमई लाइफ इन्स्योरेन्स आज बिहीबारदेखि सञ्चालनमा आउने भएको छ । यससँगै आइएमई लाइफ नयाँ मध्येको पहिलो बीमा कम्पनी बनेको छ । असार २० गते समितिबाट अनुमति पाएको आइएमईले भदौ १ गतेदेखि कारोबार सञ्चालन गरेर पहिलो बनेको हो । कम्पनीको सञ्चालक समितिको अध्यक्षमा रामहरि अर्याल रहेका छन भने सञ्चालकहरुमा अश्विनी आचार्य, इश्वर कार्की, दीपक पोखरेल, दीप रेग्मी छन् । यसैगरी कम्पनीको संस्थापकमा ग्लोवल आइएमई बैंक समूहको साथमा चन्द्रप्रसाद ढकाल, विष्णुप्रसाद उपाध्याय, जीवनबाबु श्रेष्ठ रहेका छन भने महाप्रबन्धक राकेश पोखरेल छन् । कम्पनीको चुक्ता पुँजी २ अर्ब छ । १ अर्ब ४० करोड संस्थागत सदस्यहको लगानी रहेको छ भने ३० प्रतिशत अर्थात ६० करोड साधारण सेयर निष्कासन गरी चुक्ता गरिने पनि उल्लेख छ ।