सिटिजन लाइफ इन्स्योरेन्सको नयाँशाखा दोलखामा 

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले ६२ औं शाखा दोलखा उद्घाटन गरेको छ । दोलखाको चरिकोटमा उक्त नयाँशाखा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेल, प्रमुख बजार अधिकृत कवि फुँयाल र दोलखा क्षेत्र नं. २ प्रदेश सभाका सांसद पशुपति चौलागाईंद्वारा संयुक्त रुपमा उद्घाटन गरेका थिए । दोलखाका स्थानिय बासिन्दाहरुलाई बीमा योजनाहरु सम्बन्धी जानकारी प्रदान गर्न तथा सहज र सरल बीमा शुल्क भुक्तानी गर्नका सो शाखा विस्तार गरिएको हो । २०७४ कार्तिक देखि संचालनमा आएको सिटिजन लाइफ इन्स्योरेन्समा नेपालभर ६२ वटा कार्यालय र २०० भन्दा बढी कर्मचारीहरु कार्यरत रहेका छन् । नेपालीहरुको आवश्यकता र जोखिमलाई न्युनिकरणको निमित्त जीवनबीमा योजना ल्याउन तयार भएकाे छ । उक्त इन्स्योरेन्स आर्थिक वर्षको प्रथम त्रैमासिकको तुलनामा दोस्रो त्रैमासिकमा बीमा शुल्क संकलनमा ६० प्रतिशत र सोहीअवधिको खुदनाफामा १२० प्रतिशतभन्दा बढीले बृद्धि हुनुका साथै २०७५ पौष मसान्त सम्ममा रु.२४५ करोडको लगानी रहेको छ ।

राष्ट्रिय बीमा कम्पनी र ओम डेभलपमेण्ट बैंकबीच बीमा सेवा सम्झौता

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेड र ओम डेभलपमेण्ट बैंक लिमिटेडबीच बुधबार एक कार्यक्रममा बीमा सेवा आदान प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतामा राष्ट्रिय बीमा कम्पनीको तर्फबाट क्मपनीका प्रमुख कार्यकारी अधिकृत डा. डिल्लीराज अर्याल र बैंकका तर्फबाट बैकका प्रमुख कार्यकारी अधिकृत बिश्वमोहन अधिकारीले हस्ताक्षर गरेका छन् । बैंकले हालसालै मात्र बजारमा ल्याएको “सुरक्षित बचत खाता” अन्तर्गत खाता खोल्ने ग्राहकहरुका लागी यस सम्झौता अन्तर्गत जारी भएको दुर्घटना बीमा लेखले सात लाखसम्मको आर्थिक सुरक्षा प्रदान गर्ने छ । साथै, बैंकमा “सुरक्षित बचत खाता” खोल्ने ग्राहकको दुर्घटनाको कारण मृत्यु भएमा बीमाले सात लाख ग्राहकको हकवालालाई बैंक मार्फत क्षतिपूर्तिको रुपमा भुक्तानी गर्ने बैंकले जनाएको छ । सम्झौता पश्चात दुबै पक्षले बाली तथा पशुपन्छीको क्षेत्रको परनिर्भरता हटाउँदै जनतालाई समृद्ध बनाउने विश्वास लिएका छन् ।

अर्थमन्त्री खतिवडाले गरे नेपाल ईन्फ्रास्टक्चर बैंकको औपचारिक शुभारम्भ, आजैदेखि कारोबार शुरु

काठमाडौ । नेपाल ईन्फ्रास्टक्चर बैंककोऔपचारिक शुभारम्भ भएको छ । बुधबार अर्थमन्त्री डाक्टर युवराज खतिवडाले बैंकको औपचारिक शुभारम्भ गरेका हुन् । बैंकका अध्यक्ष अनुज अग्रवालको सभापतित्वमा भएको शुभारम्भ समारोहमा नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवि नेपालको उपस्थिति थियो । सोही कार्यक्रममा बोल्दै अर्थमन्त्री खतिवडाले ब्याजदरमा अस्वस्थ प्रतिस्पर्धा तथा अल्पकालीन लगानीको बातावरण अन्त्य गर्न ईन्फ्रास्टक्चर बैंकले भूमिका खेल्नु पर्ने बताए । यस्तै, विषेश अतिथि गभर्नर चिरञ्जिवी नेपालले लामो अन्तरतराल र धेरै ठूलो मेहनतपछि स्थापित भएको बैंकले फरक रुपमा पूर्वाधार विकासमा काम गर्नु जरुरी रहेकोमा जोड दिए । ४० अर्ब रुपैयाँ अधिकृत पूँजी रहेको बैंकले नविकरणीय उर्जा, पर्यटन विशेष आर्थिक क्षेत्र, आधुनिक शहरी पूर्वाधार, सूचना प्रविधि लगायतका विकासमा अग्रणी भूमिका निर्वाह गर्ने लक्ष्य लिएको बैंकका अध्यक्ष अग्रवालले बताए । बैंक शुभारम्भ कार्यक्रमलाई समापन गर्ने क्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल ज्ञवालीले आगामी दिनमा ७ वटै प्रदेशमा पुग्ने बैंकको लक्ष्य रहेको बताए । औपचारिक शुभारम्भसँगै बैंकले आजैदेखि कारोबार शुरू गरेको छ । यही माघ २८ गते नेपाल राष्ट्र बैंकले सञ्चालन अनुमति प्रदान गरेको थियो । बैंकमा नेपाल सरकारको १० प्रतिशत तथा निजी क्षेत्रको ९० प्रतिशत लगानी रहेको छ । बैंकको प्रमुख कार्यकारी अधिकृतमा अनिल ज्ञवाली रहेका छन् । यस्तै, निर्देशक बोर्डमा चेयरम्यान अनुज अग्रवाल र निर्देशकको रुपमा चन्द्रप्रसाद ढकाल, लालमणी जोशी, नुमनाथ पौडेल, मुकुन्दप्रसाद पौडेल रहने बैंकले जनाएको छ । राजधानीस्थित कृष्ण टावरमा बैंकको केन्द्रीय कार्यालय रहने छ ।