एभरेष्ट बैंकको दाबी : शेयरधनीको १३,५०० को लगानी ३,४५,८०० पुर्यायौं
काठमाडौं । एभरेष्ट बैंकले २५ बर्षमा लगानीको २५ गुणा प्रतिफल दिन सफल भएको दाबी गरेको छ । बैंकद्वारा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बैंकका अध्यक्ष बिके श्रेष्ठले २५ बर्ष अघि स्थापना हुँदा गरेको १३,५०० रुपैंया लगानी ३,४५,८०० पुगेको भन्दै २५ बर्षमा लगानी २५ गुणा बनाउनसक्नु बैंकको सफलता भएको बताएका हुन् । कार्यक्रममा बैंकले देशभर रहेका ७ प्रादेशिकसहित ९२ शाखाहरुमार्फत् अत्याधुनिक बैंकिङ सेवा दिइरहेको दाबी गर्दै एभरेष्ट बैंकको ग्राहक संख्या १० लाख नाघेको दाबी गरिएको थियो । बैंकका ग्राहकले भारतभर रहेका पञ्जाब नेशनल बैंकबाट भुक्तानी लिन सक्ने सुविधा दिएको, इन्डो नेपाल रेमिट्यान्स सेवा उपलब्ध गराएको, भारतमा रहेका गोर्खा सैनिकहरुका लागि बहुआयामिक बचत कार्यक्रम ल्याएको भन्दै यस्ता कार्यक्रमले नेपाल र भारतलाई एक जोड्न सहयोग गरेको समेत दाबी गरिएको छ । एभरेष्ट बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पशुपतिनाथ, शंखमुल, पोखरा र भैरहवामा शवदाहगृह निर्माण गर्न लागेको तथा विभिन्न विद्यालयहरुमा अत्याधुनिक शौचालय निर्माणमा सहयोग गरेको जानकारी समेत गराएको थियो । ‘भारतमा भन्दा नेपालमा ५० प्रतिशत सस्ताेमा उत्पादन हुन्छ, प्रचार गरिदिनुस्’ एभरेष्ट बैंकको एक्विटी होल्डिङ कम्पनी पञ्जाब नेशनल बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल मेहेताको नेपाल भ्रमणको क्रममा उनलाई स्वागत गर्न आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष श्रेष्ठले भारतीय लगानीकर्ताले लगानी गर्दा आफ्नो देशभन्दा ५० प्रतिशत भन्दा बढी सस्तो पर्ने दाबी गर्दै नेपालले त्यसको प्रचार गर्न नसकेर मात्र भारतीय लगानी नेपाल भित्रन नसकेको दाबी गरे । ‘भारतको बजारलाई मध्यनजर गरेर उत्पादनमूलक कम्पनीहरुको कारखाना नेपालमा स्थापना गरेमा भारतमा तिर्नुपर्ने मुनाफाको ३४ प्रतिशत संस्थागत कर, खाद्य पदार्थमा १२ प्रतिशत र मेसिनरी पार्टपुर्जामा १८ प्रतिशत तिर्नुपर्ने बस्तु तथा सेवा करसमेत बच्ने दाबी उनको थियो । सिक्किममा १० प्रतिशत होलिडे ट्याक्स लाग्ने तर नेपालमा १ अर्ब भन्दा माथि लगानीका उद्योगहरुलाई ५ बर्षसम्म आयकर तिर्नै नपर्ने व्यवस्था रहेको भन्दै उनले सरकारले नेपालमा पाइने यस्ता सुविधाबारे प्रचार गर्नुपर्ने भन्दै उनले त्यसका लागि सञ्चारकर्मीलाई दबाब दिन आह्वान समेत गरे । अध्यक्ष श्रेष्ठले नेपालले भारतीय कर व्यवस्था र नेपाली सहुलियतबाट फाइदा लिन सीमा क्षेत्रमा औद्योगिक क्षेत्रहरु स्थापना गर्न सुझाएका छन् ।
ओरण्टल कोअपरेटिभले निक्षेपकर्तालाई १६ अर्ब तिर्न बाँकी, सुधीर बस्नेतकाे स्वामित्वमा सम्पत्ति शुन्य
काठमाडौं । समस्याग्रस्त घोषित १० सहकारीमध्ये ‘ओरण्टल कोअपरेटिभ लिमिटेड’को कूल दायित्व रु १६ अर्ब एक करोड रहेको पाइएको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अनुसार उक्त संस्थाले निक्षेपकर्तालाई साँवा रु नौ अर्ब १२ करोड तथा गत वर्ष चैत मसान्तसम्मको ब्याज रु छ अर्ब ८९ करोड भुक्तानी दिन बाँकी छ । सहकारी बचतकर्ताको निक्षेप साँवा र ब्याज गरी रु आठ अर्ब ३८ करोड, अपार्टमेन्ट बुकिङ रकम रु चार अर्ब ९२ करोड र बैंक तथा वित्तीय संस्थको कर्जा रु एक अर्ब ९८ करोड छ । त्यसैगरी सरकारको कर दायित्व र अन्य साहुसमेत दायित्वअन्तर्गत रहेको छ । यहाँ विहीबार आयोजित पत्रकार सम्मेलनमा समितिका अध्यक्ष युवराज सुवेदीले सहकारी संस्थाका तत्कालीन अध्यक्ष सुधीर बस्नेत एवं सञ्चालकका नाममा हालसम्म छानविनबाट अचल सम्पत्ति नदेखिएको जानकारी दिए । उक्त सहकारीबाट पीडित निक्षेपकर्ता, अपार्टमेन्ट बुकिङकर्ता, शेयर सदस्य र अन्य साहु गरी हालसम्म सात हजार ५४६ जनाको माग दाबी निवेदन परेको समितिले जनाएको छ ।
ग्लोबल आइएमई र त्रिभुवन विश्वविद्यालयबीच सम्झौता
काठमाडौँ । ग्लोबल आइएमई बैंक लि. र त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय(पनिका) बल्खुबीच बैंकले प्रदान गर्ने सेवा सुविधाहरु सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौता पत्रमा त्रिवि, पनिकाका परीक्षा नियन्त्रक सह–प्राध्यापक पुष्पराज जोशी र ग्लोबल आइएमई बैंक लि.को तर्फबाट किर्तिपुर शाखा कार्यालयका शाखा प्रमुख शोभा न्यौपानेले हस्ताक्षर गरेका छन् । उक्त सम्झौतापत्र अनुरुप त्रिभुवन बिश्वबिद्यालय, परीक्षा नियन्त्रण कार्यालयले आफ्नो कार्यालयमा प्राप्त हुने आम्दानी, शुल्क तथा धरौटी वापतको रकमहरु दैनिक रुपमा संकलन गर्ने, क्याम्पसको हकमा काठमाडौं उपत्यका लगायतका सम्पुर्ण शाखा कार्यालयबाट समेत जम्मा गर्न मिल्ने र विधार्थीहरुको हकमा बल्खु स्थित काउन्टरबाट जम्मा हुने तथा पनिकामा कार्यरत कर्मचारीहरुको बचत खाता खोल्ने, चेक सटही सुविधा प्रदान गर्ने, नगद एवम् चेक जम्मा लिने लगायतका सम्पूर्ण बैंकिङ्ग सुविधा उपलब्ध गराउने छ ।