नेपाल इन्स्योरेन्सको डीजीएममा बिक्रान्त पाण्डे नियुक्त

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको नायव महाप्रवन्धकमा बिक्रान्त पाण्डे नियुक्त भएका छन् । बीमा क्षेत्रमा झण्डै डेढदशक बिताएका पाण्डेले बुधबारदेखि नायव महाप्रवन्धको कार्यभार सम्हाल्ने भएका छन् । पाण्डे यसअघि एनबी इन्स्योरेन्स कम्पनी लिमिटेडको डेपुटी सीईओ भइ सकेका छन् । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडबाट आफनो सेवा सुरु गरेका पाण्डे विभिन्न बीमा कम्पनीमा आवद्ध भइसकेका छन् । विकास न्युजसंग कुरा गर्दे नायव महाप्रवन्धक पाण्डेले बीमा व्यवसाय विस्तारमा जोड दिने बताए । उनले नेपाल इन्स्योरेन्सलाई अझ बढी सबल बनाउने योजना रहेको सुनाए ।

एशियन लाईफ इन्स्योरेन्स र मुक्तिनाथ बिकास बैंकबीच बैंकासुरेन्स सम्झौता

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी र मुक्तिनाथ बिकास बैंकबीच बैंकासुरेन्स सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर भएको छ । जीवन बीमालाई ग्राहकको पहुँचसम्म सजिलै पुर्याउने उद्धेश्यले सोमबार दुई कम्पनीबीच उक्त सम्झौता भएको हो । उक्त संझौतापत्रमा एशियन लाईफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत राजेश कुमार श्रेष्ठ र मुक्तिनाथ बिकास बैकका नायब प्रमुख कार्यकारी अधिकृत प्रधुमन पोखरेलले एक कार्यक्रमका बीच हस्ताक्षर गरेका छन् । बैंकासुरेन्सको माध्यमबाट बैंकका ग्राहकहरुलाई जीवन बीमा कम्पनीले प्रचलनमा ल्याएका बीमा योजनाहरु खरिद गर्न सहजता प्रदान गर्नेछ । अब एशियन लाईफ इन्स्योरेन्सका बीमा योजनाहरु तथा बीमा सेवाहरु सजिलैसँग मुक्तिनाथ बिकास बैंकका नेपालभरिका ५९ वटा शाखा कार्यालयहरुबाट समेत लिन सकिने ब्यवस्था मिलाइनेछ । इन्स्योरेन्सको हाल ७२ वटा उपशाखा तथा २३ वटा शाखा कार्यालयहरु रहेका छन् । २०७४ आषाढ मसान्तसम्म यस कम्पनीको जीवन बीमा कोष १० अर्ब रुपैयाँ र लगानी ९५४ करोड रुपैयाँ रहेको छ । साथै, यस कम्पनीको चुक्ता पुँजी ८० करोड ५५ लाख रुपैयाँ रहेको छ ।

सुर्या लाइफले १० प्रतिशत बोनस र ४० प्रतिशत हकप्रद सेयर जारी गर्ने

काठमाडौं । सुर्या लाइफ इन्स्योरेन्स कम्पनीले १० प्रतिशत बोनस सेयर र ४० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले आर्थिक बर्ष २०७२/७३ को नाफाबाट १० प्रतिशत बोनस सेयर अर्थात ६ करोठ ५६ लाख रुपैंयाँ बराबरको बोनस सेयर वितरण गर्न लागेको हो । बोनस सेयर वितरण गरेपछि हुने पुँजीको ४० प्रतिशतका दरले हकप्रद सेयर पनि निष्काशन गर्ने कम्पनीले जनाएको छ । बोनस सेयर र हकप्रद सेयर सम्बन्धी प्रस्तावलाई भदौ २७ गते हुने साधारण सभाबाट पारित गरेर कार्यान्वयनमा लैजाने कम्पनीले जनाएको छ ।